
लिल बहादुर केसी
घोडा अर्थात् मानिसको नजिक भएको सबैभन्दा प्राचीन स्तनधारी घरपालुवा जनावर ! इतिहास हेर्दा इशापूर्व ४००० बर्ष पहिले देखि मानिसहरुले घोंडालाई घरेलू पाल्तु जनावरको रुपमा पालेको पाइन्छ। परापूर्व कालमा इक्विडी कुटुम्बमा पर्ने जंगली केवेलस घोंडालाई तालिम दिएर मानिसहरुले घरपालुवा बनाएका थिए भन्ने उल्लेख गरिएको छ। पूर्वीय धर्म दर्शन अनुसार महाभारतको युद्ध आज भन्दा करिव पाँच हज़ार बर्ष पहिले भएको थियो भने पनि इतिहासकार र दार्शनिकहरु यसमा एक मत छैनन्। कहिले सुरु भई कहिले अन्त्य भएको हो भन्ने सन्दर्भमा भारत बर्षको गणितीज्ञ आर्य भट्टले महाभारत युद्धको समय एउटा समय अन्तराल बताउंछन् भने पाश्चात्य पुस्तकहरुमा त्यो युद्धको समय अन्तराल फरक पाइन्छ। समय जहिले सुकै भए पनि महाभारत युद्धमा रथमा प्रयोग गरेका घोंडाको संख्या २७,५५,६२० थियो भन्ने कुराले परापूर्व काल देखि नै घोंडा मानिसको सेवकको रुपमा, युद्धको साधनको रुपमा, यातायातको साधनको रुपमा, सामान ढुवानी गर्ने साधनको रुपमा वा मनोरन्जनको साधनको रुपमा प्रयोगमा आएको पाइन्छ। हिन्दु धर्मको पौराणिक कालमा गरिने एक प्रकारको यज्ञ अश्वमेध हो।अश्वमेध यज्ञ श्याम कर्ण घोडा (घोंडाको एक प्रजाती)को वैद्धिक विधी पूर्वक वध गरिने यज्ञ हो । यो यज्ञ पौराणिक कालका राजाहरूले सर्व सुख प्राप्तिको लागि गर्दथे । एक सय वटा अश्वमेध यज्ञ गरेमा स्वर्गको राजा हुन पाउने भएकाले कसैले सय अश्वमेध यज्ञ पुगाउन लागेमा देवराज इन्द्रले यज्ञ बिथोलेका कथाहरू हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका छन् । अश्वमेध यज्ञ गर्न पहिले श्यामकर्ण घोडालाई वैद्धिक विधी पूर्वक स्नान गराई आभुषाणादिले सिङ्गारेर घोडाको निधारमा अश्वमेध गर्ने राजाको वर्णन लेखिएको धातुको पातो टाँसी पृथ्वी भरमा निम्ताको लागि परिक्रमा गराइन्थ्यो। यसरी पुरा पृथ्वीको भ्रमण गरेर घोडा अश्वमेध गरिने राज्यमा फर्काए पछि वैद्धिक विधिपूर्वक अश्वमेध गरिन्थ्यो अर्थात ती घोंडाहरु मारिन्थ्यो।
विश्व नै यान्त्रिकिकरण भएको वेला हिंजो आज रकेट, द्रुत गतिका रेल सेवा, कार, बस, बाइक र अन्य साधन बढि मात्रामा प्रयोग भएको भएता पनि घोंडाको महत्व विभिन्न कारणले हटेको छैन। हिन्दु परम्परा अनुसार सपनामा देखेको घोंडाको रंग अनुसार लक्षण र कुलक्षण छुट्टाउने गरिन्छ । भनिन्छ कुकुर पछी मालिक चिन्ने जनावर घोंडा हो। वुदध धर्म ग्रन्थ अनुसार वुद्धले आफ्नो दरवार छाडी कुशीनगर जानु पूर्व नारायणी नदीकोकिनारसम्म आफ्नो घोंडामा आएका थिए। नदीको किनारमा आफ्ना सम्पूर्ण वस्त्र खोली मुन्डन गरे पछी उनले आफू चढेको कन्थक घोंडालाई दरवारमा फिर्ता पठाएका थिए। कन्थक घोंडा आफ्नो मालिकसंगको वियोगमा रुंदा रुंदै कपिलवस्तु दरवारमा एक्लै पुगेको कुरा पनि इतिहासमा उल्लेख गरिएको छ।
म सानो छंदा पनि घोंडा पालेका मेरा आफन्तजनको मृत्यु हुंदा घोंडाले आंखाबाट बर्र आंशु झारेको कुराहरु बुढा पाकाहरुले सुनाउने गर्नुहुन्थ्यो।घोंडाले मालिकलाई चिन्ने मात्र होइन, मालिकका आनिवानी समेत थाहा पाउंछ भन्ने पनि गरिन्छ। मेरो अत्यन्त निकटको नाता पर्ने वुवाको सेतो घोंडा थियो। उहां सधै घोंडा चढेर हिंड्ने भलाद्मी भए पनि बाटोमा हिंड्ने महिला भेटेमा घोंडा रोकी उक्त महिलासंग एक छिन कुरा गर्ने बानी थियो भन्ने मैले सुनेको थिएं। वहांको उक्त सधैको बानी घोंडाले थाहा पाए पछी त्यो घोंडा बाटोमा रातों पछ्यौरा ओढेको जुन सुकै महिला देख्दा वित्तिकै रोकिने गरेको कुरा म वयस्क भए पछी थाहा पाएको हुं।
परापूर्वकालमा सामान्यतया यातायातका साधन तथा मनोरञ्जनका लागि प्रयोग हुँदै आएको घोडाको महत्त्व यतिमै सीमित छैन । स्वाभिभक्त र शक्तिशालीको प्रतीक घोडाको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्त्वसँगै सैनिकसँगको सम्बन्ध पनि उत्तिकै रहँदै आएको छ । विश्वका हरेक देशका सैनिकले घोडाको प्रयोग गर्दै आएका छन् भने नेपाली सेनामा पनि घोडचढीको इतिहास निकै पुरानो छ ।
विभिन्न अभिलेख अनुशार पाँचौँ शताब्दीदेखि नै घोडचढी सैनिक भएको भेटिन्छ । रिसल्ला’ अर्थात अश्वसेना । कुनै समय ‘रिसल्ला’ सेना संलग्न युद्धको अग्रमोर्चामा रहन्थे । १६औं शताब्दीमा पाल्पाली राजा मुकुन्द सेनले काठमाडौं उपत्यका आक्रमण गर्दा पनि घोडचढी सैनिक प्रयोग गरेका थिए । सन् १८४८ मा प्रधानमन्त्री जंगबहादुर राजा सुरेन्द्रसँग सिकार खेल्न जाँदा तीन सय घोडचढी सैनिक लगेकोदेखि १८५७ को पहिलो भारतीय स्वतन्त्रता संग्राममा कर्नेल पहलमानसिंह बस्नेतको नेतृत्वमा नेपाली अश्वसेनाले भारतलाई सघाएको इतिहास भेटिन्छ ।त्यसैगरी विसं १९११–१२ मा भएको नेपाल–तिब्बत युद्धका बेला पनि रिसल्ला अग्रमोर्चामा खटेका थिए । नेपालमा सरकारी स्तरबाट आधिकारिक रूपमा १९०६ मङ्सिर ७ देखि तत्कालीन राजा सुरेन्द्रविक्रम शाह तथा प्रधानमन्त्री जंगबहादुरको पालामा नेपाली सेनाभित्र अश्वसेना(घोडचढी सैनिक) दल नै स्थापना गरी ‘रिसल्ला घोडचढी सैनिक’ बाट सुरुवात भएको पाइन्छ ।रिसल्लाबाट सुरु भएको घोडचढी सैनिक हाल नेपाल क्याभलरीसम्म आई पुगेको छ । यसैले घोंडा युद्धको साधनको रुपमा पनि परिचित छ।
विशेष समारोहमा प्रयोग गरिने रिसल्लाको किसिम पनि भिन्नाभिन्नै हुन्छ । बग्गीका रुपमा लगिने रिसल्लामा सेतो र कालो घोडा प्रयोग गरिन्छ । समारोहमा जानुअघि घोडालाई लगाइदिने युनिफर्म ‘स्याडल’ लगाइ सिँगारिने गरिन्छ भने रिसल्लाले पनि विशेष प्रकारको कपडा लगाउने गर्छन ।
