शनिबार, साउन १२, २०८१

देश र जनता वा गठबन्धन र एमसीसी ?

खगेन्द्र छन्त्याल
माके अध्यक्ष प्रचण्डले कहिलेकाही लचकताको नाममा अस्वभाविक अस्थिरता प्रदर्शन गर्ने तथा क्रमभंग र छलाङ् को नाममा अस्वाभाविक जम्प गर्ने गर्नुहुन्छ ! उहाको त्यसप्रकारको अस्थिरता र जम्पको कारण कहिलेकाही आफ्नै पार्टी, संगठन देश र समाजमा अनपेक्षित घटना घट्ने गर्दछन ! महान जनयुद्धका योजना र हजारौ शहिदका सपना माथिको घात त्यही अस्थिरता र जम्पको परिणाम थियो ! पछिल्लो कालखण्डमा प्रचण्डको बिशेष पहलमा केपी ओली पहिलो पटक प्रधानमंत्री बने ! प्रचण्ड आफु बने सरकार संचालनको उच्च स्तरीय संयन्त्रको संयोजक !
९ महिना पछि प्रचण्डलाई के झ्वाक चल्यो कुन्नि सरकार संचालन गर्ने उच्चस्तरीय संयन्त्रको संयोजक आफुनै हुदा हुदै प्रधानमंत्री केपी ओली विरुद्ध संसदमा (केपीको शब्दमा छापामार शैलीमा) अविस्वासको प्रस्ताव ल्याए ! उक्त प्रस्तावको प्रस्तावक आफै बने ! केपी ओली प्रधानमंत्री को कुर्सि वाट चिप्लिय ! कांग्रेसको समर्थनमा प्रचण्ड आफै प्रधानमंत्रीको कुर्सीमा टासिन पुगे ! प्रचण्ड– कांग्रेस सम्बन्धले स्थानीय चुनावमा प्रचण्डलाई राम्रै लाभ भयो ! प्रचण्ड यो प्रकारको लाभ प्रदेश र संघीय चुनावमा पनि प्राप्त गर्न चाहन्थे ! तर विडम्बना कांग्रेसले प्रदेश तथा संघको चुनावमा प्रचण्डको चाहना बमोजिमको लाभ दिन चाहेन ! फलत प्रचण्डजिको कांग्रेस प्रतिको मोह भंग भयो ! प्रदेश तथा संघीय चुनाव सम्म आउदा प्रचण्डजी कांग्रेस क्याम्प वाट केपी क्याम्पमा जम्प गरिभ्याउनुभयो ! परिणामत प्रदेश तथा संघीय चुनावमा बन्यो प्रचण्ड–केपी गठवन्धन ! गठवन्धन को नाम दिइयो वाम गठवन्धन !
क्रान्तिकारीहरु र सच्चा वामपन्थी शक्तिहरु आत्मागतरुपमा कमजोर भएको लाभ कथित वाम गठबन्धनले राम्रै संग लियो ! वाम आन्दोलन प्रतिको ठुलो जनमतले चुनावमा उक्त गठबन्धनलाई साथ् दियो ! गठबन्धनले चुनावमा झन्नै दुई तिहाईको मत प्राप्त ग–यो ! चुनाव परिणाम आउदा नआउदै पाँच वर्ष प्रधानमंत्रीको प्रस्ताव आए पश्चात प्रचण्डले फेरि अर्को क्रमभंग र छलाङ् झन्नै नगरेका होईनन ! तर आधा आधा समयावधि आलोपालो प्रधान मंत्रीको कुर्सिमा बस्ने केपी संग भद्र सहमति पश्चात रोकियो उनको नयाँ क्रम भंग र छलाङ् ! केपी संगको उधारो सहमति पश्चात हौशियका प्रचण्डले वरु अर्को छलाङ् हाने त्यो थियो एमाले संग पार्टी एकता !सिद्धान्त,बिचार,दृस्टीकोणमा एकरुपताको कारण नभई केवल कुर्सि प्राप्तिका निम्ति एकता गर्नुपर्ने भएकोले प्रचण्ड–केपी दुवैलाई त्यो एकता आवस्यकता थियो ! कहिँ कुनै कमिटीमा छलफल, बहस बिना नै एकता भयो, डवल नेकपा बन्यो ! केपी ढुक्क संग दोस्रो पटक प्रधान मंत्रीको कुर्सीमा चढे ! प्रचण्ड ढुक्क संग प्रधानमंत्रीको कुर्सीको वेईटिङ् (प्रतिक्षा) मा वसे ! जव केपीको पालो सकिदै गयो प्रचण्डको पालो आउदै ग–यो तव डवल नेकपामा कचकच सुरुभयो ! केपीको छोड्दै नछोड्ने र प्रचण्डको लिएरै छाड्ने मनस्थितिले डवल नेकपामा कचकच चुलियो ! तसर्थ यो कचकचको कारण केपीको कुर्सि मोह ,दम्भ,घमण्ड,र व्यईमानी त थियो नै साथै प्रचण्डको कुर्सि प्रतिको अति लालच पनि थियो ! तत्कालिन एमालेमा केपीको पार्टी सत्तारोहण देखि ओझेलमा परेका माधव–झलनाथ डवल नेकपा बन्नु अघि देखि नै निरन्तर कचकच अभियान मै थिए ! डवल नेकपा बने पश्चात केपी–प्रचण्डको गठजोडले उनीहरु झनै ओझेलमा परे ! प्रभावहीन नै सहि उनीहरुको कचकच निरन्तर चलिरह्यो डवल नेकपामा !
