शनिबार, बैशाख ८, २०८१

प्युठानको ,नारीकोट विशेष:

 

ज्ञामुराम न्यौपाने

प्यूठानमा २०७३ मा गठित गौमुखी गाउँपालिकाकाे दक्षिण भागमा नारीकोट पर्दछ। ७ दशमलव ५५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यो गाँउमा सात सय ६० घरधुरी र ३५ सय आसपास जनसंख्या रहेको छ।गाउँपालिकाकै सचेत अन्न भंडारको वार्ड मानिने नारीकोटको आफ्नै इतिहास पनि रहेको पाइन्छ।
भित्रीकोटे राजाले ओखरकोट आक्रमण गर्न नारीकोटको एकारातेमा मोर्चा बनाएको जनश्रुती रहेको छ। त्यहाँ महिलाहरुले केही समय मोर्चा सम्हालेकाे र कोत (हतियार भंडार)स्थापना गरेको बताइन्छ। नारीद्वारा चलाइयको कोत नारीकोत (अपभ्रंस भएर कोट) भनिएको अनुमान छ। युद्धको चरणमा स्थापना गरिएको कोटको सुरुमा कोट भन्ने ठाउँमा त्यसपछि माडौ भन्ने थुम्कोमा पुजा गरिन्थ्यो। माडौंमा रहेको कोटको जमीन अतिक्रमण भएपछि हाल भुमेकाथान नजिक कोट पुजा गरिन्छ।नारीकोटकाे कोटमा बर्खे र चैते दशैंमा खडका, क्षेत्री र मगर गरी तिन थरका पुझारीहरुले पूजाआजा गर्ने चलन छ।
नारीकोटको सबैभन्दा अग्लो ठाउँ एकराते भन्ने सुन्दर थुम्कोमा एकरात भुरे टाकुरे राजा बसेको र त्यही कारणले एकाराते नामाकारण हुन गएको बताइन्छ। जहाँ अहिले भवनको भगनाबसेस रहेको छ।

नाररिकोट राणा कालमा एउटा प्रशासनिक एकाइको रुपमा रहेको थियो। जसलाई “थुम” भन्ने गरिन्थ्यो। मेहनती किसान, उर्वर भूमि र ठूलो र उब्जाउ फाँटको कारण नरिकोटलाइ लामो समय देखि अन्न भण्डारको रूपमा पनि लिने गरियको छ। कुनै समय गुल्मीका केही गाउँहरू र पुजा स्याउलीवाङ खाबाङ रजबारा तुषारा सम्म यहाँको कोदो पुग्दथ्यो। हाल आयर नारीकोट अन्न भण्डार मात्र नभएर रेमिट्यान्समा प्यूठानमै अग्रणी स्थान रहेको छ। २०३८ सालमा नारिकोट पञ्चायतलाइ टुक्राएर खुङ र नारीकोट अलग अलग पञ्चायतको रुपमा खडा गरियको थियो।
नारिकोटबाट पञ्चायत कालमा शेरबहादुर पुरी,पूर्णलाल पुरी, खगुलाल गुरुङ, डोर बहादुर जि सी प्रधानपञ्च बनेका थिए। बहुदल आइसके पछिको गा बि स अध्यक्षमा दुइ पटक निर्बाचित सर्वजित बुढाथोकीलाइ आर्थिक अनुसासनको विषयमा राष्ट्रिय जनमोर्चाले पदबाट राजीनामा गराएको थियो।२०५४ पछि २०बर्ष सम्म देशमा स्थानीय निर्बाचन नहुँदा लामो समयको अन्तराल पछी नरीकोटमा श्यामलाल पुरी २०७४ मा वडाध्यक्ष बने।
यस बीचमा वडा भवन, कच्ची सडक लगायत केही सानातिना विकासे काम भय पनि, नारीकोटबासी जनताका खास सपना पुरा हुन सकेका छैनन्। १८ करोड लागतको नरिकोटमा निर्माणाधीन ढ्वाटेखोला लिफ्ट खानेपानी आयोजनाकाे मुहान र प्राविधिक डिजाइन मै समस्या देखिएको छ।
नारीकोटको नेतृत्व पटक पटक बदलिँदै गएपनि गाउँका विद्यालयहरुको शैक्षिक स्तर वृद्धि, २००९ सालमा स्थापित पलिका कै पुरानो विद्यालय अमृत जिबन मा वि काे स्तरोन्नती, खाने पानी समस्या, कृषि र पशुपालनको आधुनिकीकरण, झिमरुक नदी नियन्त्रण,हेल्थ पोष्टको सेबा क्षमतामा वृद्धि, सडकहरुको सुधार, सहकारी संस्थाको सञ्चालन, राज्यकोषबाट हुने गरेका खर्चमा पारदर्शिता , वित्तीय अनुशासन, तथा सार्बजनिक सुनुवाईका विषयहरु अहिले पनि नारीकोटका समस्याको रूपमा रहेका छन।

आन्तरिक पर्यटन बढाउने स्थलहरु जस्तै खुङ गुल्मी र नारिकोटकाे संगम स्थल देउराली र त्यहाँ रहेको सुपा देउराली मन्दिर,एकराते,थाम, माडौंको दुन्दुङ्गे गुफा (रानी जयन्ती देवी लुकेको ठाउँ), जाउनेपाटा गुफा, रामखोलाको बोक्से रह, पिपलरुख र वार्ड कार्यालय आसपासको क्षेत्र जस्ता मनमोहक ठाउँहरुको थप सौन्दर्यकरण गर्नु आवश्यक छ। भरखर अमृत जिबन मा वि लाइ जनस्तरबाट लाखौं चन्दा उठाएर कक्षा १२ सम्म स्तरोन्नति गर्न सकारात्मक पहल सुरु भयको छ।

नारीकोट कम्युनिस्ट आन्दोलनको लागि पनि उत्तिकै चर्चामा रहने गरेको छ। २०१० सालमा प्युठान जिल्ला पार्टीले नारीकोटमा किसान माथि हुने शोषण बिरुद्ध आन्दोलन नै चलाएको थियो। त्यसपछि नारीकोटमा कम्युनिस्ट पार्टीको निरन्तर क्रियाशीलता रहीरह्यो। जनताहरूलाई सामाजिक र राजनैतिक क्षेत्रमा सचेत र संगठित गर्न पार्टीले सधै जोड दिँदै आएको छ। कामरेड जगत पुरीको २०७४ मा भयको असामयिक निधनले पार्टी र नारीकोटकाे बिकासमा ठूलो क्षति हुन पुग्यो।
नारीकोटको चिनारी बढाउने सताब्दी पुरुष तथा वामपन्थी नेता कामरेड खगुलाल गुरुङलाइ १०४ बर्षको उमेरमा हामीहरूले यसै वर्ष गुमायौं। नारीकोटमा उहाँको स्मारक निर्माण हुनसके गाउँको पहिचानमा अर्को सकरात्मक सन्देश थपिने देखिन्छ।
नारीकोटकाे ऐतिहासिकता रक्षा गर्दै यहाँको सम्भावना तथा जनताकाे उज्जवल भविष्य निर्माणको लागि सामाजिक नेतृत्वमा आफ्नो पार्टीको मात्र वर्चस्व कायम गरौं भन्ने सोँच भन्दा आपसि एकता,साझा भावना,बिकास निर्माणको सवालमा सबैलाई सहभागी बनाएर लैजाने शैलीको खाँचो देखिन्छ। यसरी नै नारिकोटले आफ्नो अग्र स्थानलाइ सुरक्षित गर्न सक्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?