शनिबार, भदौ १४, २०८२

मृत्यू र मानवीय संवेदना

लिल बहादुर केसी 

मृत्यू टार्नै नसकिने सत्य हो। जसरी जन्म एक साश्वत सत्य हो मृत्यू पनि त्यही सत्यको एक पाटो हो। मृत्यूलाई हेर्ने आ-आफ्ना दृष्टिकोण छन्। कुनै बस्तुलाई हेर्ने आंखा वा दृष्टिकोण मूलतः दर्शनबाट निर्देशित हुन्छन्। दर्शन भनेको चिन्तनको फोकस हो। हामी वुद्ध दर्शनको अनुयायी भयौं भने हाम्रो चिन्तनको फोकस ‘दुख’ र ‘मन’ तर्फ सोझिन्छ। हामी मार्क्सवादी दर्शनको अनुयायी भयौं भने हाम्रो चिन्तन ‘वस्तु, द्वन्द र वर्ग ‘ तर्फ सोझिन्छ। कुनै मानिस हेगेलको चिन्तन प्रणालीसंग सहमत छ भने उसको चिन्तन प्रणालीले द्वन्द र नैतिकतालाई केन्द्र भागमा राख्छ। त्यसै गरी कुनै मानिस गान्धीको विचारधाराबाट प्रभावित छ भने उसको चिन्तन अहिंसा र नैतिकतामा केन्द्रित हुन्छ ।

हाम्रो समाजमा रहेका व्यक्ति, सम्प्रदाय र पार्टी विशेषका पनि आ-आफ्ना चिन्तन छन्। यी चिन्तनहरुले नै विश्व व्रम्हान्ड, जीवन र जगत वारे व्याख्या गर्छन्। जीवन के हो, मृत्यू के हो, परिवार के हो, सुख के हो, दुख के हो, मोक्ष के हो, हांसो के हो, खुसी के हो, यो संसार कस्ले चलाइरहेको छ, व्रम्हान्डमा रहेका ग्रह उपग्रह कसरी बनेका छन्, वस्तु के हो, चेतना के हो, संसारमा कुन कुन कुराहरु सत्य हुन र त्यस मध्ये साश्वत सत्य कुन कुन कुराहरु हुन् ? यस्ता हजारौ हजार प्रश्नहरुको उत्तरको खोजी दार्शनिकहरुले गरिरहेका हुन्छन्। तसर्थ मृत्यू सम्वन्धमा पनि फरक फरक मानिसहरुका फरक फरक दृष्टिकोण हुन्छन् । मार्क्सवादले मृत्यूलाई द्वन्दवादी दृष्टिकोणले हेरे पनि यहां
विश्वका चर्चित मानिसहरुका मृत्यू संवन्धी केहि दृष्टिकोण वुझ्ने प्रयास गरिएको छ।

 

सेक्सपियरले मृत्युलाई सहज रुपमा लिन यसरी सुझाएका छ्न्, “मानिसले जगतवाट बहिर्गमनलाई त्यसैगरी सहनुपर्छ जसरी आगमनलाई ।” बुद्ध भन्छन्, “जो बुद्धिमानी छ ऊ मृत्युको भय देखि डराउदैन्” । स्टिभ जब्सले भन्छन्, “ मृत्यु जीवनको एकमात्र आविष्कार हो।” नित्से भन्छ्न्- “गर्वका साथ मर्न सकिन्छ तर गर्वका साथ बाँच्न सकिन्न।” वाल्टले भन्छन्, “मृत्यु भन्दा सुन्दर कुनै चीज हुन सक्दैन”। जर्ज म्याकडोनाल्ड भन्छन् –“हामी सूर्य अस्ताउंदा डराउँदैनौं, तर मृत्यु संग डराउँछौं ।” एन्द्रियु स्याक्स भन्छन– “सबै व्यक्ति मर्छन् । तर, सबै व्यक्ति बाँचेका हुँदैनन् ।”

जे होस् मृत्यू कसैकालागि प्रिय हुंदैन। मृत्यू सबैभन्दा डरलाग्दो, कहालीलाग्दो र होश उडाउने शब्द हो । मृत्यु  सुन्दा, देख्दा, पर्दा र भोग्दा को स्तब्ध हुदैन् र ?  हामीहरु हाम्रो आफन्त वा नजिकको ब्यक्तिको मृत्‍युमा धेरै भावुक हुन्छौँ भने नचिनेको र अलिक टाढाको मृत्‍युले त्यति लामो समय मनलाई पिरोल्दैन । तर पनि मानविय स्पन्दनले कही कतै भावनालाई नमिठो गरी धमिल्याइदिन्छ । मृत्‍यु स्वभाविक र अकाट्य सत्य हो भन्ने कुराले जस्तो सुकै भौतिकवादी मान्छेलाई पनि केही वेर सम्झाउन सक्दैन । मृत्यू र दाह संस्कारको वेला जस्तो सुकै कठोर हृदय भएको मानिसले पनि भावुकता प्रदर्शन गर्दछ।

प्रधानमंत्री प्रचन्ड पत्नि तथा माओवादी केन्द्रका सल्लाहकार क सीता दाहालको २०८० असार २७ गते मृत्यू भयो। उहांको मृत्यूमा उहां प्रति श्रद्धांजलि र शोकसन्तप्त प्रचन्ड परिवारमा समवेदना पूर्व राजा ज्ञानेन्द्र शाह देखि नेपालका ठूला साना पार्टी र पार्टीका नेताहरुबाट दुख व्यक्त गरियो स्वाभाविक हो।
यस्को अलावा जनस्तरबाट पनि श्रद्धांजलि र समवेदनाका शव्दहरु हार्डवेयर वा सफ्टवेयर जुन सुकै माध्यमबाट भए पनि आए। समवेदना दिने शव्द र प्रवृत्ति फरक फरक भए पनि एकाध वाहेक सवैले क सीता दाहालको मृत्यूमा दुख प्रकट गरे।

कसैले क सीता दाहालको मृत्यूमा श्रद्धांजलि दिंदा उनको सरल जीवन शैलीलाई स्मरण गरे, कसैले उनको सहनशील शक्तिको स्मरण गरे, कसैले उनको पार्टी र सिद्धांत प्रतिको अडानलाई स्मरण गरे, कसैले प्रचन्डलाई नेता बनाउने सहयोगी योद्धाको रुपमा स्मरण गरे, कसैले प्रचन्डलाई गिरफ्तार हुनबाट बचाउने कुशल कार्यकर्ताको रुपमा स्मरण गरे, कसैले उनलाई गणतन्त्रको आमाको रुपमा स्मरण गरे आदि आदि।

कसै कसैले भने उनलाई दिल्लीमा लुकेर प्रचन्डलाई सत्र हज़ार मानिस मार्न प्रोत्साहन गर्ने महिलाको रुपमा घटिया व्याख्या गर्न सम्म भ्याए। कसैले उनलाई जनयुद्धमा माओवादी पक्षबाट निश्रंस हत्या गरिएका पिडित परिवारको पाप कुर्लिएको भनी उल्टो सरापे । यसै सन्दर्भमा डा तोषिमा कार्कीले यूट्युवे पत्रकार सामु दिएको अन्तर्वार्ता र कथित अभियन्ता भनेर चिनिने तारा बरालको ट्विट संवेदनहिन अभिव्यक्तिको रुपमा विवादित वन्यो ।धेरै ठाउंबाट आलोचना आए पछी डा तोषिमाले भने आजै क्षमा याचना गरिन्। सामाजिक अभियन्ता भनेर चिनिने इन्द्रेणी सांझ चलाउने अर्का कृष्ण कंडेलले दिएको पेरिस डांडाको श्रद्धांजलि पनि फोटो सेसनले विवादित बनायो। यही प्रसंगमा आज पनि फेसवुकवालहरुमा एकले अर्कोलाई संवेदनहिन भनी गाली गरेको देखिन्छ ।

सामान्य मानिसको मृत्यूमा सामान्यतः यस्ता अभिव्यक्ति आउंदैनन्। क सीता प्रचन्ड पत्नि मात्र नभएर माओवादी जनयुद्धमा गांसिएको हुनाले पनि यी अभिव्यक्तिहरु आएका हुन्। प्रचन्डले नेतृत्व गरेको माओवादी जनयुद्ध कसैलाई मार्न र आफू पनि मर्न गरेको रहर थिएन। माओवादी जनयुद्ध त समाजवादी दर्शनबाट निर्देशित युद्ध थियो। यस्ता युद्धहरु विनाको समाज विकासको परिकल्पना गरी समाजवादमा पुग्न सकिन्छ भनी मार्क्सवादको अपव्याख्या गर्ने त वर्न्सटिन, काओत्स्कि र ल्युसाओचीहरु हुन्। मार्क्सवादको मुख्य कडी वर्ग संघर्ष हो। विश्वमा साम्यवाद नआउंदा सम्म वर्ग रहिरहन्छ। संभ्रान्त वर्गले गरिव र मजदूरहरुको सदा शोषण गर्छ। त्यो शोषण समाज विकासको विभिन्न चरणमा रहिरहन्छ । त्यसैले सामन्तवादी र पूँजीवादी समाजमा गरिव, किसान र मजदूर माथी भैरहने शोषणको विरुद्ध शोसित वर्गले हतियार उठाउंछ।त्यही हतियार बन्द युद्ध वा क्रान्तिले प्रतिक्रियावादीहरुको सत्ता ढल्छ।त्यो वेला गरिव किसान, मजदुरहरुको नेतृत्वमा सरकार बन्छ।त्यो सरकारले जनपक्षीय कार्यक्रम ल्याउंछ। समाज विकासको क्रममा समाजवादी व्यवस्था लागु हुन्छ जव समाजवाद विश्व भर परिपक्क हुन्छ तव मात्र साम्यवाद लागु हुन्छ भन्ने सिद्धांतबाट निर्देशित भएर माओवादी युद्धको जन्म भएको हो।

माओवादी जनयुद्धको समर्थक म पनि होइन। त्यसको समर्थक नेका, एमाले र नेपालका अन्य कुनै पार्टी पनि होइनन्। नेपालका अन्य वामपन्थी पार्टीहरुले माओवादी जनयुद्धलाई लहडको रुपमा व्याख्या गरेकै हुन्। व्यापक जनताहरु माओवादी विचारधारामा सहमत हुनुको सट्टा डर, त्रास र जवरजस्तीको कारणले युवाहरु माओवादी युद्धमा सामेल भै राष्ट्रिय संरचना ध्वस्त बनाउंदै गाउंले शहर घेर्ने नीति लिए पनि युद्ध राष्ट्रिय वा अन्तर्राष्ट्रीय शक्ति केन्द्रका कारणले थुक्नु न निल्नु भएको थियो। त्यो बेला नेपालका अन्य पार्टीहरुले आह्वान गरेको १९ दिने संयुक्त जनान्दोलन र माओवादी सशस्त्र युद्धको बलमा २४० वर्षे निरंकुश राजतन्त्र फ्यांकिएको हो।

गणतन्त्र र संविधान सभाबाट नयां संविधान प्राप्त भए पनि कांग्रेस, एमाले र माओवादीहरुले जनआकांक्षा विपरित काम नगरेको र देशमा भ्रष्टाचारलाई संस्थागत गरेकोले यी पार्टीहरु जनताबाट अति आलोचित छन्। अव पनि यिनीहरुले आफूलाई नसच्चाए सक्किने लाइनमा छन् यो सत्य हो। यो पनि सत्य हो कि माओवादी युद्धको वेला कैयौं निरअपराधी मानिसहरुको जघन्य हत्या गरी संपत्ति लुटियो, कैयौंलाई अपहरण गरियो। स्कूल पढिरहेका वाल युवा युवतीहरुलाई जवरजस्त लाल सेनामा भर्ति गरियो। मानव ढाल बनाई अवोध मानिसको हत्या गरियो। वर्ग संघर्ष भन्दा आतंकवादलाई प्रश्रय दिइयो। क्रिया गर्न कुनामा बसेका मानिसहरुलाई अपहरण गरियो आदि । तर यस्ता जघन्य अपराध माओवादीहरुबाट मात्र भएका हुन् र ? त्यो वेला राज्यले पनि आफ्ना प्रहरी र सेनालाई युद्ध अनुशासनमा बांध्न सकेन। जनताहरु राज्य पक्षबाट पनि बलात्कृत र अपहरणमा परे। कैयन मानिसहरुको जघन्य हत्या गरियो। कतिलाई लापत्ता पारियो ।कसैको घर जलाइयो । निर्दोष मानिसहरुलाई समेत विचल्ली पारियो।