संस्कृति र सभ्यताको जगेर्ना गर्ने सन्दर्भमा पनि घोंडाको उत्तिकै योगदान छ। जनविश्वासअनुसार काठमांडू टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको एक हो। काठमांडू बस्दा मैले प्रत्येक सालको घोंडे जात्रा उत्सुकता पूर्वक हेर्थें।
घोंडा पाल्ने पारिवारिक हैसियत नभए पनि मलाई सानै देखि घोंडा मन पर्ने जनावर हो। वाल्यकालमा घरमा बस्दा खेल्दा कतै मेरो कानमा घन्टीको आवाज आएमा म खुरुरु दौडेर बारीको ढिक तर्फ घोंडा हेर्न जान्थें। घोंडा चढ़ी को होला, घोंडा कत्तिको दुगुर्छ होला, घोंडाको दौडाईको चाल कस्तो होला, घोंडा कस्तो रंगको होला, घोंडा टाढा वा नजीक कहांबाट आएको होला आदि मेरा जिज्ञासा हुन्थे। यी सबै जिज्ञासा मध्ये पहिलो प्रश्न बाहेक सबै प्रश्नको उत्तर मेरा आंखाले नै दिन्थे।घोंडा टाढा वा नजीक कहांबाट आएको भनी वुझ्न घोंडाको पसिनाको मात्राबाट पत्ता लगाउंथें।
बाल्यकालमा न व्यवहार ऋण धनले च्यांप्नु, न आफ्नो पारिवारिक ज़िम्मेवारी, न ठूलो महत्वाकांक्षा, न त कुनै फ्रस्टेसन हुने र सानो कुरा प्राप्तिबाट नै खुसी हुने वाल्य स्वभाव मेरो पनि थियो। मेरो घरको पारी पट्टी कान्छा मुखिया अमर बहादुर जिसी ( मुख्खे कान्छा बा) को घर थियो। कान्छा बा को सेतो घोंडा थियो। अग्ला कदका कान्छा बा का ठूला ठूला आंखा, ओंठ माथी मिलेका जुंवा, दौरा सुरुवाल मयलपोष र घांटीमा पस्मीनाको गलेवन्दी बांधी कालो भादगाउंले टोपी लगाएर सेतो घोंडामा हिंड्दा मेरो मन सधै चुंग चुंग चुंग चुंग हुन्थ्यो। यस्तो देख्दा मेरो बाल्यकालको प्रत्यक्षिकरणमा मैले अहिले सुनेका संसार जित्ने अलेक्ज़ेंडर द ग्रेट भन्दा कमि मुख्खे कान्छा बा हुनुहुन्थेन जस्तो लाग्थ्यो। मुख्खे कान्छा बा ले मलाई औधी मायां गर्नु हुन्थ्यो। उहांले मलाई नजीक कहिं घुम्न जांदा र दशैंको बेला कोटको सरायं र मेला हेर्न जांदा आफ्नो घोंडामा चढाएर लैजानु हुन्थ्यो।
हाम्रो गाउंमा घोंडा पाल्नेहरु एकाध बाहेक सबै भै भलाद्मी नै थिए। उनीहरुको घोडा पाल्ने उद्येश्य शौख, यातायातको साधन र मनोरन्जन नै भएको हुनु पर्दछ। यस्को अलावा कसै कसैलाई घोंडा पालन आडम्बर देखाउने कुरा पनि हुन सक्छ। अहिले देशका कतिपय भागमा घोंडा पालन जनताका आधारभूत आवश्यकता पुरा गर्ने सन्दर्भमा सामान ढुवानी, निकासी पैठारी गर्न र पर्यटन प्रवर्धन गर्न गरिए पनि हाम्रो गाउंमा घोंडा पालन यस्तो उद्येश्यकोलागि गरिएको थिएन।
मुखिया कान्छा बा देखि बाहेक जिम्मुवाल जीत बहादुर मामा, जिम्मुवाल वुद्धि बहादुर मामा, प्रधान दुर्ग बहादुर फूपाजु, कूल प्रसाद जेठा बा, भोजराज भन्डारी, अनन्तराम पन्थी, पांडे साहिंला बा, दाजु लक्ष्मी प्रसाद पोखरेल र कान्छा बा रामेश्वर पन्थी हुनुहुन्थ्यो अर्थात् म जन्मिएको वडामा नै धेरै भै भलाद्मी भएकोले हो कि म घोंडा हेर्ने, चढ्ने र घोंडाको चाल, जीउ डाल हेर्न उत्सुक हुन्थें। गोठमा घोंडाको तवेला, घोंडालाई दिइने दाना तथा घांस र घोंडाको सुसार अन्य गाई भैंसीको भन्दा फरक हुने हुंदा पनि मलाई घोंडाको आनिवानी वुझ्न उत्सुकता हुन्थ्यो।
घोंडा चढ्ने रहरले म सानै उमेरमा इतिश्री हुनबाट बचेको घटना पनि छ। एक पटक म ९/१० बर्षको हुंदा अनन्तराम पन्थीको छोरा गोविन्द पन्थी ( हाल भिनाजु) ले आफ्नो घोंडा डोर्याई मेरो घर नजिकै ल्याउनु भएको थियो। मैले उहासंग मेरो घोंडा चढ्ने रहर व्यक्त गरें। उहांले घोंडाको शिर सुम्सुम्याएर घोंडालाई भुल्याउनु भएको बेला मलाई घोंडा चढ्न भन्नु भयो। जब मैले लगाम समाई मेरो एउटा खुट्टा रिकापमा के राखेको थिएं घोंडा दौडियो । करिव ५०० मिटरसम्म म ववुरोलाई त्यहि घोंडाको बायाँ पट्टिको पेटमा रिकाप मैं एउटा खुट्टा राखी अर्को लत्रिएको खुट्टा उचाली लगाम पक्डिएको भरमा मलाई घोंडाले लतार्यो। घोंडाको पछी पछी गोविन्द पन्थी पनि दौडेर घोंडा रोके पछी मेरो ज्यान जोगिएको थियो किन कि त्यहां उकालो बाटो थियो।
नसजाएको र तालिम नदिएको घोंडाको बच्छेडो भए पनि घोंडा चढ्ने रहर भएकोलाई कहाँ छेक्दो रहेछ र? घोंडाको बच्छेडो चर्दै जहां जहां जान्छ त्यसको पछी पछी लाग्दै जहां ढिक छ त्यहिं बेला घोंडामा चढिहालिन्थ्यो। न लगाम, न काठी, न रिकाप घोंडाको जुर्रोमा छोप्यो घोंडा पिट्यो दौडाउने प्रयत्न गर्ने गरियो तर नसजाएको घोंडाको बच्छेडोले किन टेर्थ्यो जहां जहां अफ्ठ्यारो बाटो आउंछ त्यहिं लैजान्थ्यो। कति दिन त त्यो घोंडाको बच्छेडोले मलाई काजीपानी देखि साउनेपानी जाने बाटोको ढिकबाट खसाल्यो तर पनि त्यो बच्छेडो चढ्न छोडिन ।
सजाएका घोंडाहरु केहि सोझा हुन्थे। ती सजाएका घोंडा मध्ये प्रधान दुर्ग बहादुर फूपाजुको घोंडा, रामेश्वर कान्छा बा को घोंडा, पांडे साहिंला बा को घोंडा मागेर भए पनि सानोमा रहर पुर्याएं तर कतिपय गाउंका भै भलाद्मीका घोंडाहरु माग्ने र चढ्ने आंटै आएन।
उमेर परिपक्क भए पछी पनि मेरो घोंडा चढ्ने रहर मेटिएन। घर पायकको जागीर नभएकोले एउटा घोंडा किनेर घोंडा मै आवत जावत गर्न सकिने ठाउं मिले हुन्थ्यो भन्ने कामना गरिरहन्थें तर उक्त सोंच पनि पुरा हुन सकेन। कहिले काहि त मैले नसोंचेको अवस्थामा पनि घोंडा चढ्ने अवसर एकाएक मिल्थ्यो ।
संभवत: २०३९ सालको कुरा हो म श्री पृथ्वी मावि पुर्कोट दह गुल्मीमा पढाउंथें त्यो बेला प्युठान बांदिकोट पन्चायतका उप प्रधान पन्च उमानाथ पोखरेल र अर्को एक जना सहयोगीको साथ दुई वटा घोंडा लिई मैले पढाउने विद्यालयमा आउनु भयो। प्युठानको त्यो गाउं पन्चायतमा बांदिकोट निमावि र बालुवा प्राविको उद्घाटन गर्ने अनुकूल नपरेको रहेछ। माननीय सिद्धिमान जिसीका को सल्लाहले दुई वटा स्कूलको उद्घाटन गर्नकालागि कार्यक्रममा आउने पाहुनाहरुको स्वागत, सत्कार र सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्न मलाई उपयुक्त पात्र छानी लैजान आउनु भएको रहेछ। युवावस्थाको मेरो श्रृजनशिलतालाई उपयोग गर्ने हेतुले उमानाथ दाजुले मेरो विद्यालयको प्रअ मेरो गुरु तथा आदरणिय दाजु खिमानन्द पन्थीलाई एक हप्ता मलाई काज दिन अनुरोध गर्दा फिडर स्कूल भएको नाताले उहांको कुरा काट्न नसकी मलाई प्युठान पठाउनु भयो।