शुक्रबार, फाल्गुन १८, २०८०

महिला हक र अधिकारका लागि हुने सबै खालका संघर्षहरुमा थारु महिलाहरुले पनि भाग लिनुपर्दछ

लक्ष्मी चौधरी

आज ८ मार्च, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभरका महिलाहरुले आजको दिनलाई महिला अधिकार प्राप्तिका लागि भएका संघर्षहरुको स्मरण गर्दै मनाउने गर्दछन् । नेपालका महिलाहरुले पनि श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउने प्रचलन छ । अन्तर्राष्ट्रिय महिला दिवसको मुख्य सन्दर्भ पुरुष सरह महिलालाई पनि हक अधिकार हुनु पर्छ र महिला पनि समाजमा स्वतन्त्रतापूर्वक बाँच्न पाउनु पर्छ भन्ने हो ।

यद्यपी, पहिलेको तुलनामा अहिले महिलाहरु धेरै स्वतन्त्र भएका छन् । राजनीतिक, सामाजिक क्षेत्रमा होस् वा स्वास्थ्य, शिक्षाको क्षेत्रमा किन नहोस् महिलाको भूमिका र पहुँच बढ्दै गएको छ । नेपालको संविधानमा महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागिता अनिवार्य गरिएको छ । महिलाका पक्षमा कैयौं कानुनहरु बनेका छन् । घर परिवार र समाजमा महिलाप्रतिको भेदभावमा कमी हुँदै गइरहेको छ । तैपनि संविधान र कानुनमा उल्लेखित अधिकारहरु व्यवहारमा पूर्णतः लागु हुन सकेको छैन भने समाजमा पनि महिलाले जति अधिकार पाउनुपर्ने हो, पुरुषसरह जसरी समान व्यवहार गरिनुपर्ने हो, त्यो अवस्था छैन ।

अरु समुदायका महिलाहरुको तुलनामा घर परिवार र आफ्नो समाजमा थारु महिलाहरु कैयौं कुरामा बढी स्वतन्त्र छन् ।

अहिले पनि महिला तथा किशोरीहरु दैनिकजसो बलात्कारको शिकार भैरहेका छन् । दाइजोको नाममा महिलाहरुमाथि अमानवीय व्यवहार कायम छ । कतिपय स्थानमा छाउपडी परम्पराले महिलाहरु आजित छन् । बहुविवाह, सामाजिक कूरीतिलगायत घरेलु हिंसाको चपेटामा महिलाहरु परिरहेका छन् । समाजका अन्य महिलाहरुको जस्तै थारु समुदायका महिलाहरु पनि आफ्नो हक अधिकारबाट बञ्चित छन् । अझ पिछडिएको समुदाय भएका कारण थारु महिलाहरु त राजनीतिक, सामाजिक क्षेत्रमा धेरै नै पछाडी पारिएका छन् । तर, अरु समुदायका महिलाहरुको तुलनामा घर परिवार र आफ्नो समाजमा भने थारु महिलाहरु कैयौं कुरामा बढी स्वतन्त्र छन् ।

मैले बुझे र भोगेअनुसार अन्य समदायका महिलाहरुले जुन खालको पारिवारीक बन्धन खेप्नुपर्छ, थारु महिलाले त्यति धेरै पर्दैन । यद्यपी थारु जातिका महिलाहरु अन्य समुदायका महिलाभन्दा पछाडी परेका छन् । अहिले पनि राजनीतिक, सामाजीक अधिकार तथा स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा उनीहरुको पहुँच निकै कम छ । तर यो समुदायमा महिलाहरुलाई केही स्वतन्त्रता र सम्मान अवस्य छ ।

थारु समुदायका महिलाहरुमा छाउपडी छैन । उनीहरुमा रजस्वला भएपछि कुनै खालको भेदभाव हुँदैन । धर्मका नाममा महिला माथि हुने भेदभाव थारु समूदायमा छैन । दाइजो प्रथा छैन । दाइजोकै कारण थारु महिला प्रताडित हुनुपरेका घटना खासै छैन । कैयौं घर परिवारको निर्णायक तहमा त महिलाकै भूमिका महत्वपूर्ण हुने गर्छ ।

यसबाहेक बाहुन क्षेत्री महिलाहरुको तुलनामा कैयौं स्वतन्त्रता थारु समुदायका महिलाहरुलाई छ । हाम्रो सामाजिक संस्कार अनुसार आफ्नो श्रीमान बितेपछि महिलाले अझैपनि पछि सेतो लुगा लगाउनु पर्ने, चुरापोते वा सिन्दुर लगाउन नपाइने परम्परा छ । यसले गर्दा महिलाहरु जिन्दगीभर पीडित हुनुपर्छ । तर, थारु समुदायमा यो परम्परा छैन । अहिले आएर प्रगतिशीलरुपमा अन्य समुदायका महिलाहरुले पनि त्यो स्वतन्त्रता अलि अलि पाउँदै आएका छन् । तर थारु समुदायमा त्यसखालको स्वतन्त्रता पुर्खादेखि नै चलि आएको छ । थारु समुदायमा जातीयताको विभेद पनि पाइँदैन । दलित समुदायले खेप्नुपर्नेछुवाछुतको समस्या थारु जातीको हकमा लागू हुँदैन । यो समुदायले कसैलाई जातीय विभेद गर्दैन ।

राष्ट्रियताको सवालमा थारु समुदाय अत्यन्त संवेदनशील समुदाय हो । खासगरी पश्चिमी तराई क्षेत्रमा बस्ने थारुहरुले आफ्नो सिमानाको रक्षा गर्दै आइरहेका छन् । पूर्वी तराईका मधेशी समुदाय जस्तो भारतसँग ‘राटी बेटीको सम्बन्ध’ थारु जातीले कायम गरेको छैन । त्यसले गर्दा भारतीय महिलासँगको विवाह, त्यससँगै जोडिएका नागरिकता, दाइजो, घरेलु हिंसा जस्ता प्रताडना थारु जातीका महिलाले खेप्नु परेको छैन । बरु पुरुषसरह उनीहरु पनि देशको सिमाना र राष्ट्रियताको रक्षाका लागि क्रियाशील छन् । भारतसँगको ‘रोटी–बेटी’ सम्बन्धले तराईमा जहिले पनि नागरिकताको समस्या सिर्जना भएको देखिन्छ । खासगरी भारतबाट विवाह गरेर आउने महिलाहरुमा यो समस्या छ । अझ त्यसरी वैवाहिक सम्बन्ध गाँसेकाहरुले आफ्ना आफन्तलाई समेत नेपालको नागरिक बनाउने प्रयास गर्दा तराईमा नागरिकताको समस्या वर्षेनी बढ्दै गइरहेको छ ।

राष्ट्रियताको सवालमा थारु समुदाय अत्यन्त संवेदनशील समुदाय हो । खासगरी पश्चिमी तराई क्षेत्रमा बस्ने थारुहरुले आफ्नो सिमानाको रक्षा गर्दै आइरहेका छन् ।

कैयौं मधेशवादी दलका नेताहरुले नागरिकतालाई आफ्नो राजनीतिक स्वार्थको मुद्दा बनाउने गर्दछन् । तर, थारु समुदाय यो समस्याबाट अलग छ । केही फाट्टफुट्ट वैवाहिक सम्बन्धबाहेक नेपाली थारु युवतीहरु भारतमा विवाह गरेर जाने प्रचलन छैन नत उताबाट विवाह गरेर ल्याउने चलन नै छ । बरु पछिल्लो समय थारु समूदायले नेपालमै विभिन्न जातीका बिचमा वैवाहिक सम्बन्ध कायम गरेर जातीय सद्भाव बढाएको देखिन्छ । यसरी सिमाना वा राष्ट्रियताको रक्षा तथा देशभित्रको जातीय सद्भावका लागि थारु समुदायले महत्वपूर्ण भूमिका खेलिरहेको छ, जहाँ थारु महिलाको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ ।

नेपालमा बाहुन क्षेत्री समुदायका महिलाहरुले जुन धार्मिक, साँस्कृतिक, सामाजीकरुपमा हिंसा भोग्नु परेको छ, त्यो थारु समुदायका महिलाहरुमा अत्यन्त कम लागू हुन्छ । बरु उनीहरुले अन्य जातिका तुलनामा मदिराका कारण धेरै नै हिंसा भोग्नु परिरहेको छ । पिछडिएको समुदाय भएका कारण मदिराको बढी सेवन गर्ने र यसले घरायसी झैझगडा निम्त्याउने हुँदा बाहुन क्षेत्रीको तुलनामा अन्य जनजाती जस्तै थारु समुदाय पनि पीडित छ र त्यो पीडा महिलाले बढी भोग्नुपर्छ ।

संसारभरी र नेपालका पनि महिलाहरुले खेप्नुपरिरहेका जतिपनि समस्याहरु छन्, ती समस्याबाट थारु समुदायका महिलाहरु अलग हुन सक्दैनन् ।

राजनीतिक अधिकारको क्षेत्रमा थारु समुदायका महिलाहरु पछाडी परे पनि अरु जातिका महिला भन्दा थारु समुदायका महिलाहरु अलि बढी स्वतन्त्रत छन् । तर, संसारभरी र नेपालका पनि महिलाहरुले खेप्नुपरिरहेका जतिपनि समस्याहरु छन्, ती समस्याबाट थारु समुदायका महिलाहरु अलग हुन सक्दैनन् । पुरुष प्रधान समाजमा पाइने कैयौं समस्याहरु थारु समुदायका महिलाहरुले पनि भोग्नुपरिरहेको छ । खासगरी वर्गीय समाजमा वर्गीय विभेद सबै जाती, समुदाय र स्थानका मानिसहरुले भोग्नुपरिरहेको सन्दर्भमा थारु जाती त्यसबाट अछुत हुन सक्दैन । अझ पछाडी परेको समुदाय भएका कारण यहाँ महिलाहरुको अवस्था झनै दयनीय छ । त्यसकारण वर्गीय मुक्ति आन्दोलनका सबै मोर्चाहरुमा थारु समुदाय पनि अग्रपंक्तिमा आउन जरुरी छ । महिला हक र अधिकारका लागि हुने सबै खालका संघर्षहरुमा थारु महिलाहरुले पनि भाग लिनुपर्दछ । यसरी नै वर्गीय अधिकारसँगै जातीय र लैंगिक अधिकार कायम हुनेछ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना ।
लेखिका लक्ष्मी चौधरी युगदर्सन साप्ताहिक ,तथा अन्लाईनको डेस्क संयोजक ,थारु नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य ,प्रगतिशील पत्रका संघकोपनि सदस्य हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?