शनिबार, बैशाख ८, २०८१

मसालको राजनीतिमा प्युठानको खरा -अर्खा – रामबहादुर बुढा

प्युठानका उत्तरी क्षेत्रका तीन वटा गाउँ पन्चायत अर्खा ,रजबारा र पूजा २०३२ सालमा मात्र बागलुङ जिल्लाबाट छुट्टाएर प्युठानमा ल्याइएको थियो।खरा भनेको साबिकको रजबारा गा वि स को उत्तरी भेग हो। अर्खा भनेको खरा भन्दा पूर्ब तर्फको साबिकको एक गाबिस हो।खरा र अर्खा अहिले प्युठानको गौमुखी गाउँपालिकामा पर्दछन।अर्खा गा वि स लाई टुक्राएर वडा न १ र २ मा बिभाजन गरिएको छ। रजवारालाई गौमुखी गाउँपालिका वडा न ३ बनाइएको छ।प्युठानको सबैभन्दा विकट क्षेत्र भएकाले र ज्यादा बर्षात हुने भएकाले यसलाई खरा- अर्खा सधै बर्खा भन्ने पुरानो कहावत छ।

सिङ्गो देशको राजनीतिमा प्युठान एउटा सानो क्षेत्र हो।प्युठानको खरा – अर्खा झन सानो क्षेत्र हो।यति सानो क्षेत्रलाई आधार बनाएर राजनीतिक सिङ्हालोकन गर्नु त्यति महत्वको बिषय नहुन सक्छ।तर खास समयमा वा खास परिस्थितिमा वा ठूलो उद्देश्य प्राप्तिका लागि सानो भनिएको चिजको पनि कहिलेकाही निकै ठूलो महत्व हुन्छ। विशाल चिनियाँ भूभागमा चिकाङ सान पहाड एउटा सानो क्षेत्र हो। जताततैबाट जापानी सेनाले चिनियाँ कम्युनिस्ट पार्टी र जनमुक्ति सेनालाई ध्वस्त पारिरहेको बेला चिङ्काङसान पहाडको गाउँमा पार्टीको आधार इलाका बचाउने काम भएको थियो।कहिलेकाही सानो ठाउँबाट ठूलो काम भएको हुन्छ।

यो क्षेत्रमा मसालको राजनीति कहिले देखि प्रबेश गर्यो?
गहिरो अनुसन्धान गर्दै गएमा धेरै कुरा खुल्दै जाला ।बयोबृद्ध बामपन्थी नेता खगुलाल गुरुङको जन्म स्थान खरा हो।उहाँको बाल्यकालमै बुबा आमा सित बसाइ सरी नारिकोटको कोइरा आउनुभयो। खरामा गुरुङको नाता सम्बन्ध कायमै थियो।पन्चायतकालमा अर्खाको हालहाल डाडामा एक हप्ते शिबिर सन्चालन भएको थियो।हालहाल डाडा अर्खाको बाइसमूल झरना भन्दा पश्चिम पट्टि खरा र अर्खाको सिमानामा पर्दछ।गुरुङले बताए अनुसार मोहन बिक्रम सिङ्ह दाङबाट हिड्दै प्युठान आउँदा खुट्टा दुखेकाले त्यो शिबिरमा आउन सकेका थिएनन।तर मोहन बैद्ध त्यो शिबिरमा पुगेका थिए। सैद्धान्तिक राजनीतिक प्रशिक्षण,शारीरिक प्रशिक्षण समेत दिइएको थियो।त्यो शिबिरको ब्यबस्थापनमा टीका गुरुङले पनि राम्रै भूमिका खेलेका थिए। बहुदल आएपछि टीका गुरुङ स्थानीय निकायको निर्बाचनमा उम्मेदवार बनेका थिए। अहिले उनी नवलपरासीको सुनवलमा छोरीको घर बस्दछन।मूलत:खगुलाल गुरुङको सम्बन्धका आधारमा खरामा सङ्गठन निर्माण भयो। रजवाराको सबैभन्दा ठूलो वडा खराको वडा न ६ मा मसाल समर्थित अखिल नेपाल किसान संघका सरे गुरुङले २०४९ को निर्बाचनमा वडा अध्यक्ष जितेका थिए।

