मङ्लबार, बैशाख ११, २०८१

राज्यले पुरै बेवास्ता गरेको कृषि क्षेत्र

सागर वेल्बासे

नेपाललाई कृषिप्रधान देश भनिएको छ, लेखिएको छ । विभिन्न तथ्यांकले पनि करिव ६५% जनता कृषिमा आश्रीत रहेको देखाउँछन् । यी तथ्यांकलाई आधार मान्ने हो भने देशमा उत्पादित कृषि उपजले कृषीक्षेत्रको आयातलाई प्रतिस्थापन गरेको हुनुपर्ने हो । सामान्य रूपले बुझ्ने हो भने पनि नेपालमा उत्पादित कृषि पदार्थले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने हो । यतिपनि नभए कम्तिमा कृषिलाई नै प्राथमिक पेशा मानेर कृषि गरिरहेका परिवारहरूलाई कृषिले आत्मनिर्भर हुने अवस्था हुनुपर्ने हो ।

कृषिप्रधान भनिएको देशमा कृषिमा आत्मनिर्भरको कुरा त छोडौं देशमा उत्पादित कृषि बस्तुले औसतमा देशको जनसंख्यालाई ३ महिना पनि खान पुग्दैन । अन्नको भण्डार भनिएको तराईमा अव्यवस्थित बसाइँसराइ र शहरीकरणले कृषि योग्य अधिकांश जमिन ध्वस्त पारिएको छ । तराईका जग्गाहरूमा घर वा अन्य कुनै भौतिक वस्तु निर्माण गरिएको छ । अधिकांश खेतियोग्य जग्गालाई प्लटिङ गरेर भौतिक वस्तु निर्माण गर्नको लागि तयारिमा राखिएको छ, अरु जग्गा त्यस्तै प्रक्रियामा छ । केही जग्गा त्यस्तो मान्छेहरूको कब्जामा छ जसले अन्य ब्यापार गरेर सम्पत्ति आर्जन गरेको छ तर स्थानिय स्तरमै उत्पादित खाद्य पदार्थको सेवन गर्नुपर्छ भन्ने सौखिन भएकाले मान्छे लगाएर कृषि बस्तुको उत्पादन गर्छ । जग्गालाई बाझो छोड्नुको साटो कम्तिमा जग्गाबाट उत्पादन त गर्‍यो भनेर सन्तुष्ट हुन सकिन्छ । जो वास्तविक किसान छ, जसले खेतिमै गुजारा गर्न खोजिरहेको छ, ऊसँग गुजारा चलाउन सक्ने जग्गाको अभाव छ । कृषिक्षेत्रबाट मात्र जीवन निर्वाह गरेर त्यसैमा मात्र निर्भर रहने परिवार सिमित मात्रामा छन् ।

पहाडी क्षेत्रको कृषि अवस्था अझ जटिल, अझ गम्भीर देखिन्छ । भौगोलिक अवस्थाले पनि प्रतिकुल रहेका पहाडी जग्गाहरू बांझै पल्टिएका छन् । अन्धाधुन्ध चलाइएको डोजर र त्यसले निम्त्याएको बाढीपहिरोले अलिअली रहेका खेतीयोग्य जमिनलाई प्रत्यक्ष असर पुर्‍याएका छन् । सबै खेलोमेलो छोडेर, अनेक दु:ख झेल्दै गरेको खेतीबाट लागेको लगानी उठ्दैन । लगानी नउठ्ने दु:ख मात्र गर्नुपर्दा अधिकांश युवाहरूले खेतबारी बाझै राखि अन्य विकल्प खोज्न बाध्य छन् । एकातर्फ देशमा बढ्दो बेरोजगार अर्कोतर्फ कृषिप्रधान देशका अधिकांश जमिन बाझै हुनुले राज्यले कृषिप्रति गरेको बेवास्ता स्पष्ट झल्किन्छ । उत्पादित बस्तुले किसानले खेतबारीमा त्यो बस्तु उत्पादन गर्न गरेको लगानि उठ्दैन । कृषि क्षेत्रका प्राविधिकहरू सहज पहुँचमा छैनन्, पहुँचमा भएकाले न त माटोलाई बुझ्न सकेका छन् न त वातावरण अनुसार बीउ वा मलको मात्रालाई सिफारिस गर्न सक्छन् (अपबाद बाहेक ) । अपार कृषि क्षेत्रको दु:ख तर सबै किनेरै खानुपर्ने अवस्थाले गाउँमा बस्न भन्दा तराईमा सजिलो गरेर जीवनयापन चल्ने हुँदा गाउँबाट शहर हान्निने सङ्ख्या बढ्दो छ । कृषिप्रधान देशको एउटा स्कुलमा पढ्दै गरेको बालकले भविष्यमा के बन्ने भनेर सोध्ने हो भने अरु सबै भन्छ तर किसान बन्छु भन्दैन । कक्षा १०/१२ पढ्दै गरेको विद्यार्थीलाई के नोकरी गर्ने भन्ने चिन्ता हुन्छ, कृषि क्षेत्रमै अगाडी बढ्ने भन्ने चिन्तन कतै हुन्न । पढेको मान्छेको लागि क्षेत्र हुँदै होइन भन्ने भाष्य निर्माण भएको छ, कृषि पेशा । नपढ्ने वा पढ्न अल्छी गरेको विद्यार्थीलाई नपढे ‘हलि’ बनिन्छ भनेर डर देखाइन्छ । कृषिप्रधान देशको लागि यो भन्दा ठूलो विडम्बना के हुन सक्ला र ? यसको कारण के हो भने कुनै पनि मान्छेले जतिसुकै दु:ख गरेपनि खेतीकिसानीमा आफ्नो भविष्य देखिरहेको छैन । हुर्कदैं गरेको बालकले कृषि पेशामा भर पर्दा आफ्नो परिवारले पाएको दु:ख देख्दै हुर्केको छ । तुलनात्मक रूपले अरु सबै पेशामा सुख देख्छ, कृषि पेशामा भन्दा । अन्य पेशामा राम्रैसङ्ग जीवन चलेको, स्तरीय जीवन जिएको देख्छ । त्यसैले अरु सबै बन्ने तर किसान नबन्ने प्रशिक्षण सानैदेखि पाएको हुन्छ ।
हुन पनि किसानका अनेक दु:ख छन् । दिनभर काम गर्दा साझबिहान छाक टार्न गाह्रो छ । किसानै भएर आफ्ना सन्तानलाई हुर्काउन, पढाउन गाह्रो छ । विरुवामा लाग्ने रोग र विभिन्न प्रकारका किराहरूले खाद्यबाली सखाप पार्ने अवस्था छ । उदाहरणको लागि एकप्रकारको किरा (सम्भवत फौजी नामक )ले मकैलाई नष्ट गरिरहेको छ, विभिन्न तरकारीहरू हुर्कने र फल्ने अवस्था छैन । लम्पीस्किन नामक रोगले कैयौं गाइबस्तुहरू मरे, कैयौं बिरामी अवस्थामा छन् । पानी नपरेर वा बाढीले बगाएर किसानले ठूलो क्षति भोग्नुपर्छ । समयमा पानी पर्दैन, उपयुक्त सिचाईंको व्यवस्था छैन । अनेक दु:ख गरेर उत्पादन गरेको बस्तुहरूले बजार पाउने अवस्था छैन । उखु किसानले भुक्तानी नपाएर वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था छ । ३/५ रुपैयाँमा टमाटर बिक्री गर्नुपरेको भन्दै काठमाडौंको सडकमा टमाटर फालियो, त्यस्तै अन्यत्र कहिले दूध त कहिले अन्य तरकारी फालिन्छ । बन्दा, भिण्डि जस्ता सब्जिहरू जमिनमा गाडेका दृश्य सामाजिक संजालहरूमा आएका थिए । कुन रोगसँग लड्न कस्तो विषादी, कति मात्रामा प्रयोग गर्ने ?, कुन प्रकारको माटोमा कस्तो मल, कति मात्रामा प्रयोग गर्ने ?, कुन प्रकारको मौसममा, कस्तो बालीको प्रयोग गर्ने ? कस्तोकस्तो र के नामको बीउ प्रयोग गर्ने ? जस्ता कुराको सहि जानकारी किसानहरूलाई दिइएको छैन, दिने व्यवस्था छैन । राज्यको फितलो नितिनियमको कारणले विभिन्न अनुदान वा तालिममाथी राज्यले गरेको लगानी बालुवामा पानी खन्याए सरह भएको छ । कृषि क्षेत्रबाट मान्छेहरू निराश र पलायन भैरहेका छन् । जमिन बाझो राखेर राज्यले युवालाई विदेश पठाउन वैदेशिक रोजगारका लागि नयाँनयाँ गन्तव्य खोजिरहेको छ ।

राज्यले कृषिक्षेत्रमा नयाँ ढङ्गले लगानी गर्नुपर्छ । सिचाईंको व्यवस्थापनमा कमि, उपयुक्त बजारको अभाव, विभिन्न रोग तथा प्रकोपले खेतीमा गर्ने क्षति, वास्तविक किसानहरूले अनुदान तथा उत्पादित बस्तुको मूल्य नपाउनु जस्ता कुराले कृषि क्षेत्रबाट मान्छेहरू पलायन भैरहेका छन् । राज्यद्वारा सहि सूचना सहि समयमा जनतालाई नपुर्‍याउनु कृषि क्षेत्रको दु:खद् पक्ष हो, जसले गर्दा कृषि क्षेत्रमा किसानका लागि विभिन्न व्यवस्था, अनुदान, सहुलियत ऋण र क्षतिपूर्तिका बारेमा किसानलाई थाहै हुन्न । नयाँनयाँ कृषि प्रविधिहरूको प्रयोगमा सहज उपलब्धता नुहुनु, परम्परागत ढङ्गबाटै कृषि क्षेत्र अगाडी बढ्नु र आधुनिक खेती प्रणालीलाई राज्यले चिन्न र जनतासम्म पुर्‍याउन नसक्नु कृषि क्षेत्रमा देखिएको निराशाको कारण हो । वास्तविक किसानहरूले लाभ लिन सक्ने र कृषिमा नयाँ युवाहरूको आकर्षण बढाउन सक्नेगरि राज्यले लगानी बढाउनु पर्छ । राज्यले किसानका पिडालाई महसुस गर्न सक्नुपर्छ । हाम्रो देशको लागि अर्थतन्त्रको बलियो आधार नै कृषि हो, सोहिमार्फत देश अगाडी बढ्न सक्छ । त्यसको लागि राज्यले लगानी बढाउने र रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?