शनिबार, अशोज १९, २०८१

“संस्कार सहितको शिक्षा “

तिर्थराज  पोख्रेल

मानिसले शिक्षा प्राप्त गर्नु सँगसँगै राम्रो संस्कार पनि सिक्नु आवश्यक छ। हाम्रो घर, परिवार र समाजमा जस्तो प्रकारको संस्कार छ हाम्रा बाल बच्चा पनि त्यस्तै बन्दछन् । भन्ने गरिन्छ परिवार नै बाल बालिकाको पहिलो पाठशाला हो। त्यसैले बाल बच्चाको अगाडि कहिल्यै पनि नकारात्मक सन्देश दिने कुनै पनि कुरा गर्नु राम्रो हुँदैन । पढेर राम्रो GPA ल्याएर सफल भयो भनेर गर्व गर्नु भन्दा असल बन्नुमा गर्व गर्नु पर्छ । आजकलका अधिकांश बाल बच्चाहरू आवश्यक भन्दा अनावश्यक कुराहरु( फ्रि-फायर , पप्-जी, टिकटक आदि) मा ब्यस्त भइ आफ्नो अध्ययन कार्य प्रति बेवास्ता गरेको देखिन्छ । धेरै जसो समय मुबाइलमै व्यस्त भइ रहने हुनाले पारिवारिक सम्बन्ध, आफ्नो जिम्मेवारीपनको अभाव, सामाजिक भावनाको कमि, बोलिमा मिठ्यसपनको अभाव, झर्कने स्वभाव, आफ्नो भविष्यको योजना तयारीको कमी आदि कुराहरुमा एक दमै अस्तव्यस्त देखिन्छ। असल संस्कार र व्यवहारिक ज्ञान बिनाको मानिस गन्ध बिनाको फूल, तृप्ति बिनाको प्राप्ति, उद्देश्य बिनाको कार्य र प्रसन्नता बिनाको जीवन जस्तै व्यर्थ हुन जान्छ। सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति पद र प्रतिष्ठा बाट होइन असल काम र व्यबहार बाट हुन्छ। हरेक अभिभावकले आफ्नो सन्तानहरुबाट यस्तो कुरा सिकोस् भन्ने अपेक्षा राख्नु उपयुक्त हुन्छ ।
परिश्रम गरी कमाएको सय रुपैयाँ सित्तैमा कमाएको हजारौं रुपैयाँ भन्दा बढी मूल्यवान हुन्छ। अब्राहम लिंकनले भने झैँ आकासमा उडिरहेका चराहरु घमाइलो दिनमा भुनभुनाइ रहेका माहुरीहरु र पहाडि काखमा फुलेका फूलहरुको शाश्वत रहस्य बुझ्न सक्नेहोस्। सुनेको कुरालाई राम्ररी छुट्टयाउन सक्ने होस् ,दु:ख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सकोस् , ऊ आफ्नो बाहुबल बुद्धि र सामर्थ्यमा विश्वास गरोस् , यदि उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि जिउ ज्यानले लागि परोस् ,ऊ भित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने साहस र दृढ शक्तिको विकास गर्न सकोस् , ऊ भित्र साहस र सधैं केही गरौँ भन्ने भावना आइरहोस् । आफ्नो सन्तान निर्भीक साहासी र उत्साहित बन्न प्रेरित भइरहोस् । ऊ मानवता प्रति परम आस्थावान् हुन सकोस्। हरेक व्यक्तिसँग बोल्दा प्रेरणादायी तरिकाले बोलोस् ।
एक जना महिलाले पधेरामा पानी भर्दै थिइन त्यसै समयमा एकजना खाइलाग्दो पुरुष आउँछ र पानी माग्दै भन्न थाल्छ । ओ हो ! तपाईंत ठ्याक्कै मेरा बा की स्वास्नी जस्तै हुनुहुँदो रहेछ। तपाईंलाई देख्दा त मेरा बा की स्वास्नीको धेरै याद आयो भन्छ र ती महिला रिसाउँदै तैले मलाई तेरा बा की स्वास्नी बनाइस् म तलाई जानेकी छु भन्दै चप्पलै चप्पलले हिर्काउदै त्यहाँबाट धपाउँछिन्। केही समयको अन्तराल पछि अर्को पुरुष त्यहीँनेर आइपुग्छ र उसले पनि पानी माग्दै भन्छ ओ हो ! तपाईं त ठ्याक्कै मरी आमा जस्तै हुनुहुँदो रहेछ तपाइलाई देख्दा त मेरी आमाको धेरै याद आयो भन्छ र ती महिला पनि भन्छिन् मलाई तपाइलाई देख्दा मेरै छोराको याद आयो। तपाईं पनि मेरै छोरा जस्तै हुनुहुँदो रहेछ भन्छिन्। एक अर्कोमा आमा छोराको नाता जोडिन्छ। यी दुवै पुरुषहरुले व्यक्त गरेको आसय एउटै हो तर प्रस्तुतीकरण शब्द चयन मात्र फरक हो पहिलो पुरुषले बा की स्वास्नी भनेको पनि आमा नै हो दोश्रो पुरुषले आमा जस्तै लाग्यो भन्नु पनि बा की स्वास्नी नै हो ।
त्यसैले भाषा र शब्द प्रयोग गर्दा भाषिक सीपको शब्द चयनमा ध्यान पुर्याउनु- पर्ने देखिन्छ । यो पनि भाषिक संस्कार नै हो । हामीले जहिले जुनसुकै समयमा पनि सही तरिकाले फरक अर्थ नलाग्ने गरी कुरा गर्ने बानीको विकास गर्नुपर्छ । हामी राम्रो बोल्यौ भने परिवार राम्रो बोल्छ
। परिवार राम्रो बोल्यो भने छिमेक राम्रो बोल्छ र छिमेक राम्रो बोल्यो भने समाज राम्रो बोल्छ अनि सभ्य समाजको निर्माण हुन्छ । त्यसैले त भन्ने गरिन्छ मीठो बचन बोल्न सके शत्रु पनि मिति बन्छ , आफ्नो मनलाई बुझ्न सके घृणा पनि प्रित बन्छ जिन्दगीलाई बुझ्न सके हार पनि जित बन्छ । यसरी नै सिकाउन यदि सक्यौ भने असल संस्कारको बिजारोपण हुन सक्छ । त्यसैले भनिन्छ बोलिले बताउछ संस्कार कस्तो छ , हेराइले बताउछ नियत कस्तो छ , बसाइले बताउछ धैर्यता कस्तो छ , संगतले बताउछ स्वभाव कस्तो छ , लेन देनले बताउछ व्यबहार कस्तो छ र कर्मले बताउछ भाग्य कस्तो छ । हामीलाई थाहा छ जहाँ ज्ञान हुन्छ , त्यहाँ नियम हुन्छ । जहाँ नियम हुन्छ, त्यहाँ अनुशासन हुन्छ। जहाँ अनुशासन हुन्छ, त्यहाँ अनुसरण हुन्छ । जहाँ अनुसरण हुन्छ ,त्यहाँ शान्ति हुन्छ। जहाँ शान्ति हुन्छ त्यहाँ प्रेम हुन्छ । जहाँ प्रेम हुन्छ त्यहाँ स्वर्ग हुन्छ।
यहाँ १०, १२ कक्षा पढेको छ सब्जिमा नून कति राख्नु पर्छ अड्कल गर्न सक्दैन ।घरमा आएको अतिथिलाई सत्कार गर्न जान्दैन। घरमा को आयो को गयो कुनै नाता सम्बन्ध छुट्याउँदैन । आफ्ना घरमा भएका सर सामानलाई व्यवस्थापन गर्न जान्दैन । आफ्ना बुबा आमाले आफ्ना सन्तान प्रति गरेको कर्तव्य र दायित्वलाई बिर्सेर आफूले उहाँहरु प्रति गर्ने कर्तव्य र दायित्वलाई कुल्चेर अगाडि बढेको देखिन्छ । हरेक अभिभावकले छोरा छोरीलाई परिवार प्रतिको जिम्मेवारी सामाजिक दायित्व, राष्ट्रप्रतिको प्रेम, सद्भाव,समर्पित भावना र सकारात्मक सोचको विकास गराउन सक्नुपर्छ।
शिक्षा प्राप्त गरेर मात्र पनि हुदैन , त्यसको लागि असल संस्कारको आवश्यकता पर्दछ र संस्कार मात्र भएर पनि हुदैन संस्कारलाई अगाडि बढाउन व्यवहारिक ज्ञानको पनि आवश्यक पर्दछ। हामीले हाम्रा सन्तान कस्तो बनाउने भन्ने कुरा हाम्रो संस्कारमा भर पर्दछ। हामीले हाम्रा सन्तानहरुलाई शारीरिक तन्दुरुस्ती, स्वस्थ्यकर बानी एवम् सिर्जनात्मकताको विकास तथा जातजाति, धर्म, भाषा, संस्कृति क्षेत्र प्रति सम्मान र सद्भावको विकास गर्न सिकाउनुका साथै दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्याहरुको पहिचान गरी समाधानका उपायहरुको खोजी गर्न पनि सिकाउनु जरुरी हुन्छ।
अर्जुन जस्तो लक्ष्य लिई सत् मार्गमा अगाडि बढ्न सकेमा मात्र गन्तव्यमा पुग्न सकिन्छ भन्ने कुराको आभास आफ्ना सन्तानहरुलाई दिन सक्नु पर्छ।
असल संस्कार र व्यवहारिक ज्ञान पाएमा हाम्रा सन्तानहरु एक भएर होस्टेमा हैंसे गर्दै राष्ट्र निर्माणको पुनित कार्यमा लागि पर्ने हो भने कुनै पनि देशले अभावमा सिङ्घौरी खेल्नु पर्दैन । विकसित देशका अगाडि हात फैलाउनु पर्दैन । त्यो देशले चाडैनै काँचुली फेर्न सक्छ। त्यहाँ उन्नति र प्रगतिका ढकमक्क फूलहरू फुल्न सक्छन्।
प्रत्येक सन्तानहरु एक भएर राष्ट्र निर्माणको महायज्ञमा जुट्ने हो भने कुनै पनि देशले गरीबीसंग सङ्घर्ष गर्नु पर्दैन । हामीले हाम्रा सन्तानहरुलाई पद,पैसा, प्रशंसा , प्रेमी, प्रेमिका, पुत्र, पुत्री, पति, पत्नी भन्दै “प” को पछि लाग्न सिकायौं भने पाप गर्छौ,पछुताउछौ, पश्चताप गर्छौ र पतन हुन्छौँ। बुद्धिमान मानिसहरू भूतबाट शिक्षा लिई भविष्यको सुन्दर कल्पना बोकेर वर्तमानको यथार्थमा उभिरहेका हुन्छन्। त्यसैले हामीले हाम्रा सन्तानहरुलाई असल संस्कार र व्यवहारिक ज्ञान दिनु अत्यान्तै आवश्यक देखिन्छ।।
समाप्त।।।।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?