पुर्कोटबाट प्युठान जान धेरै टाढा नभए पनि त्यहां ल्याइएका दुई घोंडा मध्ये एउटा घोंडा मेरोलागि थियो त्यहि घोंडा चढी प्युठान पुगेको थिएं। त्यस वेला प्युठानको रापंस माननीय सिद्धिमान जिसी हुनुहुन्थ्यो। प्युठानका जिसिअ कतै काजमा गएकोले त्यो वेलाका निमित्त जिसिअ गुल्मी ज्वांगका मुक्ती ज्ञवाली हुनुहुन्थ्यो। त्यो समय मैले वहांहरुसंग तीन दिन तीन रात कटाउने मौक़ा पाएको थिएं। सिद्धिमान जिसी अत्यन्त सरल मृदुभाषी हुनुहुन्थ्यो अहिले वहाँ हुनुहुन्न।
विवाह गरें पनि म शोसुराली घर अत्यन्त कम मात्रमा जाने ज्वाईं मध्ये एक हुं।
शोसुरालमा जांदा सधै औपचारिक भैरहनु मेरालागि कठिन हुन्थ्यो। शोसुराली घरले दिने औपचारिक मान सम्मान नै मैले वोझको रुपमा लिन्थें। सायद शोसुराली नगएको ३/४ बर्ष भएको हुंदो हो मेरो शोसुरालीमा कूल पुजा परेछ। उक्त कूल पुजामा मेरो शोसुराको मामाको छोरा अंकललाई जसरी पनि ज्वाईंलाई लिएर देवलीमा आउनु भन्ने खबर शोसुरा बाले पठाउनु भएको रहेछ। अंकलको आफ्नो घोंडा थियो। मैले उहांलाई भने, “ठिक छ जान त जाउंला तर तपाईं आफ्नो घोंडा चढेर जानुहुन्छ होला म ज्वाई भएको मान्छे हजूरको घोंडाको पुच्छर समातेर जाउं?” मैले वहांलाई त्यसरी जवाफ ज़िंदा उहांले मेरोलागि अर्को घोंडा खोज्ने वचन दिनु भयो। मेरै हेडसरको घोंडा तुरुन्त मागी हामी शोसुराली तर्फ लाग्यौं। यसरी शोसुराल जांदा माँगे कै भए पनि इज्जतसाथ घोंडा चढेर पुग्ने मेरो रहर पनि पुरा भयो।
जागीर शिक्षकको खाइयो। स्कूल वा क्याम्पस जहां पढ़ाए पनि अफिसमा सरकारी घोंडा हुन्नथ्यो। हाम्रै तह र दर्जाका निजामती कर्मचारीहरु घोंडामा चढेर शानसंग हिंड्दा मलाई रहर लाग्थ्यो। मैले जुम्ला क्याम्पसमा पढाउंदा आफ्नै हेलमेल भएको साथीसंग घोंडा मागी धेरै पटक नजीकको यात्रा गरेर आफ्नो इच्छा पुरा गरेको थिएं। फेरी जुम्ली घोंडा सवारहरुले घोंडालाई अत्यन्त राम्रो तालिम दिएका हुंदा रहेछन्। जुम्ली घोंडाको सवारमा लामो यात्रा गरे पनि थकाइ नलाग्ने रहेछ।
हाम्रो गाउं गुल्मीको धुर्कोटतिर पनि डोल्पाली तरालीहरुले घोंडा बेच्न ल्याउंथे। घोंडा चढीहरुले उनीहरुले ल्याएका घोंडा दौडाउंदा निकै आराम महसूस गर्थे। ती घोंडामा चढ्दा शरीर दुख्दै नदुख्ने, दौड्दा टकटक टकटक टापको मधुर आवाजमा अति छिटो हिंड्ने ती डोल्पाली घोंडाहरु सबैका आकर्षण हुने भएकोले महंगा पनि हुन्थे।