एउटा भनाइ छ, कसौंडीको पिंधमा रहेका भातका सीता खेर गए भन्दैमा भात नपकाएर हुन्छ र? युद्धमा मानिसहरुको मृत्यू हुन्छ । युद्ध सरल रेखामा जांदैन। नेपालमा मात्र होइन विश्वका हरेक देशको द्वन्दमा मानिसहरु मारिन्छन्। माओवादी युद्धलाई पनि पूर्वाग्रहले होइन यही नजरले हेर्नु पर्दछ।माओवादी युद्ध र त्यस युद्धमा राज्य र माओवादी पक्षवाट गरिएका अमानवीय क्रियाकलाप र हत्यालाई हेर्ने र वुझ्ने अन्तर्राष्ट्रीय क़ानून र प्यारामिटरहरु छन् ती पक्षको निराकरण यिनै कानूनको सफल कार्यान्वयनबाट हुन्छ र ढिलो चांडो हुनुपर्छ ।

हो, युद्धको वेला कैयन महिलाका शिरसा सिन्दुर पुछिए, कैयन वाल वालिका टुहुरा भए, कैयन आमाहरुका जीवन जीउने सहाराहरुका इहलीला समाप्त भए। कैयन नारीहरु वलात्कृत भए, कैयन युवाहरु अपांग भए। यसमा सर्वसाधारण जनता सहमत हुने कुरा भएन। के त्यसको दोष मात्र प्रचन्ड परिवारमा मात्र जान्छ ? के प्रचन्ड र उनको पत्नि सीता दाहालले मात्र दंश वर्षे युद्धको जिम्मेवारी लिनु पर्ने हो। २०४६/०४७ सालको आन्दोलन पश्चात बनेका सरकारहरु यो परिस्थिति श्रृजना गर्नै सन्दर्भमा उत्तिकै दोषी छैनन्। के २४० वर्षको निरंकुश राजतन्त्र यो परिस्थिति श्रृजना गर्नमा दोषी छैन ?

विडम्वनाको कुरा गणतन्त्र प्राप्ति पछीका सत्ताधारी दलहरुको कुशासनको एजेन्डा समात्दै भुंइफुट्टा कलिला वालवालिकाहरु अरु सबै भन्दा अव्वल हौं हामी भ्रष्ट होइनौ भन्ने नाममा युद्धको वेला पिडा भोगिरहेका जनताहरुको सेन्टिमेन्ट लिन एउटा सरल, सिद्धांत प्रति दृढ, संयमित र उच्च शाहस बोकेकी क सीता दाहाल प्रति समवेदनाको नाममा खर्चिएका शव्दहरु नेकपा माओवादी केन्द्रलाई समर्थन नगर्ने सर्वसाधारण जनताकोलागि पनि पाच्य छैनन् र भएनन् यो कुरा वुझ।
तिमी को हौ ? आफूले प्रथमतः आफूलाई वुझ।नेपाली जनताले तिमीहरुले लिएको भनिएको आदर्शता २५ करोडमा विकेको र ४ करोडमा विकेको छोंटो समयमा अनुभूत गरिसके। भ्रष्टाचार विरोधको नारा लिएर भ्रम दिएर जितेकाहरुको नियत सरकारले भ्रष्टाचार विरोधी कदम चालेको वेला सदनमा देखाएको रवैयाले स्पष्ट पार्यो। एमसिसिको विरुद्ध क चीत्रबहादुर र विजुक्छ्को पार्टीले विरोध गर्दा स्वच्छ ठानिएकाहरुको क्रियाकलाप नेपाली जनताले राम्ररी हेरे। राष्ट्रघाती नागरिकता विधेयक संसदबाट पास गर्दा पनि नेपाली जनताहरु निदाएको थिएनन्। यद्यपि यी राष्ट्रघाती कदमका ज़िम्मेवार ठूला दलहरु नै हुन्।

मृत्यू प्रकृतिले संसार चलाउने नियम अन्तर्गत पर्छ । बाँच्नु अल्पकालीन समाधान हो, भने मर्नु दीर्घकालीन ।
मानिस मृत्यु देखि होइन, जीवन पाउँदा पनि जिउन नसक्नुसंग डराउनुपर्छ । किनकी मृत्यु भन्दा भयानक हुन्छ जीउन नसक्नु । तर क सीता दाहाल अफ्ठेरो परिस्थितियाँ पनि जीउन सकिन। किन कठिन जीवन जीउन सकेनन् कमल राज रेग्मी र श्रीमद्भागवत शर्माका श्रीमतीहरु ?

