सोमवार, बैशाख ३१, २०८१

जावो चप्पल :आलेख

लिल बहादुर केसी 

हामीले समाजमा विभिन्न विभेद देख्छौं।कहिले काहिं समाजको कुनै भलाद्मी र ठालु मान्छेको सामु कुनै गरिव वा दमित मानिसले ठूलो कुरा गर्यो भने ठालुले उसको कुराको प्रतिवाद गर्दै, “ के को फूर्ति गर्छस् मेरो चप्पल पुग्ने ठाउंमा तेरो टोपी पुग्दैन” भनेको कुरा हामीले कैंयौ पटक सुनेका छौं।वास्तवमा ठूला मान्छेहरुको संगत ठूलैसंग हुन्छ तर गरिव र निमुखा साना मान्छेहरुको संगत सानैसंग हुन्छ यथार्थ यहि नै हो सच्चाइ यहि नै हो।

शिर्षक “जावो चप्पल” राखे पनि वाल्यकालमा मेरो लागि चप्पल दुर्लभ पहिरनको वस्तु थियो। आफ्नो चप्पल लगाउने रहरलाई पुरा गर्न म र म जस्तै वालसखाहरुले दुई तीन असफल प्रयास गरेको मलाई संझना छ। कहिलेकाहिं हामीले चप्पल लगाउने शौख पुरा गर्न केतुकीको पात काटेर आफ्नो खुट्टाको साइज नापी सोहि आकारको चप्पलको तल्ला बनाई सुक्न लागेको केतुकीको पातको फित्ता बनाएर एक आधा घन्टा प्रयोग गर्यौं।कहिले काहिं हामीले सानो छंदा केराको लोकताको चप्पल बनाएर दश आठ पाइला खुट्टा पड्काउंदै हिंड्यौं। चप्पल लगाउंदा आफूलाई गर्वित बनाउने मूलतः तीन कुराहरु भए जस्तो लाग्थ्यो। प्रथमतः चप्पले खुट्टा सुरक्षित हुन्छ बाटोमा हिंड्दा चुच्चे ढुंगाहरुबाट ठेस लगाउन दिंदैन, कांढाहरु विझ्न दिंदैन। दोश्रो कुरा चप्पल मानिसको पहिरनको परिपुरक हो, कहिं जांदा खुट्टा र खुट्टा माथी शिरसम्म जति मूल्यवान कपडा र गरगहना लगाए पनि खुट्टा रित्तै छन् भने त्यो मानिस कार्टून हुन्छ । तेश्रो कुरा चप्पल लगाउने मान्छेले आफूलाई सभ्य, सम्पन्न र ठूलो मान्छे देखाउन खुट्टामा लगाएको चप्पल पड्काउन सकिन्छ भन्ने हो। मलाई भने पहिलो र दोश्रो भन्दा तेश्रो कुराले आकर्षित गर्थ्यो । त्यसैले ती केतुकी र केराका चप्पल यद्यपि पांच मिनट मात्रै लगाउंदा पनि मैले ती चप्पलका प्रतिकहरु पड्काएर हिंड्थें र पड्किएको आवाज आफैले सुन्दा पनि आनन्दको अनुभूति हुन्थ्यो।

उत्तरायण परेको गाउंमा जन्मिएकोले हिंउदमा विहान तुसारो परे पनि मैले नांगो खुट्टाले त्यो तुसारोसंग लड़ें। घांस काट्दा, गाई वाख्रा चलाउंदा र दाउरा खोज्न जांदा मेरा नांगा खुट्टाले समशितोष्ण पतझर जंगलमा हुने चुत्रो, ऐसलु, म्याल, घंएरी, कटुंस, सिउंडी र वयरका कांढाहरुलाई भांचीदिए। भांच्न र निमोठ्न नसकेका कांढाहरु मध्ये केहिले भने मेरो खुट्टामा घुसपैठ गरे जसको प्रमाण अझै पनि मेरो खुट्टामा देख्न सकिन्छ । वाल्यकालको लामो समय जुत्ता चप्पल नलगाई हिंडेको र खुट्टाका शत्रुहरु भन्दा मेरा पैतला कडा भएकोले पनि मलाई “जावो चप्पल “ भन्न मन लाग्छ ।

जावो चप्पल भनेर के गर्नु ? आफ्नो रहर छ लगाउने तर पुरा गर्ने औक़ात छैन। घरमा कुनै मानिस चप्पल लगाएर आएको देखियो भने मलाई त्यो पाहुना चप्पल काढी घरभित्र हतपत् भित्र गईदिए उनको चप्पलमा आफ्नो खुट्टा राख्न सकिन्थ्यो जस्तो लाग्थ्यो। आफू भन्दा ठूला मान्छेहरुले फालेका पुराना र फित्ता चुंडेका चप्पल भए पनि झुत्रो कपडा च्यातेर भए पनि चप्पल लगाउने ईच्छा पुरा गर्ने प्रयत्न गरियो।

एक पटकको कुरा हो म गोरखाको तान्द्रांग गाउंमा यूनिवर्सिटी कै कामले जांदै थिएं। म संग एक जना धिताल थरको साथी हुनुहुन्थ्यो। बाटोमा पैदल यात्रा गर्दा वहांले गोरखाको नामजुंग, वोर्लांग गाउंहरु देखाउंदै घ्याम्पेसालको बाटो काट्दा त्यो तान्द्रांग गाउंको पुरानो रहन सहन र लवाई-खवाई बारे उदाहरण दिंदै एउटा कथा भनेको कुरा याद छ। त्यो कथा मेरो घरमा चप्पल लगाएर आउने पाहुना र मेरो चप्पल लगाउने रहर संग ठ्याक्कै मिल्दो जुल्दो छ। तान्द्रांगमा वाहुनहरुको वस्ती रहेछ। ती वाहुनहरु कृषि पेशामा संलग्न भएको र पैसाको अभाव भएकोले अन्य गाउंहरुमा यात्रा गर्ने र अरु ठाउंको भेष भुषा देख्ने अवसर उनीहरुलाई रहेनछ। संयोगवस कुनै लामिछाने व्राम्हणको घरमा तनहुंतिरबाट एक जना दौरा सुरुवाल लगाएका पंडीत पाहुना हुन आएछन् । गाउंमा सुरुवाल लगाएको मान्छे आउंदा टोल छिमेकले उनले लगाएको सुरुवाल तर्फ अनौठो मानी हेरेछन्।

 

त्यती मात्र कहाँ हो र ? टोल छिमेकका मानिसहरु ती पाहुनाको पछी पछी दौड्दै पाहुना बस्ने घरसम्म पुगेछन्। टाढाबाट बास बस्न आएको पाहुना भगवान सरी हुन्छ भनी लामिछाने घरभेटिले खाना तयार पारी आमखोरामा पानी ल्याई पाहुनालाई, “भान्सा तयार भो हजूर सवारी होस्” भनेछन्। ती पाहुनाले सुरुवाल काढेर काठमा ठोकेको कांटीमा सुरुवाल झुन्डाई धोंती फेरेर भान्सातिर गएछन् । त्यस पछी भने टोल छिमेकबाट पाहुनाको पछी पछी आएका मानिसहरु सुरुवाल तर्फ हेरी हांस्दै खासखुस गर्न थाले । कसैले भने,” यो कस्तो कपडा हो ठ्याक्कै खुट्टा जस्तै देखिने?” कसैले भने, यो एक पटक लगाएर हेर्नु पर्यो”। धेरै मानिसहरुले पाहुना आउंदा मैले उनीहरुका चप्पल लगाए जस्तै सुरुवाल लगाउने इच्छा जाहेर गरे। सबै मानिसहरुले पाहुनाले भात खाएर नसक्दै त्यो सुरुवाल लगाउने प्रतिस्पर्धा गर्दा गर्दै हतारमा सुरुवाल च्यातिएछ। पाहुना आएर धोंती फेरी सुरुवाल लगाउन खोज्दा त सुरुवाल च्यातिएको फेला पारेका थिए रे ।

 

कथा यत्ती हो तर त्यो दिन देखि गोरखामा एउटा उखान चल्यो। कुनै मानिसले कपडा लगाउंदा राम्रो गरी मिलाएर लगाउन जानेन भने गोरखामा, “ के कपडा लगाएको तान्दांगेले सुरुवाल लगाए जस्तो ?” भनिन्छ। संयोग पाहुनाको चप्पलको हकमा भने त्यस्तो अवस्था भएन पाहुनाका चप्पल सग्लै हुन्थे।

