सोमवार, बैशाख ३१, २०८१

संयुक्त मोर्चाको नीति माक्र्सवादी–लेनिनवादी द्वोन्द्वात्मक सिद्धान्त माथि आधारित

मोहन बिक्रम सिंह

हाम्रो पार्टीले नेकासित कार्यगत एकता वा सहकार्य गरेको तथा वर्तमान सरकारलाई समर्थन गरेको विषयमा कतिपय पक्षहरुबाट आलोचना र टिका टिप्पणी हुने गरेको छ । तर हामीले के स्पष्ट गर्न चाहान्छौँ भने त्यस प्रकारको हाम्रो नीति संयुक्त मोर्चाको माक्र्सवादी–लेनिनवादी सिद्धान्त र अहिलेको देशको ठोस् राजनीतिक परिस्थिति र आवश्यकता अनुरुप छ र, त्यसैले, सही पनि छ ।
अहिले देशमा प्रतिगमनको गम्भीर खतरा छ । त्यसको अर्थ हो, जनताले लामो संघर्ष तथा त्याग र वलिदान गरेर ल्याएका ऐतिहासिक उपलब्धिहरु, मुख्यतः गणतन्त्र र धर्मनिरपेक्षता माथि नै ठूलो खतरा छ । त्यो अवस्थामा प्रतिगमनका विरुद्ध उभिने र गणतन्त्र र धर्म निरपेक्षताका पक्षमा भएका राजनीतिक शक्तिहरुसित एकता गर्नु सहि हुन्छ र त्यस प्रकारको एकता बिना हामीले प्रतिगमनलाई पराजित गर्न नसक्ने कुरा प्रष्ट छ । यदि देशमा प्रतिगमनको विजय भयो भने देश पुनः राजतन्त्र वा निरंकुश शासनतिर जानेछ र त्यसबाट देशलाई ठूलो क्षति पुग्नेछ ।
माओवादी वा नेकासित हाम्रा कैयौँ गम्भीर प्रकारका मतभेदहरु छन्, जस्तैकि, उदाहरणका लागि एमसीसी, नागरिकता विधयेक समेत अन्य कैयौँ प्रश्नहरुमा उनीहरुसित मतभेद भएका विषयहरुमा उनीहरुको विरोध गर्ने वा आवश्यकता अनुसार उनीहरुका विरुद्ध संघर्ष गर्ने नीति पनि हाम्रो छ । तर त्यस प्रकारको विरोध वा संघर्षलाई कायम राख्दै प्रतिगमनका विरुद्धको संघर्षमा उनीहरुसित एकता गर्ने हाम्रो नीति पनि रहेको छ । त्यही माक्र्सवादी–लेनिनवादी द्वोन्द्वात्मक सिद्धान्त हो र त्यही सिद्धान्त माथि संयुक्त मोर्चाको नीति पनि आधारित छ । त्यो सिद्धान्तले देशको कुनै विशिष्ट अवस्थामा गम्भीर प्रकारका राजनीतिक मतभेद भएका वा दुश्मन शक्तिहरुसित पनि एकता गर्ने नीतिमा जोड दिन्छ ।
जुन शक्ति वा तत्वहरु प्रतिगमन वा राजतन्त्रको पुर्नस्थापनाको पक्षमा छन्, उनीहरुले अहिलेको हाम्रो माओवादी वा नेकासित सहकार्य गर्ने वा उनीहरुको सरकारलाई समर्थन गर्ने नीतिको विरोध गर्नुका पछाडि उनीहरुको कुन प्रकारको नियत छ? त्यो कुरा प्रष्टै छ । तर कतिपय इमान्दार र वामपन्थी पक्षहरुले पनि, एकातिर, संयुक्त मोर्चाको द्वोन्द्वात्मक प्रकृतिलाई बुझ्न नसकेर तथा, अर्कातिर, भ्रमवस पनि अहिलेको हाम्रो नीतिको विरोध गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । कतिपय वामपन्थी शक्तिहरुले तत्काल नयाँ जनवादी वा समाजवादी गणतन्त्र जस्ता रणनीतिक विषयहरुलाई तात्कालिक कार्यदिशा बनाएकाहरुले पनि अहिले देशमा विद्यमान गणतन्त्रको औचित्यतालाई बुझ्न सकिरहेका छैनन् । त्यस प्रकारको गलत समझदारिका कारणले पनि उनीहरुले हामीले विद्यमान गणतन्त्रलाई समर्थन गरेको कुरालाई नै गलत बताउछन् र त्यस प्रकारको गलत सोचाइका कारणले नै अहिलेको देशको ठोस् परिस्थिति अनुसार आवश्यक र उचित भएको हाम्रो कार्यनीति वा प्रतिगमनका विरुद्ध कायम भएको गठबन्धनलाई पनि गलत बताउन पुग्दछन् ।
अहिले जुन प्रकारको गठबन्धनका आधारमा सरकार बनेको छ, त्यसलाई पढनका लागि बाहिरबाट लगातार प्रयत्न भैरहेको कुरा बेग्लै छ, त्यस भित्रका अन्तर विरोधहरुका कारणले पनि त्यो टुट्ने त होइन? त्यो सम्भावनाप्रति पनि हाम्रो ध्यान छ । यदि त्यसो भएमा त्यसबाट प्रतिगमनलाई नै मदत पुग्नेछ । त्यस प्रकारको पृष्ठभूमिमा आफ्ना कतिपय मतभेदहरुका कारणले नेका र माओवादीहरुसितको सहकार्य र वर्तमान सरकारलाई दिएको समर्थनलाई फिर्ता गर्न निश्चित रुपले प्रतिगमनको नै सेवा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?