२०५१ को मध्यावधि निर्वाचनमा प्युठान जिल्ला क्षेत्र न १ बाट नेपाली काङ्ग्रेसका शिवराज सुवेदीले ९,४०३ मत प्राप्त गरी बिजयी भएका थिए।सुबेदीका प्रतिद्वन्दी मसाल समर्थित अखिल नेपाल राष्ट्रिय जनमोर्चाका केशरबहादुर गुरुङ (के बि गुरुङ) ले ९,१४३ मत प्राप्त गरेका थिए। प्युठान जिल्ला क्षेत्रन २ मा मसाल समर्थित अखिल नेपाल राष्ट्रिय जनमोर्चाका उम्मेदवार नवराज सुवेदीले ९,७४० मत प्राप्त गरी बिजयी भएका थिए।सुवेदीका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका मुक्तिप्रशाद शर्माले ९,६७६ मत प्राप्त गरेका थिए।प्युठान क्षेत्र न १ मा के बि गुरुङ २६० मतले पराजित भएका थिएभने क्षेत्र न २ मा नवराज सुवेदी ६४ मत बढी लिएर बिजयी भएका थिए।

२०६४ को पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ राष्ट्रिय जनमोर्चाका हरि आचार्य क्षेत्र न १ बाट र बोमबहादुर खत्री क्षेत्र न २ बाट उम्मेदवार बनेका थिए। समानुपातिक मत अर्खाबाट राष्ट्रिय जनमोर्चालाई ३०३ र रजवाराबाट ६५ मत परेको थियो।बोमबहादुर खत्रीलाई पनि त्यही हाराहारीमा मत परेको थियो। त्यसरी नै २०७० को दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्का प्युठान क्षेत्र न १ बाट र बोमबहादुर खत्री क्षेत्र न . २ बाट उम्मेदवार बनेका थिए।समानुपातिक मत अर्खाबाट राष्ट्रिय जनमोर्चालाई ४३९ र रजवाराबाट ५३ मत परेको थियो।करिब त्यही हाराहारीमा बोमबहादुर खत्रीलाई मत गएको थियो।२०५६ मा एमाले सङ्ग तालमेल गरेर राष्ट्रिय जनमोर्चाका हरि आचार्यले प्युठान क्षेत्र न १ बाट र नवराज सुवेदीले क्षेत्र न २ बाट बिजयी भएका थिए। २०७४ को संसदीय निर्वाचनमा एमाले,माओवादी सहित मिलेर सङ्घीय सङ्सदमा दुर्गा पौडेलले प्युठानको एक मात्र निर्वाचन क्षेत्रबाट बिजयी प्राप्त गरेकी थिइन।

स्थानीय निकायको निर्वाचन २०४९ मा प्युठान जिल्लाका ४९ गा बि स मध्ये मसाल समर्थित अखिल नेपाल किसान संघले २७ वटा गा वि स अध्यक्ष र २२ वटा उपाध्यक्ष ,संयुक्त जनमोर्चाले २ वटा गाबिस अध्यक्ष र ३ वटा उपाध्यक्ष , एमालेले २ वटा गाबिस अध्यक्ष र ६ वटा उपाध्यक्ष,नेपाली काङ्ग्रेसले १३ वटा गाविस अध्यक्ष र १४ उपाध्यक्ष,राप्रपाले ४ वटा गाबिस अध्यक्ष र ४ वटा उपाध्यक्ष ,स्वतन्त्र १ जना गाबिस अध्यक्ष निर्बाचित भएका थिए।जिबिस निर्बाचनमा मसाल समर्थित अखिल नेपाल किसान सङ्घका कर्णध्वज के सी सभापति र रमेशराज भण्डारी उपसभापति निर्बाचित भएका थिए। (स्रोत : नेकपा मसालको मुख पत्र मशाल,२०४९ भाद्र अंक २६ ) त्यति बेला अर्खा वडा न ६ बाट बिरबहादुर थापाले एमालेका तर्फबाट वडा अध्यक्ष जिते पनि जिबिस निर्वाचनमा मसाल समर्थित सभापति तथा उपसभापति लाई मतदान गरी त्यही बेला देखि मसालमा प्रबेश गरेका थिए। अर्खा लामडाडाका बिरबहादुर थापा खगुलाल गुरुङका नाता र सङ्गतले बहुदल आएपछि मसाल समर्थक बनेका थिए।२०५४ सालको निर्वाचनमा वडा न ६ का पूर्ब वडा अध्यक्ष बिरबहादुर थापा गा. वि .स
. अध्यक्ष र लामडाडाका बिरबहादुर थापा गा बि स उपाध्यक्षको उम्मेदवार बनेका थिए।वडा न ४मा श्यामलाल सुनार,वडान ५ मा नरबहादुर राना ,वडा न ६ मा बलु थापा ,वडा न ७ मा श्यामलाल तामाङ,वडा न ८ मा मैतबहादुर बुढा ,वडा न ९ मा गिताराम थापा वडा अध्यक्ष उम्मेद्वार बनेका थिए।वडा न ६ का बलु थापा जम्मा ४ मतले पराजित भएका थिए।पूर्ब प्रधान पन्च काङ्ग्रेसका उम्मेदवार मोतिबहादुर राना सितको प्रतिश्प्रधामा वडा न ५ का नरबहादुर राना पनि निकै थोरै मतले पराजित भएका थिए।

२०४९ को स्थानीय चुनावमा २७ वटा गा बि स अध्यक्ष जितेको र एमाले तथा सजमो लगायत सित तालमेल गर्दा ३१ वटा गा बीस मा पकड जमाएको मसालले २०५४ को स्थानीय निर्बाचनमा १९ वटा गा .वि .स अध्यक्ष जितेको थियो। । २०४९ मा दुई वटा गा .वि.स.अध्यक्ष र ६ वटा उपाध्यक्ष मात्र निर्बाचित एमाले २०५४ मा जि बि स सभापति जित्न सक्ने सम्भाबनामा आयो।एमाले बिभाजित भएका कारण राष्ट्रिय जनमोर्चा र एमाले एकातिर र अर्कोतिर माले र नेपाली काङ्ग्रेस बिच तालमेल भएकाले राष्ट्रिय जनमोर्चालाई चुनाब जित्न सजिलो भयो।राष्ट्रिय जनमोर्चाका बोम बहादुर खत्री सभापति र एमालेका हरी रिजाल उपसभापति भए।

रजवारामा २०५४मा ध्वजबहादुर पुन अध्यक्ष र टीका गुरुङ उपाध्यक्ष उम्मेदवार बनेका थिए।
२०७४ मा अर्खा वडा न १ बाट प्रदिप तामाङले वडा अध्यक्षमा १५९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका थिए भने वडा न २ बाट सिताराम थापाले ३४२ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका थिए।वडा न ३ रजवारामा सरे गुरुङ अध्यक्षमा ,लिला बुढा सदस्यमा लगायत राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका थिए। वडा न २ मा सिताराम थापाको प्यानलमा महिला सदस्य गोठी राना(प्राप्त मत ३०३),दलित महिला सदस्य नरी बि. क .(प्राप्त मत ३१४),खुला सदस्य डोरबहादुर बि. क.(प्राप्त मत २९८ ) र खुला सदस्य दुजे बि. क .(प्राप्त मत २९६) उम्मेदवार थिए।वडा न १ मा प्रदिप तामाङको प्यानलमा खुला वडा सदस्य नन्दु बुढा(प्राप्त मत १५६),खुला महिला सदस्य निसरी थापा(प्राप्त मत १४४ ), दलित महिला सदस्य भुइसरा सुनार ( प्राप्त मत १६०),खुला सदस्य होम बहादुर थापा (प्राप्त मत ….) उम्मेदवार थिए।अर्खामा पछिल्लो कालमा लिलामणी थापा,सेरु गिरी,दुर्गा थापा,देबिचन राना,देबिश्वर सुनार,प्रकाश थापा,रुपन परियार ,जोगिन्द्र बि.क,दिउराज बुढा ,नवीन थापा,रामबहादुर सुनार,टिकाराम निसेल ,जगलाल सुनार,रुद्र थापा लगायतका युबाहरु राष्ट्रिय जनमोर्चामा कृयाशील छन।

आउनुस ! एक पटक चुनावकै कुरा गरौं ! मानौं २०५१ मा नवराज सुवेदीलाई अर्खाबाट १०३ मत नगएको भए वा लिघाबाट ५ मत मात्र आए जस्तै अर्खाबाट पनि ५ मत मात्र गएको भए के हुथ्यो ? प्रतिपक्षले भन्दा जम्मा ६४ मत बढी लिएर बिजय भएका नवराज सुवेदी चुनाब हार्ने थिए।हारेको भए के हुने थियो? हारेको भए नवराजले चुनाव जितेर पार्टीको तर्फबाट सम्सद र राष्ट्रिय राजनीतिमा जे भूमिका खेले ,मसालको नाम उजिल्याउने जेजति काम गरे ती काम हुने थिएनन।यति भनिरहदा मैले यो दाबी गरिरहेको छैन कि खरा – अर्खाको मत मात्र निर्णायक मत हो।बिजुवार टारी वा ओखरकोट वा लुङ जहाको मतको पनि उत्तिकै महत्व हुन्छ। तर यो कुरा नकार्न मिल्दैन कि खरा , अर्खाबाट मसाललाई जे भोट आयो त्यो नआएको भए नवराज सुवेदीको जित नहुने पनि पक्का नै थियो। सवाल चुनावको मात्र हैन।ब्यक्तिगत जीवन ,राजनीति ,सङ्गठन हरेक क्षेत्रमा सानो कुराको पनि ठूलो महत्व हुन्छ।

अर्खामा मसाल समर्थकहरु निर्माण गर्नमा बाहिरबाट अर्खा पढाउन गएका शिक्षकहरुको पनि भूमिका छ।२०४६ सालमा बहुदल आउँदा अर्खा नि मा बि अर्खामा प्रधानाध्यापक ओखरकोट दारिमचौरका केशरबहादुर जि सी थिए।उनले एकदिन पार्टीहरु मध्ये सबैभन्दा राम्रो पार्टी मसाल हो भनेर कलास गरे। सबैले आफ्नो घरमा नेकपा मसाल जिन्दाबाद लेखेर टास्नु।बाटा र घरका भित्ता भितामा नेकपा मसाल जिन्दावाद लेख्नु भनेर सिकाए ।हामी विद्यार्थीहरुले त्यसै गर्यौ।खोडस बहादुर केसी अर्का शिक्षक थिए जसले मसाल समर्थक बन्न विद्यार्थीहरुलाई प्रेरित गरेका थिए।केशरबहादुर जि सी पछि ओखरकोटकै ढुन्डबहादुर के सी अर्खा निमावि अर्खाको प्रधानाध्यापक बनेका थिए।ढुण्डबहादुर के .सी.को विचारबाट प्रभावित भएर अर्खाकाअमर राना बिटालु , खराका निजबहादुर राना लगायत विद्यार्थीहरु मसाल समर्थक बनेका थिए।

खरा – अर्खामा मसाल समर्थकहरु बनाउन ओखकोट मच्छी र खुङ ठूलाबेसी हाइ स्कूलमा हुने अखिल छैठौंको गतिविधिको योगदान छ।त्यहा अखिल छैठौमा काम गरेका विद्यार्थीहरुको योगदान छ। बाल शिक्षा मा बि ओखरकोटमा अध्ययन गर्ने रजवारा खराका दानबहादुर बुढा र सोबिर पुनलाई पूजा काण्डको अभियोग लागेको थियो।दानबहादुर पछि भारतीय सेनाको सुबेदार सम्म बनी पेन्सन निस्किए भने सोबीर हङ्कङ प्रहरीमा जागीर खाई रिटायर भए।२०४७ चैत्र १ गते पूजा काण्ड भएको थियो।करिब एक सय जनालाई मुद्दा लगाइएको थियो।केहीले दस बर्ष र केहीले त्यसभन्दा कम जेल सजाय भोगेका थिए तथा केहीले लामो समयसम्म तारेख बोकेका थिए ।पछि २०६७ असारमा त्यो मुद्दा खारेज भएको थियो।

२०५४ को किसान मार्च रजवारा हुँदै बागलुङको बोहोरा गाउँ प्रबेश गरेको थियो।त्यसको तयारी गर्न ओखरकोट बाट सिद्दिमान जिसि गएका थिए।आबश्यक तयारीका लागि अर्खाबाट प्रेम थापा ,राम बहादुर बुढा पनि पुगेका थिए।किसान मार्चमा अर्खाबाट खेमबहादुर थापा जुग्जा खोला सम्म पुगेका थिए।खराका दिलिप बुढा, अर्खाका रामबहादुर बुढा,दिपक थापा ,मनबहादुर सुनार रजबारा देखि बागलुङ हुँदै काठमाडौ सम्मको कार्यक्रममा सहभागी भएका थिए।२०५६ को किसान मार्चमा अखिल छैटौंका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी र राजमो नेता तिलक जि सी सहित करीब २० जना टोली अर्खा पुगेको थियो।२०५७ बैशाख १९ गते ९ बामको सिङ्हदरबार घेराउ कार्यक्रममा रजबाराबाट केही राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु काठमाडौ पुगेका थिए।२०६० तिर बागलुङका चिरन पुन पाल्पाबाट सोमकुमार कार्की र अनिल किशोर घिमिरे सहितको टोली अर्खा पुगेका थिए। २०६१ माघमा राजाको प्रतिगामी कदम तथा माओवादी ज्यादतीको बिरोधको अभियानमा बिदुर मल्लको नेतृत्वमा करिब १२ जनाको टोली अर्खा पुगेको थिइयो। २०६८ को युवा अभियानमा पूजाका भरत के सी,पाल्पाका तिलक गाहा,स्वर्गद्वारी खालका भिम राना लगायत खरा- अर्खा पुगेका थिए।सङ्गठनको कामको सिलसिलामा यस्ता थुप्रै साथीहरु खरा – अर्खा पुगेका थिए।२०६८ को राजमोको दोस्रो राष्ट्रिय सम्मेलनमा २० जनाभन्दा बढी अर्खाबाट पोखरा पुगेका थिए। यस्ता तमाम पार्टी गतिबिधिमा खरा -अर्खाको महत्वपूर्ण भूमिका रहदै आएकोछ।

भारत प्रवासमा नेकपा मसाल निकट अखिल भारत नेपाली एकता समाजमा आवद्ध भई काम गरेका कार्यकर्ताहरुले गाउँमा आएर मसालको सङ्गठन बिकासमा योगदान पुर्याएका छन।अर्खा सवराका सिताराम थापा युबा उमेरमा २०४६ सालको जनआन्दोलन भन्दा केही पहिले नै सन १९९० तिर नै पन्जाबको अमृतसरबाट अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएका थिए।उनले अमृतसरको इस्टमोहन टोल समितिबाट आफ्नो राजनीतिक जीवनको सुरुवात गरेका थिए।सिताराम थापा २०५७ सम्म अमृतसरमा बसेर नोकरी गर्दै एकता समाजमा काम गरेका थिए।उनले अखिल भारत नेपाली एकता समाजको सुदुर पश्चिम उत्तर क्षेत्रीय समितिको सभापति समेत भएर काम गरेका थिए।सिताराम थापा २०५१ को मध्यावधि निर्वाचन र २०५४ को स्थानीय निर्बाचनमा आफ्नै गाउँ अर्खामा आई प्रचार प्रसारमा खटेका थिए।अमृतसरमा रहदा थापाले सास्कृतिक टोलिमा रही काम गरेकाले २०५१ मा हार्मोनियम लिई आएका थिए ।सास्कृतिक प्रशिक्षण ,सास्कृतिक कार्यक्रम,देउसी भैलो आदि सुरु गरिएको थियो। सिताराम थापा,प्रेम थापा,अमर बिटालु ,बिरबहादुर थापा(सुङरे)मानबहादुर सुनार,श्यामलाल सुनार रामबहादुर बुढा लगायतको अगुवाईमा केही बर्ष सम्म नै देउसी भैलो चल्यो। हामीले अखिल नेपाल युवक सङ्घको नामबाट भैलो खेलेका थियौ।भैलोबाट भएको सीमित आम्दानीलाई पनि हामीले महेन्द्र प्रा बि पैयुपाटालाई घन्टी किनेर उपलब्ध गराउने ,फर्निचर किनिदिने जस्ता सामाजिक काम गरेका थियौ।हार्मोनियम आदि बाजा खरिद गर्ने काम गरेका थियौं ।त्यसैगरी अर्खा पैयुपाटाका प्रेम थापाको पनि अर्खामा सङ्गठन निर्माणमा योगदान छ। भारतको पन्जाबको होसियारपुरमा प्रेम थापा सहित अखिल भारत नेपाली एकता समाज (कलकत्ते पक्ष) बाट बिद्रोह गरी मसाल निकट एकता सामाजमा सन १९९५ तिर आवद्ध भएका थिए।२०५१ को मध्यावधी निर्बाचन र २०५६ को सम्सदीय निर्वाचनमा प्रेम थापा नेपाल आफ्नो गाउँमा आई खटेका थिए।उनको प्रभाबका कारण पनि अर्खामा सङ्गठन बिस्तारमा योगदान पुगेको थियो।उनका भाइ बालसिङ थापा मसालमा आबद्ध भइ लामोसमय अखिल नेपाल युबक सङ्घमा काम गर्ने ,बिकास निर्माण आदिको अगुवाई गर्ने काम गरेका थिए।

