बिन बहादुर रेग्मी प्युठानी
हिजो आज पाँच दलिय गठबन्धन तोड्न सबै शक्ति र तत्वहरू लागेका छन। गठबन्धन भित्र पनि निहित दलिय स्वार्थको कारणले गठबंधन टिकेको छ। यो गठबंधन यति कमजोर छ कि कुनै दिन जनता सुतेको बेलामा बिहान उठ्दा गठबंधन टुटेको खबर भाइरल बनेको हुनसक्छ। गठबंधन मजबूत हुने कुनै बलियो आधार देखिँदैन। न विचार को मेल छ न कार्य शैलीको तालमेल छ, गठबंधन त केबल प्रतिगामी वली सरकार ढाल्न बाध्यतावस गरिएको सम्झौता न थियो। राष्ट्रिय जनमोर्चा ले गठबन्धनमा सामेल भए पनि एमसीसी को र संघीयताको विरोध छोडेको छैन। त्यसैलाई विरोधीहरू खास गरेर वली इतर कथित बिद्रोही जागरण क्लबका मान्छेहरूको आरोप छ राष्ट्रिय जनमोर्चा कांग्रेसको पुच्छर बन्यो। हिजो वलीको सरकारलाई समर्थन गर्दा पनि एमालेको पुच्छर भनेर आरोप लगाएका थिए। समय र परिस्थिति अनुसार वलीको संसद विघटन को प्रतिगामी कदम को विरोधमा राष्ट्रिय जनमोर्चा ले सरकारलाई दिएको समर्थन फिर्ता लियो। र गठबन्धनको सरकार लाई समर्थन दियो।
उनीहरूले लगाएको एमालेको पुच्छरको आरोप स्वतः खारेज भयो। हेर्दै जानुस यो गठबन्धनले संघीयता खारेज गर्दैन, एमसीसी पारित गर्छ भने गठबंधन टुट्छ। वली र देउवाको बाक्लो भेटघाटको खबर र प्रचण्डको पार्टीमा देखिएको विवाद ले गठबंधन छिट्टै टुट्ने संकेत देखिसकेको छ। त्यसकारणले गठबंधन धेरै दिन टिक्छ भन्ने आधारहरू छैनन। त्यो घडीमा राष्ट्रिय जनमोर्चा लाई लगाइएको आरोप कांग्रेसको पुच्छर स्वतः खारेज हुनेछ। यस्ता हावा तालका आरोप किन लगाउँछन् कसले लगाउँछन्। त्यस बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक हुनेछ।
नेपाली राजनीतिमा विरोधी कित्ताका मान्छेहरूले पनि मानेको कुरा हो कि नेपालमा कम्युनिस्ट पार्टी छ त्यो नेकपा मसाल मात्रै हो। त्यसका कारणहरू छन्:-
(०१) नेकपा मसाल ले नौलो जनवादी क्रान्ति को नारा छोडेन।
(०२) पार्टी अर्ध भूमिगत राजनीतिमा लागेको छ।
(०३) सबैभन्दा पहिले संविधानसभाको नारा उठायो।
(०४) राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा सम्झौताहीन संघर्ष गर्दै आएको छ।
(०५) पार्टीमा कडा अनुशासनको लामो इतिहास छ।
(०६) पार्टी सानो भए पनि राष्ट्रिय राजनीति मा नेतृत्व गरेको छ।
(०७) मार्क्सवाद लेनिनवाद माओ विचारधारा को पथप्रदर्शक सिदान्तलाई दर्हो सँग पक्रेको छ।
विरोधी दल समुह ले विरोध गर्ने तौर तरिका शैली मा पार्टी वाकिफ छ। राजनैतिक सैदान्तिक सवालमा सम्झौताहीन संघर्ष गर्दै आएको छ। नीतिगत रुपमा मसालको जीत हासिल हुने गरेको छ।
पार्टीमा राजनैतिक चेतना स्तर उठाउन बेला बेलामा प्रशिक्षण कलास हुने गर्छ। कलास र प्रशिक्षण बाट प्रशिक्षित नेता कार्यकर्ता नै पार्टीका मेरुदण्ड हुन। एउटा कार्यकर्ता कामरेड तयार पार्न वर्षौं लाग्छ। त्यसकारणले वर्षौं लगाएर तयार पारिएको कमरेडलाई पार्टीले मायाँ गर्छ। दिएको जिम्मवारी बहन गर्ने दौरानमा र जिम्मेवारी दिने सन्दर्भमा पार्टी कामरेडले कडा परीक्षण कालबाट गुज्रनु पर्ने हुन्छ। हरपल