शनिबार, साउन १२, २०८१

धार्मिक पर्यटनको क्षेत्र: पाणिनि तपोभूमि

लिल बहादुर केसी 

२०८० साल भाद्र महिनाको १५ गते अर्घाखांची जिल्ला पाणिनि-१ सिम्ले राजुपानी निवासी मित्र गणेश गौतम जी को ममतामयी आमा स्वर्गारोहण भएको एघारौं दिनको पुण्य तिथिको अवसर पारी म स्वयं लेखक, दाजु लेखनाथ भण्डारी, भानिज गोपाल के सी र सवारी चालक इमानसिंह थापा समेतले प्राचीन र अर्वाचीन काल देखि ख्याति प्राप्त धार्मिक, भाषिक र शैक्षिक महत्व बोकेको पाणिनि तपोभूमिको अवलोकन गर्ने समय मिलायौं।भारतीय उपमहाद्वीप अर्थात् भारत वर्षका गौरवशाली ज्ञान केन्द्रहरु मध्येको एक प्रशिद्ध स्थलको रुपमा परिचित पाणिनि तपोभूमि क्षेत्र अवलोकन गर्ने, वुझ्ने र प्रचार प्रसार गरी अध्ययन, अनुसन्धान गर्ने अध्येताहरुलाई प्रारम्भिक खुराक दिने, यस क्षेत्रको संरक्षण, सम्वर्द्धन र विकास गरी पर्यटन प्रवर्द्धन गर्ने हेतुले केहि कुरा लेख्ने जमर्को गरें।

 

पाणिनि क्षेत्र प्रशिद्ध ज्ञानकेन्द्रको रुपमा

मानव सभ्यताको विकास पछी पश्चिमी देशहरुमा दर्शन, गणित, खगोल अध्ययन, राजनीति तथा ज्ञान विज्ञानका केन्द्रहरु विशेषत: यूनान, वेवीलोन र इटालीको रोममा खुले जस्तै विक्रमादित्यको वीसौं शताब्दीको अन्त्य देखि अर्घाखांचीको पाणिनी क्षेत्र ख़ास गरी खिदिम गुल्मी, अर्घाखांची, पाल्पा तथा स्यांग्जा क्षेत्रकालागि ज्ञानको केन्द्र विन्दु बन्यो। गुरुकूल शिक्षाबाट प्राप्त हुने अधुरो ज्ञानको प्यासी व्राम्हण परिवारका विद्यार्थीहरुलाई दीक्षित गर्ने हेतुले खिदिमकै करिव सत्र हज़ार विगाह क्षेत्रफल खेतका धनी सामाजिक र शैक्षिक व्यक्तित्व हरिहर गौतमले संस्कृत भाषाको माध्यमबाट पढ़ाई हुने आवाशिय संस्कृत पाठशाला खोलिदिनु भएकोले यो क्षेत्रका पुराना पढे लेखेका मानिसहरु ज्ञान प्राप्त गरी लाभान्वित भएका थिए।

 

