शुक्रबार, बैशाख ७, २०८१

भुन्टेकी आमालाइ गोप्य चिट्ठी

बिन बहादुर रेग्मी प्युठानी

प्यारी भुन्टेकि आमा , लामो समय को मिठो सम्झना सहित मुटु भरीको माया छ। प्यारो छोरा मुटुको टुक्रा भुन्टलाई पनि असीम माया र आशीर्वाद छ। खासै चिठ्ठी लेख्न पर्ने कारण त केही पनि थिएन। आजकल को यो भिडियो कल फोन कल के के हो के के नयाँ नयाँ सञ्चार विकसित सञ्चार प्रविधि ले यो चिठ्ठीको जमाना नैं रहेन। हिजो बेलुकी नेट स्लो को कारणले भिडियो कल राम्ररी हुन सकेन। तिम्रो मुहार जति हेरेँ पनि तिम्रो बोली जति सुने पनि धित मर्दैन। यो खाडीको झाडीको तातो घाममा आफ्नो रगत र पसिना सुकाएर तिम्रो र मेरो सुन्दर सुखी जीवन जिउने मिठो कल्पनामा दिन काट्न त्यति सजिलो छैन। पारी हर्के काईला लाई सर्पले टोकेर गोरुसिंगे लगेको थिए। सर्प विषालु थियो रे, सिरियस थिए। बर्खमास हरियो झारपात मा सर्प लुकेको हुन सक्छ , राम्ररी ध्यान दिनु। भुन्टेलाई केरा घारितिर जान नदिनु। घण्टिखोला घर्ती जेठाको मकै सबै बँदेलले सर्वनाश पारेछ। बिचरा! यता हामी सँगै काम गर्दा अब विदेशीको कति गुलामी गर्नु, गाउँमा जानें मकै गहुँ आलु पिनालू तरुल खेती गरिन्छ भन्थेँ। बँदेलले गर्नु गरेछ। दुखीको खेति फट्याङ्ग्रा ले मेटी भन्छन् त्यस्तै भएछ।
ए भुन्तेकी आमा! कुरा गर्दा गर्दै समय बितेको पनि पत्तै भएन। साहुको ऋण तिर्न नसकेर मात्रै हो नत्र तिमी सँग अलग बस्ने मन कहाँ छ र। पारी गैरा रिठेको बुढीले यो तीजमा चालीस हजारको साडी लाउने रे, त्यो ध्वाँसे घमण्ड मलाई मन परेन। आफ्नो घाँटी हेरेर हाड निल्नु भन्छन्। यो तीजमा तडकभडक बिना नै सिम्पल तरिकाले मनाउन सबै छिमेकी दिदी बहिनीहरूमा अनुरोध गर्छु। तिमी त बाठी छ्यौ। संसारकै सबैभन्दा बाठी मेरी मनकी रानी ,,,,,,
होइन पल्तिर कान्छालाई के भाको हो वर्षामा मकै खेती किन गरेको रे, करेसाबारीमा खुर्सानी किन लगाएको रे, अझ गर्दागर्दै सँगै एउटै खोतालोमा पकाएको आटो मिठो लागेन रे , विशेष महाधिवेशन को आटो खाने रे, वाफ रे मकै आटो पनि विशेष महाधिवेशन हुँदोरहेछ र? बाँदरले आफ्नो घर पनि बनाउँदैन बनाएको पनि विरोध गर्ने बिगार्ने। यिनी अराजक हुन फुट परस्त तत्वहरू हुन, आफ्ना जस्ता देखिने गोमन सर्प हुन, सावधान रहनुपर्छ। दिनदिनै विरोध गर्ने मसला खोज्ने केही भेटायो कि पूरा टीम पूरा ताकत लगाएर उत्रिने पनि, कोही कोही त गजल कविता मुक्तक लेखेर साँच्चिकै क्रान्तिकारी बन्ने ढोंग गरेका छन, कोही कोही लेख अन्तर्वार्ता दिँदै दिनभरि हासुरेको भात पचाएका छन। एउटाले त अस्ति भन्दै थियो डिलाराम र गिरधारीलाल सँग व्यर्थमा विवाद गरिएछ। यसको अर्थ के हो? उनीहरूले जे गरे सही गरे अर्थात अबको विशेष महाधिवेशन त्यसैको कडी त होइन? उनीहरूकै इशारा मा त विशेष महाधिवेशन हुँदै छैन? प्रश्न गर्ने ठाउँ छ।
ओहो! म त लेख्दा लेख्दै भावुक भएछु। दुःख लाग्छ सँगै बसेका साथीहरु यसरी घात प्रतिघात मा उत्रिदाँ मन दुख्ने रहेछ। हामीले जे गरेका छौं उनीहरूले पनि त्यही गरिरहेका छन, हामी कसरी दक्षिणपन्थी भयौ? उनीहरू कसरी क्रान्तिकारी भए? कार्यक्रममा बोलाएका दर्शकलाई बिर्यानी खुवाएर क्रान्तिकारी भइन्छ र? हदाउँछन् अराजकहरु।
केही छैन, मंसिर चार गते चुनाव हुँदैछ। स्व घोषित क्रान्तिकारी को विशेष महाधिवेशन ले के भन्छ चुनावमा कतै विलय महाधिवेशन हुने हो कि  भो अब धेरै गन्थन लेख्दैन अर्को पत्रमा बाँकी….
कलम बन्द।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?