केपी संग कुम जोडेर हिडेका प्रचण्डले माधव–झलनाथका कचकचको वेवास्ता गर्नु स्वभाविक थियो ! उनले निरन्तर माधव–झलनाथका कचकचको वेवास्ता गर्दै हिडे ! जव प्रचण्ड आफै कचकचमा उत्रनु पर्नेभयो वल्ल उनले माधव–झलनाथलाई सम्झनु प–यो ! ठिक यहिनेर प्रचण्डले एक अर्को क्रमभंग गर्नुपर्ने तथा छलाङ् हान्नु पर्ने स्थिति आयो ! उनले जव डवल नेकपा भित्र केपी क्याम्प छोडेर माधव–झलनाथ क्यापमा जम्प गरे तव बन्यो प्रचण्ड–माधव र झलनाथको नया समीकरण ! तत्पश्चात डवल नेकपा बिघटन र बिभाजन भयो ! औपचारिक रुपमा डवल नेकपा बिघटन र बिभाजनको कारण निर्वाचन आयोगको निर्णय र निर्देशन भएतापनि अनौपचारिक रुपमा उक्त पार्टी बिघटन र बिभाजन पहिल्यै भैसकेको थियो ! प्रचण्ड–माधवले जुनदिन केपीलाई पार्टी सदस्य वाट निष्कासन गरे त्यही दिन डवल नेकपा विघटित र विभाजित भएको थियो !
डवल नेकपा ःएमाले,माके र एस गरि तिन वटा पार्टीमा परिणत भयो ! जसरी डवल नेकपा गठन हुदा कुनै सैदान्तिक ,बैचारिक आधारमा नभई केवल दुईजना व्यक्तिको कुर्सि स्वार्थ कै निम्ति गठन भयो ठिक त्यसरी नै त्यसको बिघटन र बिभाजन पनि कुनै सचेत सैद्धान्तिक,बैचारिक अन्तर संघर्षको कारण नभई उनै दुई जना व्यक्तिको कुर्सि स्वार्थकै कारण पैदा भएको कचकचले भयो ! डवल नेकपाको बिघटन पश्चात बनेको एमाले सरकारमा रह्यो बाँकी दुई समुह सरकार बाहिर ! अव ति दुई समुह अर्थात माके र एसको मक्सद बन्यो हरहालतमा एमालेलाई सत्ता च्युत गर्नु ! एमालेलाई सत्ता च्युत गर्नको निम्ति यिनीहरु जो संग जे सम्झौता गर्नपनि तयार भए ! ठिक यहिनेर प्रचण्डले अर्को जम्प गरे त्यो थियो स्थानीय चुनाव पछि बिछोड भएको कांग्रेस संग पुनर्मिलनको पहल !
