शनिबार, मंसिर १७, २०७९

का. चित्र बहादुर केसीको अनुपस्थिति र “हाँक” को विश्लेषण

मनोज भट्ट
२०७९ कार्तिक १४ गते बागलुङ बजारमा पत्रकार ऋषि धमलाले “जनता जान्न चाहन्छन्” कार्यक्रमअन्तर्गतको खुल्ला रूपमा निर्वाचन बहस कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीलगायतका अन्य उमेदवारलाई पनि आमन्त्रित गरिएको थियो । त्यसै दिन का. केसीको काठेखोला गाउँपालिका–३ धम्जामा चार चारओटा छुट्टाछुट्टै निर्वाचनकेन्द्रित कार्यक्रम थिए । व्यस्तताका कारण सार्वजनिक सुनुवाइ प्रकृतिको ऋषि धमलाको उक्त निर्वाचन बहस कार्यक्रममा का. केसी उपस्थित हुन सक्नुभएन । कार्यव्यवस्तताले खुल्ला निर्वाचन बहस कार्यक्रममा सहभागी हुन नसके पनि त्यसै दिन अबेर साँझ भए पनि पत्रकार ऋषि धमलाले का. केसीसँग बेग्लै अन्तर्वार्ता लिएर सार्वजनिक गर्नुभएको थियो । त्यो अन्तरवार्ता टिभीमा प्रसारणसमेत भएकाले त्यसलाई पनि सार्वजनिक प्रकारको कार्यक्रम नै मान्नुपर्ने हुन्छ । टिभीको माध्यमबाट सार्वजनिक रूपले जनताले उहाँका कुरा सुनेका थिए ।

का. केसीको राजनीतिक जीवन खुल्ला पुस्तक झैँ छ । खुल्ला राजनीतिक जीवन सुरु भएपछि उहाँले राजनीतिक रूपले विरोधी, फुटपरस्त वा वाम आन्दोलनभित्रका विजातीय तत्त्वका विभिन्न आरोपको सार्वजनिक रूपले नै सामना गर्दै आउनुभएको छ । कुनै पनि कालखण्डमा त्यस प्रकारको प्रश्नबाट उहाँ पछाडि हटेको इतिहास देखिन्न ।

केही स्थानीय मतदाताहरूको सहभागितामा आयोजित एउटा खुल्ला कार्यक्रममा कार्यव्यस्तताले का. केसीको अनुपस्थिति भएका कारण “हाँक” पत्रिकाले (१६ कार्तिक २०७९, वर्ष ३९ अङ्क ४४) त्यस विषयमा लामै विश्लेषण अगाडि सारेको छ । उक्त विश्लेषण हेर्दा पत्रिकाको भन्दा पत्रिका सञ्चालन गरिरहेका फुटपरस्त तत्त्वहरूको बौद्धिक टाटपल्टाइ वा दिवालियापनलाई देखाउँछ । पूर्वाग्रहले जहिले पनि यथार्थभन्दा मनमा लागेका कुण्ठालाई सत्य मान्न पुग्दछन् । जवाफ सामना गर्न नसक्ने डरले भागेको, संसद्वादी राजनीति अँगालेको, बागलुङमा काङ्ग्रेस र जनमोर्चाका बिच चलिरहेको भीषण वर्गसङ्घर्षलाई उपेक्षा वा परित्याग गरेको, चुनावलाई रणनीतिक रूपमा उपयोग गरेको कुरा पुष्टि गर्न नसक्ने भएको हुँदा का. चित्रबहादुर केसी जनताका प्रश्नबाट भागेको विश्लेषण अगाडि सारेको छ । “हाँक” को विश्लेषण त्यहाँसम्म मात्र सीमित छैन, का. केसीको चरित्रहत्या गर्ने तहसम्म पनि पुगेको छ । त्यो विश्लेषण पढ्दा यस्तो लाग्दछ, मानौँ एमालेको उम्मेदवार सूर्य पाठकले का. केसीको विरोध गर्नका लागि “हाँक” लाई प्रयोजन गरेको देखिन्छ । का. केसीको विरोध गरेर एमालेका सूर्य पाठकको पक्षमा चुनावी वातावरण सृजना गर्ने जिम्मा “हाँक” ले लिएको देखिन्छ ।

हाँकले अगाडि सारेको विश्लेषण हेरौँ । जनताका प्रश्नको जवाफ दिन नसक्ने भएकाले का. केसी भागेको दाबी गरेका छन् । के यथार्थ त्यस्तै हो त ? कुनै एउटा कार्यक्रममा कार्यव्यस्तता वा अन्य कुनै कारण कुनै नेता उपस्थित हुन नसक्नुलाई जवाफ दिन नसकेर भागेको अर्थमा अथ्र्याउनु हास्यास्पदबाहेक अरू केही हुन सक्दैन ।

का. केसीको राजनीतिक जीवन खुल्ला पुस्तक झैँ छ । खुल्ला राजनीतिक जीवन सुरु भएपछि उहाँले राजनीतिक रूपले विरोधी, फुटपरस्त वा वाम आन्दोलनभित्रका विजातीय तत्त्वका विभिन्न आरोपको सार्वजनिक रूपले नै सामना गर्दै आउनुभएको छ । कुनै पनि कालखण्डमा त्यस प्रकारको प्रश्नबाट उहाँ पछाडि हटेको इतिहास देखिन्न । विरोधी, दक्षिणपन्थी, उग्रवामपन्थी सबै खाले प्रवृत्ति वा तिनीहरूबाट लगाइने आरोपका विरुद्ध खुल्ला र सार्वजनिक रूपले सामना गर्दै आउनुभएको छ । त्यस प्रकारको आधारहीन आरेप लगाउँदा फुटपरस्टहरूले कात्तिक १४ गते बागलुङमा आयोजित खुल्ला बहस केसीजीको पहिलो र अन्तिम कार्यक्रम होइन भन्ने कुराको हेक्का उनीहरूलाई हुनुपर्ने हो ।

पार्टी संसद्वादमा डुबेका कारण त्यसको चित्तबुझ्दो जवाफ दिन नसक्ने भएको हुनाले का. केसी कार्यक्रममा अनुपस्थित रहेको प्रश्नमाथि केही विचार गरौँ ।

नेकपा (मसाल) वा का. केसीले कहिँ पनि संसद्मा बहुमत ल्याएर प्रतिक्रियावादी वा विद्यमान व्यवस्थालाई परिवर्तन गर्न सकिन्छ । संसद्बाट जनवाद वा समाजवाद व्यवस्था स्थापना गर्न सकिन्छ भनेर सार्वजनिक वा छद्म रूपमा संसद्प्रति विश्वास व्यक्त गरिएको वा सशस्त्र सङ्घर्षबाट सत्ता प्राप्त गर्ने कुरालाई अस्वीकार गरेको पाइँदैन ।

का. केसीको कम्युनिस्ट आन्दोलनभित्र संसद्वाद र वहिष्कारवादीका विरुद्ध लामो वैचारिक सङ्घर्षको पृष्ठभूमि छ । केसीको दुईटा विपरीत तथा सारमा एउटै प्रवृत्तिका विरुद्ध वैचारिक सङ्घर्षको लामो इतिहास छ । त्यसैले त्यस्तो प्रश्नबाट भाग्ने प्रश्नै आउन्न । शक्तिसञ्चयका लागि संसदीय चुनावमा भाग लिनु र संसद्लाई नै आफ्नो मूल राजनीतिक उद्देश्य वा लक्ष्य बनाउनु दुईटा फरक फरक विषय हुन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी व्यवस्थाअन्तर्गत हुने निर्वाचनलाई कम्युनिस्टहरूले कार्यनीतिक रूपमा उपयोग गर्न वा बहिष्कार गर्न सक्दछन् । कुन बेला कुन नीति अपनाउने ? त्यो तात्कालिक परिस्थितिमाथि निर्भर हुन्छ । लेनिनद्वारा लेखिएको “वामपन्थी लफ्फाजी : एक बालरोग” पुस्तकमा चुनावको उपयोग र बहिष्कार कुन अवस्थामा सही हुन्छ भन्ने कुरा रुसको अनुभवसहित सविस्तार चर्चा गरिएको छ । नेकपा (मसाल) वा का. केसीले कहिँ पनि संसद्मा बहुमत ल्याएर प्रतिक्रियावादी वा विद्यमान व्यवस्थालाई परिवर्तन गर्न सकिन्छ । संसद्बाट जनवाद वा समाजवाद व्यवस्था स्थापना गर्न सकिन्छ भनेर सार्वजनिक वा छद्म रूपमा संसद्प्रति विश्वास व्यक्त गरिएको वा सशस्त्र सङ्घर्षबाट सत्ता प्राप्त गर्ने कुरालाई अस्वीकार गरेको पाइँदैन । यदि त्यस्तो मान्यता सारेको भए निश्चित रूपले त्यो संसद्वादको बाटो हुन्थ्यो तर हामी संसद्को विरोधसहित चुनावमा सहभागी भएका छौँ ।

