शुक्रबार, बैशाख ७, २०८१

संक्षिप्त संस्मरण शृङ्खला–५ ” कौछे खोला

मोहन बिक्रम सिंह

कौछे खण्डको जङ्गल र विश्वको सुगा
प्युठानको बाङ्गेमरोठको कौछेखोलादेखि उर्लेखोलासम्म एउटा ठुलो जङ्गल छ । त्यो जङ्गलभित्र कौछेखण्डको जङ्गल घुरेनीको लेक र अन्य कैयौँ कैयौँ जङ्गल पर्दछन् बिर्ताप्रथाको अन्त्य हुने बेलामा बिर्ताका मालिकहरूलाई सरकारले आफ्ना नाममा भएका जग्गालाई लेखेर सरकारलाई सूची दिन भनिएको थियो । त्यसअनुसार बिर्तावालहरूले आफ्नो बिर्ताको सीमाभित्र पर्ने कुनै पर्ती वा जङ्गललाई समेत आफ्नो भोगचलनमा भएको भनेर सरकारलाई दिन सक्दथे । त्यसअनुसार हाम्रो पिताजी खिमविक्रमले कौछेखोलादेखि उर्लेखोलासम्मको जङ्गललाई पनि आफ्नो भोगचलनमा भएको भनेर लेखेर दिन खोज्नुभएको थियो ।

तर मैले उहाँ लाई भनेँ : ‘त्यो सार्वजनिक जग्गा हो । त्यो गाउँका मान्छेको गौचरन तथा घासदाउरा गर्ने जमिन हो । त्यसलाई आफ्नो नाममा गराउँदा जनतालाई धेरै मर्का पर्ने छ । मेरो कुरा सुनेपछि उहाँले त्यो जग्गालाई आफ्नो नाममा बनाउने कुरा गर्नुभएन ।

२०१७ सालको पुसको घटनापछि देशमा राजाको निरङ्कुश सत्ता कायम भयो । राजनीतिक पार्टीमाथि प्रतिबन्ध लाग्यो र २०१८ सालको पुसमा म पनि गिरफ्फ्तार भएँ र जेलमा परेँ । म जेलमा परेको केही वर्षपछि पिताजी खिमविक्रमको पनि मृत्यु भयो ।

म ९ वर्षपछि जेलबाट छुटेँ । जेलबाट छुटेपछि मलाई थाह भयो, केही मानिसहरूले कौछेखण्ड को जङ्गल भएको कतिपय स्थानलाई आफ्नो नाममा दर्ता गराउन निवेदन दिएछन् । त्यस विषयमा गाउँका जनताले विरोध पनि गरेछन् । त्यसबारे अड्डाअदालतमा मुद्दा पनि चले छन् । अन्त्यमा कौछेखण्डको जङ्गलको एउटा ठूलो क्षेत्र केही मान्छेको नाममा दर्ता पनि भएछ । अब त्यहाँ केही घर पनि बनिसकेछन् र त्यहाँ मान्छेहरू पनि बस्न थालेछन् ।

त्यो सबै कुरा थाह पाएर मलाई धेरै दु:ख लाग्यो । त्यो सार्वजनिक जग्गा थियो र त्यो जग्गालाई पिताजीले आफ्नो भोगचलन भएको बताएर आफ्नो नाममा गराउन खोज्नुभएको थियो तर हाम्रो त्यो प्रयत्न असफल भएको थियो । अब मैले त्यहाँ केहि गर्न सक्ने कुरा बाँकी रहेको थिएन । त्यहाँ बस्ने मानिसहरूले कानुनी रूपमा नै त्यो जग्गालाई आफ्नो नाममा बनाइसकेका थिए र त्यहाँ बसोबास पनि गर्न थालिसकेका थिए ।

कौछेखण्डको जङ्गलसित मेरा कैयौँ भावना जोडिएका छन् । त्यसलाई सार्वजनिक जग्गाको रूपमा कायम राख्ने मेरा सोचाइमा नराम्ररी आघात पुग्यो तैपनि कौछेखण्डको जङ्गलबारे मैले अहिले पनि कैयौँ सपना देख्ने गरेको छु । मलाई के लागिरहेको छ भने त्यसलाई एउटा राम्रो पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।

