शुक्रबार, चैत्र १६, २०८०

रत्न पार्कको शौचालयमा जागिर पाएं

लिल बहादुर केसी

मैले जीवनमा जागिर खान कुनै दुख गर्नु परेन।एस एस सि परीक्षा दिएर २/४ दिन घर बसी के गाउं बाख्रा चराउंदै थिएं तत्कालीन प्रा वि नि दानबहादुर सरले घरमै आई २ दिन भित्र मेहले प्रा वि ह्वांदीको शिक्षकको नियुक्ति थमाइदिनु भयो। त्यस बखत मेरो तलव रु १३५/ थियो। एस एस सि को रिजल्ट के आएको थियो, जि सि अ ईश्वर नारायण पांडेले देविस्थान नि मा वि ताल्तुंगको नियुक्ति थमाइदिनु भो। आइ एड् गरेर घर के पुगेको थिएं स्केल भन्दा ९०/ रु बढाइ तलव दिने गरी वामीटक्सारको महेन्द्र मा विबाट प्रस्ताव आयो। सो प्रस्ताव बारे निर्णय नगर्दै पृथ्वी मा वि पुर्कोट दहबाट स्केलमा ६०/ रु बढाएर तलव सुविधा दिने प्रस्ताव घरमै आए पछि मैले मासिक रु ४५०/ पाउने वामीटक्सार नगई रु ४२०/ को जागिर तर्फ लागें।
वि एड् गरी पृथ्वी मा विमा पढाउंदै गर्दा पन्चायत विरोधी गतिविधि गरेको भनी कैंयन पटक वारेन्ट गरियो।तत्कालीन समयका मेरा घनिष्ट मित्र तथा उदारवादी पन्चहरुले मलाइ आफूले जिम्मा लिने गरी ३ पटकसम्म प्रमुख जिल्ला अधिकारी कहां हाजिर गराई विद्यालयको पठन पाठनमा बार बारको वारेन्टले दख्खल नपुगोस र हाम्रा वाल वच्चाहरुको भविष्य नविगारिदिन भनी सिडिओलाई एक प्रकारको धम्किको भाषा समेत बोल्नुभयो। “ तपाइं जागिर खान आउनु भएको हो, व्यवस्था जोगाउने हाम्रो जिम्मा हो, शिक्षक पढाउन जाने कि लुक्न जाने?” भनी सिडिओलाई भन्दा सिडिओ अवाक हुन्थे।
किन मान्थ्यो पन्चायती प्रशासनले फेरी २०४४ सालको साउन १ गते देखि मलाइ विद्यालयमा हाजीर नगराउने गरी जागिरबाट निस्कासन गर्ने विद्यालय व्यवस्थापनसंग सि डि ओ को सल्लाह भएको थाहा पाए पछी मैले त्यो वेलामात्र जागिर खोज्ने वा राजनीति गर्ने भन्ने सोंचको दोसांधमा परेको थिएं।
वर्षें विदा त्यो वेलासम्म शिक्षक नै रहेको र नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रिय प्रतिनिधि भएको नाताले राष्ट्रिय अधिवेशनमा काठमांडू जानु थियो। शायद मेरो भेष भूषा औषत शिक्षक भन्दा फरक रहेछ कि मलाइ याद छैन म सुरक्षित रुपमा काठमांडू पुगें।ढाकाको मैलो मैलो टोपी लगाएका, इस्टकोट लगाएका, पिठ्यूंमा सुर्के झोला भिरेका, दाडी सेभिंग नगरेका र स्टार सुज लगाएका मान्छेहरु शिक्षक हुन भनी प्रहरीले पहिचान गर्दो रहेछ।नारायणगढ, मुग्लीन, हेटौडा, वनेपा र त्रीसुली जस्ता नाकाहरुबाट यस्तै भेष भूषाका शिक्षकहरु व्यापक मात्रामा गिरफ्तार भएको खवर काठमांडू पुगे पछी जानाकारी मिल्यो। हामीलाई अत्यन्त सुऱक्षित हुन सक्ने होटलमा भूमिगत नेता जस्तै बनाइ चार दिन सम्म राखियो।अहिलेको गठवन्धनको सिट बाटफांडको किचलो जस्तै ४ दिनसम्म ने रा शि संगठनको नेतृत्वको सिट बांड्न लाग्यो। अन्ततः एउटा सहमतिमा पुगी नेतृत्वले हस्ताक्षर गरे पछी सम्मेलनको घोषणा गर्ने निर्णय भएछ।हामीलाई बसेको होटलबाट ट्याक्सिमा चढाई सुन्दरीजल लैजाने भने पनि अन्ततः पहिले तय गरिएको सम्मेलन घोषणा स्थल थापाथलीको होटल व्लु स्टारमा पुर्याइयो।त्यहां पुग्दा होटल मेनेजरलाई कहांबाट सूचना आएछ स्थान दिन मानेन। हामीले धेरै अनुरोध गर्दा पनि ऊ पटक्कै गलेन।उस्ले हामीलाई भन्यो, “No, no, no. I can not provide you the