अर्खामा घटेका केही घटना तथा सामाजिक आन्दोलन विशेष उल्लेखनीय छन् । २०५१ बैशाख १० गते अर्खामा एउटा सास्कृतिक कार्यक्रम भएको थियो ।ओखरकोट मच्च्छी हाइ स्कुलबाट गएका अखिल छैटौंका विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम गरेका थिए। मच्छीमै पढ्ने अर्खाका विद्यार्थीहरु अमर राना बिटालु,बिरबहादुर थापा,खेमबहादुर थापा लगायतले कार्यक्रमको ब्यबस्थापन गरेका थिए। त्यो कार्यक्रममा कामीले छोएको खाएको भन्ने आरोपमा विद्यार्थी बिरबहादुर थापालाई काङ्ग्रेस ,एमाले,राप्रपा,पूर्ब पन्चहरुले सभा गरेर बैशाख १९ गते मगरबाट कामी जातमा झारेको घोषणा गरेका थिए। लगत्तै हामीले जिल्ला प्रशासनमा मुद्दा (निवेदन )हालेका थियौ। जिल्ला प्रशासन कार्यालयमा त्यो मुद्दाको दर्ता न थियो-२९९६।पटक पटक सभा हरु भए।अमर राना बिटालुजी पनि त्यसमा लाग्नु भयो ।२०५१ भाद्र २५ गते मात्र प्रहरीको उपस्थितिमा एक बैठकबाट बिरबहादुर थापालाई मगर जातमा पुनः स्थापना गरिएको थियो।२०५१ जेष्ठ १५ गते काठमाडौ बाट प्रकाशित पृष्ठभुमि साप्ताहिकलाई स्रोत मानेर यो घटना बारे विभिन्न पुस्तकमा चर्चा गरिएको छ।जस्तैः याम बहादुर किसानले त्रिभुवन विश्वविद्यालय एम ए राजनीतिशास्त्रको थेसिस “नेपालमा दलित जातीय मुक्ति आन्दोलन” मा यो घटना उल्लेख गरेका छन।यो पुस्तकको रुपमा धेरै सस्करण निस्की सकेको छ। दुर्गााहाङ याखा राई द्वारा लिखित “ब्राह्मणवाद विरुद्ध जनजाति + उत्पीडित वर्ग” ,दलित मानव अधिकार पुस्तक – २००४, राज्यको पुनः संरचनामा दलित सहभागिता (२०६३) लगायतका पुस्तकहरुमा यो घटनाको उल्लेख गरिएको छ।यो घटना बारे अन्य सन्दर्भमा बिस्तृतरुपमा लेखिनेछ।२०५० को दशकमा करिब ६ बर्ष सम्म अर्खाको भुमेथानमा दलितहरुले पनि आफ्नो धजा ,अक्षता र बली चढाउने कुखुरा ,बोका मन्दिरमा लिएर जान पाउनु पर्छ भनेर आन्दोलन चलेको थियो।जातीय समता समाजका जिल्ला सदस्य अमर बिटालुको अगुवाईमा चलेको त्यो आन्दोलन मूलतः सफल भएको थियो।यस सम्बन्धमा धेरै पटक सभा र बैठकहरु भए। अमर राना बिटालु लगायत माथि त धेरै धम्कीहरु आए ।एउटा भेलामा ज्ञामुराम न्यौपाने र सिताराम थापा माथि पनि त्यस प्रकारको धम्की आएको थियो।यसबारेमा जातीय समता समाजको बुलेटिन समता सन्देश अङ्क ४ र हाक साप्ताहिकमा लेख प्रकाशित भएकोछ।यस बारेमा बिस्तृतरुपमा पछि लेखिनेछ।यस प्रकारका सामाजिक आन्दोलन अरु पनि भएका थिए।