कोरोना लाग्नुभन्दा केही पहिले त्यो बेलाको झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकासँग मिलेर हामीले एउटा योजना बनाएका थियौँ । त्यो योजनाअन्र्तगत कौछेखण्डको जङ्गलका साथै ओखरकोट, दियाल्नाको चौर, इस्नाथान, गौमुखी आदि दस ठाउँसमेतको डिपिआर तयार पार्ने र ती सबै स्थानमा पर्यटकीय स्थल बनाउन प्रयास गर्ने हाम्रो विचार थियो । त्यसका लागि रु. १ करोड रुपैयाको बजेट बनाइएको थियो । यसका लागि दुर्गाको सांसद विकास कोषबाट रु. ५० लाख र झिमरुक गाउँपालिकाबाट रु २५ लाख र गौमुखी गाउँपालिकाबाट रु २५ लाख दिने ठेगान रकम छुट्याइएको थियो । त्यसको प्रारम्भिक प्रक्रिया पनि सुरु भएको थियो तर त्यहीबिचमा कोरोना सुरु भयो । सो रकम त्यसैमा लगाउने ठेगान भयो । यसरी त्यो डिपिआर पूरै खारेज भयो ।

हामीहरू एकपल्ट लखनऊ गएका थियौँ । त्यहाँ एउटा मान्छेले सुगा बेच्न ल्याएका थिए । छोरा विश्वले त्यो सुँगा देखेर ‘मलाई किनिदिनुस्’ भनेर कराउन थाल्यो । त्यो बेला त्यो सुँगा किनेर नेपालसम्म ल्याउनु सजिलो थिएन । त्यसैले हामीले त्यो सुगा किनेनौँ ।

लखनऊमा सुगाका लागि विश्वले धेरै नै रहर गरेको कुरा पछि बसन्ताखड्का लाई पनि थाह भयो । उनले बुटवलमा कतैबाट एउटा सुगा किनेर पिञ्जडामा हालेर काठमाडौँ ल्याएर विश्वलाई दिइन् । त्यो सुगा पाएर विश्व धेरै खुसी भयो । त्यो सुगालाई उसले धेरै नै माया र ख्याल पनि गर्दथ्यो । त्यो सुगाले पनि विश्वलाई धेरै नै माया गर्दथ्यो र उसलाई देखेपछि ‘विश्व’ ‘विश्व’ भनेर कराउने गर्दथ्यो ।

एकदिन विश्वले भन्यो : ‘यो सुगा अझै बच्चा नै छ । यसका बाउआमाले यसलाई सम्झेर पिर मानेका होलान् । त्यसकारण हामीले यसलाई छाडिदिऊँ । हुन्न र बाबा ?’
एकदुई दिनपछि विश्वले पिञ्जडाको ढोका खोलेर सुगालाई छोडिदियो । सुगाको त्यो बच्चा भुर्र उडेर गयो र केही बेरपछि आँखाबाट ओझेल भयो ।

अब विश्व प्रसन्न भयो । उसको मुहार उज्यालो भयो ! उसले खुसी हुँदै भन्यो : ‘अब त्यसको बाबुआमासित भेट हुने छ । त्यसका बाउआमा पनि कति धेरै खुसी होलान् त्यसलाई देखेर ।’

मैले उसका कुरा सुनेँ तर उसको कुरामाथि मैले पूरै सहमति जनाउन सक्दिनथेँ । बसन्ता खड्काले त्यो सुगालाई बुटवल कतैबाट किनेर ल्याएकी थिइन् । कुनै मानिसले कुनै जङ्गलमा जसलाई पक्रेर ल्याएर बेचेको थियो होला ! जब त्यो सुगाको बच्चालाई आफ्ना बाबुआमासँग भेट्नु एक प्रकारले असम्भव जस्तै थियो तर मैले त्यो कुरा बताएर उसको भावनामा चोट पुर्‍याउन चाहिनँ र त्यसबारे उसलाई केही भनिनँ ।

दुईचार दिनपछि विश्व रुँदै कोठामा आयो । उसको सुगालाई कुनै मान्छेले समातेर राखेको रहेछ । विश्वलाई देखेर त्यो सुगाले ‘विश्व’ ‘विश्व’ भनेर बोलाएछ । त्यो देखे उसलाई धेरै पिर परेछ । अब हामी जुन बेला पनि त्यो सुगा राखेको घरको बाटो जान्थ्यौँ, त्यसले विश्वलाई देखेर ‘विश्व’ ‘विश्व’ भनेर बोलाउने गर्दथ्यो । अब त्यो कुरा पुरानो भइसकेको छ । विश्वले पनि त्यो सुगालाई बिर्सिसकेको छ तर त्यो बेलाको त्यो घटनालाई मैले अहिले पनि सम्झन्छु । त्यो बेलाको विश्व र त्यो सुगाको व्यथालाई सम्झेर मलाई अहिले पनि दु:ख लाग्छ ।

अब एउटा नयाँ प्रसङ्ग थपिएको छ । मेरो कान्छो छोरा दिव्यले कतैबाट एक महिनाको एउटा सानो कुकुरको बच्चा लिएर आयो । मैले उसलाई भनेँ– ‘तिमीले उसलाई पाल्न सक्छौँ ? यो बच्चाको धेरै ख्याल गर्नुपर्छ । राति, दिउँसो यसलाई दिसापिसाब गराउनुपर्छ । समय समयमा खाना खुवाउनुपर्छ । तिमीले ती सबै काम गर्न सक्छौ ?’
उसले भन्यो– ‘सक्छु ।’

तर त्यो कुकुरको बच्चा उसका लागि एउटा भएको छ । त्यसलाई उसले धेरै माया गर्दछ । उसको दाइ विश्वले पनि त्यसलाई धेरै माया गर्दछ । तर समस्या के छ भने उनीहरू दुवै जना दिउँसो स्कुल जानुपर्दछ । म पनि सधैँ घरमा बस्दिनँ । दिव्यकी आमा दुर्गा पनि सधैँ घरमा बस्दिनन् । त्यसकारण त्यो कुकुरको बच्चाको कसले ख्याल गर्ने ? त्यो सबैका लागि अप्ठ्यारो समस्या भएको छ ।

एक दिन दुर्गाले दिव्यलाई भनिन्– ‘यो कुकुरलाई यहाँ राख्न अप्ठ्यारो हुन्छ । मैले पोखरा नितुकहाँ पाल्न पठाइदिन्छु ।’
त्यो कुरा सुनेर दिव्यको मुहार मलिनो भयो ।

उसले भन्यो– ‘यो कुकुरलाई अन्त पठाए पनि टाढा नपठाऊँ । यहीँ काठमाडौँमा कतै पठाए मैले कहिलेकाहिँ गएर देख्न पाउँछु ।’

त्यसपछि दिव्यले यो कुकुरलाई काठमाडौँकै आफ्नो एक जना साथीकहाँ राख्न दियो । एक महिनापछि त्यो साथीले भने छ– ‘तेरो कुकुर लैजा ! मैले राख्न सक्दिनँ ।’

त्यसपछि दिव्यले त्यो फेरि लिएर आयो । दुवै भाइले त्यसलाई धेरै माया गर्छन् । दुर्गाले पनि त्यसलाई काखमा राखेर सुताउँछिन् । फेरि उही समस्या देखा पर्‍यो । घरमा कोही नबस्ने । त्यसको रातदिन हेरचाह कसले गर्ने ? अहिले म काठमाडौँमा छेन । कुकुरको त्यो बच्चालाई पुन: आफ्नो कुनै साथीकहाँ राज पठाएको छ रे ! त्यो साथीले पनि त्यसलाई कहिलेसम्म राखिदिने हो ? पछि त्यसको समस्या कसरी समाधान हुने हो ? त्यो कुरा अनिश्चित जस्तै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?