उता कांग्रेस कोमामा सुतिरहेको थियो ! सत्ताको मात् चढेर कांग्रेसले कोशी, गण्डकी र महाकाली बेचेको जनताले बिर्शेका थिएनन् ! कांग्रेसले देशका सम्पूर्ण ठुला उधोग ,कलकारखानाहरु बेचेको जनताले बिर्शेका थिएनन् ! कांग्रेसले किलो शेरा टु ,रोमियो जस्ता कैयौ अप्रेशन गरेर जनताको कत्लेआम गरेको जनताले बिर्शेका थिएनन् ! कांग्रेसले जनताको टाउकाको मुल्य तोकेर “झोला भरि टाउका लिएर आउ झोला भरि पैसा लिएर जाउ” भनि हुकुम फरमान गरेको जनताले बिर्शेका थिएनन् ! त्यसकारण चुनाव कै माध्यम वाट नै किन नहोस कांग्रेसलाई जनताले राम्रै सजाय दिएका थिए ! कांग्रेसीजन कसैले शोचेको थिएन अव यो पुस्ताको कांग्रेस कुनै नेताले सरकारको नेतृत्व गर्दछ ! व्यक्तिगतरुपमा भन्ने हो भने देउवाको निम्ति त राजनैतिकरुपमा सन्यासको विकल्प थिएन ! कांग्रेस भित्र उनि असफल सभापतिको रुपमा चित्रण भैसकेका थिए ! अव अगाडी पार्टी नेतृत्व वाट स्वेच्छिक वहिर्गमन उनको वाटो थियो ! सम्भवत उनको शोच पनि त्यही थियो ! तर भवितव्यवश देउवाको तालु मै आलु फल्यो, कांग्रेसलाई चिट्ठा प–यो !एकाएक प्रचण्ड– माधव बुढानिलकण्ठ पुगेर देउवालाई देशको प्रधानमंत्री बनिदिन आग्रह गरे ! कैयौ दिनसम्म देउवाले यो सपना हो या विपना छुट्याउन सकेनन ! वल्ल तल्ल उनले आफुलाई सम्हाल्दै उक्त प्रस्ताव स्वीकार गरे ! कांग्रेसको अप्रत्यासित सत्ता प्राप्तिको अवसर,माके र एसको हरहालतमा एमालेलाई सत्ताच्युत गर्ने दाउ र जसपा,राजमोको सत्तारोहणको मौका सदुपयोग आदिको कारण बन्यो पांच दलीय गठबन्धन ! अन्तत एमालेलाई कुर्सि च्युत गर्ने र उक्त कुर्सि स्वयंले प्राप्त गर्ने गठबन्धनको लक्ष भएतापनि ओलीको संसद बिघटनको मुद्धालाई उसले राम्रै मसला बनायो ! गठबन्धनका नेताहरुले ओली प्रतिगमनकारी भएको र आफूहरुनै यो ब्यबस्था र सत्ताको असली रक्षक भएको दावी गरे !
गठबन्धनका नेताहरुले गठबन्धन आगामी स्थानीय,प्रदेश र संघीय चुनाव हुदै त्यसपछिको सरकार निर्माण देखि संचालन सम्म जाने घोषणा गरेतापनि राजनैतिक मैदानमा विभिन्न प्रश्नहरुउठेका देखिन्छन ! गठबन्धनमा एमसीसीको असर कस्तो पर्ला ? एमसीसी सम्बन्धी विवादले गठबन्धनलाई के असर गर्ला ? एमसीसी कै कारण गठबन्धन टुट्ने त होईन ? एमसीसी सम्बन्धी कुन पार्टी को भूमिका कस्तो रहला ? रोज्नुपर्ने स्थितिमा गठबन्धनका कुन कुन पार्टीले के रोज्लान गठबन्धन वा एमसीसी ? यी प्रश्नहरु आज सर्वाधिक चासोका साथ् उठिरहेका देखिन्छन !
गठबन्धन भित्र एमसीसी सम्बन्धी एकमत छैन यो कुनै लुकेको कुरा होईन ! वरु गठबन्धन भित्र एमसीसी सम्बन्धी विवादको कारण के हो ? यो लुकेको कुरा हो ! कतिपय मान्छेहरु के भन्छन भने कांग्रेस–जसपा नेतृत्वको एउतै मत भएतापनि माके–एस र राजमो नेतृत्वको फरक मत नै गठबन्धन भित्र एमसीसीवारे बिबादको कारण हो ! वास्तविकता त्यस्तो होईन ! गठबन्धनमा सामेल राजमो बाहेकका सवै पार्टीको नेतृत्वको मत एमसीसीको पक्षमा छ यो देखियकै कुरा हो ! राजमो सिंगो पार्टी एमसीसीको विपक्षमा छ ! तर गठबन्धनमा सामेल अन्य सवै पार्टीहरु एमसीसीको सवालमा आन्तरिक बिबादमा छन ! नेतृत्व एमसीसीको पक्षमा छ अरु बिपक्षमा ! माके र एस नेतृत्व सामान्य फेस सेभिङ्ग गरेर एमसीसी पारित गर्न चाहन्छ ! तर ति पार्टी भित्रका देशभक्तहरु एमसीसी खारेजीको निम्ति संघर्ष गरिरहेकाछन ! जसपाको बाबुराम पक्ष जस्ताको तस्तै एमसीसी पारित गर्ने पक्षमा देखिन्छ भने उपेन्द्र पक्ष परिमार्जनको पक्षमा छ ! याहा सम्म कि कांग्रेस भित्रै पनि केहि मान्छे चाहन्छन एमसीसी फिर्ता जावस !
त्यसकारण गठवन्धनमा सम्मिलित पार्टीहरु भित्र चलिरहेको अन्तरसंघर्षको परिणाम के हुन्छ ? त्यसको आधारमा मात्र माथिका प्रश्नहरुको सहि जवाफ आउन सक्दछन ! निश्चयनै अन्तरसंघर्षमा देशभक्त नेता,कार्यकर्ताहरुको जित भयो भने गठबन्धनमा एमसीसी सम्बन्धि बिबादको ठुलै असर पर्दछ र त्यसकै कारण गठबन्धन टुट्छ एमसीसी फेल हुन्छ ! तर दलाल नेतृत्वले जित्यो भने गठबन्धनमा एमसीसी सम्बन्धि बिबादको कुनै अर्थ रहदैन ! गठबन्धन यथावत रहन्छ एमसीसी पनि पारित हुन्छ ! हामि कामना गरौ त्यो अन्तर संघर्षमा देशभक्त नेता,कार्यकर्ताहरुको जित होस्,दलाल नेतृत्वको हार होस् !
निश्चय नै एमसीसीले गठबन्धनमा सामेल पार्टीहरु भित्र हलचल पैदा गरेकोछ ! त्यही हलचलको कारण गठबन्धन धर्मरायको देखिन्छ ! हामीले सधै स्वीकार गर्दै आएको कुरा के हो भने विभिन्न पार्टी समुहहरुको नेतृत्व पंति अवसरवादी,संशोधनवादी र प्रतिक्रियावादी नै भएतापनि उक्त पार्टी समुहहरु भित्र ठुलो संख्यामा क्रान्तिकारी,वामपन्थी तथा देशभक्तहरु छन उनीहरु संग निरन्तर छलफल र सहकार्य गर्नुपर्दछ ! हो, गठबन्धन भित्र एमसीसी सम्बन्धी बिबादको कारक तिनै क्रान्तिकारी,वामपन्थी तथा देशभक्तहरु हुन् ! उनीहरुले आ–आफ्ना पार्टी, समुह भित्र गरेको संघर्षको परिणाम नै गठबन्धन भित्रको बिबादको एउटा कारण बनिरहेको छ !
गठबन्धन भित्र एमसीसी सम्बन्धि विवादको अर्को कारण हो एमसीसी दाउपेच ! आ–आफ्नो राजनैतिक लाभको निम्ति गठबन्धनमा सामेल पार्टीहरुले एमसीसीलाई दाउपेचको साधन बनाईरहेको देखिन्छ ! यद्दपि देउवा भित्रीरुपमा कुर्सि स्वार्थका निम्ति तिन वटै तहको चुनाव र त्यसपछि बन्ने सरकार सम्म नै गठबन्धनको निरन्तरता चाहन्छन ! तर लगभग सवै कांग्रसीजन गठबन्धन गरेर चुनावमा जाने पक्षमा छैनन् ! प्रदेश र संघको गत चुनावमा कांग्रेस हारको मुख्य कारण बनेको बाम गठबन्धन फुटेर ३ टुक्रा बनेको अवस्थामा कांग्रेस एकल ढंगले चुनावमा जानुपर्दछ भन्ने कंग्रेसीजनहरुको तर्कमा काफी दम छ ! त्यसकारण देउवा को चाहना हुदा हुदै पनि बहुमत कंग्रेसीजनहरु गठबन्धनलाई चुनाव सम्म लैजाने मुडमा छैनन ! उता गठबन्धनमा सामेल सवै पार्टीहरुको फुट र विभाजनको कारण सांगठनिक स्थिति डामाडोल छ ! यहि कारणले गर्दा गठबन्धनलाई तिन वटै तहको चुनाव सम्म नै लिएर जादा केहि न केहि चुनावी परिणाम आफ्ना निम्ति सकारात्मक हुने आशा उनीहरुको छ ! यो अवस्थामा गठबन्धन भित्र कांग्रेस एकातिर अरु चार पार्टी अर्कोतिर भएर एमसीसीलाई दाउपेचको भकुण्डो बनाईरहेकाछ्न !