वास्तवमा हाम्रो संस्कृतिमा घोंडा फरक खालको प्राणी हो। पहिले पहिले कुनै साहुबाट ऋण ल्याई तिर्न नसकेमा अर्को जुनीमा घोंडा बन्नु पर्छ भन्ने डर देखाइन्थ्यो र तिरिन्थ्यो। हिंजो आज भने विश्वमा चलेको आर्थिक मन्दीले नेपालमा पनि प्रभाव परेकोले हो कि अन्य हाम्रो देशको शासकिय कमजोरीले हो दुर्गा प्रसाईहरुलाई अर्को जुनीमा घोंडा बनिन्छ भन्ने डर छैन।
राजनीतिमा भने घोंडा बन्नुको छुट्टै अर्थ छ। राजनीतिक इमान्दार कार्यकर्ताहरु पहिले पहिले नेपालगंजमा चल्ने टांगन घोंडा जस्तै हुन्। नेपालको राजनीतिमा यस्ता टांगन घोंडाहरुको अहिले भन्दा विगतमा ठूलो वर्चस्व थियो। तर अहिले पनि नेपाली राजनीतिमा कुनै दर्शन, दस्तावेज पढ्दै नपढी टांगन घोंडा बन्नेहरुको लामा सूची तयार हुन्छ । यस्ता राजनैतिक टांगन घोंडाहरु राज्यबाट अधिक नभए कम लाभान्वित छन्। नेपाली राजनीतिमा टांगन घोंडा भन्दा छेपारो बर्गले कमाल गर्न सक्छ। यसको मूल विशेषता के हो भने यस्ले मौषम अनुसार रंग बदल्न सक्छ र दर्शकलाई भ्रम दिन सक्छ।
म भने सानोमा अरुको घोंडा चढ़े पनि उमेर पाको हुंदा आफै घोंडा बनेको छु। छोरा छोरीहरु बढ्दै जांदा सबै छोरा छोरीले मलाई घोंडा बनाएका थिए। उनीहरु सानो छंदा मलाई घोंडा बनाएर उनीहरुले मलाई ‘हट घोंडा हट् ‘ भनी कोठामा घोंडा चढीको अभिनय गरे।मैले उनीहरुको खुसीको लागि घोंडा बनिदिएं। अहिले पनि समय समयमा घोप्टो परी घोंडा नबने पनि व्यवहारमा समय समयमा घोंडा बनेको छु।
छोरा छोरीहरुको मात्र होइन, म राजनीतिमा घोंडा बनी मालिकहरुको सेवा गरेको कैयौं दशक वितेको छ। वास्तविक घोंडाले त घोंडा चढीहरुबाट खाना दाना पाई सेवा गर्थ्यो तर मैले भने विना दाना पानी उनीहरुको सेवा गरिरहेको छु र भक्तिभाव गरिरहेको छु। नेपाली राजनीतिमा म जस्ता भक्तहरु धेरै छन्।तर भक्तहरुलाई देश र जनताको चिन्ता भए पनि परिणाममा गीताको सार मात्र हात लागेको छ।
साम्राज्यवादी देशहरुले गरीव देशहरुलाई घोंडा बनाइरहेका छन्। अमेरीकाले युक्रेन लगायत नाटोलाई घोंडा बनाएको छ। भारतले दक्षिण एशियाली मुलुकहरुलाई घोंडा बनाएको छ। यी साम्राज्यवादी देशहरुले सोझा र इमान्दार घोंडाहरुको अश्वमेध गर्दैछन्। घोंडाहरुको एकता हुन सकेको छैन।त्यसैले आज विश्वका सबै घोंडाहरु साम्राज्यवादी मुलुकहरुले लगाम लगाएको घोंडा जस्तै भएका छन्। नेपालका शासक वर्गहरु त्यहि लगाम लगाएको घोंडा भएकोले एमसिसि, एसपिपी, विवादास्पद टिआरसि, नागरिकता संवन्धी विधेयक जस्ताको तस्तै पास गर्न उद्धत छन्। त्यसैले हाम्रो नेपालमा आज मात्र होइन, आज औंधाके तिथिमा मात्र होइन, सधै, हरेक पक्कै तिथिहरुमा घोंडे जात्रा चलेका छ, संस्कृतियों संरक्षण भएकै छ। पहिले पहिले आफूले पालेको घोंडा मर्यो भने तीन दिन क्रिया गरिन्थ्यो। अहिलेका घोंडाहरु जति मरे पनि केहि गर्ने चलन छैन।हाम्रो संस्कृति अमर होस् जय घोंडा र घोंडे जात्रा।