
खगेन्द्र छन्त्याल
अमेरिकी रास्ट्रपति चुनावको क्रममा उम्मेदवार छनौटको निम्ति पार्टीहरुले पहिलो चरणमा उप गुटगत चुनाव, दोस्रो चरणमा गुट गत चुनाव गर्दछन । र तेस्रो चरणमा आम चुनाव मार्फत रास्ट्रपति चयन गर्दछन । सम्बन्धित पार्टीका पार्टी सदस्यले मात्र भागलिन पाउने उपगुट तथा गुट गत चुनाव आन्तरिक भएतापनि निक्कै ठुला होहल्ला र तडक -भड्क कासाथ सम्पन्न हुने गर्दछन । र ति चुनावहरु राष्ट्रपति चयनको निम्ति मिनी चुनाव मानिन्छन । अमेरिका संसारभरका पूँजिवादीहरुको निम्ति रोल मोडल हो । संसारभरका पुँजीवादीहरुले यसप्रकारको अमेरिकी शैलीको चुनावलाई अन्धानुकरण गर्दछन र यसैलाई नै सर्वोक्रिस्ट लोकतन्त्र र मानवधिकार ठान्छन । यसलाई स्वीकार नगर्ने कुनैपनि व्यक्ति,समुह,समाज र देशलाई पूँजिवादीहरुले अप्रजातान्त्रिक,अलोकतान्त्रिक भन्छन । अर्थात राज्यले निश्चित गरेको पूँजिवादी प्रणालीको बिधि अन्तर्गत रहेर चुनावमा सहभागी हुनु नै पूँजिवादीहरुको निम्ति प्रजातन्त्र,लोकतन्त्र र मानवधिकार हो । राज्यसत्ता होस् या पार्टीसत्ता नेतृत्वको निम्ति पूँजिवादीहरुका लागि अनिवार्य शर्त नै हो अमेरिकी शैलीको निर्वाचन ।
बिस्वभर पूँजिवादीहरुको दवदवा बढे संगै कतिपय कम्युनिस्टहरुले पनि आफुलाई पूँजिवादिकरण गरेको देखिन्छ । र उनीहरुले राज्यसत्ताको एउटा अंग मानीने सरकारमा पुग्नकै निम्ति पार्टीको सम्पूर्ण शक्ति पूँजिवादी प्रणालीको चुनावी दौडमा खर्चेको देखिन्छ । पार्टीसत्ताको नेतृत्व चयनमा पनि उनीहरुले कथित जनवादको उच्च अभ्यासको नाममा उही पूँजिवादि चुनावी निती अवलम्बन गरेको देखिन्छ , यथार्थमा यो गलत हो ।
पूँजिवादी प्रणालीको चुनाव र मतदानले सधै सहि निर्णय दिन्छ भन्ने कुरामा कम्युनिस्टहरु बिस्वास गर्दैनन् । मनि,मसल र मेडियाको पहुच नभएका कुनैपनि उम्मेदवारले त्यसप्रकारको चुनावी प्रणालीमा कुनैपनि चुनाव जित्न सम्भव छैन । चुनाव र मतदानको नाममा पूँजिवादी चुनावी प्रणालीले देश,जनता र समाजको निम्ति कसले कति त्याग र बलिदान ग-यो ? को कति देश र जनता प्रति समर्पित छ ? को कति ईमान्दार र नैतिकवान छ ? त्यसको उपहास गर्दछ । र त्यसको बदला को संग प्रशस्त पैसो छ,को कसको पाखुरीमा प्राण छ र कसको पहुच ठुला ठुला संचारका साधनहरु तिर छ तिनीहरुलाई सम्मान गर्दछ ।
कम्युनिस्टहरुले पूँजिवादी प्रणालीको चुनावलाई रणनैतिक उपयोगको बिषय बनाउनु भ्रम हो ।त्यस्तै त्यसलाई रणनैतिक बहिस्कारको बिषय बनाउनु पनि थप एक अर्को भ्रम हो । कम्युनिस्टहरुले पूँजीवादी चुनावलाई एउटा कार्यनैतिक बिषय बनाउनुपर्दछ ।कम्युनिस्टहरुको काम पूँजिवादी ब्यबस्था अन्तर्गत सांसद, मंत्री,प्रधानमंत्री, रास्ट्रपति बनेर पूँजीपति बन्नु र पूँजिवादमा बिलय हुनु होईन । उनीहरुको काम भनेको पूँजिवादी राज्य सत्ताको अन्त्य गरेर त्यसको ठाउमा नयाँ जनवाद,समाजवाद र साम्यवादको स्थापना गर्नु हो । त्यसकारण तत्कालिन परिस्थिति अनुसार के गर्दा पूँजिवादी राज्यसत्ताको अन्त्य र नयाँ जनवाद,समाजवाद र साम्यवादको स्थापनाको आधार निर्माणमा मद्धत हुन्छ त्यही गर्नुपर्दछ ।कुनै तत्कालिन परिस्थितिमा उपयोग गर्दा त्यसप्रकारको स्थिति निर्माण हुन्छ भने कुनै तत्कालिन परिस्थितिमा बहिस्कार गर्दा ।नेपालको कम्युनिस्ट आन्दोलनमा प्राय: पूँजिवादी चुनाव उपयोगको कार्यनीतिलाई संशोधनवादी देख्ने र बहिस्कारको कार्यनीतिलाई क्रान्तिकारी देख्ने दृस्टीदोष देखिन्छ त्यसवाट सवै मुक्त हुन आवस्यक छ । उपयोग गर्दा पूँजिवादी राज्यसत्ताको अन्त्य र नयाँ जनवाद,समाजवाद र साम्यवादको स्थापनाको आधार निर्माण हुने स्थितिमा निसंकोच कम्युनिस्टहरुले चुनाव उपयोगको पहलकदमी लिनुपर्दछ । त्यस्तै बहिस्कार गर्दा त्यसप्रकारको स्थिति बन्ने सम्भावना भएमा निसंकोच बहिस्कारको पहलकदमी लिनुपर्दछ ।
निश्चय नै पूँजिवादी चुनाव उपयोग वा बहिस्कार गर्दा कम्युनिस्टहरु निक्कै सचेत हुनुपर्दछ । पूँजिवादी चुनाव उपयोग गर्न गएका कैयौ कम्युनिस्टहरुलाई पूँजिवादी चुनावले नै उल्टो उपयोग गरेका कैयौ उदाहरणहरु छन । कम्युनिस्ट आन्दोलनको ईतिहासमा लेनिनको पार्टी वाहेक अरु कुनैपनि पार्टीले पूँजिवादी चुनावको सहि उपयोग गर्न सकेन । त्यस्तै बहिस्कार गर्दा स्वयं आफै बहिस्कृत हुने परिस्थिति वाट पनि कम्युनिस्टहरु जोगिन सक्नुपर्दछ । गलत र असान्दर्भिक ढंगको बहिस्कारकै कारण दुनियाँका कैयौ कम्युनिस्ट पार्टीहरु जनता वाट बहिस्कृत भएका थुप्रै उदाहरणहरु छन । त्यसैले पूँजिवादी चुनाव उपयोग या बहिस्कार जे गर्दा पनि कम्युनिस्टहरुले आफ्नो घोषित लक्ष र उद्देश्य प्राप्तिलाई बिर्शनु हुदैन । त्यो लक्ष प्राप्तिको माध्यम पूँजिवादी चुनावको उपयोग या बहिस्कार जुन समयमा जे बन्न सक्छ त्यही गर्नुपर्दछ । वास्तवमा ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ भनेकै यहि हो ।
पूँजिवादी चुनावलाई हेर्ने प्रश्नमा नेपालका कम्युनिस्ट भनिने व्यक्ति र पार्टीहरु कहिल्यै एकमत हुन् सकेनन । आगामी मंशिर ४ मा हुने भनियको संघ र प्रदेशको चुनावमा पनि नेपाली कम्युनिस्ट भनाउदाहरु विभाजित देखिएकाछन !।एमाले,माओवादी केन्द्र,मसाल,एकीकृत समाजवादी,माले आदि चुनाव उपयोगको पक्षमा र क्रान्तिकारी माओवादी,नेकपा-विप्लव,नेकपा-बहुमत,नेकपा-कट्टेल,बैज्ञानिक समाजवादी र बिद्रोही मसाल आदि बहिस्कारको पक्षमा देखिएका छन । कार्ल मार्क्स भन्नु हुन्छ : एउटा देशमा कम्युनिस्ट धेरै हुन्छन तर उनीहरुको संगठन कम्युनिस्ट पार्टी एउटा मात्र ।
वास्तवमा नेपालमा कम्युनिस्ट हु भन्नेहरु साच्चिनै कम्युनिस्ट हुन् भने उनीहरुको एउतै पार्टी हुनुपर्दथ्यो । त्यो स्थिति नरहेर एक भन्दा बढी पार्टीहरु बनेको अवस्थामा उनीहरु बिच सकेमा रणनैतिक संयुक्त मोर्चा र त्यो नसकेमा कार्यनैतिक संयुक्त मोर्चा बनाएर सहकार्य गर्नुपर्दथ्यो तर स्थिति त्यस्तो छैन । याहा सम्म कि तात्कालिक कार्यनीति अर्थात मंशिर ४ को चुनाव उपयोग गर्नेहरु कै बिच र बहिस्कार गर्नेहरु कै बिच पनि चर्का र असहज प्रकारका मतान्तर देखिएकाछन ! उपयोग पक्षधर माओवादी केन्द्र,मसाल,एकीकृत समाजवादीले गैर कम्युनिस्ट घटकहरु संग मिलेर चुनावी मोर्चा बनायकाछन ।
