आइतवार, असार ३, २०८१

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : पुँजीवादी महिलावादले वर्ग सङ्घर्षको गम्भीर प्रश्न छायामा

जयन्ता घोष
८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालेको एक शताब्दीभन्दा धेरै समय बितिसकेको छ । तर महिला आन्दोलनबारे केही प्रकाशन र वेबसाइटबाहेक मूलधार भनिएका सञ्चारमाध्यमले यो दिवसलाई त्यति प्राथमिकता दिएका छैनन् । (अथवा यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा नभई महिला दिवसका रूपमा चर्चा गर्ने गरेका छन् ।) ८ मार्च संसारका श्रमिक महिलाहरूको दिवस हो भन्नेबारे अझै पनि धेरै सर्वसाधारणलाई जानकारी छैन वा कम मात्र जानकारी छ ।

बीसौं शताब्दीको पहिलो दशकमा सक्रिय समाजवादी आन्दोलनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवधारणा जन्माएको थियो । महिलाहरूको सामाजिक योगदानप्रति सम्मान गर्न र कामदार महिलाका मागलाई लिएर थालनी भएका आन्दोलनलाई अझ उचाइमा पुर्‍याउन समाजवादी नेतृ तथा जर्मनी सामाजिक प्रजातान्त्रिक पार्टीको महिला विभागकी प्रमुख क्लारा जेटकिनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । जेटकिनले आफूलाई कहिल्यै पनि महिलावादी भनिनन् । तर, एक जना समाजवादीको नाताले उनले यो दिवसलाई पुँजीवादविरोधी सङ्घर्षका रूपमा अघि सारिन् । श्रमिक महिला दिवसको अवसर पारेर मजदुर सङ्गठनभित्र महिलाहरू, महिला सङ्गठनहरू र समाजवादी पार्टीहरूबीच एकता र सहकार्य विस्तार गर्न सकिने र त्यही शक्तिले प्रगतिशील समाज निर्माणका लागि वर्ग सङ्घर्षलाई अघि बढाउन सकिने तत्कालीन नेतृत्वको विश्वास थियो ।

सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको श्रमिक महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले श्रमिक महिला दिवस मनाउने प्रस्ताव एक मतले पारित गर्यो । तर सो सम्मेलनबाट कुन दिन मनाउने भनी दिन भने किटान गरेको थिएन । कोपनहेगन सम्मेलनमा १७ देशका एक सयभन्दा बढी महिला प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । उनीहरू विभिन्न मजदुर सङ्गठन, समाजवादी पार्टी, श्रमिक महिला क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी बनेका थिए । साथै श्रमिक महिला सम्मेलनमा फिनल्यान्डको संसदमा पहिलो पटक निर्वाचित बनेका तीन जना महिलाहरू पनि सहभागी थिए ।

सन् १९११ को मार्च १७ का दिन युरोपका केही देशहरू अस्ट्रिया, डेनमार्क र स्विजरल्यान्डले पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो । सो अवसरमा आयोजित र्यालीमा दसौँ लाख मानिस सहभागी थिए । र्यालीमा सहभागी बन्नेहरूमा महिला मात्र थिएनन्, कामदार वर्गका पुरुष पनि थिए ।
सन् १९११ को मार्च १७ का दिन युरोपका केही देशहरू अस्ट्रिया, डेनमार्क र स्विजरल्यान्डले पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो । सो अवसरमा आयोजित र्यालीमा दसौँ लाख मानिस सहभागी थिए । र्यालीमा सहभागी बन्नेहरूमा महिला मात्र थिएनन्, कामदार वर्गका पुरुष पनि थिए । महिलाले काम गर्न पाउने अधिकार, समान ज्याला, मताधिकार, सार्वजनिक पद धारण गर्न पाउने अधिकार र सबैथरीका पक्षपात अन्त्य गर्न उनीहरूले माग गरेका थिए । रुसी क्रान्तिकारी अलेक्सान्द्र कोलोन्ताईले महिला दिवसको अवसरमा आयोजित एक जुलुसको व्याख्या गर्दै भनेकी थिइन्, “खँदिलो आक्रोशले भरिएको महिलाहरूको हिलहिलाउँदो समुद्र… श्रमिक महिलाले युरोपमा पहिलो पटक प्रदर्शन गरेको जुझारूपना ।” त्यतिबेला उठेका माग आजको महिला आन्दोलनमा पनि त्यतिकै प्रतिध्वनित भइरहेको छ । आजका महिलाहरू पनि माग गरिरहेका छन् ः साम्राज्यवादी युद्ध अन्त्य गर, महिला र केटाकेटीलाई उत्तम सामाजिक र आर्थिक बन्दोबस्त गर र खानाको मूल्यमा भइरहेको अचक्काली वृद्धि नियन्त्रण गर ।