निश्चित रूपले विगतमा बागलुङमा काङ्ग्रेस र हाम्राबिच तिक्ततापूर्ण सम्बन्ध रहेको कुरा कसैबाट लुकेको छैन । वर्तमान अवस्थामा पनि काङ्ग्रेस र जनमोर्चा बागलुङ जिल्लाका मुख्य प्रतिस्पर्धी दल हुन् । मुख्य प्रतिस्पर्धी दलहरूका बिच द्वन्द्व, तीक्तता र सङ्घर्ष हुनु स्वाभाविक हो । अझ त्यसमा पनि काङ्ग्रेस वर्गीय रूपले नै हाम्रो दुस्मनशक्ति भएको हुनाले त्यसका विरुद्ध गरिने सङ्घर्ष वर्गसङ्घर्षको अभिन्न अङ्ग भएकाले उनीहरूका विरुद्ध चलाइने सङ्घर्ष पनि न्यायोचित थियो, छ र हुने छ । बागलुङमा काङ्ग्रेसले राष्ट्रिय जनमोर्चाका नेता, कार्यक्रर्ता र समर्थकमाथि हमला गरेको, अङ्गभङ्ग गरेको विभिन्न जाली मुद्दा लगाएर जेल पठाएको कुरा “हाँक” ले उठाएर हाम्रा बिचमा भावनात्मक दुरी बढाउने वा अन्तर्विरोध वा असन्तोषलाई प्रयोग गरेर प्रतिगमन विरोधी आन्दोलन वा गठबन्धनलाई कमजोर पार्ने कुनियतले काम गरेको छ तर “हाँक” ले यो कुरा बिर्सेको छ कि नेका र हाम्राबिचका सबै अन्तर्विरोध कायम छन् । तत्कालको स्थितिमा ती अन्तर्विरोधलाई हामीले सञ्चालन गरेका छैनौँ, केही समयका लागि थन्क्याएका छौँ । अहिले गणतन्त्रवादीका बिच सङ्घर्ष नभएर गणतन्त्रलाई जोगाउन उनीहरूबिच एकताको आवश्यकता छ । गणतन्त्रवादीका बिच एकता नभएर अहिलेको अवस्थामा फुटको कामना प्रतिगमनकारीले गरेका छन् । गणतन्त्रवादीलाई फुटाएर प्रतिगमन लाद्नका लागि देशी तथा विदेशी प्रतिगामी शक्ति लागिरहेका छन् ।

खास खास बेलामा खास खास मुद्दामा दुस्मनसँग पनि सहकार्य गर्न सकिने माओको संयुक्तमोर्चाको प्रसिद्ध नीतिअन्तर्गत नै पर्दछ । बेग्लाबेग्लै मुलुकमा बेग्लाबेग्लै मुद्दामा वर्गीय रूपमा दुस्मनशक्तिसँग पनि कम्युनिस्टहरूले संयुक्तमोर्चा गरेको उदाहरण पाइन्छ ।

खास खास बेलामा खास खास मुद्दामा दुस्मनसँग पनि सहकार्य गर्न सकिने माओको संयुक्तमोर्चाको प्रसिद्ध नीतिअन्तर्गत नै पर्दछ । बेग्लाबेग्लै मुलुकमा बेग्लाबेग्लै मुद्दामा वर्गीय रूपमा दुस्मनशक्तिसँग पनि कम्युनिस्टहरूले संयुक्तमोर्चा गरेको उदाहरण पाइन्छ ।

चीनमा राष्ट्रियताको रक्षाका लागि कम्युनिस्टले कोमिन्ताङ जस्तो घोर प्रतिक्रियावादी, जसले चीनमा लाखौँ कम्युनिस्टको हत्या गरेको थियो, त्यस्तासँग पनि राष्ट्रियताको रक्षाका लागि सहकार्य गरेका थिए । कम्बोडियामा राजा र कम्युनिस्टका बिच अमेरिकी हस्तक्षेप विरुद्ध राष्ट्रियताको पक्षमा सहकार्य भएको थियो । चीनमा राष्ट्रियताका लागि मात्र नभएर गणतन्त्रका लागि पनि कोमिन्ताङ र कम्युनिस्टबिच सहकार्य हुनुका साथै पारस्परिक सहयोगका लागि कम्युनिस्टहरू कोमिन्ताङ पार्टीको केन्द्रीय समितिमा बस्ने चलन थियो । माओसमेत कोमिन्ताङ पार्टीको केन्द्रीय समितिमा दुई दुईपटक निर्वाचित भएको पाइन्छ ।

नेपालमा निरङ्कुशताको अन्त र लोकतन्त्रको स्थापनाका लागि काङ्ग्रेस र कम्युनिस्टका बिच सहकार्य भएको पाइन्छ । औपनिवेशिकता विरुद्ध कम्युनिस्ट र गैरकम्युनिस्टका बिच सहकार्य भएको पाइन्छ । अहिलेको अवस्थामा हामीले पाँचदलीय गठबन्धनसँग गरेको सहकार्य गणतन्त्रमाथि देखिएको खतरा विरुद्ध हो तर गणतन्त्र विरोधी तथा वाम सङ्कीर्णतावादी दुईटै शक्तिको उद्देश्य फरक फरक भए पनि प्रतिगमनको खतरालाई नजरअन्दाज गरेर प्रतिगमनको सेवा गरिरहेका छन् । फुटपरस्तहरूले सुरुदेखि नै प्रतिगमनउन्मुख राजनीतिक कार्यदिशा अपनाएका छन् । उनीहरूले अपनाएको प्रतिगमनउन्मुख राजनीतिले उनीहरूलाई कार्यनीतिक रूपले प्रतिगामी शक्तिको नजिक पुर्याइदिएको छ ।

हाँक” ले का. केसीको विरोध गरेर एमालेको पक्षमा बनाउन खोजेको चुनावी वातावरण निःशुल्क वा सःशुल्क के हो ? त्यो आगामी दिनमा प्रष्ट हुँदै जाने छ ।

निर्वाचनसम्बन्धी खुल्ला बहस कार्यक्रममा का. केसीको अनुपस्थितिको सवालमा अगाडि सारिएका राजनीतिक विषय तार्किक रूपले कमजोर पर्ने देखिएको हुनाले होला फुटपरस्तहरूद्धारा सञ्चालित “हाँक” ले का. केसीका वैयक्तिक जीवनसँग जोडिएका विषय उठाएर चरित्रहत्याको सहारा लिएका छन् । प्रायशः राजनीतिक आन्दोलनमा पिछडिएको राजनीतिक चेतना भएका व्यक्ति, समूहहरूले सही सिद्धान्त र राजनीतिको मुकाबिला गर्न नसकेपछि आफ्नो अस्तित्व रक्षाका लागि गालीगलौज र चरित्रहत्याको सहारा लिने गरेका प्रशस्तै उदाहरण पाइन्छन् । गालीगलौज र चरित्रहत्याको राजनीतिका लागि फुटपरस्तहरू निकै बद्नाम छन् । फुटपरस्तहरूले सुरुदेखि नै चरित्रहत्या र गालीगलौजको राजनीतिलाई नाङ्गो रूपमा अपनाउँदै आएका छन् । फुटपरस्तहरूले अपनाएको गालीगलौज र चरित्रहत्याको राजनीतिले उनीहरूको असहायपनलाई नै देखाइरहेको छ ।
अन्तमा, “हाँक” ले का. केसीको विरोध गरेर एमालेको पक्षमा बनाउन खोजेको चुनावी वातावरण निःशुल्क वा सःशुल्क के हो ? त्यो आगामी दिनमा प्रष्ट हुँदै जाने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?