उपयोगकै पक्षधर कम्युनिस्ट नै भनिने एमाले संग ति कम्युनिस्ट पार्टी भनिने पार्टीहरुको पानी वारावारको सम्बन्ध देखिन्छ । एउटा भनाईछ “घरमा आएर पानि माग्यो भने कसैलाई पनि नाई भन्नु हुदैन ” तर कसैले कसै संग पानी लिन,दिन चाहेन भने बुझ्नुपर्दछ उनीहरु बिचको सम्बन्धमित्रतापूर्ण छैन । त्यसकारण सम्बन्धको अप्रिय अवस्थालाई पानी वारावारको स्थिति भन्ने गरिन्छ ! एमाले रहितको चुनावी मोर्चाको एक सुत्रिय उद्देस्य चुनावमा एमाले हराउ भन्ने देखिन्छ ! त्यस्तै एमालेको उद्देस्य अन्य गैर कम्युनिस्ट घटकहरु संग तालमेल गरेरै भएपनि चुनावमा ति कम्युनिस्ट भनिने पार्टीहरुको अस्तित्व मेटाउ भन्ने देखिन्छ ।
अर्कोतिर बहिस्कारवादी कम्युनिस्ट भन्नेहरु पनि एउतै मोर्चामा अट्न सकेनन । बहिस्कार अभियानमा बहिस्कारवादीहरुले उपयोगवादीहरुले उपयोगको क्रममा जस्तो केहि लिनुदिनु थिएन । बढी से बढी संघर्षमा भाग लिएर पुजिवादी राज्यसत्ता परिवर्तनको निम्ति योगदान दिनुनै बहिस्कारवादी हरुको कर्तव्य हो । त्यो कर्तब्य पुरा गर्न फुटेर भन्दा जुटेर बढी सम्भव हुन्थ्यो । एकल होईन सामुहिक पहलकदमीले उचित परिणाम दिन्थ्यो । तर आफुहरुलाई अब्बल दर्जाका क्रान्तिकारी ठान्ने र संसारभरका मजदुरहर एक होऔ भन्ने बहिस्कारवादीहरु बहिस्कारको केवल एउटा एजेन्डामा मात्र पनि एक हुन् सकेनन ।क्रान्तिकारी माओवादी,नेकपा-बहुमत,मसाल बिद्रोही समुह र किराती समुहको एउटा बहिस्कारवादी मोर्चा र नेकपा-विप्लव,नेकपा-कट्टेल र बैज्ञानिक समाजवादीको अर्को बहिस्कारवादी मोर्चा बन्यो । यी दुई बहिस्कारवादी मोर्चाहरु बिचको सम्बन्ध पनि पानी वारावार कै स्थितिमा छ ।
बेग्ला बेग्लै अस्तित्वका दुई मोर्चा बिचको संवाद हिनताले तिनीहरु बिचको अप्रिय सम्बन्धलाई संकेत गरिरहेकै थियो । त्यस बिच नेकपा-विप्लवको शिवगढी महाधिवेशनमा केहि नेताहरुले व्यक्त गरेको बिचारहरुले आगोमा घिउ थप्ने काम ग-यो ।उक्त अवसरमा बैज्ञानिक समाजवादीका अध्यक्ष आहुतिले नेकपा-विप्लव वाट चोईतियको एउटा सानो टुक्रालाई प्रतिक्रियावादीहरुले निक्कै महत्व दिएको तर्क गर्दै कन्चन सुदर्शन साम्राज्यवादी तथा दलाल पूँजीवादीहरुको शिकार भएको आरोप लगाए ।नेकपा-कट्टेलका अध्यक्ष ऋषि कट्टेलले नेकपा-विप्लव नै क्रान्तिको मुख्य शक्ति भएकोहुदा सवै क्रान्तिकारीहरुको नेतृत्व उसैले गर्नुपर्ने तर्क राखे । उहाहरुका ति आरोप र तर्कले यी दुई बहिस्कारवादी मोर्चाहरु बिचको सम्बन्ध पानी वारावार कै स्थितिमा छ भन्नेकुरामा कुनै शंका बाँकी रहदैन ।
वास्तवमा नेपालमा असल कम्युनिस्टहरुको एउतै पार्टी हुनुपर्दथ्यो ।त्यो सम्भव नभएमा तात्कालिक एजेन्डामा समान धारणा र दृस्टीकोण राख्नेहरु बिच एउतै मोर्चा हुनुपर्दथ्यो ल त्यो पनि सम्भव नभए एकापसमा मैत्रीपूर्ण सहयोग र सदभावनाको वातावरण हुनुपर्दथ्यो । तर बिडम्बना स्थिति त्यस्तो छैन । निश्चयनै एकीकृत कम्युनिस्ट आन्दोलनका असल हिमायतिहरुका निम्ति यो अत्यन्तै दुखद कुरा हो ।