बिहिबार, भदौ १९, २०८२

मिडिया बाट उपेक्षित नेपाली कम्युनिस्ट आन्दोलन

 

– बिन बहादुर रेग्मी, प्यूठानी

हामीले स्कुलमा पढ्दा “कलम ठूलो कि तलवार?” हाजिरी जवाफ प्रतियोगिता देखेका छौं। साँच्चै भन्ने हो भने कलम र तलवार जुन सांकेतिक शब्द भाषा प्रयोग गरिएको छ, मूल रूपमा यसको अर्थ व्यापक छ। कलमले तलवार चलाउन थाले गरीब दुखीको दिन आमूल परिवर्तन हुन बेर लाग्दैन। कलम कै ताकतमा रुसी अक्टुबर क्रान्ति भएको छ, छिमेकी देश चीनमा सर्वहारा सांस्कृतिक क्रान्ति सफल भएको छ। कलम को ताकत नबुज्नाले मीडिया जगत आज केही मुठ्ठीभर दलाल को इशारामा नाच्न बाध्य भएका छन। हेर्नुहोस न भारतमा भारतीय आई कांग्रेसको सरकार हुँदा सम्म टीवी चेनाल प्रिन्ट मीडिया आई कांग्रेसको तारिफ र प्रसंशा गर्दै रातदिन लागिपरे। सत्ता परिवर्तन सरकार परिवर्तन हुनासाथ भारतीय जनता पार्टी को सरकार को गुणगान गाउने गरिरहेका छन। गरिबी महंगी भ्रष्टाचार कालाबजारी बेरोजगारी हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधलाई , जन सरोकारका जल्दाबल्दा विषय मा भारतीय मिडियाको ध्यान छैन रातदिन मोदी मोदी गरिरहेका छन। एक जना पंजाबी गायकले आफ्नो अन्तरवार्तामा भनेका छन मलाई मीडिया माथि भरोसा छैन किनकि मीडिया स्वतन्त्र छैन। सत्ता र शक्तिको पुजारी बनिसकेका छन, आफ्नो इमान र स्वाभिमान बेचिसकेका छन। यसरी जनताका आधारभूत आवश्यकता र समस्याहरू बाहिर आउन सकेका छैनन।
नेपालको सन्दर्भमा पनि यो कुरा सत्य हो, हिजो यिनै पत्रकार मीडिया थिए, पञ्चायती व्यवस्थाको गुणगान गाउने गर्थे, बहुदल आउने संकेत पाउना साथ प्रजातन्त्र लोकतन्त्र स्थापना का पहरेदार बनिदिए, त्यसमा पनि कहिले कांग्रेसी , कहिले एमाले कहिले माओवादीको एकलौटी पेवा बनेर सधैं खाओबादी बनिरहे। नेपाली मिडिया जगत पनि स्वतन्त्र र निष्पक्ष हुन सकेन। सत्ता र शक्तिको वरिपरि नाचिरहने गोटी मात्रै बनिरहे।
नेपाली मिडियाले चाहन्थ्यो भने २००७ साल पछि वा २०४६ साल पछि नेपालमा संविधानसभाको चुनावको लागि वातावरण बनाउन सक्थ्यो। पञ्चायती व्यवस्था फाल्न तीस वर्ष लाग्ने नै थिएन। गणतन्त्र को नाउँमा संघीयता घुस्न पाउने थिएन। नागरिकता विधेयक दर्ता हुनै पाउने थिएन। एम सी सी जस्तो घातक सम्झौता को बिरुद्ध जनआन्दोलनको आंधी आउने थियो। किन यसरी गैर जिम्मेवार छन? नेपाली मिडिया किन स्वतन्त्र हुन सक्दैनन्? प्रश्न गम्भीर छ। यो पुजीवादी व्यवस्थामा पत्रकारिता पेसाको रूपमा व्यापार केंद्र बनेको छ। कुन समाचार कति समय छाप्ने वा नछाप्ने प्रसारण गर्ने वा नगर्ने पैसाको कीमतमा भर पर्छ। नेकपा मसाल ले त्यो कीमत दिन सक्दैन। तर राजनैतिक एजेण्डा दिन सक्छ दिँदै आएको छ तर नेपाली मिडियाले रद्दीको टोकरीमा फ्याकिदिन्छन्। खोइ त नेकपा मसालले संविधानसभाको चुनाव हुनै पर्छ भनेर ०४६ साल पछिको चुनाव बहिस्कार गर्यो, नेपाली मिडियाले कानमा तेल हालेर चुप्प लाग्यो। त्यतिबेलाको संविधान कालो छ भन्यो त्यो पनि नेपाली मिडियाले सुनेनन्। संघीयताको विरोध गर्यो नेपाली मीडिया भोजभतेरमा भुल्यो। एम सी सी चाहिँदैन भन्यो नेपाली मीडिया प्रचण्ड र देउवाको घरमा डेरा जमाएर बसे। सीमा अतिक्रमण, महंगी, कालाबजारी, बेरोजगारी, भ्रष्टाचार जस्ता जनताका जल्दाबल्दा विषय मा नेकपा मसाल अग्रपंतिमा ढाल बनेर जनआन्दोन गर्दैछ मिडियाहरु कसको श्रीमती को सँग भागेर कहाँ पुगि त्यता व्यस्त छन। राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा जनतालाई गोलवन्द गर्ने महान अभियानमा नेकपा मसाल लागिपरेको छ नेपाली मिडिया खुमलटार र लैनचौर ओहोरदोहोर गर्नमा व्यस्त छन। समग्रमा भन्नुपर्दा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुरै उपेक्षित गर्दै आइरहेका छन नेपाली मिडियाले। देश बचाउनु छ, जनतालाई स्वाभिमानी र स्वावलम्बी बनाउनु छ भने नेपाली मिडिया जगतले आफ्नो बेचिएको इमान फिर्ता लिने बेला आएको छ। नेकपा मसालको राजनैतिक लाइनलाई जनताको बीचमा निदरताका साथ प्रसारण गर्ने बेला आएको छ, देशै भरी विश्वभरि राता राता झण्डा फरफराउने बेला आएको छ। देशको निम्ति जनताको निम्ति आफ्नो बेचिएको इमान फर्काउने बेला आएको छ, जाग अब नेपाली मिडिया, जाग, कतै ढिलो नहोस। कतै अबेर नहोस।

नोट:- लेखक (मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनु हुन्छ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?