शुक्रबार, माघ ७, २०७८

बदलिन नसकेको पुरुष मानसिकता !

 

कुनै एक सरकारी कार्यालयसँगै रहेको अर्को भवन परिसरमा थुप्रै मानिसहरू भेला भएका थिए ।त्यो भेलाको खास कारण कुनै राजनीतिक दलको भेला या अधिवेशनको सन्दर्भ नै हुनुपर्छ । यो चासो त्यसतर्फको होइन । म कुनै कामको सिलसिलामा त्यहाँ पुगेकी थिए । कारण वश केही क्षण रहनुपर्ने भयो । यसै बिच एक जना महिला चार पाङ्ग्रे सवारी ड्राइभ गरेर आउँछिन् । साधनहरू यत्रतत्र छरिएर पार्किङ गरिएको हुन्छ । जसोतसो आफ्नो साधन एड्जस्ट गरेर उनी कार्यालयभित्र छिर्छिन् ।केही समय पछि उनी बाहिर आउँछिन् । बाहिरिने क्रममा बाटोमै एउटा सरकारी गाडीलाई बाटो बन्द हुने गरी पार्किङ गरिएको हुन्छ । उनी हर्न बजाउँछिन् तर त्यहाँ कोही आउँदैन । सायद उक्त गाडीको चालक वरिपरि थिएनन् । छेउमै रहेका २ जना भद्र पुरुषहरूले ती महिलाको क्रियाकलापलाई ध्यान पूर्वक नियालिरहेका हुन्छन् । सायद महिला चारपाङ्ग्रे सवारी चालकको सिटमा भएकोले हुनुपर्छ । कुनै ग्रहबाट आएको अनौठो प्राणी जस्तै गरी उनी तर्फ घोरिन्छन् । ती भद्र पुरुषले महिलातर्फ हेर्दै अगाडि बाटो छैन ब्याक गरेर जानुस् भनी साउती गर्छन् । तर ती महिलाले भने ती मानिसहरूको कुरामा ध्यान नदिईकन आफ्नो बाटो खोज्दै थिइन ।

ती पुरुषले उक्त सवारी चालक महिलालाई लक्षित गरेर भनेको एउटा वाक्य ती महिलाले त सुनिनन् सायद तर मेरो कानमा भने एक्कासि ठोकिन आयो । “गाडी ब्याक गरेर जानुस्,”“ हुन त गाडी ब्याक गर्न आउने पो हो कि होइन !”

पछाडि असाध्यै साँगुरो स्पेस देखिन्थ्यो । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू छरपस्टै थिए । यसै बिच ती महिला आफ्नो बाटो खोज्छिन् र गन्तव्यतिर लाग्छिन् ।

यो अति सामान्य परिघटना थियो । यस्ता अप्ठ्याराहरू काठमाडौँमा यात्रा गर्ने सवारी होल्डर जो कसैलाई कुनै अनौठो विषय होइन । अनौठो त के थियो भने त्यहाँ एक महिला चालक थिइन् । उनी कसैको साधनमा लिफ्टमा हुनुपर्थ्यो । यो समाजको पुरुष मानसिकताले महिलालाई यति कमजोर देख्यो कि सायद त्यहाँ सम्म पुग्दा ती महिलाले चलाएरै होइन कि कार आफै बगेर पुगेको थियो । मेरो कानमा ती पुरुषले बोलेको वाक्यांश यति नमिठो बनेर गुन्जियो कि एक्कासि सोच्न बाध्य गरायो ।

यो त सामान्य प्रतिनिधि घटना मात्र हो । यस्ता वाक्यांशहरू हरेक क्षेत्रमा हरेक क्षण कुनै न कुनै बहानामा प्रत्येक महिलाले महिला भएकै कारण सुनिरहनु परेको हुन्छ । भोगिरहनु परेको हुन्छ । अनुभूत गरिरहनु परेको हुन्छ । कार्यस्थलमा, सार्वजनिक सवारी साधनभित्र, हाटबजार, धार्मिक स्थल, स्वास्थ्य संस्था, या जुनसुकै स्थानमा महिलालाई शारीरिक, मानसिक, यौनजन्य, संवेगात्मक हिंसा र ह्रयास्मेन्ट भैनैरहन्छ । यो क्रम विगतदेखि आजसम्म पनि निरन्तर चलिरहेकै छ ।

सोचेँ यो समाजले त महिलालाई सधैँ पुरुषको दास, परनिर्भर, असहाय र अति नै असक्त पात्रको रूपमा मात्र चित्रण गर्दो रहेछ । महिलालाई सधैँ अबला देख्ने यो समाजका मर्दहरूको माइन्डसेटमा त शून्य प्रतिशत पनि परिवर्तन आएको रहेनछ । यो भन्दा उदेक लाग्दो कुरा अरू के हुन सक्ला ।

मनभित्र भित्रै बेतोडले दुख्यो । महिलाले कति ठाउँमा प्रतिकार गर्दै हिँड्ने ? कति जनासँग झगडा गर्ने ? कति पटक विवाद गर्ने ? मुलुकमा नीति फेरिए, कानुन फेरिए, संस्था व्यवस्था सबै फेरिए तर पुरुष प्रवृत्ति र महिला प्रति गरिने व्यवहार, दृष्टिकोण र संस्कार त फेरिन सकेको रहेनछ । यो भन्दा दुखत पक्ष अर्को के हुन सक्ला ।

महिलाहरू परिवार , समाज र राष्ट्र निर्माणको निमित्त उत्तिकै जिम्मेवार छन् । उत्तिकै संवेदनशील छन् । महिलालाई पनि पुरुष सरह स्वतन्त्र भएर हिँड्ने प्राधिकार छ । पुरुषले गर्दै आएका र अति सामान्य लाग्ने उस्तै काम एउटी महिलाले गर्दा महाभारत देख्ने पुरुष प्रवृत्तिमा रूपान्तरण आउने कहिले ? महिला पुरुष एक सिक्काका दुई पाटा ठानेर दुवैको सहअस्तित्वलाई स्वीकार गर्ने दिन कहिले आउला ? यो समाजको पुरुष सत्ताले आधा आकाश आधा धर्ती ओगट्ने र अवसर पाएको खण्डमा सिङ्गो मुलुक हाँक्न सक्ने हिम्मत राख्ने महिलालाई सधैँ तल्लो दर्जाको , अति कमजोर पात्रको रूपमा मात्र मूल्याङ्कन गर्ने किन ? एक्काइसौँ शताब्दीको उत्तरार्धमा पनि यो खालको पुरुष प्रवृत्ति र शोचमा परिवर्तन हुन नसक्नु विडम्बना होइन र ?

लोकतन्त्र, समाजवाद, नागरिक स्वतन्त्रता, मानव अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तीकरणका सन्दर्भमा वकालत गरेर नथाक्ने पुरुष वर्ग नै महिला सक्षम भएको देख्न सक्दैनन् । महिलालाई आत्मनिर्भर भएको देख्न सक्दैनन् । अगाडि फोरमहरूमा नारी स्वतन्त्रताको पक्षधर बनेर कुर्लनेहरू नै महिलाप्रति बढी हिंस्रक भएको देखिन्छन् । सामान्य वर्गमा भन्दा हुनेखाने वर्गमा अझ बेसी महिला माथि थिचोमिचो र दमन भएको पाइन्छ । उच्च घरानियाँ हुँ भन्ने वर्गको परिवारभित्र संस्कार, प्रथा, परम्परा या अनेक बहानामा महिलालाई दासी र परनिर्भर बनाएका थुप्रै दृष्टान्त भेटिन्छन् ।

यो समाज महिलामैत्री कहिले हुने होला ? महिलाहरू यो समाजका पुरुषहरूको नजरमा सबल साबित हुन के गर्नु पर्ने हो ? कि अझै पनि सती सावित्री सिताले जस्तो अग्नि परीक्षामा पास हुनु पर्ने हो या के हो अब निकास चाहिएको छ ।

महिलाको अस्तित्व स्वीकार गर्न नसक्ने, सधैँ कमजोर र निरीह देख्ने समाजका पुरुषलाई होइन पुरुष प्रवृत्तिलाई म चुनौतीका साथ भन्न चाहन्छु महिला विना तिम्रो अस्तित्व के हुन्छ एक पटक सोचेर त हेर ! लाग्छ महिला विनाको तिम्रो घर घर होइन मसानघाट जस्तो खण्डहर हुनेछ । तिम्रो दिन दिन जस्तो हुनेछैन , रात रात जस्तो हुनेछैन । तिमी जे छौ त्यस्तो हुने छैनौँ । सबै पतझर, उजाड र बेढङ्गको, केही नमिलेको बेवारिस हुनेछ । तिम्रो भान्सा भान्सा जस्तो हुनेछैन, न त तिमी तिमी जस्तो हुनेछौ । यो संसारको कुनै अस्तित्व रहने छैन महिला विनाको । त्यसो हो भन्ने जान्दाजान्दै महिलामाथि निर्मम र कठोर किन बनेको त ।

सबै पुरुष त्यस्ता हुदैनन । महिलालाई सम्मान गर्ने उत्प्रेरक पुरुषहरू हुनुहुन्छ । वहाँहरूप्रति गुनासो हुँदै होइन । यो चुनौती ती जड मानसिकताबाट उम्कन नसकेका पितृ सत्ताको नसाले लट्टिएर आफूलाई उच्च दर्जाको ठान्ने दम्भि पुरुष प्रवृत्तिलाई मात्र हो । जसले सधैँ महिलामाथि राज गर्न खोज्छ । लिङ्गकै आधारमा शक्ति, अधिकार, स्वतन्त्रता र स्वअस्तित्वमाथि डिमार्केसन गर्छ ,विभेद गर्छ र महिला भएकै आधारमा हरेक क्षेत्रमा उसलाई शक्तिहीन देख्छ । अनि नारीको आत्मसम्मान माथि पटक पटक चोट पुर्याउछ । त्यस्ता पुरुष प्रवृत्तिप्रति मात्रको यो आक्रोश हो । कुनै एक महिलाले कहिल्यै पनि पुरुष विनाको स्वायत्तता चाहेको हुँदैन, पुरुषसँगसंगैको सहअस्तित्व खोजेको हुन्छ ।

एउटा सभ्य समाजले नारी अस्मिताको संरक्षण गर्नुपर्छ । सह अस्तित्वलाई स्विकार्न सक्नुपर्छ । नारी र पुरुष दुवै यो सृष्टिका उत्तिकै जिम्मेवार, संवाहक र परिचालक हुन् । कुनै एकको अभावमा यो संसारको परिकल्पना असम्भव छ ।

महिला कुनै भोग्य वस्तु होइन । महिलाको उस्तै अस्तित्व छ जति यो समाजले पुरुषमा देख्छ । पुरुष सरह महिला पनि सक्षम छन् । पुरुषले गर्न सक्ने सबै काम तथा भूमिकामा महिला सधैँ काबिल छन् । महिलाले नेतृत्व गरिरहेका क्षेत्रहरू अझ बढी व्यवस्थित र सफल भएका कयौँ दृष्टानहरु छन् । महिला पुरुषभन्दा कमजोर कहिल्यै हुन सक्दैन । त्यसैले महिलाको अस्तित्व स्वीकार गरौँ । पितृसत्तात्मक दम्भ , प्रवृत्ति र शोचलाई समूल उखेलेर फालौँ । समानताका नारा नीति, कानुनका दफा र संविधानका सुख्खा धारामा समेट्दैमा ठुलो उपलब्धि नठानौँ। कागजका पानामा लेखिँदैमा कुनै तात्त्विक अर्थ रहँदैन, नीतिलाई दैनिक व्यवहारमा नैतिकतासँग आत्मसात् गर्न सके मात्र त्यसको सार्थकता रहनेछ ।

यो लेख प्रकाशन पश्चात् पुरुष विरोधी लेखक भनेर आक्षेप लाग्नेछ । म स्पष्ट छु, लागोस्, कुनै सरोकार राख्दिन । म पुरुष विरोधी कदापि होइन, कहिल्यै हुन सक्दिन पनि। मलाई सबै भन्दा बढी स्नेह , माया , हौसला र उत्प्रेरणा प्रदान गर्ने सहयात्री, आँखा चिम्लेर विश्वास गर्न सक्ने मेरा साथी पुरुष नै हुनुहुन्छ ।

तर पनि अन्याय गर्नु र सहनु दुवै अपराध हो । मानसिक चोटको दुखाई शरीरमा लागेको चोट भन्दा लाखौँ गुणा बढी हुन्छ । प्रत्येक पाइला पिच्छे महिला भएकै आधारमा ह्रयास्मेन्ट गर्ने पुरुष मानसिकतामा परिवर्तन हुन जरुरी छ । महिला एक स्वतन्त्र नागरिक हो भने उसलाई पनि स्वतन्त्रता पूर्वक बाँच्ने हक छ । आत्मसम्मानका साथ जिउन महिला पनि स्वायत्त छन् । यदि त्यसो हो भने महिलाका गल्ती कमजोरीहरूको खुलेर विरोध र प्रतिकार गरौँ तर महिला भएकै कारण उसलाई कमजोर देख्ने दरिद्र पितृसत्तात्मक प्रवृत्तिको अन्त्य गरौँ ।

“घरैदेखि शुरु गरौं , महिला विरुद्धको हिंसा अन्त्य गरौं”
“घर र समाजको ऐक्यबद्धता ,लैंगिक हिंसा विरुद्ध शुन्य सहनशीलता”

प्रत्येक वर्ष मनाइने महिला हिंसा विरुद्धका नारा, दिवस र अभियानहरू केवल ‌औपचारिकतामा मात्र सीमित बन्ने होइन , ती अभियानहरू प्रत्येक तह र तप्कामा रहेका लैङ्गिक विभेद र असमानता हटाउनको लागि रूपान्तरणकारी भूमिका खेल्न सफल बनुन् । महिला हिंसा विरुद्धको युद्ध अन्त्य भई स्वाभिमान र सहअस्तित्वपूर्ण समाजको परिकल्पना साकार होस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?