दिनहरु नगन गणनिय बनाऊ । गन्ने कुरा केही छैन भने उमेर पनि नगन भनेजस्तै होरेस मन भन्छ्न्– “मानवताको लागि केही काम नगरुन्जेल मर्नको लागि पनि लाज मान ।” हुनपनि त्यतिकै मर्नु लाजमर्दो बिषय हो । बाँच्नुको निसारता हो । क सीता दाहालको मृत्यूमा रमाउनेहरुले आफू बांच्नुको सार के मा देखेका छौ?

मृत्यु कै सन्दर्भमा हेय न्युटन भन्छ्न्–” म महान मृत्यु संग डराउँदिन, तर कुनै अर्थ र महत्व नबोकेको मृत्युसंग डराउँछु ।” न्यूटनले भने जस्तै सीताको मृत्यू कति महान छ त्यो फरक छलफलको विषय होला तर परिवारमा परेको त्यो पिडाको वेला कुन शव्द बोल्दा कति सान्दर्भिक होला भन्ने त वुझ्नु पर्ने हो।

ठिक हो, मनले कालको अनुभूति गर्छ । अक्सर मानव मन भूतकालले छोडेका प्रभाव र भविष्यका कल्पनाले डोरियााउने बाटोबाट निर्देशित हुन खोज्छ । तर भूतको समीक्षा र भविष्यको कल्पना तटस्थभावमा ग्रहण गर्न पनि मनोसाधना आवश्यक हुन्छ । मनोसाधना विना सत्यानुभूति गर्न र सत्यानुभूति विना सही मार्ग अबलम्बन गर्न सकिदैन ।

अहिले मान्छेहरुको संवेदना मरिसकेको छ । यहाँ मान्छेहरुले नै मान्छेको मोल घटाएका छन् । यहाँ मान्छेहरुको हृदय धुलो, धुँवा र कार्बनमोनोअक्साइडले खिया परिसकेको छ । मासु, रक्सी र खल्तीको दशबीस टक्काले मान्छेहरु यहाँ मातेका छन् । मानवीय संवेदना हराएपछि मरेको लास घाट तर्फ लिदै गर्दै सेल्फी सम्म हान्न भ्याइएको छ।दयामाया भएर नै मान्छे एक आपसमा सामाजिक जीवन विताइरहेका हुन्छन् । जतिबेला मान्छे अरूको संवेदना भन्दा पनि आफ्नो स्वार्थमा अड्डिन्छ त्यतिबेला मानवीयताको अर्थ खोज्नु व्यर्थ नै हुन्छ ।

यस्तो अवस्थामा म एन्द्रियु स्याक्सको भनाइको समर्थन गर्दै भन्छु, “सबै व्यक्ति मर्छन् । तर, सबै व्यक्ति बाँचेका हुँदैनन् ।” तर सीता दाहाल र उहांको परिवारले धेरै कुरा गुमाए पनि बांचेको छ। देश र जनताको लागि संपूर्ण परिवारलाई घरपरिवार र व्यक्तिगत स्वार्थमा नलगाई पूर्णकालिक कार्यकर्ता बनाउंदै युद्धमा लैजानु मात्र पनि सानो कुरा होइन। तसर्थ क सीता दाहाल कवि अर्जुन पराजुलीले भने जस्तै सांच्चै आदर्श नारी हुन्। अन्य कुराहरु त्यो परिवारलाई गल्ती भएका रहेछन् भने समयले छानविन गर्नेछ जसरी समयको माँग वमोजिम ललीता निवास र भुटानी नक्कली शरणार्थी कान्डको छानविन भैरहेको छ। बढि भए मलाई माफ़ गर्नुस, तपाईंहरु जस्ता मानिसहरुमा मानवीय संवेदना हुनै पर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?