hall because you are going to do anti-government activities.” हाम्रो केहि लागेन अन्तमा हामीले तत्कालीन जनपक्षीय उमेदवार भइ चुनाव जितेको राष्ट्रिय पन्चायत सदस्यहरु रुपचन्द्र बिष्ट र जागृत प्रसाद भेटवाल (अहिले दुवै जना हुनुहुन्न) लाई बोलाई उहांहरुले निकै अनुरोध गरे पछी होटल पछाडीको चौर दश मिनटको लागि दियो।खल्तीबाट एउटा कागजको चिर्कटो निकाले तत्कालीन जल्दावल्दा क्रान्तिकारी कमरेडले र नेतृत्वको नाम घोषणा गरे।
अति क्रान्तिकारीहरु अन्ततः दक्षिण पन्थी खाडलमा जाक्किन्छन भन्ने कुरा अनुभवसिद्ध कुरा नै हो।तिनै क्रान्तिकारी व्यक्ति जसलाई राष्ट्रले पार्टी, क्रान्ति र परिवर्तनको जिम्मा दिएको जस्तै गर्ने व्यक्ति अन्तमा ज्ञानेन्द्रको शासनकालमा शिक्षा मन्त्री बनी आफ्नो सक्कली अनुहार देखाए उनी थिएं देवी प्रसाद ओझा। त्यहि मान्छेको घमण्ड पनि शिक्षक संगठन टुक्राउने कुरामा जिम्मेवार छ। विहान गरेको सहमति विपरित घोषणा गरेपछी त्यसको विरुद्धमा वक्तव्य निकाली थकित मुद्रामा रत्न पार्कमा गई एउटा याक चुरोट सल्काएर भावी जीवनको नयां रेखा कोर्दै गहिरो सोंचमा थिएं त्यहि वेला म जस्तै पिडित आदरणिय वुवा परमानन्द भन्डारी मेरो सामु आउनु भयो।उहां जिल्ला पन्चायत सभापतिमा हारेकोले गणनामा धांधली भयो भनी मुद्दा दिएर जितिन्छ कि फेरी मत गणना हुन्छ कि भन्ने आशामा हुनुहन्थ्यो। सोझो र इमान्दार मान्छेको जति सरल सोंच हुन्छ त्यस्तो किन हुन्थ्यो र त्यो व्यवस्थामा उहांको झिनो आशा मात्र। धुर्कोटमा खानेपानीको दुख भएकोले वांग्राको खानेपानीको योजना पार्न एक डेलीगेशन समिति बनेको थियो। परमानन्द वुवा अध्यक्ष म सचीव थिएं। मेरो पनि काठमांडूको काम सकिएको, उहांलाई पनि केहि दिन बस्नु पर्ने भएकोले उहां र म २ दिन पछी डेलीगेशन जाने सल्लाह भयो। त्यहि वेला मलाइ पिशाव लागेछ।म रत्न पार्कको सार्वजनिक शौचालय तर्फ लागें। पिशाव फेरेर फर्कंदा मेरो आदरणिय गुरु भू पु भिसि प्रा डा हिरा बहादुर महर्जन पनि पिशाव फेर्ने लाइनमा क्यू मा बसेको देखें। उहांले मलाइ एक छिन पर्खन भनेकोले उहां नफर्किउन्जेल म त्यहिं उभिएं। मैले आफ्नो कुरा नगर्दै उहांले जुम्ला क्याम्पसमा पढाउन जाने बारे निर्णय लिन खोज्नु भयो।मैले वहांलाई अर्को दिन निर्णय दिने भनी छुट्टिएं।
राती मनमा धेरै कुरा खेले।मात्र जागीर नगरी पन्चायत विरोधी आफ्नो विचारको प्रचार प्रसार पनि गर्ने लक्ष भएको र गुल्मीमा जागीरबाट मलाई निकालिने भएकोले तत्काल होलटाइमर कार्यकर्ता भई पार्टीमा भूमिगत भै काम गर्न नसक्ने घरायसी अवस्था भएकोले जुम्ला क्याम्पसमा नियुक्ति लिई जाने निर्णय गरें। उक्त निर्णय लिइ मेरो गुरुसंग अर्को दिन गई केन्दिय कार्यालयबाट नियुक्ति लिएर म जुम्ला तर्फ रु ४३०/ को प्लेनको टिकट लिई यूनिवर्सिटीको जागिरमा प्रवेश गरें।
यसरी रत्नपार्कको शौचालयमा ख्याल ख्यालमा जागीर मिल्यो। कति बेला मैले सोंच्छु, मलाइ त्यो वेला पिशाव नलागेको भए मेरो जीवनको मोड कता जान्थ्यो होला?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal