
खगेन्द्र छन्त्याल
कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता हो । न्याय,स्वतन्त्रता र समानतामुलक सर्वहारा राज्यसत्ता स्थापनाको निम्ति संघर्ष गर्नु कम्युनिस्ट पार्टीको काम हो । निश्चय नै कम्युनिस्ट पार्टीको निम्ति आर्थिक र आर्थिक नीति दुवै महत्वपूर्ण कुरा हुन् । पार्टीका पूर्णकालीन नेता कार्यकर्ताहरुको रेखदेख,यातायात,बैठक,भेला सम्मेलन,संघर्ष र बिबिध कार्यक्रमहरु साथै कार्यालयको भाडा,कार्यालयको कर्मचारी खर्च तथा कार्यालयको सामान्य ब्यबस्थापन आदिमा आर्थिकको महत्वपूर्ण भूमिका हुनेगर्दछ ।आर्थिकरुपमा पार्टीको स्थिति दरिलो भएमा सवै काम सहज ढंगले सम्पन्न हुनेगर्दछ्न तर आर्थिक अवस्था कमजोर भएको स्थितिमा विभिन्न समस्याहरु उत्पन्न हुनेगर्दछ्न । वर्ग संघर्षको भिषण प्रक्रिया अर्थात युद्धरत अवस्थामा पार्टीको निम्ति आर्थिक झन् बढी महत्वपूर्ण चिज हुनेगर्दछ । युद्ध सामाग्री उत्पादन गर्ने, खरिद गर्ने र योद्धाहरुको दैनिक उपभोग्य चिजको ब्यबस्थापन तथा आकस्मिक उपचारको निम्ति पार्टीलाई बढी भन्दा बढी आर्थिकको आवस्यकता हुने गर्दछ ।तर एउटा क्रान्तिकारी पार्टीको निम्ति अर्थ कहिल्यै प्रधान चिज हुनसक्दैन ।
लेनिन भन्नुहुन्छ सिद्दान्त भन्दा ठुलो अरु केहि पनि हुन् सक्दैन । लेनिन थप जोड दिदै अगाडी भन्नुहुन्छ सिद्दान्तमा सम्झौता गरियको र त्यसको तोडमोड गरियको अवस्थामा सिद्दान्तको रक्षाको निम्ति पार्टी र पार्टीको अनुशासन पनि गौण चिज बन्दछन । सिद्दान्त,बिचार,द्रिस्तिकोण,राजनीति,संगठन र त्यसपछि बल्ल अर्थ क्रान्तिकारी पार्टीको मान्यता हो ।क्रान्तिकारी पार्टीको सिद्दान्त,बिचार,द्रिस्तिकोण,राजनीति र सङ्गठनात्मक नीतिले आर्थिक नीतिको कमाण्ड गर्दछ । तथापि आर्थिक नीति एउटा महत्वपूर्ण नीति हो जसको प्रत्यक्ष प्रभाव सिद्दान्त,बिचार,द्रिस्तिकोण,राजनीति,संगठनमा पर्दछ । “पैसा देखे महादेवको चार नेत्र “ भनेझै आर्थिक लालचले मान्छेलाई सिद्दान्त,बिचार,दृस्टीकोणमा बिचलित बनाउछ ।ईमान्दारिता र नैतिकतामा अडिन मुस्किल हुन्छ ।तसर्थ ः आर्थिक नीति ठिक भएमा पार्टीको क्रान्तिकारितामा कुनै शंका हुदैन तर आर्थिक नीति बेठिक भएमा एउटा क्रान्तिकारी पार्टी अवसरवादी पार्टीमा परिणत हुन् लामो समय लाग्दैन ।
त्यसकारण कम्युनिस्ट पार्टीको निम्ति आर्थिक नीति एउटा सामान्य आर्थिक नीति मात्र हुन् सक्दैन ।कम्युनिस्ट पार्टीको आर्थिक नीति संग सैदान्तिक,राजनैतिक,बैचारिक,सांस्कृतिक र सांगठनिक नीतिहरु स्वत जोडिएका हुन्छन । पार्टीको आर्थिक संकलन,उत्पादन र वितरणको नीति क्रान्तिकारी या अवसरवादी के छ ? यो प्रश्नले निक्कै ठुलो महत्व राख्दछ । आर्थिक नीति ठिक छ भने सवै ठीकठाक हुन्छ तर आर्थिक नीति बेठिक छ भने सिद्दान्त,राजनीति,बिचार,संस्कृति र संगठन सवैतिर बिचलन पैदा हुनेगर्दछ । चिनियाँ नयाँ जनवादी क्रान्ति पश्चात समाजवाद स्थापनाको क्रममा माओले समाजवादी उत्पादन प्रणालीमा जोड दिदै गर्दा तेङ्ले पुँजीवादी उत्पादन प्रणालीमा जोड दिदै बिरालोको काम मुसा मार्ने हो, यदी त्यसले मुसा मार्छ भने त्यसको रङ सेतो वा कालो हुनुले कुनै अर्थ राख्दैन भने । अर्थात माओले समाजवादी उत्पादन र वितरण प्रणालीले मात्र नयाँ जनवादी चीनलाई समाजवादमा पु–याउने कुरा गरिरहदा तेङ्ले पुँजीवादी उत्पादन र वितरण प्रणाली अपनायर चीनलाई पुनः दलाल पुँजीवादतिर नै फर्काउन चाहन्थे । यहि बहसको क्रममा माओले भनेका थिए चीनमा समाजवाद वा पुँजिवाद कसले जित्छ त्यो सुनिस्चित भैसकेको छैन । अन्तत महान माओको निधन पश्चात पुँजीवादी उत्पादन र वितरण प्रणाली (पुँजीवादी आर्थिक नीति ) अपनाउदै तेङ्ले चीनमा पुँजीवादको पुनः स्थापना गरेर्रै छाडे ।
गलत आर्थिक नीतिको कारण पथभ्रस्ट हुदै सैद्धान्तिक,बैचारिक र राजनैतिक तथा सांस्कृतिक र सांगठनिक रुपमा विचलन र बिघटनका शिकार बनेका कम्युनिस्ट पार्टीहरु संसारमा अरुपनि थुप्रै छन ।त्यसका उदाहरण हेर्न धेरै टाढा गैरह्नुपर्दैन यस्ता कैयौ उदाहरण नेपालमा नै प्रशस्त छन । “ हर हालतमा आर्थिक संकलन र जुनसुकै मुल्यमा आर्थिक संकलन”को नीति निर्माण गरियो भने कुनैपनि कम्युनिस्ट पार्टी सिद्दिनुको निम्ति आईतवार पर्खनुपर्दैन ! सैद्दान्तिक,बैचारिक र राजनैतिक स्पष्टता र ईमान्दारिता तथा सांगठनिक क्षमता,योगदान र बिधि,पद्धति,प्रक्रियालाई उपेक्षा गर्दै केवल आर्थिक पहललाई नै नेतृत्व चयनको आधार मान्ने पार्टी कम्युनिस्ट पार्टी हुनै सक्दैन । कुनै व्यक्तिमा त्यसप्रकारका शोच,चिन्तन र ब्यबहारहरु देखापर्दछन भने त्यो गम्भीर प्रकारको आर्थिक बिचलन हो । र सारमा त्यो अर्थवाद हो । अर्थवाद मालेमावाद सम्मत छैन यो मालेमावादको बिपरित कित्तामा उभियकोछ ।अर्थवादीहरु अर्थ बाहेक अरु केहि देख्दैनन । अर्थ कै निम्ति तिनीहरुले देश,समाज,बर्ग,पार्टी र क्रान्तिलाई घात गर्दछन । तसर्थ त्यसप्रकारको अर्थ परस्त शोच,चिन्तन र ब्यबहारहरुको लेनिनले उहिल्यै खारेज गर्नुभएको थियो । त्यस्तै कम्युनिस्ट पार्टीले आफ्ना सदस्यलाई नेतृत्वमा बिकास गर्दा, जिम्मेवारी दिदा सम्बन्धित पात्रको पृष्ठभूमि कार्य क्षमता,राजनैतिक स्पष्टता,सैदान्तिक दृढता, ब्यबहारिक ईमान्दारितालाई मध्य नजर गरेर गर्नुपर्दछ । तर आर्थिक हैसियत राम्रो भएका शुभ चिन्तक,समर्थक र पार्टी सदस्यहरु संग पार्टीका कार्यकारी नेतृत्व अस्वभाविक ढंगले नजिक हुने र आर्थिक सहयोग लिने त्यसको बदलामा पार्टीको महत्वपूर्ण जिम्मेवारीको लिनदिन गर्ने गलत प्रवृतिको बिकास हुनु कम्युनिस्ट पार्टीको निम्ति बिडम्वना हो एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी सिद्धान्त,बिचार, राजनीतिमा पतन र बिघटन भएर पुँजिवादी प्रतिक्रान्तिकारी पार्टीमा परिणत हुनुको मुख्य कारण यो पनि हो ।कम्युनिस्ट पार्टीले आन्तरिक लेवी,कोटा र उत्पादनलाई नै आफ्नो भरपर्दो आर्थिक श्रोत बनाउनुपर्दछ । त्यो बाहेक कहिलेकाँही चन्दा सहयोगलाई पनि लिनुपर्दछ तर त्यो निश्चित समय र निश्चित प्रयोजनको निम्ति हुनुपर्दछ । कम्युनिस्टहरुले चन्दालाई नै बाँच्ने र चल्ने आधार बनाउनु हुदैन । उधोगी,ब्यापारी र आम जनतालाई वाक्क दिक्क हुनेगरी बार्हैमास चन्दा संकलन गरेर हिड्न कम्युनिस्टहरुको नैतिकताले दिदैन । जनताले गरेको आन्दोलनलाई बिशर्जन गर्ने गरि होईन त्यसलाई झन् उचाईमा पु–याउने योजनामा केन्द्रित रहेर आन्दोलनको आवस्यकतामा कहिलेकाँही पार्टीले दलाल,तस्कर र काला व्यापारीहरु वाट कर लिन सक्दछ । रास्ट्रिय पुँजीपतिहरु र साना, ठुला व्यापारीहरु बात आर्थिक सहयोग लिन सक्दछ । तर टोले गुण्डाहरुले हप्ता असुले झैँ कम्युनिस्टहरुले धम्काएर,तर्सायर,फकाएर कहिँ कतै बात पनि नियमित÷अनियमित चन्दा उठाउनु हुदैन । यस्ता गतिबिधिलाई नियन्त्रण गर्नको निम्ति पार्टीले सुस्पस्त नीति निर्माण गर्नुपर्दछ ।
कम्युनिस्टहरुले रास्ट्रिय पुँजीपति,उधोगी,ब्यापारी र आम जनता संग पानी र माछिको सम्बन्ध राख्नुपर्दछ । उनीहरुलाई धम्कायर तर्साएर होईन सम्झाएर,बुझाएर नयाँ जनवादी क्रान्तिमा संगै लिएर अघि बढ्नुपर्दछ !।।स्कुल,कलेजहरुमा दैनिक चन्दा माग्ने र हैरान पार्ने मात्र होईन कम्युनिस्ट पार्टीका नेताहरुले स्कुल प्रशासनलाई पार्टीकै नाममा धम्क्याएर आफ्ना बालबच्चाहरुलाई महंगा निजि स्कुलहरुमा निशुल्क पढाउने संस्कारको बिकास भैरहेको देखिन्छ । त्यस्तै कम्युनिस्ट पार्टी कै नेताहरुले विभिन्न सरकारी तथा गैर सरकारी संस्था,उधोग,कलकारखानामा र कार्यालयहरुमा पार्टी कै नाममा धम्क्याएर आफ्ना आफन्त र आसपासका मान्छेलाई जागिर खुवाएको घटनाहरु पनि यदाकदा देखिन्छन । यसप्रकारको गतिविधिले कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी वर्गको पार्टी जस्तो होईन लुटेरा र डाँकाहरुको जत्था जस्तो देखाउछ । र जनतामा कम्युनिस्ट पार्टीको बद्नाम गराउछ । त्यसकारण कम्युनिस्ट पार्टीमा यसप्रकारका गतिविधिहरुको निरिक्षण र नियन्त्रणको नीति बन्नुपर्दछ ।
कम्युनिस्टहरु पारदर्शी हुनुपर्दछ योकुरा आर्थिक प्रश्नमा पनि सत्य हो । कम्युनिस्टले आर्थिक अराजकता वाट आफुलाई सधै बचाई राख्नुपर्दछ । आम जनता, उधोगी ,ब्यापारी वा जुनसुकै ठाउ वाट पार्टीको नाममा आएको रकम पार्टीको अनुमति बिना एक पैसा पनि व्यक्तिले खर्च गर्नुहुदैन । कम्युनिस्ट पार्टीले आफ्ना सदस्यहरु उत्पादन संग अनिवार्य जोडिने नीति निर्माण गर्नुपर्दछ । कम्युनिस्ट नेता कार्यकर्ताहरुले पार्टी र क्रान्तिको कामलाई पेशा होईन स्वयंसेवाको रुपमा लिनुपर्दछ । छाक टार्नको निम्ति पार्टीको नाममा चन्दा उठाउने,यातायातको निम्ति पार्टीको नाममा चन्दा उठाउने, खल्ती खर्चको निम्ति पार्टीको नाममा चन्दा उठाउने काम गर्नुहुदैन । त्यसप्रकारका समस्या वाट गुज्रिरहेका नेता,कार्यकर्ताहरु उत्पादन या रोजगारीमा जोडिनु पर्दछ । कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुको आर्थिक जीवनशैली अत्यन्तै पारदर्शी हुनुपर्दछ । पार्टीमा कमसेकम केन्द्रिय सदस्यहरुको सम्पति विवरण केन्द्रित गर्ने नीति बन्नुपर्दछ । केन्द्रिय सदस्यहरुले आफुलाई सैद्धान्तिक,बैचारिक,राजनैतिक र सांगठनिकरुपले मात्र होईन आर्थिकरुपले पनि पार्टीकरण गर्नुपर्दछ । उनीहरुले घर घडेरी जोड्ने,बैंक ब्यालेन्स गर्ने आदि,ईत्यादि आर्थिक गतिबिधि गर्दा श्रोत खुलायर अनिवार्य रुपमा पार्टीमा जानाकारी गर्ने नीति निर्माण गरिनुपर्दछ ।
उत्पादन संग जोडिने र रोजगारी गर्ने क्रममा कम्युनिस्ट पार्टीका सदस्यहरुले समाजमा सम्मानित पेशा,ब्याबसाय र रोजगारीका कामहरु गर्नुपर्दछ । जनता,देश,समाज र पार्टी तथा क्रान्तिलाई नकारात्मक असर पर्ने पेशा,ब्यबसाय र रोजगारी कम्युनिस्ट पार्टीका सदस्यले गर्नुहुदैन । अर्थोपार्जनकै निम्ति बिचौलिया बनेर दलाली गर्ने,तस्करी गर्ने,भ्रस्टचारी गर्ने, काला बजारी गर्ने काम कम्युनिस्टहरुले कदापि गर्नुहुदैन । कम्युनिस्टहरुले श्रम गरेर,मेहनत गरेर,पसिना बगायर आर्थिक उपार्जन गर्नुपर्दछ । जुवा,तास खेल्ने,छाडा यौन लम्पट बन्ने,मधपान गर्ने र कुलतमा रम्ने कामदेखि कम्युनिस्ट पार्टीका सदस्यहरु निक्कै टाढा रहनुपर्दछ । र आफ्ना सदस्यहरुलाई त्यसप्रकारका गलत चिजहरु बात सतर्क राख्नको निम्ति कम्युनिस्ट पार्टी सधै सचेत हुनुपर्दछ ।
पैसो देखेसी –याल चुहाउने व्यक्ति कम्युनिस्ट पार्टीको नेता हुनै सक्दैन । त्यस्ता व्यक्तिले कुनैपनि दिन पार्टी र क्रान्तिलाई पैसोको पोको संग साट्ने सम्भावना सधै रही रहन्छ । पार्टीमा पैसो आय पश्चात त्यो ल्याउने नेता, कार्यकर्ताको पिठ्युमा नेतृत्वले आँखा चिम्लेर धाप मार्नु राम्रो होईन । प्राय त्यसो गरिन्छ र नै पैसो बोकेर नेतृत्वको घर चहार्ने नेता,कार्यकर्ताहरु अझ उत्साहित हुने गर्दछन । अनि तिनीहरुले थप बदमासी गर्दछन । पार्टी र क्रान्तिको थप बद्नाम गर्दछन र संगठन धोस्त पार्दछन । त्यो पैसो कहा वाट कसरि आयो ? त्यो पैसो संग कतै पार्टीको प्रतिष्ठा र क्रान्तिका सपना सातियका त छैनन् ? यी प्रश्नहरु प्रति नेतृत्व गम्भीर सधै हुनुपर्दछ ।
अत ः पुंजीवादी,पलायनवादी ,बिचलनवादी र अवसरवादी प्रकारको आर्थिक नीतिले कम्युनिस्ट पार्टीलाई अन्तत बुर्जुवा पार्टीमा परिणत गर्दछ ।त्यसकारण कम्युनिस्ट पार्टीमा आर्थिक उपार्जन, संकलन र बितरण सम्बन्धि क्रान्तिकारी आर्थिक नीति निश्चित हुनुपर्दछ । र त्यही क्रान्तिकारी आर्थिक नीतिको आधारमा कम्युनिस्ट पार्टीको आर्थिक गतिबिधि संचालन गरिनुपर्दछ ।