
लिल बहादुर केसी
नेपाली सहिद धर्म भक्त माथेमा, शुक्र राज शास्त्री, दशरथ चन्द तथा गंगालाल श्रेष्टहरुले कति युवाहरुलाई पार्टी सदस्यता दिए होलान्? टंक प्रसाद आचार्य र डिल्लि रमण रेग्मीहरुले आफ्नो विचारमा आवद्ध हुन कति युवाहरुलाई पार्टी सदस्य दिए होलान्? नेपाली कांग्रेसका नेता विपी तथा गिरीजाहरुले कति जनालाई पार्टी सदस्यता दिए होलान्? नेपाली बामपन्थी आन्दोलन र कम्यूनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, नर बहादुर कर्माचार्य, नारायण विलास सिंह तथा निरन्जन गोविन्द वैद्य जीहरुले कति नेपाली युवकहरुलाई पार्टी सदस्यता दिए होलान्? नेपाल कम्यूनिस्ट पार्टीका प्रथम महाधिवेशनका महामन्त्री मन मोहन अधिकारीले कति युवाहरुलाई कम्यूनिस्ट पार्टीको सदस्यता दिए होलान्? नेपाल कम्यूनिस्ट पार्टीका वरिष्ठ जीवित नेता मोहन विक्रम सिंहले कतिलाई पार्टी सदस्यता दिए होलान् र नेपाली बामपन्थी आन्दोलनका अन्य नेता जीहरुले पनि कैयन युवकहरुलाई पार्टी सदस्यता दिए होलान्।
विश्व कम्यूनिस्ट आन्दोलनको इतिहास हेर्दा के पाइन्छ भने कम्यूनिस्ट पार्टीको सदस्यता बांड्दा दुइ वटा कुरामा विशेष ध्यान दिनु पर्छ;
१. जब देशमा खुला राजनैतिक गतिविधि गर्न सरकारले छुट दिएको हुन्छ त्यस वेला कम्यूनिस्ट पार्टीको पार्टी सदस्य वितरणमा कड़ा नियम लागु गर्नु पर्दछ।
२. जब राज्य कम्यूनिस्ट पार्टीको विरुद्धमा निरंकुश हुन्छ त्यो वेला कम्यूनिस्ट पार्टीको सदस्यता खुला गर्नु पर्दछ।
कम्यूनिस्ट पार्टीको यो नीतिले पार्टी भित्र ग़लत तत्वहरुको घुस पैठ हुन पाउंदैन।
नेपाली कम्यूनिस्ट आन्दोलनले पनि विश्व कम्यूनिस्ट आन्दोलनको यो अनुभवलाई तीन दशक अंघी सम्म धेर थोर मात्रमा अंगिकार गरेको थियो। जब २०४६ सालको परिवर्तन आयो त्यो बेला नेकपा मसालले संसदीय चुनाव बहिस्कार गर्नुको कारण पनि यहि थियो कि जस्तो लाग्छ किन भने त्यो वेला पार्टीमा प्रवेश गरेका पन्चहरुबाट पार्टीको शुद्धिकरण गर्न गाह्रो पो थियो कि? पार्टीको उक्त निर्णयले गर्दा करीव तीन दशकसम्म संसदीय राजनीतिबाट बाहिर भै प्रजातन्त्रको अभ्यास गर्न नपाएका लाखौं जनताहरु निराश भै अर्को पार्टीमा गए। त्यो निर्णयले पार्टी जनताबाट पछाडी परेको कुरा स्वीकार गरी पार्टीले संसदीय चुनाव बहिस्कार गर्नु गल्ती भएको स्वीकार गर्यो ।
नेपाल कम्यूनिस्ट पार्टीको सदस्यता पाउनु चानचुने कुरा थिएन त्यो वेला। पुष्पलालको महामन्त्री कालमा जब गुल्मीका केशरमणी पोखरेल नेकपाको केन्दिय कमिटीका सदस्य हुनुहुन्थ्यो, मन मोहन अधिकारीले लुम्विनी क्षेत्रमा भूमी सुधार विरोधी आन्दोलनको नेतृत्व लिनु भएको थियो, चीनमा माओको नेतृत्वमा सर्वहारा सांस्कृतिक आन्दोलन चलेको थियो त्यो बेला लुम्विनी अन्चलमा कम्यूनिस्ट पार्टी को नेतृत्वमा ठूला ठूला आन्दोलन भए। अर्घाखांचीमा गुणानिधी भूसाल र वेदुराम भूसालको नेतृत्वमा हर्रे बर्रे कान्ड भयो। अर्घा दरवारका महत्वपूर्ण सामाग्रीहरु लुटिए। पुर्कोट कोटका पनि केहि पुरातात्विक महत्वका सामाग्रीहरु चोरिए। म त्यो वेला सानो उमेरको थिएं, हाम्रो गाउं धुर्कोटमा पनि चौविसे राज्यको पालाको ऐतिहासिक र पुरातात्विक महत्वका कैयन सामाग्रीहरु थिएं। गुल्मी अर्घाखांचीमा भएका ती घटनाहरुबाट सतर्क भई ती महत्वपूर्ण सामाग्रीहरुलाई वुद्धि बहादुर, जीत बहादुर थापा मामाहरु, दुर्गा बहादुर, बांस बहादुर जि सी फूपाजुहरुले तथा अन्य भै भलाद्मीहरुले सुरक्षित राख्नु भएको थियो। यी सबै गतिविधिहरु चीनमा भएको सांस्कृतिक क्रान्तिको प्रभाव थियो। यी गतिविधिहरु जब भारतमा नागभूषण पटनायकको नेतृत्वमा नक्सलवादी आन्दोलन भयो त्यस्को प्रत्यक्ष प्रभाव झापाली कम्यूनिस्ट पार्टीमा परेको र त्यो पार्टीले Our chairman is Mao भनेकोले माओको नेतृत्वमा भएको सांस्कृतिक आन्दोलनको हु बहु नक्कल गर्न खोज्दा नेपालमा पनि थुप्रै विध्वंस भएका थिएं। पार्टी सदस्यता बांड्ने प्रशंगमा यो इंतिहास आइरहंदा कम्यूनिस्ट पार्टीको सदस्यता लिंदा सदस्यता लिन चाहनेहरुले हिंजो आज जस्तो खादा र माला लगाउन पाउन्नथे। बरु पार्टी प्रवेश गर्दा, कम्यूनिस्ट पार्टीको सदस्यता लिंदा आफ्नो हातको बुढी औंला व्लेडले चिरी आएको रगतको छापले कम्यूनिस्ट पार्टीको सदस्यताको रसिदमा छाप लगाउनु पर्थ्यो र एक प्रकारको कडा सपथ खानु पर्थ्यो। हामी सबैले देखिराखेका छौं अहिले कम्युनिस्ट पार्टीको सदस्य कति सस्तो छ? एउटा व्रुअरी कम्पनीले प्रचार गर्ने सामाग्री “Where ever you are, when ever you are Tuborg Beer” भने जस्तै। “खुन बगाया कांग्रेस कम्यूनिस्ट ने नेता बने मंगल गुप्ता” भने झैं आज कम्यूनिस्ट पार्टीको सदस्यता बांड्ने थुप्रै स्टलहरु मैले बजारमा देखेको छु।
हुम्लाका छक्क बहादुर लामालाई कम्यूनिस्ट पार्टीको सदस्यता दिने एक जना पुल्चोकको इन्जीनियरिंग क्याम्पसबाट ओभरसियर गरेका मेरो साथी हुन्। उनले २०४५/४६ साल सम्म नेकपा मसालमा काम गरे। २०४५/४६ सालको आन्दोलन जिल्ला जिल्लामा चर्काउने सन्दर्भमा मेरो र उहांको विचमा बार बार सम्पर्क हुन्थ्यो। पछी उहां संयुक्त जनमोर्चा, नेकपा एकता केन्द्र माओवादी हुंदै अहिले नेकपा एमालेको प्रदेश सभाको उमेदवार हुनुहुन्छ। त्यस्तै छ नेपालको तराइको बामपन्थी आन्दोलनको इतिहास पनि। यस्ले कतै तराइका निष्ठावान नेताहरु रामवृक्ष यादव लगायतका सहिदहरुको कतै अवमूल्यन नहोस म सधै वहांहरु प्रति शिर निहुराउंछु। तर एउटा कुरा के सत्य हो भने नेपालका उत्तरी सिमा र दक्षिणी सिमा क्षेत्रकों राजनीति अहिले सम्म स्थिर छैन।
शिर्षक जीन्स पाइन्ट र पार्टी सदस्यता तिर जाउं। २०३५/३६ सालको आन्दोलनमा गोरखापत्र संस्थान चलाएको आरोप लागि जेल नेल भोगेको अ ने रा स्व वि यू (छैठौं) का नेता हुनुहुन्थ्यो बालकृ्ण पौडेल चितवन र तारा न्यौपाने। दुबै जना नेताहरुको ख्याति व्यापक थियो। २०४०/४१ सालमा तारा न्यौपाने जी ले पत्रीका चलाउनु हुन्थ्यो, वालकृष्ण जी ले चेम्बर अफकमर्समा अधिकृत स्तरको जागिर खानु हुन्थ्यो।म काठमांडूमा भएको वेला वहांहरुसंग हप्ताको २/३ पटक भेट हुन्थ्यो र कम्यूनिस्ट पार्टी र आन्दोलन बारे छलफल हुन्थ्यो योजना बनाउंथ्यौ। पार्टीले कहिले कांहिं नेपाल बन्दको आयोजना गर्दा मेरो भन्दा वहांहरुको ठूलो जिम्मेवारी हुन्थ्यो। काठमांडू बन्द गर्न चेम्बर अफ कमर्सको टिम कि त डराउनु पर्थ्यो आन्दोलनकारीसंग वा उनीहरुले व्यारीलाई भित्री सर्कुलर गर्नु पर्थ्यो। पन्चायती व्यवस्था भएकोले दुबै कुरा गर्न सहज थिएन।अर्को तर्फ आन्दोलन लाई उचाईमा पुर्याउन राष्ट्रको चौथो अंग मानिने पत्रकारिताको हात हुन्थ्यो। स्थापित पत्रकार हुनाले तारा न्यौपाने जी ले त्यो भूमीका निभाउनु हुन्थ्यो र नेपाल वा काठमांडू बन्द सफल हुन्थ्यो। पार्टी मोटों र पातलो मसालमा विभक्त भै पार्टीको केन्द्रीय समितिमा मोहन विक्रम जी र चित्र बहादुर के सी मात्र हुनुहुन्थ्यो सायद। होल टाइमर कार्यकर्ता र नेतृत्वको अभाव थियो।
एक दिन मलाई राती करिव बाह्र बजेको समयमा बालकृष्ण जी ले एका एक अमृत साइन्स क्याम्पसको चौरमा तपाइंलाई पार्टीको कुनै जिम्मेवार नेताले भेट्न चाहेको कुरा उल्लेख गरी सुतेको मान्छेलाई उक्त स्थान तर्फ पठाउनु भयो। म त्यो ठाउंमा जांदा अंध्यारोमा कमरेड मोहन विक्रम सिंहलाई देखें। उहांले मलाइ छिटो छिटो गरी दुइवटा कुराको जिम्मा दिनु भयो। एउटा नेपाल कम्यूनिस्ट पार्टीको द्वीतिय महाधिवेशन बारे पुस्तिका प्रकाशन गरिदिने र अर्को टोप बहादुर रायमाझीको पार्टी सदस्यता लिने।
मेरोलागि यी दुबै कामहरु सहज थिएनन्। पहिलो काम पुरा गर्न मलाई पैसाको जरुरत पर्थ्यो दोश्रो काम पुरा गर्न टोप बहादुर जी ले मान्छन कि मान्दैनन्। त्यहि बेला पुस्तिका प्रकाशन गर्न रक़म आवश्यकता हुने कुरा उहांसंग राखे पछी उहांले केहि प्राध्यापक ( कोमल धिताल, ओम गुरुंग), केहि व्यापारी तथा राममणी पोखरेल ( रा वा बैंकको हाकिम) लगायत १२/१५ जनाको नाम चन्दा माग्नकोलागि टिपाउनु भयो।मलाई अचम्म के लाग्यो भने वहांले टिपाएको नाम भएका सबै महानुभावहरुले आफू सक्दो सहयोग गर्नु भयो, प्रश्नै उठाउनु भएन पुस्तिका स्व. पत्रकार यादव प्रसाद पन्त जी को प्रेसबाट निकाल्न सफल भएं।
बीन बहादुर कुवंर र टोप बहादुर रायमाझी अनेरास्ववियू को नेता दुबै ब्लैक बेल्ट धारी, जुड़ो र करांतेको नामुद खेलाडी दुबै विज्ञान विषयका त्रीचन्द्र र अस्कल क्याम्पसजल्दाबल्दा। म सामाखुसी बस्ने र टोप बहादुर जी सोह्र खुट्टेओह्रालोमा डेरा गरी बस्ने। पार्टीले दिएको ज़िम्मेवारी पुरा गर्न म विहानै ६ः३० बजे उहांको डेरातर्फ लागें।विहानको नित्य कर्म सकेपछि टोप जी लाई पार्टीको तत्कालीन अवस्था बारे जानाकारी गराई पार्टी सदस्यता लिन अनुरोध गरें। त्यो वेला वहांले बाक्साबाट आफ्ना आइ एस सी का सर्टिफिकटहरु निकाली मलाई देखाउनु भयो। मार्कसिटहरु हेर्दा सबै सेमेस्टरमा थुप्रै विषयमा Back लागेको थियो। अनेरास्वियूको नेतृत्व गर्दा वास्तवमा वहांको Academic क्यारियर ख़त्म भएको रहेछ। उहांको बुबा भारतमा नोकरी गर्नुहुन्थ्यो। पहिले पहिले त बाबाले साइन्स पढ्ने छोरा भनी उहांको खर्च पुग्ने पैसा भारतबाट पठाइराख्नु भएको रहेछ जब छोरा खेलकूद र राजनीतिमा लागि पन्चायती व्यवस्थापकों विरुद्ध लागेको थाहा पाउनु भयो कैयन महिना देखि पैसा पठाउन छोड्नु भएको रहेछ। त्यो बेला म उहांको त्यहि पिडाको बेलामा परेछु।वहाँले पार्टीको सदस्यता लिन मान्नु भएन। सदस्यता नलिए पनि केहि फरक परेन यो माथीको निर्देशन हो आज मेरो कोठामा साथी छैनन् मलाई समेत खाना पकाउनुस भनी मैले वहांलाई अनुरोध गरें। मैले वहांले पकाएको खाना १/२ पटक खाएको थिएं असाध्यै जांगरिलो र सिपालु। पोखरेली चामलको भात र गोबीको तरकारी पकाउंदै गर्दा वहांले आफ्नो जीन्सको पाइन्ट देखाई मलाइ प्रतिप्रश्न गर्नु भो, “ तपाईंको र मेरो भेटघाट र चिनोजानी भए पछी मैले कुनै दिन यो जीन्सको फाटेको पाइन्ट देखि अर्को पाइन्ट लगाएको थाहा छ?” वास्तवमा मैले वहांलाई देखें पछी त्यो दिन सम्म त्यहि फाट्न लागेको जीन्स पाइन्टमा मात्र देखेको थिएं। मेरो त्यो वेला वहांको कुराको प्रतिवाद गर्ने जवाफ थिएन। अन्ततः धेरै छलफल गरी खाना खाए पछी मैले वहांको पार्टी सदस्यता लिएं।
वहांले पार्टी छोडी नेकपा एकता केन्द्र हुंदै माओवा पार्टीमा जानु भो, घरायसी कारण म जागीरतिर लागें। बुटवल क्याम्पसमा सरुवा भए पछी देवीनगरमा घर बनाएँ। माओवादी द्वन्द चर्किंदै उत्कृष्ट विन्दुमा पुगेको वेला मेरा पुराना साथी घनश्याम पाठक जी विहानै मेरो घरमा आउनु भो र मेरो त्यो दिनको कार्यक्रम बारे जानाकारी लिनु भो। सदा झैं क्याम्पस र स्कूलको रुटिन वर्क देखि बाहेक अन्य काम नभएको वहांलाई जानाकारी दिए पछी सांझ मेरो घरमा माओवादीको कुनै जिम्मेवार नेता भेट्न र त्यो रात बस्न आउने कुरा सुनाउनुभो।मैले त्यसलाई कुनै अफ्ठेरो नमानी स्वाभाविक लिएं। त्यो बेला मेरो मेरो जेठो श्रीमती स्वर्गीय मीना थिइन। जंगलमा लुकेको दुख पाई लड़ेका साथीहरु प्रति निकै श्रद्धा लाग्ने हुनाले सकेसम्म मिठो खाना बनाउन मीनालाई भने। खाना साँझमा तयार भयो, हामी पर्खाइमा थियौं संकटकालीन अवस्थामा संसांझै आउन वहांलाई पनि संभव थिएन। करिव साढ़े आठ बजेतिर मैले झ्यालबाट हेरिरहेको थिएं, अगाडी चार जना र पछी चार जनाको बीचमा साइकल चढी आएको टिम हाम्रो घरको च्यानल गेट खोली भित्र पस्यो र २ जनालाई छाडी ६ जना फर्किए । मैले देखें ती नेता मेरो घनिष्ट साथी टोप बहादुर रहेछन। सदाको हंसिलो मुहार भएका टोप बहादुर जी ले म तर्फ आफ्नो पाइन्ट देखाउंदै भने, “लिला जी मैले पुरानो जीन्स पाइन्ट फेरें है, अहिले म संग यस्ता जीन्स पाइन्ट धेरै छन् र हामीलाई पैसाको दुख पनि छैन।”