वाहिर गठबन्धनका नेताहरुले गठबन्धनमा हुनुकै कारण एमसीसीको पक्षमा हुनै पर्ने र एमसीसीको बिपक्षमा हुनुकै कारण गठबन्धन छोड्नै पर्ने गठबन्धन टोडनै पर्ने जरुरत छैन भनेतापनि भित्र त्यस्तो छैन ! गठबन्धनका पार्टीहरु एमसीसीको वारेमा स्वतन्त्र छैनन् ! कांग्रेस गठबन्धनको लोभ देखाएर अन्यलाई एमसीसीको पक्षमा लैजान चाहन्छ ! त्यस्तै अन्यहरु एमसीसी पारित गर्ने लोभ देखाएर कांग्रेसलाई गठबन्धनको निरन्तरता तिर लैजान चाहन्छन ! यो क्रममा उनीहरु विच कहिले लोभ र लालच त् कहिले धुर्की र धम्कि का शुत्रहरु पनि प्रयोग भैरहेकाछ्न ! वेला वेलामा देउवाले कहिले ओली कार्ड देखाउनु त कहिले गठबन्धनको निरन्तरताको कुरा गर्नु तथा प्रचण्डको पछिल्लो अभिव्यक्ति एमसीसीको कन्टेन्ट नै चेन्ज गर्नुपर्ने वा एमसीसीलाई चुनाव पछि मात्र अघि बढाउनुपर्ने जस्ता जे चिज हरु वाहिर आएका देखिन्छन ति सवै गठबन्धन भित्र भैरहेको एमसीसी दाउपेच कै परिणाम हुन् !
सारमा कुरा के हो भने राजमोको आंशिक फरक मत भएतापनि अन्तत एमसीसी पारित गर्नुपर्दछ, गठबन्धन पनि बचाउनुपर्दछ भन्ने सवालमा गठवन्धनका सवै पार्टीको नेतृत्व एकमत छ ! गठबन्धन भित्र भनियको बिबादको कारण ति पार्टीका नेतृत्वमा रहेका एकाध नेताहरुको देशभक्त शोच होईन ! आम जनताको संघर्ष र गठबन्धनमा रहेका पार्टीहरु भित्र रहेका देशभक्त नेता कार्यकर्ता हरुको दवाव त्यसको कारण हो ! आम जनताको निरन्तर संघर्ष तथा गठबन्धनमा सम्मिलित पार्टीहरु भित्रका सच्चा देशभक्त नेता कार्यकर्ताहरुको दवावको कारण पनि गठबन्धनमा सम्मिलित पार्टीहरुका नेतृत्व नाङ्गो ढंगले एमसीसीको पक्षमा देखिन नसकेको तथ्य त छदैछ ! साथै संसदीय राजनैतिक लाभको निम्ति पनि गठबन्धनका केहि मुख्य नेताहरुले एमसीसीलाई दाउपेचको साधन बनाईरहेकाछ्न ! आफ्नो संसदीय राजनैतिक अभिस्ट पुरा हुने वित्तिकै उनीहरुले एमसीसी जस्ताको तस्तै पारित गर्न तयार हुनेछन ! यो परिस्थितिमा आम जनता तथा गठबन्धनमा रहेको पार्टी भित्रका देशभक्त नेता कार्यकर्ताहरुको भूमिका देश र जनताको निम्ति झन् बढी महत्वपूर्ण हुनेछ ! वास्तवमा प्रश्न गठबन्धन वा एमसीसी ? भन्ने होईन प्रश्न देश र जनता वा गठबन्धन र एमसीसी ? भन्ने हो ! किनकी गठबन्धनका नेताहरु गठबन्धन वा एमसीसी मध्य एक होईन गठबन्धन र एमसीसी दुवै चाहन्छन ! तर आम जनता तथा गठबन्धनमा रहेका पार्टीहरु भित्रका देशभक्त नेता,कार्यकर्ताहरु गठबन्धन र एमसीसीको पक्षमा होईन त्यसको बिरुद्ध देश र जनताको पक्षमा एकढिक्का हुनु आजको आवस्यकता हो !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal