
लिल बहादुर केसी
मैले पुरानो शिक्षाको अंग्रेज़ी पाठ्यपुस्तकमा प्रशिद्ध डेनीस लेखक हान्स क्रिश्चियन एन्डरसनले लेखेको लोक कथा “The Emperor’s New Clothes” पढेको हुं। आज मलाई त्यो लोक कथाको याद आइरहेको छ।कथाको विषयवस्तु यस्तो थियो।
एकादेशमा निकै धनी तथा अविवेकी वादशाह थिए। उनी अत्यन्तै पोशाकको शौखिन थिए।उनले प्रत्येक घन्टा नयां नयां पोशाक लगाउंथे । जनता र सरकारको विषयमा उनलाई चासो थिएन।उनले देश र जनताको लागि कहिले पनि वुद्धि विवेक प्रयोग गर्दैनथे । जनताहरु वादशाहको शासनबाट आजित थिए। तर पनि उनी सधै जनताबाट प्रशंसित हुन चाहान्थे। यो हल्ला उनको देश भरि मात्र नभएर छिमेकी देशका जनतासम्म पनि पुगेको थियो।
एक दिन कुनै अर्को देशबाट दुई जना सूचीकारहरु वादशाहको देशको राजधानीको मुटुमा प्रवेश गरी शहरका चोकमा लुगा वुन्ने तान र मेसिन साथमा लिएर तानमा लुगा बुनेको र मेसिनले लुगा सिलाइरहेको हावामा अभिनय गर्न थाले । लुगा बुनेर सकेको हावामा अभिनय गर्दै जनताको सामु आफूले तयार पारेको पोशाक निकै राम्रो भएको भनी जनता तर्फ देखाउन थाले । चोकमा उभिएका जनताले उनीहरुले तानमा बुनेर सिलाएको कपडा देख्न नसकेको कुरा सूचीकारहरुसंग व्यक्त गरे पछी सूचीकारहरुले दर्शकहरुसंग भने, “ हामीले तयार गरेका कपडाहरु ती मानिसहरुले मात्र देख्न सक्छन् जुन मानिसहरु वुद्धिमान र आफ्नो पोष्टमा बस्न लायक़ छन्”। सूचीकारहरुले भनेको कुरा शहरमा जताततै फैलियो । विदेशी सूचीकारहरुले बनाउने उत्कृष्ट पोषाक र ती पोषाक योग्य मानिसहरुले मात्र देख्न सक्ने वयान वादशाहको दरवारमा पुगे पछी सुन्दर पोषाकको शौखिन राजाले ती सूचीकारलाई दरवारमा बोलाए छन्।
राजाले उनीहरुलाई पोषाक बारे सोधपुछ गरे पछी प्रशस्त रकम दिई उत्कृष्ट मखमलको धागो, चर्खा र सिलाउने मेसिन किन्न पैसा दिए। वादशाहको लागि आफूले तयार पार्ने पोषाकको लागि आवश्यक समय माग्दै उनीहरु शहरको कुनै घरमा बसी लुगा तानमा बुनेको र सिलाएको अभिनय गर्न थाले। राजाले भने उत्कृष्ट पोशाक लगाउन पाउने र त्यो पोषाक नदेख्ने उपल्लो दर्जाका कर्मचारी, प्रधानमंत्री र अन्य मन्त्रीहरुलाई छनौट गरी वर्खास्त गर्न पाउने अवसर समेत भएकोले सूचीकारहरु लाई छिटो भन्दा छिटो पोषाक तयार गर्न आदेश दिए। प्रधानमंत्री, मन्त्री तथा उपल्लो दर्जाका कर्मचारीहरुलाई सूचीकार कहाँ पोषाक हेर्न पठाइयो।
उनीहरु सबै पोषाक हेर्न त गए तर कसैले पनि पोषाक देख्न नसकेको कुरा कसैलाई भन्न सकेनन्। बरु सबैले वादशाहको लागि तयार पारिएको पोषाक कति राम्रो भन्दै राज्य भरि नै हल्ला फैलाए। उनीहरुले आफू आफ्नो पोष्टको लागि योग्य भएको भनी देखाउन उनीहरुले बोलेको झुटो कुरा समग्र जनतालाई थाहा भएन। वादशाहको पोषाक तयार भयो भनी सूचीकारले दरवारमा खबर पुर्याए पछी वादशाह उक्त लुगा पहिरिन सूचीकार कहाँ पुगे। राजाको साथमा प्रम, मन्त्री र भाइ भारदार सबै सूचीकार कहाँ पुगी सबैले कपडाको प्रशंसा गरेको राजाले सुने पछी राजाले पनि आफू अयोग्य बनिन्छ कि भन्ने डरले पोषाकको प्रशंसा गर्न थाले। वादशाहलाई सूचीकारहरुद्वारा पोषाक पहिराइयो। देश भरिका विभिन्न पोष्टमा रहेका मानिसहरु, प्रहरी सेना समेतले पोषाकको प्रशंसा गरी भन्न थाले, “ आहा! क्या राम्रो पोषाक ? यस्तो राम्रो पोषाक आज सम्म महाराजाधिराजले कहिल्यै लगाइ वक्सेको थिएन”।
यत्तिकैमा प्रमलेप्रस्ताव गरे, “ यस्तो राम्रो पोषाकमा महाराजाधिराजलाई शहर परिक्रमा गराउनु पर्दछ”। सबैले पररर ताली बजाए र वादशाहलाई वग्गीमा शहर परिक्रमा गराउन थालियो ।वरिपरि चारैतिर वादशाहका नयां कपडा हेर्न आउनेको तांती लाग्यो। सबैले वादशाहको पहिरनको प्रशंसा मात्र गरे यथार्थ कुरा भनेनन्।
वादशाह शहरको मध्य भागमा सवारी भइरहेको बेला एउटा अवोध वालकले वादशाह तर्फ हेर्दै चिच्चायो, “ वादशाह नांगै कट्टुमा मात्र हुनुहुन्छ “। वालकको यो सत्य वचन सुनेर सबै मुखामुख गरी खासखुस गर्न लागे र वादशाहलाई छिटो छिटो दरवार पुर्याए। कथा समाप्त भयो।
मलाई नेपालका हालका प्रधानमंत्री प्रचन्ड यहि कथाका पात्र जस्तै लाग्छ । यिनी वालक जस्तै अवोध नहोलान् तर समय समयमा यिनले सत्य कुरा बोल्छन् । मैले नोटिस गरेका यिनका सत्य वचन मूलतः तीन वटा छन्।
१- यिनले शान्ति प्रक्रियामा आए पछी आरुण खोलाको माओवादी सैनिक शिविरमा प्रशिक्षण दिने क्रममा आफूले राज्य र अनमिनलाई झुक्काई माओवादी लडाकुको संख्या बढाएर राज्यबाट धेरै पैसा लिएको कुरा हांस्दै उत्साह साथ सत्य कुरा ओकलेका हुन्।
२- यीनका विरोधीहरुले यिनलाई माओवादी द्वन्दको वेला १७ हजार मानिस मारेको आरोप लगाउंदा टुंडीखेलमा उफ्रि उफ्रि भाषण गर्दै उनले भने, “१७ हज़ार त होइन ५ हजारको जिम्मा लिन्छु”।
३- नेपाली ट्रान्सपोर्ट कम्पनीका संस्थापक भारतीय सरदार प्रितम सिंहद्वारा लिखित पुस्तकको विमोचन गर्दा प्रितम सिंहको मुक्त कन्ठले प्रशंसा गर्ने क्रममा उनले हांस्दै सत्य कुरा ओकली भने, “ प्रितम सिंहले मलाई प्रधानमंत्री बनाउने सन्दर्भमा कैंयौं पटक दिल्ली धाउनु भो”।
यी तीन वटै कुराहरु मलाई सत्य जस्तै लाग्छ। त्यसैले प्रम प्रचन्ड एन्डरसनले लेखेको लोक कथाका वाल पात्र हुन जस्ले सत्य ओकले । तर नेपालका विगतका प्रम र मन्त्रीहरु, नेपाली सत्ताधारी राजनैतिक दलहरु सबै The Emperor’s New Clothes का झुटा पात्र जस्तै हुन जसले जनतालाई सत्य कुरा नबताई राष्ट्रियताको नक्कली आवरण भित्र आफूलाई राखी गुमराहमा पारिरहेका छन्। हामीले कांग्रेस, एमाले र माओवादीका प्रधानमंत्री देख्यौं पन्चायत कालका पन्चे प्रधानमंत्री देख्यौं। विधान, संविधान बमोजिम त प्रधानमंत्री बन्नै पर्यो सांसदको भोटको दुहाई त दिनै पर्यो तर प्रधानमंत्री भै २/४ महिना टिक्न यी सबैले भारतीय शासकहरुको आशिर्वाद लिए कै हुन्।
पहिले पहिले अमेरिकाले नेपाल तर्फ सोझै शासकिय हस्तक्षेप नगरी भारत मार्फत कुटनीति प्रयोग गर्थ्यो र पर्दा भित्र थियो तर विगत केहि वर्ष देखि यता विश्वको शक्तिशाली देश चीन बनेदेखि अमेरिकाले नेपालमा आफ्नै पपेट सरकार बनाउन प्रयत्न गरिरहेको छ, यो प्रक्रिया २०५२ सालमा जुलीया चांग व्लकको पाला देखि निरन्तर चलिरहेको छ। त्यसैले नेपालमा त्यस्तो प्रधानमंत्री टिक्छ जसले भारत र अमेरिका दुवैको आशिर्वाद लिन सक्छ । त्यसैले हामीले जनतालाई भन्ने गर्छौ, नेपाल अझै पनि अर्ध औपनिवेशिक देश हो। विदेशी साम्राज्यवादी शक्तिहरु संग नेपाली जनताले लड्नु पर्ने लडाईं धेरै छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसद अवरुद्ध भएको हप्तौं भैसक्यो। सत्ता पक्ष र प्रतिपक्षको सदन भित्र तथा सदन बाहिर चलेको रत्यौली हेर्ने इच्छा नहुंदा नहुंदै पनि नेपाली जनताहरु हेर्न वाध्य छन्। हो अहिले देशका सत्ता पक्ष र मूल प्रतिपक्ष यस्तै रत्यौलीमा रमाइरहेका छन्।यिनीहरु सबै नांगा वादशाहहरु हुन्।
आज जनताहरु उत्तरदायी सरकार र जिम्मेवार प्रतिपक्ष खोजिरहेका छन्। देश आर्थिक तवरले टाट पल्टेको छ। जनताको चुल्हो अहिले सम्म मुस्किलले जलेको छ। पढे लेखेका युवा पिंढी विदेश पलायन हुंदा हरेक वर्ष खरवौं नेपाली रुपैयां विदेशिएको छ।
युनिभर्सिटीमा विद्यार्थीको अभाव छ। शिक्षक प्राध्यापकहरु यिनै नांगा वादशाहको पोषाकको प्रशंसामा तल्लिन छन्। कृषि उत्पादन घटेर विदेशीको भरमा बांच्न परेको छ। भारत, उत्तर अमेरिका, क्यानडा, युक्रेन, तान्जानीया, भेनेजुयला, वंगाला देश, चीन, म्यानमार, अष्ट्रेलिया, पाराग्वे, इन्डोनेशिया, अर्जेन्टिना, भियतनाम, ग्वाटेमाला र रुसबाट खाद्य सामाग्री जहाजमा झिकाई पेट पाल्नु पर्ने वाध्यता आइलागेको छ। देशलाई आत्मनिर्भर बनाउन, रोजगारी सिर्जना गर्न र निर्यातमार्फत मुलुक समृद्ध बनाउन औद्योगिक विकास अनिवार्य शर्त भए पनि २०५० साल देखि यता अधिकांश औद्योगिक प्रतिष्ठानहरु प्राय बन्द छन्।
देशले राष्ट्रीय कूल बजेटको झन्डै १८% ( करीव ३ खरब) सांवा र व्याज वुझाउन खर्च गर्नु पर्ने भएको छ। बजेटको ६०% हिस्सा कर्मचारीको तलव भत्तामा खर्च गर्नु परेको छ। आव २०८१/८२ देखि लामो अव्धी(३० वर्षे अव्धीको) ऋणको सावां व्याज वुझाउंदा राष्ट्रलाई मुस्किल पर्ने अर्थविदहरु बताउंछन्। पहाडका गाउंहरु ख़ाली भएका छन्, गाउं वृद्ध वृद्धाको होस्टल भएका छन्।आर्थिक गतिविधि शून्य हुनाले शहरका सटरहरु बन्द छन्। दुखको वेला वैंकले ऋण दिंदैन। सहकारीमा ठगहरुले जनताको पैसा लिएर फ़रार छन्। मुट्ठीभर शोषकहरुले मौका छोपी मिटर व्याजे पैसा दिई जनताको विल्लीवाठ बनाइरहेका छन्। इतिहास मैं देशको राष्ट्रियता कमजोर भएको छ।देशले हरेक पार्टीको घोषणापत्रमा साझा र एउटै परराष्ट्र नीति खोजको छ।
देशको यो दर्दनाक अवस्थामा देशले सबै पार्टीहरुको राष्ट्रिय एकता खोजेको छ।यस्तो वेला कुटनैतिज्ञहरुको भेला बोलाई हाम्रो परराष्ट्र नीतिमा घोत्लिनु पर्ने हो। यस्तो वेला देशका अर्थविदहरुको आकस्मिक भेला बोलाई अर्थतन्त्र लयमा ल्याउन चिन्तन गर्नु पर्ने हो। यो बेला देशका शिक्षाविदहरु बोलाई नीति बनाउन कार्यशाला गोष्टि गर्नु पर्ने हो। यो वेला चेम्बर अफ कमर्सका प्रतिनिधि र उद्योगी व्यापारीहरुको वीचमा सरकार अंघी सरी अन्तरक्रिया गर्नु पर्ने हो। यती वेला समाजशास्त्री र मनोवैज्ञानिकहरुको भेला वोलाई नेपाली जनताको निरास भई खस्केको मनःस्थितिलाई उठाउने हिम्मत गर्नु पर्ने हो।
तर अफसोचको कुरा यी सत्तामा बस्ने र प्रमुख विपक्षमा बस्ने दलहरुले यस्तो वेला संघ र प्रदेशको सत्ताको सिनोमा छिना झपटी गरी नारावाजी गर्दै भत्ता मारेको देख्दा यीनलाई भन्न मन लाग्छ तिमी नांगा वादशाह हौ जसले जनतालाई कैयन दशक सम्म गुमराहमा पारिरहेछौ।