
बिन बहादुर रेग्मी प्युठानी
यसो त कुनै जीवित पार्टीमा वैचारिक राजनैतिक मतभेद हुनु स्वाभाविक हो, कतिपय अवस्थामा मतभेद व्यक्तिगत पनि हुने गर्छन। विश्वभरिमा र नेपालमा पनि पार्टी दल समुह ग्रुपमा यस्ता खाले मतभेद हुने गरेको पाइन्छ। खास गरेर राष्ट्रिय स्तरको राजनीतिमा प्रभावकारी भूमिका खेल्ने दल पार्टी समुहमा हुने विवाद वा मतभेदले जनस्तरमा असर गर्छ। विवाद वा मतभेद हुँदैमा पार्टी फुट्दैन, निश्चित साझा बिन्दुमा केन्द्रित हुँदै पार्टी एकतालाई निरन्तरता दिने गरेको पाइन्छ। यो त बुर्जुवा पूँजीपति वर्गको पार्टीमा पनि लागू हुने कुरा हो। निश्चित समयको लागि भए पनि निश्चित साझा मुद्धामा पार्टी एक ढिक्का बनाएर चुनावमा उत्रिने गर्छन। हामी ले यहाँ पुजीवादी बुर्जुवा वर्गको पार्टीमा हुने टुटफुट विवाद वा मतभेद को चर्चा गर्दैनौ। किनकी ति बुर्जुवा वर्गको पार्टीमा टुटफुट विवाद वा मतभेद जे सुकै होस सर्वहारा वर्गको लागि कौवालाई बेल पाक्यो हर्ष न बिस्मात 😀 भने जस्तै हो। गरीब किसान मजदुरको हकअधिकारमा तिनीहरूको मतभेद वा एकताको टाढा टाढा सम्म कुनै साइनो हुँदैन तर पनि सामान्य रूपमा पुजीवादी बुर्जुवा वर्ग भनिने पार्टी वा दलहरुमा समेत निश्चित विधि विधान नियम बनेको हुन्छ, आफ्नै प्रकारको परिपाटी हुन्छ। त्यसमा पनि गजबको ज्ञानवर्धक कुरा त के छ भने उनीहरुको त्यो सिस्टम प्रणाली परिपाटी लाई लागू गर्न उनीहरू इमान्दार हुन्छन। हामी अब जसको कुरा गर्न गइरहेका छौं त्यो व्यवस्थालाई प्रगतिशील क्रान्तिकारी साम्यवादी व्यवस्था भनेर बुझ्छौ। नौलो जनवाद, समाजवाद र साम्यबाद सम्म पुग्नको लागि मार्क्सवाद लेनिनवाद माओ विचारधारालाई आफ्नो पथप्रदर्शक सिदान्त मान्ने सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कुरा गर्दैछौं। किनकी यो विचार र पार्टीले दुखी सर्वहारा वर्गको चुल्होमा निभेको आगो बालिदिन्छ तसर्थ: यो विचार र पार्टीको कुरा गर्नै पर्ने हुन्छ। आज नेपाली राजनैतिक बजारमा देखिएको भ्रम जालझेल षड्यन्त्रमा हामी सचेत र सजग हुनै पर्छ। पहिलो कुरा त के बुझ्नु पर्छ भने एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी हुनको लागि क्रान्तिकारी नीति सिदान्त विचार कार्यक्रम हुनैपर्छ। लेनिनवादी संगठनात्मक संरचना र अनुशासन त्यो सँग जोडिएको कुरा हो। विचार र व्यवहार प्रयोगात्मक कसीमा सफल हुन सक्नुपर्छ यो पनि अनिवार्य सर्त हो। हामीले यही लेनिनवादी संगठनात्मक प्रणाली बुझेका तर व्यवहारमा फुट परस्त अराजक गतिविधि गर्ने अनुशासनविहिन तत्वहरूको थोरै चर्चा गर्नेछौं। नेकपा मसाल भित्र आठौ महाधिबेसनको संघारमा देखा परेको विवाद वा मतभेद लाई केही समय पछि जागरण क्लब को नाउँमा गुटबन्दी गरेर अगाडि बढेका साथीहरु ले अन्ततः महाधिबेसनको सम्पूर्ण प्रक्रियामा सामेल भएर सम्पन्न भएको ऐतिहासिक आठौ महाधिबेसनको विरोध गर्न पुगे। विरोध नीतिगत भन्दा पनि व्यक्तिगत बढी थियो। मूल आरोप पार्टी दक्षिणपन्थी भयो भन्ने थियो। चुनावी तालमेल वा सरकारमा जाने, समर्थन गर्ने नीति लाई दक्षिणपन्थी भयो भनिरहेका छन फेरि आफै चुनाव उपयोग तालमेल को नीति अपनाएर दक्षिणपन्थी को आरोप झुठ थियो भनेर आफै प्रमाणित गरिसके। तिनीहरू सँग नीति सिदान्त विचार कार्यक्रम छैन भन्ने कुरा तीनवटा झुण्ड देखिएको बाट थाहाँ हुन्छ, एउटा एमालेमा जानको लागि मोलभाऊ गर्ने टोली, अर्को माओवादीमा जानुपर्छ भन्ने समुह र एउटा छुट्टै पार्टी बनाएर जाने भन्ने समुह। यो छुट्टै पार्टी बनाएर जाने भन्ने समुह ले लगातार विशेष महाधिवेशन को हल्ला गरिरहेका छन। यो हल्ला पनि पानीको फोका उठेको जस्तो निराधार कपोलकल्पित छ। अझै सम्म आफ्नो पहिचानको अलग्गै नाम राख्न नसक्ने, विचार र सिदान्त को भन्दा व्यक्तिगत गाली गलौच को बबण्डर खडा गरेर अति क्रान्तिकारी बन्ने ढोंग गर्नेहरूले कसरी विशेष महाधिवेशन गर्न मिल्छ? विशेष महाधिवेशन को माग गर्ने हैसियत पनि हुन परो नी हजुर। पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टी कारबाही मा परेकाले विशेष महाधिवेशन को माग गर्न मिल्छ र? यो भन्दा भद्धा मजाक के हुन सक्छ? यो विशेष महाधिवेशन होइन अरु पार्टीमा विलय हुन मोलभाउको लागि विलय महाधिवेशन अवस्य हुनसक्छ। यो हाम्रो अनुमान हो। हामी चाहन्छौं हाम्रो अनुमान गलत साबित होओस। उनीहरूको विचार राजनीति सँग हाम्रो कुनै पूर्वाग्रह छैन। मोहनविक्रम क्रान्ति गरेनन भनेर पार्टी छोडेर गएका लाई अब मोहविक्रम र उनको पार्टी बाधक छैन। उनीहरूलाई क्रान्ति गर्ने बाटो खुलेको छ अब पनि मोहनविक्रम ले यसो गरे उसो गरेँ क्रान्ति गर्नलाई छेके भनेर बहानाबाजी गर्न मिल्दैन साँच्चिकै इमान्दार छौं भने त्यो कथित विशेष महाधिबेसमा मा क्रान्तिकारी कार्यक्रम तय गरियोस। अग्रिम शुभकामना छ।
– बिन बहादुर रेग्मी,सुरत बाट
(नोट;- लेखक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनु हुन्छ।)