विकास निर्माणका सम्बन्धमा मसालको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रयत्न भएको छ ।रतिमान राना गाबिस अध्यक्ष भएको बेला हामीले राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्खाको विकास निर्माणका बारेमा एउटा ज्ञापनपत्रसमेत बुझाएका थियौ ।हाम्रो माग जस्तै लाटाखेल्ने जात्रा लाग्ने ठाउँ डाडा गाउँमा पौवा बनाउनु पर्छ भन्ने थियो।अहिले पौवा नभए पनि टहरा बनाइएकोछ झाक्रीहरुको लागि।बाइसमूल झरना सम्म बाटोको पहुच,गौमुखीलाई विशेष पर्यटकीय गन्तब्य निर्माणका लागि प्रयत्न, गौमुखी क्षेत्रमा वन संरक्षण,शिक्षा ,सडक लगायतका बिषयमा हाम्रो स्पस्ट दृष्टिकोण रहदै आएकोछ।

मसाल/ राजमोको साङ्गठनिक हिसाबले बिगतमा अर्खा भन्दा खरा बलियो अबस्था हो।चुनाबी जनमतका हिसाबले पनि खरा अगाडि हो ।तर पछि खरा कमजोर भयो र अर्खामा तुलनात्मकरुपले केही बिकास भयो।त्यसो हुनुको पछाडि खरामा स्थायी नेतृत्वको अभाब भयोभने अर्खामा पाको नेतृत्वको निरन्तरता रह्यो।द्वन्द्व कालमा राष्ट्रिय जनमोर्चाको खास जनाअधार भएको ठाउ माओवादीहरुले खरामा एक प्रकारको अड्डा नै जमाएर बसे।मसाल समर्थक धेरै युबाहरुलाई माओवादी बनाएर हिडाले।तर अर्खामा अमर बिटालु,सिताराम थापा,मनबहादुर सुनार लगायतका साथीहरु नियमित गाउमा रहनु भयो र जनताको नेतृत्व गर्नु भयो। २०५८ मा अर्खामा सेनाद्वारा ८ जना माओवादीको हत्या भएको थियो।तर हत्या भएका सबै अर्खा भन्दा बाहिरका थिए। एक जना स्थानीय बालक घाइते भएका थिए।अर्खाका लिलबहादुर थापा र पृथबहादुर थापालाई माओवादीहरुले अपहरण गरेका बेला रिहाई गराउन सिताराम थापाले विशेष पहल र प्रयत्न गरेका थिए।द्वन्द्वकालको त्यो अबस्थामा पनि राजमोका साथीहरु अबिचलितरुपमा जनताको नेतृत्व गरेका थिए।

राजनीतिक परिस्थिति ,राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका, स्थानीयरुपमा पार्टीको नीति,जन सम्बन्ध र जन बिश्वासको आर्जन, सङ्गठन निर्माण र परिचालन कस्तो हुनेछ,अन्य राजनीतिक दलको भूमिका के हुनेछ भन्ने कुराले आगामी दिनमा खरा- अर्खामा मसाल/ राजमोको स्थिति निर्धारित हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?