
लिल बहादुर केसी
ज्योतिष शास्त्र अनुसार मेरो जन्मवार मात्र शुभ मानिन्छ । बाबा-आमाको भनाइलाई पत्याउने हो भने म विहिवार जन्मेको रे। शास्त्र अनुसार यो वारका मालिक वृहस्पतिको दिशा इशान हो र इशानमा सबै देवताको वास हुने शास्त्रीय मान्यता छ। त्यसैले मेरो चीना हेराउंदा मन्दिरको वा विद्यालयको नजिक बसाइ हुने बताउंछन् ज्योतिषीहरु। यसो विचार गर्दा हो पनि जस्तो लाग्छ किन भने मेरो जन्मस्थान देवता राख्ने घर नै हो।
घडी पोला हेर्दा पनि मेरो जन्म उत्तम समयमा रहेनछ। दिन तथा रात गरेर जम्मा ७ चौघडी हुन्छन् । ती हुन्- शुभ, लाभ, अमृत, चर, काल, रोग एवं उद्वेग । यीमध्ये शुभ, अमृत एवं लाभ चौघडीलाई उत्तम मानिन्छ र तिनमा पनि शुभ चौघडी सवोत्तम मानिन्छ किनभने यसका स्वामी बृहस्पति हुन् । यसैगरी अमृतका स्वामी चन्द्रमा तथा लाभका स्वामी बुध हुन् । म भने रातको १० बजेको समयमा जन्मेको कारणले शुभ, लाभ र अमृत समयमा नपरी उद्वेग वेलामा जन्मिएकोले जीवनमा उत्तम फल मिल्ने भएन।
ज्योतिष शास्त्र अनुसार पक्ष दुइ वटा हुन्छन्-शुक्ल र कृष्ण । यसमा शुक्ल पक्षलाई उत्तम मानिएको छ । चन्द्रमा बढ्दै जाने क्रम शुक्ल पक्षमा हुन्छ भने कृष्ण पक्षमा चन्द्रमा घट्ने क्रम सुरु हुन्छ । शुभ कार्य गर्नका लागि शुक्ल पक्ष उत्तम मानिन्छ ।
म भने पक्षको हिसावले शुक्ल पक्षमा जन्मिएको हुनाले जीवनमा केहि साना तिना कामहरुमा सफलता मिले जस्तो लाग्छ।
तिथि मध्ये सवभन्दा उत्तम तिथि पन्चमी र एकादशी हुन् तर मेरो जन्म ती दुवै तिथिहरुमा परेन। दक्षिणायन र उत्तरायण गरी दुईवटा अयन छन् । एक वर्षमा ६ महिना हुन्छन् । साउने संक्रान्तिदेखि पुस मसान्तसम्मको समय दक्षिणायन हो भने माघे संक्रान्तिदेखि असार मसान्तसम्मको समय उत्तरायण हो । देवताहरू दक्षिणायनभरि सुत्छन् र उत्तरायणभरि जागा हुन्छन् भन्ने विश्वास भएकालेृ उत्तरायणलाई शुभ मानिन्छ । यहाँ नेर फेरी म पौष महिनामा जन्मिएकोले देवताहरु सुतेको हुदा ती देवताहरुको नजरमा म परिन, त्यसैले होला जीवनमा धेरै दुख भोग्नु पर्यो। महिना १२ वटा छन् । महिनाहरूमा चैत, वैशाख, जेठ, साउन, असोज, कात्तिक, मंसिर, माघ र फागुन उत्तम मानिन्छन् । यीमध्ये पनि चैत र कात्तिक महिनालाई सबैभन्दा उत्तम मानिएको छ । पौषमा जन्म लिने मान्छे म त्यसैले अभागी हुं।
सूर्य एक राशिबाट अर्को राशिमा जानु वा संक्रमण हुनुलाई संक्रान्ति भनिन्छ । संक्रान्तिहरूमा मेष (वैशाख), कर्कट (साउन), तुला (कात्तिक) र मकर (माघ) संक्रान्ति शुभ मानिन्छन् । यीमध्ये पनि माघे संक्रान्तिलाई सबैभन्दा उत्तम मानिएको छ । यो संक्रान्तिमा सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छन् । शुभ सक्रान्तिको ७ दिन अंघी पौष २३ गते जन्मिएको म त्यसै अभागी हुने कुरा स्वाभाविक भयो।