आफ्नो चप्पल प्रतिको मोह ठूलो भए पनि चप्पल वास्तवमा चप्पलै हो त्यसको त्यती इज्जत भने छैन। चप्पलहरु त पैतालमुनि दबिने न हुन्,प्रयोग हुने न हुन् ,प्रयोग हुनेहरुलाई प्रयोग गर्नेले कहिल्यै वास्ता गर्दैनन्। चप्पल विभेदको प्रतिक हो ।चप्पलले मन्दिर,घर,अफिस आदि ठाँउहरुमा बाहिरै बस्नु पर्छ ।रछ्यानमै बस्नु पर्छ, ओछ्यान पस्ने अधिकार छैन ।चप्पल निरीह छ शरणार्थी झैं । त्यसैले पनि चप्पल इज्जतहिन वस्तु हो। संसारका सबै चप्पल प्रयोगकर्ताहरुले चप्पललाई सामन्तले गरिवलाई, पूँजीपतिले श्रमिकलाई, शासकले शासितलाई, जान्नेले नजान्नेलाई, शक्तिशालीले शक्तिहिनलाई पैतला मुनी दबाए जस्तै दबाईराखेका त हुन्छन।

चप्पललाई तुच्छ मानेर कहां हुन्छ र ? चप्पल त मानिसको भविष्य हो नेपालमा। पंचायत कालमा चप्पल लगाएका चप्पलधारीहरु आज सर्वशक्तिमान भएका छन्। कांग्रेसका पुराना नेता भनौ वा कम्यूनिस्टका ? यिनीहरु सबै चप्पलधारी नै हुन्। पहिलेको कुरा थाहा भएन अहिले चप्पल समेत नलगाई ख़ाली खुट्टा हिंड्ने नेपाली कांग्रेसका एक मात्र नेता शंकर पांडे मात्र हुन्। होइन भने सबै नेताहरु चप्पल पड्काउने नै हुन्। अहिले उनीहरु कसैलाई चप्पले भन्दा सायद रीस उठ्छ होला। अहिले उनीहरुले चप्पल लगाउंदैनन् लगाई हाले पनि हवाई चप्पल र हात्ती छाप चप्पल नलगाई सैन्डील वा स्लिपर लगाउंछन्। कसैले फ्लिप फ्लॉप स्लीपर लगाउंछन् भने कसैले
एथलेटिक सैंडल वा सिंगल स्ट्रैप सैंडल लगाउंछन्। कसैले
क्रॉस सैंडल्स वा सिंथेटिक सैंडल लगाउंछन् भने कसैले कोल्हापुरी सैंडल लगाउंछन्।

पंचायत कालमा उनीहरु आफू भूमिगत हुंदा त्यहि चप्पल कहिले वरदान त कहिले श्राप हुन्थ्यो। सोंच्दै नसोंचेको वेला आफ्नो सामु एक्कासी दुष्मन शक्ति आइलाग्यो भने के भिर के काल्ना, के कांढाघारी त्यहि चप्पल लगाएर वा हातमा छोपी फुंगाल्नु पर्थ्यो । कहिले काहिं अंध्यारोमा दुष्मनको आँगन काटी वैठक बस्न वा पार्टीका सर्कुलर लिएर अर्को साथीको घरमा जांदा लगाएका चप्पल पड्किने हुन कि भन्ने डरले चप्पललाई हातमा छोपी सुस्त विरालाको शानले हिंड्नु पर्थ्यो। त्यस्तो वेला चप्पलको ईज्जत पचास प्रतिशत बढेको हुन्थ्यो। नेता जी हरुकालागि कहिलेकाहिं यस्तो विषम परिस्थिति श्रृजना हुन्थ्यो कि कुनै प्राकृतिक प्रकोप वा अन्य आकस्मिक घटनाको कारणले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने सन्दर्भमा तोकिएको स्थानबाट अर्को स्थानमा पुग्न संभव हुन्नथ्यो। यस्तो बेला नेता जीहरु कुनै ओडार,गाई गोठ वा पराल वा खरको टौवा मुनी सुत्नु पर्थ्यो । त्यो वेला उनीहरुले आफूले लगाएको चप्पलको शिरानी बनाउनु पर्थ्यो। यो अवसरमा भने चप्पल तुच्छ चप्पलबाट माननीय चप्पलमा वढुवा हुन्थ्यो अर्थात् त्यसको इज्जत सतप्रतिशत बढेको हुन्थ्यो।

अहिले भने सर्वसाधारण मानिसहरु चप्पललाई आफ्नो खुट्टाले दबाइरहेका छन् म पनि पहिले जस्तो चप्पल विहीन छैन। पहिलेका चप्पलधारी नेताहरुको भने एकाध निष्ठावान वाहेक सबैको वढुवा भएको छ। प्रथमतः उनीहरुलाई चप्पलको जरुरत पर्दैन, राष्ट्रपतिहरु अठाह्र करोडको गाडीमा हुइंकिन्छन्। रुघा खोंकी लाग्यो पचपन्न/साठी लाखको एयर एम्वुलेन्स चढेर विदेशमा उपचार गर्छन्। जहाजबाट ओर्ले पछी रातो कार्पेटमा हिंड्छन्। स्वदेश मै रहंदा एक ठाउंबाट अर्को ठाउंमा जांदा राज्यको पैसामा हेलीकप्टर चार्टर गरी जान्छन्। महल र ठूला तारे होटलमा बस्छन्। उनीहरुले नास्ता र खाना खान छोडेको धेरै भैसक्यो। उनीहरु त केवल व्रेकफास्ट, लन्च र डीनर मात्र खान्छन्। सुत्दा उनीहरुले चप्पलको सिरानी हाल्नु पर्दैन कोमल सिरानीमा शयन गर्छन्।

 

जनताको नजरमा भने एकाध वाहेक अधिकांश नेताहरु चप्पल जस्तै इज्जतहिन भइरहेका छन्। उनीहरु आफ्नो स्वार्थमा मात्र तल्लीन हुनाले दिनप्रतिदिन आफ्नो प्रतिष्ठा गुमाइरहेका छन्। सत्ता स्वार्थको लागि उनीहरुले देशको सीमा र माटोलाई विर्सिसकेका छन्। सार्वभौम सत्ता सम्पन्न राष्ट्रका जनताको स्वाभिमानमा चोट पुर्याइरहेका छन्। सत्ता स्वार्थकोलागि साम्राज्यवादको गोटी बनिरहेका छन्। नागरिकता जस्तो संवेदनशील डकुमेन्टलाई कपास जस्तै हल्का बनाएका छन्। यस्ता संवेदनशील विधेयक संसदमा पेश गर्दा उनीहरु अनुपस्थित हुन्छन् । एमसिसि, एसपिपी, कोशी, गन्डक, महाकाली र अन्य राष्ट्रघाति विधेयक पास गर्दा मौनता सांध्छन्। सुषमा स्वराजको राजनैतिक प्रतिष्ठानबाट दीक्षित हुने कुरामा उद्धत हुन्छन् । सामन्त गोयल जस्ता रअका एजेन्टसंग राष्ट्रका कार्यकारी प्रमुखले गोप्य मन्त्रणा गर्छन्। संसदमा रांगो वा भैंसीको वहसमा हप्ता विताउंछन्। जनतालाई भने राष्ट्रवादी भएको अभिनय देखाउंछन्। उनीहरुलाई थाहा छैन वा थाहा पाएर पनि सत्ता स्वार्थकोलागि साम्राज्यवादको चप्पल भएका छन्। उनीहरु त साम्राज्यवादको चप्पल भए तर उनीहरुको कारणले यो देशलाई नै साम्राज्यवादीहरुको तुच्छो चप्पल बनाउंदैछन्।
राष्ट्रको तुलनामा कुनै नेताको परिचय अत्यन्तै क्षीण हुन सक्छ तर एउटै व्यक्ति पनि राष्ट्रको लागि सार्वकालिक महत्त्वको विषय वा केन्द्र बन्न सक्छ। जब नेतृत्वले राष्ट्रको समुत्थानका खातिर आफूलाई समर्पित गर्छ र देशको शिर उचा गराउंछ, अनि ऊ व्यक्ति नभएर राष्ट्रिय मानव सम्पदाको रूपमा रहन्छ। त्यस्ता केही व्यक्तिको माध्यमबाट पनि राष्ट्रले चिनारी पाउन सक्छ। खोई हाम्रो देशले त्यस्तो नेतृत्व पाएको? कहिले पाउला त्यस्तो नेतृत्व? यी र यस्ता कुराहरु मनमा खेलिरहंदा ती चप्पलधारी नेताहरुबाट गरिएको अपेक्षा तृण सरह भएको जनअनुभूति महसुस भएको छ। त्यसैले भन्न मन लाग्छ, चप्पल त चप्पलै हो, यसको कुनै इज़्ज़त छैन। यो कहिले पनि माथी जान सक्दैन। त्यसैले शिर्षक रोजें, “जावो चप्पल “।

 

चप्पलधारी शासकहरु तिमीहरु चप्पल नै हौ तिम्रो संगत फोहर संग छ। देशलाई पनि चप्पल बनाएकोले तिमीहरु प्रति जनताको घृणा छ। अस्तु॥

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?