शनिबार, मंसिर १७, २०७९

चिरफार को राजनीति

 

– बिन बहादुर रेग्मी ( सुरत)

यतिबेला नेपालमा चुनावी हावा चलेको छ, बिस्तारै बिस्तारै मंसिर चार गते तक आँधी हुरी आउने सम्भावना छ। पानी पँधेरो, वन जंगल, बजार मिल, चौतारीमा यहाँ सम्म कि चिया पसल भट्टी पसलमा राजनीतिकै गफ चलेको छ, फेसबूक सामाजिक सञ्जालमा त राजनैतिक चिरफार नै चलेको छ। नागरिक समाज, सामाजिक अभियन्ता, अभिनेता अभिनेत्री, टिकटक भाइरल व्यक्ति, समाजका प्रवुद्ध व्यक्तित्व देखि सर्वसाधारण सम्मले आ आफ्नो मत सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन। कतिपयले नेता पार्टी को विरोध गरेर लेखेका छन, कतिपयले व्यवस्था नै गलत छ भनेर लेखेका छन। यो व्यवस्था सही छ, जनताका समस्या छैनन, जनताका आधारभूत आवश्यकता शिक्षा स्वास्थ्य गास वास कपास पूरा भएका छन भन्ने कसैले लेखेका छैनन, लेखुन पनि कसरी? हिजो एक तन्त्रिए जहानियाँ राणा शासन बाट उकुसमुकुस भएर आन्दोलनमा उत्रिएका जनता फेरि तिस वर्षिय निरंकुश पञ्चायती तानाशाही भुमरीमा फसे। सचेत र जागरुक जनताले प्राणको आहुती दिएर सहिदको रगतले साटेर २०४६ सालको महान जनआन्दोलन द्वारा लोकतन्त्र स्थापना गरिएको थियो। जनता फेरि तवाको माछो भुग्रोमा जस्तै भयो। लोकतन्त्र गणतन्त्र को नाउँमा ठूला भनाउँदा सत्ताधारी दलहरुले पालै पालो देशको ढुकुटीमा रजाई गर्दै आए। कोही माओवादी बनेर जनता लुटे कोही खाओबादी बनेर लुटे। बेरोजगारी, भ्रष्टाचार ,महंगी अन्याय अत्याचार , कालाबजारी ले मुलुक खोक्रो भयो। नोकरशाही दलालहरुको हालीमुहाली भयो। देश विकासमा योगदान दिने युवा शक्ति वैदेशिक रोजगार को बहानामा भारत र तेस्रो मुलुकमा पलायन भए। नौलो जनवाद, समाजवाद, समावेशी प्रजातन्त्र को दुहाई दिएर नथाक्ने दल समुह यतिबेला कुर्सीको लागि जस्तोसुकै पनि सम्झौता गर्दैछन। माओवादीका अध्यक्ष प्रचण्डले चुनाव जित्न सजिलो छैन जनताले हामीलाई खाओबादी भनेर चिनिसके भनेर सार्वजनिक रूपमै स्वीकारी सकेका छन। कांग्रेस एमाले का नेताहरुले पनि लोकतन्त्र गणतन्त्र को नाउँमा लुटतन्त्र मच्चाएको अभिव्यक्ति दिँदै आएका छन। हेर्नुहोस न कुनै बेला कृषिजन्य उत्पादनहरू विदेशमा सप्लाई हुने देश आज आलु गोलभेडा खुर्सानी यहाँ तक कि जनै र सियो धागो समेत आयात गरेर दैनिकी गुजारा चलाउने दयनिय हालत मा मुलुक पुगेको छ।उनीहरूलाई थाहा छ जनताले भोट दिदैनन त्यसैले त चुनावी तालमेल गठबंधन गरेर भए पनि सत्ता र कुर्सी को लागि मरिमेटेर लागेका छन। दिनकै राजनैतिक भेटघाट बैठक चलिरहेको छ। नीति सिदान्त विचार कार्यक्रम भन्दा पनि कसरी चुनाव जित्न सकिन्छ चुनावी चाणक्यहरु दिमाग खियाउदै छन।
अर्को तिर यो व्यवस्थाको कमी कमजोरीको फाइदा उठाउन राजावादी प्रतिगामी शक्तिहरू लागि परेका छन्। एमाले राप्रपा को गठबंधन त्यो दिशामा अग्रसर भएका छन। यतिबेला देशको राजनीति चुनावी समीकरणको आधारमा दुई ध्रुव मा देखिएका छन। छिटपुट रूपमा स्वतन्त्र उम्मेदवार को कुरा चले पनि केहीले जिते पनि सत्ता सञ्चालनको चाबी यिनै दुई ध्रुवमा केन्द्रित हुने देखिन्छ। कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन।
राजनैतिक संघर्षका हिसाबले नेकपा मसाल मात्रै एक सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी देखिएको छ। नीति सिदान्त विचार कार्यक्रम सँग सम्झौता नगर्ने सर्तमा पाँच दलिय गठबन्धन मा चुनावी तालमेल गर्ने नीति अपनाएको छ। संघीयताको विरोध,एम सी सी को विरोध, नागरिकता विधेयक को विरोध, सीमा अतिक्रमण लगायत जनताका आधारभूत समस्याहरू महंगी बेरोजगारी भ्रष्टाचार हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधलाई चुनावी मुद्दा बनाएर जाने निधो गरेको छ। यही सही हो। जनतालाई राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गर्न पार्टीले अपील गरेको छ। हामीलाई थाहा छ जुनसुकै गठबन्धनले जिते पनि जनताका आधारभूत आवश्यकता पूरा हुने वाला छैनन। तर पाँच दलिय गठबन्धन ले जित्यो भने वीर सहिदहरुको रगतले साटेर ल्याएको सीमित भए पनि गणतन्त्र जोगिने छ। यही गणतन्त्र मा टेकेर नयाँ जनवादी क्रान्ति को दिशामा अघि बढ्न सकिनेछ। तसर्थ: एमाले राप्रपा राजावादी प्रतिगामी शक्तिहरूलाई पराजित गर्नु आजको आवश्यकता हो भन्ने जनतामा दृढ विश्वास देखिन्छ।
यसरी हेर्दा आगामी मंसिर चार गते को चुनावमा कांग्रेसको हावा मात्रै होइन प्रचण्डको आंधी हुरीले एमाले राप्रपा जस्ता राजावादी प्रतिगामी तत्वहरूको सफाया निश्चित देखिन्छ।
धन्यवाद।
नोट:-। ( लेखक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनु हुन्छ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?