हरघडी अग्नि परीक्षा दिनु पर्ने हुन्छ। कामरेडले आफै रोजेर खोजेर पद र जिम्मेवारी पाउँदैनन्। आबस्यकता अनुसार पार्टीले जहाँ जस्तो जिम्मेवारी दिन्छ , सहर्ष स्वीकार गरेर फिल्डमा होमिनु पर्ने हुन्छ। जनता र पार्टीको बीचमा पुलको काम गर्नु पर्ने हुन्छ। पार्टीको नीति कार्यक्रम लाई जनताको घर दैलो सम्म पुर्याउनु पर्ने हुन्छ। कुनै कामरेडले निजी व्यक्तिगत विचार हुन सक्छ तर उसले पार्टीकै विचार र निति बोल्नु पर्ने हुन्छ। कामरेडले भनेका राखेका सोच विचार सबै सही हुन्छ र लागू हुन्छ, पास हुन्छ भन्ने हुँदैन। यही कुरा कलास र प्रशिक्षण मा सिकाइन्छ। तर विभिन्न क्षेत्र र समुदाय बाट आएका कतिपय कामरेड मा प्रशिक्षण र कलास मा सिकाएका कुराहरू कण्ठ हुँदा हुँदै पनि उनीहरू पार्टीका मान्छे बन्न सकिरहेका हुँदैनन्। पद र जिम्मेवारी रोज्न खोज्छन्। काम भन्दा कुरा बढी गर्छन। कुतर्क गर्ने र अनावस्यक बहस गर्ने गर्छन। आफूले गल्ति कमजोरी गरेको महसुस गर्दैनन। काम पनि नगर्ने दोष भरी नेतृत्वलाई दिने बानी परिसकेको हुन्छ। रेडिमेड रिपोर्टिङ गर्न सिपालु भइसकेका हुन्छन मानौं उनीहरू ले सबै जानेका छन्। जस्तै पहिलो संविधानसभाको निर्वाचनमा प्रवासबाट देश भित्र कमिटीका सबै अनिवार्य रुपमा जानै पर्ने निर्णय भयो। म उक्त निर्णय अनुसार जयपुरको बामपन्थी युवा सम्मेलन बाट दुई महिना अघि नै झोला बोकेर आफ्नो कार्यक्षेत्र लागे। निर्वाचन पछि समीक्षा बैठक बस्यो। हामी स्वदेश पुगेकाले संक्षेपमा चुनावी अभियानमा देखेका भोगेका अनुभव रिपोर्टिङ गर्यौं तर निर्णय नमानेर निर्वाचनमै नगएको कामचोर कामरेडले यति लामो रिपोर्टिङ्ग पेस गर्यो मानौं चुनावमा सबै मत उसैले खसाल्यो। मैंले फोन गरेर भोट हाल्न भने। फोनमै विरोधी सँग बहस गरें यस्तै यस्तै…. पार्टीले त्यो रेडिमेड रिपोर्टिङ र कुतर्कलाई स्वीकार गरेन र आइन्दा यस्तो कुतर्क र रेडिमेड रिपोर्टिङ नगर्न सुझाव दियो। हो त्यो सुझाव कामरेड को मुटुमा लागेछ। त्यहाँ देखि ऊ कुतर्क गर्न झन सिपालु हुँदै गयो। पार्टी नीति सिदान्त कार्यक्रममा कमजोरी मात्रै खोज्ने हुन थाल्यो। ऊ अनुशासन उलंघन को दायरामा पर्यो। आखिरमा ऊ विरोधी गतिविधि मा सक्रिय हुन थाल्यो। फेसबुकमा पार्टी विरोधी पोस्टहरु टास्न थाल्यो। यसरी वर्षौं लगाएर तयार पारिएको कमरेडलाई अनुशासनको रातो तातो भट्टीमा रापिलो बनाउने र पाको मजबूत बनाउने दौरानमा डढेर खरानी भयो।
हामीलाई थाहा छ तिनै कुतर्क गर्न र रेडिमेड रिपोर्टिङ बनाउन सिपालु, बन्द कोठामा बसेर समानान्तर दस्ताबेज कोर्न सिपालु कामचोर प्रवृत्ति बोकेका मान्छेहरू ले नै कथित विद्रोह गरेका छन्। तिनै मान्छेहरू हुन चुनावमा धरौटी फर्काउन नसक्ने कोठे नेता। तिनीहरूको कथित क्रान्तिकारिता त्यतिबेला नाङ्गै भयो उनीहरूको जागरण क्लब टुक्रा टुक्रा भएर झोली टुम्मा बोकेर तितर वितर भइसके। जो बचेका छन मसाल कता जाँदैछ भन्दै बर्बराउँदै छन लामा लामा लेख लेखेर आत्मसन्तुष्टि मा रमाएका छन। दुःखद अन्त्यको घोषणा हुँदैछ।