सोमवार, बैशाख ३१, २०८१

भ्रष्टाचारको मूल जरो

– विनबहादुर कुंवर

नेपालमा अनेकौं भ्रष्टाचार सम्बन्धी घटनाहरु त्यत्तिकै थन्कदै आएका छन् । तर अहिले भुटानी शरणार्थी भ्रष्टाचार जन्य प्रकरणपछि यस्ता केही घटनाहरुको छानविन हुन थालेको छ । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीदेखि ललिता निवास जग्गाको बारेमा पनि पुनः छानविन गरिदैछ । यसले गर्दा अब देशमा केही हुन्छ कि भनी जनतामा उत्साहा जगाएको छ भने भ्रष्टाचारीहरुको ओठ मुख सुक्न थालेको छ । नेपालमा भ्रष्टाचारको मूल जरो राज्य पक्षमा नै छ । धमाधम राजनीतिक दल नेता र उच्च कर्मचारीहरु नै यसमा मुछिदै आएका छन् । यतिसम्मकी पूर्व प्रधानमन्त्रीहरु नै यसमा मुछिन थालेका छन् । भुटानी शरणार्थी घटनामा आरजु देउवाको कारण पूर्व प्रधानमन्त्री तथा ने.का. सभापति शेरबहादुर देउवा मुछिन पुगेका छन् । त्यस्तै पशुपतिनाथको जलहरीमा एमाले अध्यक्ष केपी ओली अनि ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराई समेत मुछिन पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड पनि पूर्व माओवादी लडाकु क्याटोन्मेन्ट घोटालामा जोडिएका छन् ।

 

 

लहरो तान्दा पहरो भत्किने सम्भावना बढेर गएको छ । तै पनि वर्तमान यो सामन्ती दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ताको विशेषता नै यो भएकाले एकआध यस्ता घटनाहरुको छानविन गरे जस्तो देखाएर अन्ततः यो त्यत्तिकै सामसुम । तै चुप मै चुप नै हुने देखिन्छ ।
भ्रष्टाचारको कुनै धर्म, नैतिकता, जात, चरित्र आदि केही पनि हुँदैन । खाली लुट्ने, ठग्ने र बदमासी नै गर्ने बढी हुन्छ । कमसेकम धर्म, स्वर्ग, नर्क आदिका कारण पनि यस्ता भ्रष्टाचार जन्य घटना गर्दा केही सोचेको हुनुपर्ने हो । तर यहाँ त्यो केही पनि नसोचेको देखियो । कम्युनिष्टहरु त भौतिकवादी हुन्छन् भगवान्, स्वर्ग, नर्कप्रति उनीहरुको विश्वास हुन्न । आफ्नो वर्गीय नैतिकता र इमानदारिताले पनि यस्ता घटना गर्न मिल्दैन । तर कम्युनिष्टको खोल ओढेकाहरुमा धर्म, देवी देउवता स्वर्ग–नर्क माने जस्तो गरे पनि त्यसैमा भ्रष्टाचार गर्ने गरेको समाचारले सबैलाई चकित पारेको छ ।

केही वर्ष पहिले एमाले अध्यक्ष केपी ओलीको नेतृृत्वमा कम्युनिष्टको सरकार बन्यो । सरकारको प्रधानमन्त्री भइसकेपछि कमरेड ओलीलाई पशुपतिनाथको दर्शन गर्न मन लाग्यो । त्यहाँ गए । त्यहाँ जानुको पहिलो कारण त अहिलेसम्म जानी नजानी गरेका कुकृत्य पाप पखाल्नु थियो भने अर्काे कम्युनिष्टहरुले त धर्म, भगवान स्वर्ग–नर्क केही मान्दैन नास्तिक हुन्छन् भन्ने आम जनताको बुझाईलाई तोड्नु थियो । कम्युनिष्टहरु पनि धार्मिक र आस्तिक हुन्छन् भन्ने ढोङ गर्नु थियो । त्यो ढोङले मात्र नपुगी पशुपतिनाथमा केही चडाउनु पनि थियो । पूर्व राजा महाराजाहरुकै सिको गर्दै प्रम कमरेड ओलीले पशुपतिनाथमा सुनको जलहरी चडाउन ३० करोड सरकारी ढुकुटी निकासा गरिदिए । जस्तो त्यो पशुपतिनाथ मन्दिरमा पहिले तामा–पित्तलको जलहरीको सट्टामा पूर्व राजा महेन्द्रले चाँदीको जलहरी चडाएका थिए । त्यसैको सिको गर्दै महेन्द्र भन्दा क. ओली के कम सुनकै जलहरी नै चडाउनेमा भए । र, चडाए पनि । तर त्यतिबेला यो पशुपतिनाथ मन्दिरमा यो हुँदैन भन्नेहरु पनि केही थिए । यो धार्मिक हरहिसाबले पनि र पुरातात्विक मौलिकताको रुपले पनि राम्रो नहुने बताएका थिए । विश्व सम्पदा युनेस्कोको मापदण्ड विपरीत हुने उनीहरुको मान्यता थियो । तर क. ओली बोले बोले त्यो जलहरी राख्ने निधो भयो ।

तर पछि महालेखा परीक्षकको हरहिसाब छानविनको क्रममा उक्त जलहरीमा बताइएअनुसार सुनको तौल नपुगेको र छ किलो सुन गायव भएको रिपोर्ट पेश गरेको थियो । तर पनि आजसम्म त्यसप्रति कसैको चाँसो देखाइएन । चाँसो बल्ल देखियो जब प्रचण्डले ओलीलाई धोका दिई देउवाको ओत लाग्न पुगे तब ओली–प्रचण्डबीच कटाक्ष आरोप प्रत्यारोप । एकले अर्काप्रतिको प्रतिशोध र बदलाकै कारण यो जलहरीप्रतिको छानविन गर्न लगाइयो । तर जेहोस् सत्य तथ्य बाहिर आउनु जायज नै छ । निश्चय नै यसमा केही घोटला भएकै छ । यसै क्रममा तत्कालीन पूर्व पशुपति कोषका सदस्य सचिवलाई अख्यिारले गिरफ्तार पनि गरिसकेको छ । यसमा तत्कालीन प्रम ओलीको केही हात छ कि त्यो अहिले नै भन्न सकिने स्थिति छैन । तै पनि उक्त जलहरीमा तत्कालीन राष्ट्रपति विद्या भण्डारी अनि प्रम केपी ओली अनि एउटा मन्त्री र कोषका कर्मचारी लगायत केही पुजेरी भट्टहरुको नाम त्यसमा लेखिएको भन्ने छ । त्यसबाट एमाले अध्यक्ष केपी ओलीमा केही स्वार्थ अवश्य देखापरेको छ । नाम र दामको स्वार्थ । त्यो पछि छानविनको क्रममा देखा पर्दै जानेछ ।

देशका यी भ्रष्ट दलाल नेता अनि कर्मचारीहरुले देश र जनतालाई बिटुलो पारिनै रहेका छन् । विश्व सम्पदामा परेको हिन्दु धर्मालम्बीको अत्यन्त धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरलाई समेत यिनीहरुले बिटुलो पारिछाडे । एक पटक चडाइसकेको जलहरीलाई सेना–पुलिसको घेराबन्दीमा निकालेर पुनः त्यो बिटुलो पारिएका जलहरीलाई अब कुन धार्मिक आस्था र विश्वासले त्यहाँ फेरि चडाउने ? जनताको धार्मिक आस्था र विश्वासप्रति नै यसले चोट पु¥याएको छ । आखिर पशुपतिनाथ पनि यस्तै रहेछ एउटा नाम मात्रको मूर्तिको अनि भ्रष्टाचारीहरुको लुट्ने, ठग्ने अखडामा मात्र परिणत गराइएको छ । त्यसैले भ्रष्टाचारीहरुको न धर्म हुन्छ, न जात, न नैतिकता केही पनि नहुने खाली लुट्ने, ठग्ने, चोर्ने मात्र धन्दा हुन्छ । केही वर्ष पहिले त्यहाँ राखिएको दानपेटिका नै चोरिएको थियो । त्यो चोर को हो ? त्यसको पनि छानविन हुनुपर्दछ । तर जो चोर उसैको ठूलो स्वर भने जस्तै उचित छानविन के होला ? अन्त्यमा आफू त महादेव उत्तानो जरा अब कसले देला वरदान भने जस्तै पशुपतिनाथमा नै यस्तो भए पछि अब फेरि पशुपतिनाथले कसको रक्षा गरुन् । भ्रष्टाचारीहरुले पशुपतिनाथलाई पनि भ्रष्ट र बिटुलो पारिसके। ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?