शनिबार, साउन १२, २०८१

ओखरकोट पर्यटनको गन्तब्य

–के.बि.मसाल
ग्रामीण पर्यटनको नयाँ नाम हो प्युठानको ओखरकोट । ओखरकोटमा ग्रामीण पर्यटनको लागी जनस्तरबाट धेरै कामहरु भएका छन । ओखरकोट र वरपरका गाउँहरुको ग्रामीण पर्यटन विकास गर्न गुरुयोजना बनेको छ । ओखरकोटको गुरुयोजनामा कोटमा भ्यू टावर, गाउँमा रिङ रोड, रक गार्डेन, पार्कहरु बनाउने योजनाहरु बनेका छन् । बाह्रै महिना चिसो बातावरण एकै स्थानमा बसेर उच्च पहाड, मध्य पहाड, महाभारत पर्वतको श्रृखला अवलोकन गर्न सकिने ओखरकोटलाई ‘किङ्ग अफ हिल’ पनि भनेर चिनिन्छ । ओखरकोट प्राकृतिक अवलोकन गर्न चाहाने ग्रामीण पर्यटकको उत्कृष्ट गन्तव्य हो ।
अग्ला पहाड र पर्वतका श्रृखला, झिमरुम र गर्तङ नदीहरुका बीचमा रहेको ओखरकोट प्राकृतिक दृष्टिले पनि सुन्दर क्षेत्र हो । त्यो क्षेत्रका सबै गाउँहरुमा मोटरबाटो पुगेका छन भने सडक सञ्जालले जिल्लाको स्वर्गद्वारी, बागलुङ, गुल्मी, अर्घाखाँची आदि जिल्लाहरुसित पनि सडक जोडिएको छ । ओखरकोटको पुरातत्व, इतिहास, संस्कृति, लोकनृत्य र लोकगीत, जनजीवन, आर्थिक अवस्था, त्यहाँ वसोवास गर्ने जातिहरु, ग्रामिण विकासका सम्भावना हुन । वामपन्थी आन्दोलनको इतिहास अध्ययन, पुस्तक, लेख, उपन्यास, गीत, खण्डकाव्य, डकुमेन्ट्री, फोटोग्राफी आदि रुचि भएका आन्तरिक पर्यटकहरु को लागी पुग्नै पर्ने स्थान हो ओखरकोट ।
हेर्दै सुन्दर मानिने पहाडका चुली, माडी झिमरुक र अन्य दर्जनौं खोलाहरु, उब्जाउ धर्मावतीको फाँटले ओखरकोट सजिएको छ । ओखरकोट मात्र होइन बाँदिकोट, नारिकोट, खुङ, अर्खा, रजवारा, पूजा, लिवाङ, तुषारा र बांगेमरोठा र मच्छि क्षेत्रका सबै गाउँहरु ग्रामीण पर्यटनको गन्तब्य बनेको छ । ओखरकोट गाउको फेदीमा नागवेली आकारमा झिमरुक नदी पर्दछ भने गाउँको बीचमा गर्तङ खोला बग्दछ । दुवै नदीहरुका बीचमा रहेको ओखरकोट गाउँ अत्यन्त सुन्दर र रमणिय छ । झिमरुक नदीको पारिपट्टि तुषाराको पिडाल्ने फाँट फैलिएको छ । ओखरकोटको गाउँको माथि अर्थात शिरमा ओखरकोटको कोट छ । त्यो कोट ओखरकोट र बादिकोट गाउँको बिचमा रहेको छ । त्यो ऐतिहासिक र पुरातात्विक महत्वको स्थान हो । भूरे टाकुरे राजाहरु बस्ने दरवार र सभाकक्षका अवशेषहरु अहिले पनि त्यहाँ देख्न पाइन्छ । ओखरकोटको कोटबाट चारैतिर गोलाकार रुपमा फैलिएका अग्ला पर्वतका शिखरहरु देखिन्छन । त्यसरी देखिने पर्वतका शिखरहरुमा बाग्लुङ, गुल्मी, अर्घाखाँची र मच्छि क्षेत्रका विभिन्न गाउँहरु पर्दछन । ओखरकोटको कोट ती सबै पर्वत श्रृंखलाका केन्द्रमा बसे जस्तो देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal