शुक्रबार, बैशाख ७, २०८१

~~>  हर्के पनि गिलासमा भोट हाल्न  लाहुर बाट स्वदेश जाने<~~

 

– बिन बहादुर रेग्मी, सुरत

म हजुरहरुलाई हर्केको विगत र पहाडको काखमा रहेको प्यारो न्यानो झुप्रो मा लैजाँदै छु, आउनुहोस थोरै समय मिलाएर पढिदिनुस, मन पर्छ भने लाइक कमेन्ट शेयर गर्नु नबिर्सिनु होला, किनकी मैले लेख लेखेर पैंसा पाउँदैन, म कुनै लेखक तथा पत्रकार होइन, लेखन मेरो पेशा पनि होइन हजुरहरुको न्यानो माया सपोर्ट लाइक कमेन्ट शेयर नै मेरो कमाई हो। आशा छ सधैं झैँ यो पोस्टमा पनि लाइक कमेन्ट शेयर को वर्षात हुनेछ। अब धेरै भूमिका नबाधि म हजुरहरुलाई हर्केको विगत र न्यानो प्यारो गाउँको झुप्रो तिर लैजान्छु, अनुमति दिनुहोस।
हर्केको सानो प्यारो न्यानो घरको झुप्रो पहाडको काखमा छ, गरिबी र दुःख उसको बालापनको साथी हो, फाटेको जाये बाट छिरेको पुस माघको चिसो ले दिनको पारिलो घाम पनि कम पर्छ। भोक भोकै सुतेका ति काला रातहरु ले आज पनि झस्काउँछन्, ति दिनहरु कति कष्टकर भयावह थिए आज पनि सम्झिदा मुटु जिरिङ्ग हुन्छ। सँगै पढने साथीहरु कपालको हेयर स्टाइल बिग्रिन्छ भनेर ढाका टोपी समेत लगाउँदैनथे भने ऊ दाउराको भारी बोकेर बजारमा बेचेर स्कूल जानु पर्थ्यो, किनकी कापी कलम को जुगाड आफै गर्नु पर्थ्यो। बाउको रक्सी खाने जुवातास खेल्ने बानी ले घरको दुःख झन पहाड बनेर च्यापिएको थियो, सानो भाई जन्मिँदा घरमा चावल को गेडो थिएन, सुकसाग उसनेर नुन छर्केर सुत्केरी अवस्थामा छाक टार्नु भएको भनेर आमाले कथा सुनाउनु हुन्छ। त्यसै ताका बहुदलको लहर सिर्जना भएको थियो, मुक्तिको कुरा , शोसक जालिको कुरा, समानता र स्वतन्त्रता को कुरा मन पर्न थालिसकेको थियो, विद्यार्थी आन्दोलनमा कतिबेला सामेल भइसकेछ थाहै भएन। एकाएक अखिल छैठौं को झण्डा बोकेर हिँड्न थाल्यो। वैचारिक राजनैतिक चेतना स्तर थोरै भए पनि उसको मन मुटुमा मसालको गहिरो छाप परिसकेको थियो। शुक्रबारको दिन हाफ छुट्टी पछि अरु साथीहरु माछा मार्न पौडी खेल्न जलुका टिप्न लाग्थे ऊ जारिखोला को ठूलो ढुङ्गामा महिनौं लगाएर ढुंगाले खोपेर मसाल लेखेको थियो। माथि रानिपखरी डाँडा बाट स्पष्ट देखिन्थ्यो। ऊ पढाइमा पनि त्यत्तिकै तेज थियो। नौं र दश कक्षाको लेखापरीक्षण किताब पातलो थियो पुरै कण्ठ थियो। स्कुलमा राजनीतिको झण्डा बोकेर पनि एस एल सी मा प्रथम श्रेणीमा पास गरेर राजनीतिले विद्यार्थी बिग्रिए भन्ने भनाइलाई गलत साबित गरेको थियो।
त्यति मात्र होइन, उसको पनि मन हो, उमेरको बढदो जवानी गाउँका पाखा पखेरा बन पधेरामा डुल्न थालेको थियो, गाउँकी एउटी भँगेरी मन पराएको थियो। मायाँ गर्थ्यो, एक दिन झिमझिम पानी परिरहेको थियो, कुहिरो लागेको थियो, सायद यही मौका राम्रो मानेछ की कुन्नि! म तिमीलाई मायाँ गर्छु भन्न नजिक गएको थियो, ति छुच्ची भँगेरी ले सिधै हँसियाले क्वाकिन, रगतको झाटमाट भयो, त्यसपछि त्यो एकतर्फी माया असफल भयो, उसले सोच्यो यो मेरो गरिबी नै दोषी छ। पैंसा कमाएर त्यही भँगेरी लाई विवाह गर्ने मिठो सपना भने देख्न छोडेन। धन कमाउन लाहुर जाने चलन थियो, मोटर गाडी चढ्न पुरै दिन हिँडेर जानु पर्थ्यो, बिहानीको मिर्मिरेमा भाले बासेको डाको सँगै लाहुर हिँडेको थियो।
मुग्लान को ठाउँमा भाषाको समस्या, मालिकको दमन, हन्डर ठक्कर खादै थियो, उता भँगेरी उडिसकिछिन्। पिर माथि पर्नु पिर थपियो। भोक निद हरायो फेरिपनि मान्छे भएर जन्मिए पछि परिस्थिति सँग जुध्नै पर्ने हुन्छ, जुध्दै जाँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का साथीहरु संग भेटघाट भयो। दिनदिनैको भेटघाट र हिजोको अखिल छैठौं को अनुभवले नयाँ जिवन मिलेको अनुभूति भयो। मन मुटुमा रहेको मसाल पार्टीमा जब जब संकट आउँछ ऊ ढाल बनेर उभिन थाल्यो, भर्खर सम्पन्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत नेपाली एकता सम्मेलन मा पनि पुगेको थियो, सम्मेलन तयारी भेला भोपालमा पनि पुगेको थियो। राजनीतिलाई पेशा बनाउन नसके पनि सामाजिक क्रियाकलापमा सक्रिय रूप मा लागेको देखिन्छ। आउँदो चुनावमा गिलासमा भोट हाल्न नेपाल जाँदैछ। हर्के आउने खबरले गाउँका जाली फटाहा प्रतिगामी फुट परस्त तत्वहरू तिलमिलाएका छन। हर्केको त्यो जोश जाँगर सक्रियता लाई लाल सलाम।
बाँकी अर्को अंकमा क्रमशः

( लेखक:- मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनुहुन्छ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?