अमेरिकामा सन् १९०८ को ८ मार्चमा समाजवादी महिला र कपडा कारखानामा काम गर्ने महिला मजदुरले आठ घण्टा कार्यदिनको माग गर्दै ठूलो प्रदर्शन र सभा आयोजना गरे । उनीहरूले महिलामाथिको दासताको पनि विरोध गरे । सन् १९११ मा युरोपका विभिन्न देशमा पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको एक साता पनि नबित्दै मार्च २५ मा अमेरिकाको न्युयोर्क सहरमा ‘त्र्याङ्गल सर्टबेस्ट कारखाना’मा आगलागी हुँदा १४० भन्दा बढी महिला मजदुरको मृत्यु भयो । तीमध्ये अधिकांश महिला केही समयअघि मात्र अमेरिकामा आएका आप्रवासी महिला मजदुर थिए । सो घटनाले अमेरिका र अन्य विकसित देशमा महिला मजदुरको काम गर्ने भयावह अवस्था अझ प्रकाशमा ल्याइदियो । त्यसपछिका वर्षमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उठेका मागको सान्दर्भिकता अझै उकासियो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चकै दिन किन मनाइन थाल्यो भन्ने प्रश्नको उत्तर संसारकै महिला आन्दोलनको निम्ति ठूलो महत्त्वको विषय हो । सन् १९१७ को जारकालीन रुसमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’को माग गर्दै हड्तालमा उत्रे । साम्राज्यवादी र उपनिवेशवादी देशहरूबीच भएको पहिलो विश्वयुद्धका कारण बीसौं लाख रुसी सेनाले ज्यान गुमाइसकेका थिए । रुस अभाव र अशान्तिको चपेटामा परेका थिए । महिला र केटाकेटी युद्ध र अभावको समस्यामा नराम्ररी फसेका थिए । त्यसको विरोधमा महिलाहरू सङ्घर्षमा उत्रेका थिए । फेब्रुअरी महिनाको अन्तिम आइतबार (२३ फेब्रुअरी)को दिनबाट महिलाहरूले हड्तालको थालनी गरेका थिए । रुसी पात्रोअनुसार त्यो दिन २३ फेब्रुअरीमा परे पनि संसारभर चल्ने इस्वी संवत्को पात्रोअनुसार त्यो दिन ८ मार्चको दिन थियो । राज्यले महिलाहरूको सो आन्दोलनमाथि दमन ग¥यो । आन्दोलनकारी महिलाहरूले हजारौँ अन्य समस्याको सामना गर्नुपर्यो । तर हडताल रोकिएन । वास्तवमा रुसी क्रान्तिको निम्ति महिलाहरूको त्यो आन्दोलन जग बन्यो । चार दिनमै जारशाही महिला आन्दोलनसामु झुक्न बाध्य भयो । अन्तरिम सरकारले महिलालाई मताधिकार दिने घोषणा गर्नुपर्यो । त्यतिबेलादेखि ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालिएको हो । लैङ्गिक समानताका लागि दबाब दिन मात्र नभई महिलाहरू सङ्गठित हुँदा उत्सर्जन हुने शक्तिको सम्मानमा पनि सो दिवस मनाउन थालिएको हो ।

श्रमिक वर्ग शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र महिलाको मुक्ति सम्भव छैन अथवा महिला शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र श्रमिक मुक्ति हुन सम्भव छैन भन्ने विचार बोकेका मजदुर सङ्गठन र श्रमिक पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरेका छन् ।
संसारका श्रमिक जनताको सङ्घर्ष र आन्दोलनमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको भूमिका वास्तवमा निकै महत्त्वपूर्ण रहँदै आएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा प्रायशः लगाइने नारा भनेको ‘वर्ग सङ्घर्ष नै महिला सङ्घर्ष हो– महिला सङ्घर्ष नै वर्ग सङ्घर्ष हो ।’ त्यसैकारण श्रमिक वर्ग शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र महिलाको मुक्ति सम्भव छैन अथवा महिला शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र श्रमिक मुक्ति हुन सम्भव छैन भन्ने विचार बोकेका मजदुर सङ्गठन र श्रमिक पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरेका छन् ।

बीसौं शताब्दीको उत्तराद्र्धतिर संयुक्त राष्ट्र सङ्घले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दियो । ८ मार्च एक प्रकारले संसारभरि नै औपचारिक दिवस जस्तै बन्दै गयो । तर महिला सशक्तीकरण र यसभित्र निहित आर्थिक र सामाजिक सशक्तीकरणको विषय भने क्रमशः ओझेलमा पारिन खोजिएको छ । यसले महिलावादी र अन्य प्रगतिशील वामपन्थी आन्दोलनबीच अन्तर्विरोध बाँकी रहेको देखाएको छ । यस्तो अन्तर्विरोध वामपन्थी आन्दोलनमा अझ बढी देखिन्छ, किनभने वामपन्थी आन्दोलन नै महिला मुक्तिका पक्षधरहरूको प्राकृतिक र अनिवार्य घर हो ।

पुँजीवादको सुरुवातदेखि नै महिलाहरू श्रमिक वर्गको हिस्सा बन्दै आएका छन् । महिलाहरूलाई श्रम शक्तिका रूपमा नस्वीकारिएको अवस्थामा पनि महिलाहरू मजदुर वर्गका हिस्सा थिए । उनीहरूले श्रम शक्तिको मान्यता आफ्नै बलबुतामा हासिल गरे । उनीहरूले ज्यालादारी मजदुरको मान्यता नपाए पनि, सामाजिक पुनः उत्पादनमा उनीहरूको योगदानको कदर नभए पनि र पुँजीवादी व्यवस्थाको सञ्चालनको निम्ति अत्यावश्यक आर्थिक गतिविधिमा महिलाहरूको भूमिका उपेक्षा गर्न नसकिने अवस्था भएर पनि महिलाहरू श्रमिक वर्गको हिस्सा बन्दै आएका छन् ।

तर महिला सङ्घर्षलाई उत्तम समाज निर्माणमा मजदुर आन्दोलनको अन्योन्यास्रित हिस्साको रूपमा स्वीकार्न लगाउन भने निकै लामो समय कुर्नुपर्यो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा महिलामा मागलाई प्राथमिकताका साथ अघि बढाएको धेरै समय बितिसक्दा पनि मजदुर सङ्गठन र अन्य श्रमिक सङ्गठनमा पुरुषप्रधान सोच र अभ्यास रहिरह्यो । जसरी समाजमा बुबा वा श्रीमान घर चलाउन अर्थोपार्जनमा लाग्ने र आमा वा श्रीमती घरकै कामधन्दामा लाग्ने अवस्था छ । त्यसको प्रभाव मजदुर सङ्गठनमा पनि परेको छ ।

महिलालाई ज्यालादारी मजदुरको सामाजिक मान्यता प्राप्त गर्न पनि लामो समय सङ्घर्ष गर्नुपर्यो र धेरै प्रतिबद्ध आन्दोलन उठाउनु पर्यो । महिलाले ज्याला नपाउने घरेलु श्रम र महिलाले गर्ने समुदायमा आधारित कामको आर्थिक महत्त्वलाई मान्यता दिलाउन पनि निकै लामो सङ्घर्षको खाँचो पर्यो । तथापि धेरै महिला सामाजिक कार्यकर्ताका लागि प्रमुख समस्या भनेको महिलावाद र समाजवादबीच एकताको मूलभूत असमानता हो । डोनाल्ड सासुनले लेखेको युरोपमा वामपन्थी आन्दोलनको इतिहास ‘द हन्ड्रेड यर्स अफ सोसेलिज्म’मा यसबारे चर्चा गरिएको छ ।

बीसौँ शताब्दीमा समाजवादी देशहरूको सामाजिक वास्तविकताले सर्वहारा वर्गको अधिनायकत्व मात्रले समाजमा जरा गाडेर बसेको पुरातन सोचाइ र घरको श्रम विभाजनमा परिवर्तन नल्याउने कुरा देखाएको छ । त्यसकारण लैङ्गिक समानताको निम्ति अर्को फड्को मार्नुपर्ने देखाएको छ ।
पुँजीवादी महिलावादले वर्ग सङ्घर्षका गम्भीर प्रश्नलाई छायामा पार्ने प्रयास गर्छ । त्यसकारण क्लारा जेटकिनले समाजवादी महिलाहरूले अन्य महिलावादीहरूसँग सहकार्य गर्न हुन्न भन्नेमा जोड दिएका छन् । तर बीसौँ शताब्दीमा समाजवादी देशहरूको सामाजिक वास्तविकताले सर्वहारा वर्गको अधिनायकत्व मात्रले समाजमा जरा गाडेर बसेको पुरातन सोचाइ र घरको श्रम विभाजनमा परिवर्तन नल्याउने कुरा देखाएको छ । त्यसकारण लैङ्गिक समानताको निम्ति अर्को फड्को मार्नुपर्ने देखाएको छ ।

यसको अर्थ समाजवादी महिलावादीका लागि सङ्घर्ष अझ जटिल र दोहोरो हुने देखिन्छ । उनीहरूले एकातिर वर्गीय समाजमा विद्यमान अन्यायपूर्ण आर्थिक व्यवस्थाविरुद्ध लड्ने र अर्कोतिर सँगसँगै लैङ्गिक असमानताको लगातार पुनरोदय भइरहने संरचनाविरुद्ध सङ्घर्ष अघिबढाउनुपर्ने हुन्छ । आर्थिक समानताको लडाइँसँगै सामाजिक, सांस्कृतिक र राजनीतिक सङ्घर्ष पनि लड्नुपर्ने दोहोरो जिम्मेवारी समाजवादी महिलावादीहरूको काँधमा हुन्छ । अघिल्लो प्रकारको सङ्घर्षको तुलनामा दोस्रो प्रकारको सङ्घर्ष अझ बढी जटिल हुने गर्छ । पहिलोथरीको सङ्घर्ष कोसँग लड्नुपर्ने हो, प्रष्ट छ भने दोस्रोथरी सङ्घर्ष आफ्नै पार्टी, मजदुर सङ्गठन र वामपन्थी पार्टीभित्रै चलाउनुपर्ने हुन्छ ।

पहिलोथरी सङ्घर्षभन्दा दोस्रोथरी सङ्घर्ष अझ पेचिलो बन्ने गर्दछ । तर यो सङ्घर्षको निकै ठूलो महत्त्व हुन्छ । वास्तविक मुक्ति भित्री वा बाहिरी पुरुषत्व त्यागेको राजनीतिबाट मात्र सम्भव हुनेछ, जसले पुरुष र महिलालाई समान व्यवहार गर्ने समाजवादी व्यवस्थाको बाटो कोर्नेछ । त्यसै कारण अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिलाले मात्र होइन, समाजवादी पुरुषले पनि यो दिवस मनाउन जरुरी छ ।

जयन्ता घोष जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक र अन्तर्राष्ट्रिय विकास अर्थतन्त्र सङ्गठनका कार्यकारी सचिव हुन् । उनी मन्थ्ली रिभ्युमा विभिन्न विषयमा कलम चलाइरहन्छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?