ऋतुका हिसावले पनि मेरो जन्म सहि ऋतुमा भएन। ऋतु छ वटा छन्- वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर ऋतु । यीमध्ये वसन्त र शरद ऋतु सबैभन्दा श्रेष्ठ मानिन्छन् । हेमन्त ऋतुमा जन्मिएकोले मैले दुख भोग्नु स्वाभाविक ठानेको छु।
ज्योतिष शास्त्र अनुसार नक्षत्र २७ वटा छन् । अभीजितलाई २८ औं नक्षत्र मानिन्छ । यीमध्ये कार्तिक महिनामा पर्ने पुष्य नक्षत्रलाई सर्वश्रेष्ठ मानिएको छ । या बाहेक अश्विनी, रोहिणी, मृगशिरा, उत्तरा फाल्गुनी, हस्त, चित्रा, स्वाति, अनुराधा, उत्तराषाढा, साउन, धनिष्ठा, शतभिषा, उत्तर भाद्रपद तथा रेवती नक्षत्रलाई शुभ मानिन्छ । तर म भने भरणी नक्षत्रमा जन्मेकोले मैले दुख नपाए कस्ले पो पाउंछ र भनी चित्त वुझाएको छु।
मैले जीवनमा निकै हन्दर र खली खाएं। आर्थिक अभाव त मेरो जीवनको पर्याय नै बन्यो। जीवनका करिव पाँच दशक यसरी नै विते। मेरो आर्थिक अभावको जीवन वुझेको समाजले मलाई सम्पन्न बनाउने प्रलोभन देखाउंथ्यो। चाहे राजनैतिक आस्था परिवर्तनको नाममा होस् वा सामाजिक उत्थानको नाममा। तर मैले जीवनमा कहिल्यै त्यो बाटोको अनुशरण गरिन। मेरा सहयात्री साथीहरु कैयनले सर्व सम्पन्नताको बाटो रोजे तर मैले रोजिन । कतै मेरो जन्म कुन्डलीले नै त्यो बाटो रोज्न नदिएको हो कि भन्ने कुरामा म विश्वस्त छैन। म सानै उमेर देखि मार्क्सवादी विचारधारा अनुशरण गरेकोले मेरो शिरको माथी एउटा त्यस्तो तरवार झुन्डियो जुन तरवारले मेरो जीवनलाई सादा बनाइदियो र महत्वाकांक्षी बन्न दिएन।
मेरा समकक्षी साथीहरुको जन्म कुन्डली कस्तो रहेछ कुन्नि राज्य संचालनका संवाहक हुंदा हुंदै पनि आज दंश धारा आंशु झार्दै केन्द्रिय कारागारमा जानु पर्यो।
वास्तवमा जीवन रेखा सधै विकासात्मक गतिमा जांदो रहेनछ।हुन त संसार हल्लाउने राजनैतिक र शासकिय हिरोहरुको पनि जीवनका कुनै काल खन्डमा यस्तै दुर्गति भएका छन्।
कुनै दिन टोप बहादुर जी मन्त्री हुंदा म मन्त्री क्वार्टरमा उहांलाई भेट्न गएको थिएं। त्यो वेला उहांले आफ्नो राजनैतिक गुरु कमरेड मोहन विक्रम प्रति एक प्रकारको सहानुभूति देखाए जस्तो गरी एउटा कुरा भन्नु भएको मलाई राम्रोसंग याद छ; “ मोहन जी वुढो हुनु भो, यो दुख पाएर हिंड्नु भन्दा मैले भौतिक पूर्वाधार मन्त्रालयबाट केहि बजेट पारी एउटा राम्रो वासस्थान बनाइदिन्छु यो कुरा उहांलाई पुर्याई आराम गर्न लगाउनुहोस्।”
माथीको यो भनाइलाई उपरि प्रकारले हेर्दा सांच्चिकै टोप बहादुर जीले कमरेड मोहन जी माथी दया र भक्ति भाव देखाए जस्तो लाग्छ तर यसको भित्री पाटों भने क्रान्तिकारीहरुका लागि डरलाग्दो हो। उनले यथार्थमा मोहन जी माथी दया नदेखाएर मोहन जी लाई नेपालको क्रान्तिकारी बामपन्थी आन्दोलनबाट पलायन र च्यूत गर्न खोजेका हुन्। राजनीति गर्ने नेताहरुले जीवनका कैयन मोडहरुमा फरक खालको चुनौतिहरु भोग्नु पर्ने हुन्छ यस्तो प्रतिकूल मोडमा थोरै मात्र बाटो विराएमा जीवन भरको सिंगों राजनैतिक यात्रा समाप्त हुन्छ । यसै गरी कमरेड चित्र बहादुर के सी, नारायण मान विजुक्छे, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई जस्ता नेताहरुका लागि प्रतिकूल परिस्थितिमा कति ठूला अफर आए होलान् ? तर उनीहरुले कहिल्यै पनि त्यस्ता अवसरलाई ध्यान नदिई राजनीति बचाउन खोजे। बरु राजनीतिमा अनुकूल समय नमिलेमा राजनीतिबाट सन्यास लिई बसे। जीवन भर देश, जनता, पार्टी, क्रान्ति र परिवर्तन भनी हिंडेका आदर्श नेताहरु जसले आफूलाई पनि विर्सेर देशको निम्ति काम गरे, ज्यानको वलिदानी दिए, अन्य पार्टीहरुमा पनि अझै देखिन्छन्।
वुढा-पाकाहरुले भन्ने गर्थेः ऋण लागोस् तर दिन नलागोस्। समय नै वलवान हुंदो रहेछ । टोप बहादुर तथा खांड जी हरुको जन्म कुन्डली त मलाई थाहा हुने कुरो भएन तर आजको उहांहरुको अवस्था हेर्दा उहांहरु पनि राम्रो वार, घडी, तिथि, ऋतु तथा राम्रो अयनमा जन्मे जस्तो लागेन।ठिक छ, दुवै एक जमानाका जल्दा वल्दा विद्यार्थी नेता थिए। एक जनाले मार्क्सवाद लेनिनवाद र माओवादको धारिलो हतियारबाट पूँजीवादी जनवादी क्रान्ति हुंदै समाजवाद र साम्यवादमा जाने बाटो भन्दै वामपन्थी दुस्साहसवादी बाटो पक्डिए र त्यसैको नाममा हतियार उठाए। अर्कोले पूंजीवादी समाजवादको बाटो नै अन्तिम सत्य हो भन्दै अंघी बढ़े। मतदाताले पत्याईदिए दुबै देश हांक्ने ठूला नेता बने। मन्त्री हुंदा आउने सामान्य नजराना, कमिसन र सुख सुविधा, सुकिला मुकिला अनुहार तथा पाँच तारे होटलमा उनीहरुले खाने व्रेक फास्ट, लन्च र डिनरका साथै विभिन्न लेवलका ड्रिंक्स आइटममा त जनताले नज़र लगाएकै थिएनन्। चुनावमा सोझा जनतालाई खरिद गरी विजय जुलुस निकालेको कुरा पनि जनताले पचाएकै थिए। तर आफ्नै देशको नागरिकको नागरिकता बदर गरी भुटानी बनाउने मात्र होइन नेपाली जनताको गरीविबाट फाइदा लिई करोडौं रकम उठाई झ्याम पारी गृह प्रशासनलाई भुत्ते, भ्रष्ट र अराजक बनाउने मात्र होइन नेपाल र नेपालीलाई विश्व जगतमा शिर निहुर्याउने सम्मको हर्कत गर्नुले आज देश नै अन्तर्राष्ट्रीय जगतमा अवमूल्यनमा परेको छ। अव हामीले बढि त के भन्न सक्छौं र केन्द्रीय कारागारको बसाई सुखद रहोस् यहि कामना मात्र त गर्न सकिन्छ। यी साथीहरुलाई नपुगेको के थियो होला र ? तर दिन र ग्रह गोचर विग्रने दिन कसैलाई थाहा नहुने रहेछ।
कतै यी साथीहरुका पनि वार, चौघडी, पक्ष, तिथि, ऋतु, महिना, राशी र नक्षत्र मेरो जस्तै पो परेछन् कि ? कतै संकटा वा राहुले पो छोएछन् कि ?