यो क्षेत्रमा मात्र होइन नेपालका विभिन्न क्षेत्रहरुमा जग्गा किनेर संस्कृत पाठशालाको गुठीमा दर्ता गरी सोहि क्षेत्रमा पाठशाला खोली त्यस क्षेत्रकों मानिसहरुलाई दीक्षित गर्ने महान कार्य हरिहर गौतम जीले गर्नु भएको कुरा खोज गर्ने धेरैलाई अवगत नै छ।
२०४२ सालमा मैले अध्यापन गर्ने निहुंमा मूलत: राजनैतिक संगठन निर्माण गर्ने हेतुले नुवाकोट जिल्लाको त्रीसुलीको किनारको गाउं तुप्चे पुगें। तुप्चे बजारको भवनाथ भण्डारी दाईको घरमा मलाई साथीहरुले कोठाको बन्दोबस्त मिलाइदिनु भयो। एक दिन विहानै भवनाथ दाईले मर्निंग वाक गर्न जाउं भनी आफ्नो साथमा मलाई लैजानु भो। नेपाल- तिव्वतको युद्ध हुंदा मेलमिलाप सन्धी गरेको स्थान वेद्रावतीको ठिक वारी पट्टि पुगे पछी उहांले हातको औंलाले देखाउंदै मलाई भन्नु भो; “ हेर्नुस सर यो तपाईंको गाउंको मान्छेको खेत हो।” भण्डारी दाइले उक्त कुरा भन्दा म अलमलमा परें। गुल्मी धुर्कोटबाट आएर कुन मानिसले यहाँ खेत किनेछ ? भनी अलमलिएको वेला उहांले स्पष्ट पार्दै भन्नु भो; “यो हरिहर गौतमको खेत हो।” यो खेतको धान त्रीसुली र देवघाटका संस्कृत पाठशालामा जांदो रहेछ। त्यती मात्र होइन उहांको नीजी सम्पति भूमी सुधार लागु भए पछी स्वर्गद्वारी संस्कृत पाठशाला, नेपाल संस्कृत विश्वविद्यालय, तौलीहवाको संस्कृत पाठशाला जस्ता थुप्रै शैक्षिक संस्थाहरु सन्चालन गर्ने गरी गुठीमा परिणत भएका थिए। बनारसमा गई संस्कृत भाषामा उच्च शिक्षा हांसिल गर्न खोज्ने प्रतिभावान विद्यार्थीहरुलाई वृत्ति दिई पढ्नकोलागि उहांले वनारसमै पनि संस्कृत कलेज खोल्नु भएको इतिहास छ। आफूले सबै स्थानका पाठशालाहरुको अनुगमन गर्न नसक्ने भएकोले खिदिमको संस्कृत पाठशालाको रेखदेख गर्नुको साथै संस्कृत वांगमयको प्रचार प्रसार गर्न प्रशिद्ध पं दधिराम मरासिनीलाई जिम्मा दिनु भएको र पं दधिराम मरासिनीले उक्त भूमिका निर्वाह गर्नुका साथै कैयन कृतिहरु प्रकाशित गर्नु भएकोले खिदिम पोखराथोक विद्वान विद्वेषी जन्म दिने प्रशिद्ध स्थल मानिन्छ ।

 

पोखराथोककै नेपालको प्रथम महिला गणितज्ञ चन्द्रकला धनन्जय ( मरासिनी ) को घर पनि यहि स्थानमा रहेको र प्रा डा माधव राज गौतम जी को घर पनि यहि क्षेत्रमा रहेकोले पाणिनि क्षेत्र विद्वान पैदा गर्ने उर्वर भूमि पनि रहेछ। खिदिमको हरिहर संस्कृत पाठशालाले मन्त्रालयका सचीव, विश्वविद्यालयका प्राध्यापक तथा शिक्षक विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीहरु धेरै उत्पादन गरेको छ। यो सबै कुराको प्रेरणाको श्रोतको श्रेय सायद ईशा पूर्व पाँचों शताब्दी ( मत ऐक्यता छैन ) मा पुरानो गान्धार क्षेत्र हालको पाकिस्तानको शलातुर ( लाहौर ) मा धनी परिवारमा पिता सामन र माता द्राक्षीका छोराको रुपमा जन्मेर पणेनामा आई तपस्या गर्दै संस्कृतको विश्व विख्यात व्याकरणका रचायिता पाणिनि ( कूल गोत्रीय नाम आहिक ) लाई जान्छ होला भन्न अत्युक्ति हुंदैन । पाणिनिका धेरै नामहरु रहेछन् । उनका केहि अन्य नामहरु शालातुरीयक, दाक्षीपुत्र, पाणिनि र आहिक (वैजयन्ती कोशअनुसार) रहेछन्। वास्तवमा पाणिनि क्षेत्र नेपालको पश्चिमी क्षेत्रमा तपस्या गरेका ऋषि मुनिहरु दुर्वासा, भृगु, पुलह, पुलस्त्य र कपिल आदिले तपस्या गरेका पवित्र भूमिको मध्य भागमा पर्दछ। गुल्मीको धुर्कोटबाट छुट्टिएर आएका मेरै भारद्वाज गोत्रीय पोखरेल वंशका पणेना निवासी अनुसन्धान कर्ता शालिग्राम पोखरेल ज्यूले खोज गरे अनुसार धनी पिताका छोरा आहिकको व्रम्हचार्य जीवन पाटली पुत्रमा भएको रहेछ। पाटलीपुत्रमा वर्षनामक गुरुकहाँ पढ्न वस्दा सहपाठी कात्यायनसित प्रतिस्पर्धा गर्न नसकेपछि गुरुआमाको आदेशले महादेवको तपस्या गर्न हिमालयमा गएका थिए । पाटली पुत्र भारतको पटना क्षेत्रबाट उत्तर पश्चिमको बाटोबाट श्रावस्ती, कपिलवस्तु हुंदै महाभारत श्रृंखलाको मनोरम पहाड, उत्तरा हिमाली दृष्य, दक्षिणमा थपक्क बसेको सुन्दर तराई, समशितोष्ण सदावाहर जंगल, रेसुंगा, रुरु क्षेत्र, सिद्धेश्वर, स्वर्गद्वारी र नर्नताचल पर्वत- नरपानी जस्ता पवित्र स्थलको वीचमा पर्ने अग्लो चीसो पहाडमा आई संस्कृत व्याकरणको ज्ञानको भोकले शिवजीको आरधना गरी बसेका रहेछन्। तपस्या गरेको छोंटो अव्धीमै शिव जी डमरु बजाउंदै महर्षि पाणिनि सामु प्रकट भै अइउण्, ऋलृक्, एओंग, एऔच्, ह्यवरट्, लण्, यमंणनम्, झभय्, घढघष, जवगडघस्, खफद्दठथचतप्, कपय्, शषसर्, हल् गरी १४ शिव शुत्र बताएको भनिदो रहेछ। यीनै १४ शुत्रको ज्ञानबाट पाणिनिले आठ ओटा व्याकरणीय ग्रन्थ तयार पारे जसमा आठ ओटा अध्याय थिए त्यसैले त्यस ग्रन्थलाई अष्टाध्यायी व्याकरण भन्ने गरिन्छ । पाणिनीले त्यस्ता व्याकरण रचना गरे जसमा एउटा अक्षर पनि अनर्थक छैन वा त्यस्तो परिवर्तन गर्ने स्थान नै छैन । संसारका सबै भाषाका व्याकरणकारहरुमध्ये सर्वश्रेष्ठ व्याकरण पाणिनिद्वारा लिखित व्याकरणलाई मानिन्छ।

प्रशिद्ध शव्दकोषका लेखक जोसेफ टि सिप्ली, वेलायतका भाषा विज्ञानका प्राध्यापक ज़ोन लेवन्स, वेलायत का अर्का भाषा विशेषज्ञ विलीयम जोन्स, आधुनिक भाषा विज्ञानका ज्ञाता व्लुभ फिल्ड, हरवार्ड विश्वविद्यालयका प्राध्यापक जे वी क्यारियों, अमेरिकी भाषा शास्त्री डव्लु मर्न व्राउन र विश्व विख्यात भाषा विज्ञानका अध्येता नोम चोम्स्की समेतले पाणिनिले लेखेको संस्कृत व्याकरणको प्रशंसा गरी सर्वोत्कृष्ट व्याकरणको दर्जा दिएका छन् । यती महत्वपूर्ण श्रृजना गर्ने पाणिनिले तपस्या गरेको ठाउं पणेना आफैमा ज्ञानको केन्द्र भएकोले होला यो क्षेत्रमा सरश्वतीको बास छ। मलाई लाग्छ यो स्थान नेपाल भारत सिमा क्षेत्रमा रहेको भए भारतले आफ्नो दावी गरी निकै विकास गर्दो हो ?

धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा पाणिनि तपोभूमि
करिब ५० रोपनि क्षेत्रफलमा फैलिएको पाल्पा सदरमुकाम तानसेनबाट र अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट करिब समदुरिमा अवस्थित पाणिनी तपोभूमि ‘पणेना’ यी दुवै ठाउँबाट ३१ कि.मि.को दुरिमा पर्दोरहेछ। पाणिनी ऋषिले तपस्या गरेर अष्टाध्यायी व्याकरण तयार पारेकै कारण अर्घाखाँचीको पूर्वी भाग पश्चिम पाल्पाको सिमानामा पर्ने पणेना भन्ने ठाउँ पाणिनी ऋषिकै नामबाट रहेको हो । पणेना र पोखराथोक गाविसको माथि लेकपट्टि उच्च पहाडी भू–भागमा पर्ने ‘पाणिनी तपोभूमि’ अति मनोरम रमणीय स्थलको रुपमा परिचित भइसकेको छ । यो एउटा ठूलो जङ्गलको बीचमा अवस्थित छ । यस तपोभूमि वरिपरि रहेको जंगलमा १ हजारभन्दा बढी प्रकारका जडिबुटी र सयौ प्रकारका जङ्गली पशुपंक्षिहरु पाइन्छन् । यस ठाउँको ठीक बीच भागमा एउटा ठूलो दह (ताल) छ जसले सबैको ध्यान एकपटक आफूतिर तान्ने गर्दछ ।

यो एउटा आकर्षणको केन्द्रबिन्दु पनि बनेको छ यो तालको प्रमुख विशेषता भनेको तालभित्रकै उत्तरतर्फको पानी कालिगण्डकीमा मिसिन आउछ भने दक्षिणतर्फको पानी बाडगङ्गामा मिसिन आउँछ यस्तो आश्चर्य ठाउँ अरु कहा हुन सक्दछ ? यसका साथै मनै लोभ्याउने धरै मन्दिरहरु, यज्ञशाला, पाकशाला, भ्युटावर, अति सुन्दर बगैँचा, पाणिनी ऋषिको लोभ लाग्दो मूर्ति आदि यहाँका लागि बिर्सिन नसक्ने विशेषता हुन् र अर्को एउटा अति दुर्लभ बिशेषता भनेको एउटै स्थानबाट दुवै खुट्टा एकै ठाउँमा राखि सुन्दर हिमालय, तराईका समानान्तर फाँटहरु, पहाडका बस्तीहरु र भारतको गोरखपुरसम्म नाङ्गा आँखाले देख्न सकिन्छ । जङ्गलमा पाइने लालिगुराअर्को महत्व र आस्थाको रमण हो लालिगँुरास फुल्ने मौसममा जङ्गल पुरै राताम्मे हुने गर्दछ, त्यतिबेला त्यहाँको वातावरण नै लालिगुराँसमय बन्न पुग्दछ । त्यति मात्रै पनि होइन सयौ भन्दा बढी प्रकारका वन्यजन्तुहरु आ–आफ्नै तालमा नाँचिरहेका हुन्छन्, गाइरहेका हुन्छन् ।

यो पवित्र स्थलको महत्व वुझी झापा जिल्लामा जन्म भै काठमांडू मातातिर्थ निवासी श्री कृष्ण परमाहंस १००८ स्वामी
करिब ३० वर्ष यही पाणिनी तपोभूमिको स्वर्गीय क्षेत्रमा बिताउनुभएको थियो। २०६६ सालमा देहान्त भएका स्व.स्वामी यहीं पढी विद्धान बन्नु भई आफ्नो घर परिवार समेत त्याग गरी तपस्या तथा शान्त प्रकृतिमय वातावरण खोज्दै १४ वर्षसम्म नेपालको पैदल यात्रा गर्नुभएको थियो र पाणिनी तपोभूमि नै आफ्नो लागि योग्य स्थल भएको बताउनुभएको थियो । उहांकै पाला देखि प्रत्येक वर्ष जेष्ठ महिनाको शुरुवातमा यहाँ श्रीमद्भागवत महापुराण, शिव महापुराण, बत्तिस करोड दिव्यदिप प्रज्वलन जस्ता धार्मिक गतिविधिहरु हुँदै आएका छन् । जहाँ प्रत्येक दिन हजार भन्दा बढी भक्तजनहरु तथा मानिसहरु यस तपोभूमिमा आउने गर्दछन् साथै यहाँ श्रावण र माघ महिनाभरि नै विभिन्न धार्मिक कार्यक्रम तथा मेला लाग्ने गर्दछ त्यस बखत यो तिर्थभूमिमा आई स्नान गरे रोग ब्याधी नलाग्ने र सबै मनका मनोकांक्षा पूरा हुने विश्वास छ । स्वर्गीय स्वामीका सेवक तथा तपोभूमि समितिका हालका कोषाध्यक्ष श्री पुष्कर राज पोखरेलको भनाइ अनुसार स्व.स्वामी श्री कृष्णानन्द परमहंस ज्यूले आफ्नो देहान्त हुनु अगाडि अब म १० दिन भित्र मर्छु भनी पणेनाका केही मान्छेलाई मेरो देहलाई यहाँ राख्नु भनी ठाउँसमेत बताउनुभएको थियो नभन्दै उहाले भनेको सातौदिन वहाको देहान्त भएको थियो ।

वहाँको शव यात्राको दिन १००० भन्दा बढि मानिसहरु उपस्थित भएका थिए । त्यस दिन पणेनाका लागि एउटा अभिभावक गुमेको दिन थियो । पछि वहाँको शव गाडेको ठाउँमा अतिनै मनमोहक मन्दिर स्थापना गरिएको थियो । तपस्वी स्व.स्वामी, श्री कृष्णानन्द परमहंसले भन्नुहुन्थ्यो– केही समय यस क्षेत्रमा बिताउने हो भने मानसिक रोगीहरुले मुक्ति पाउन सक्छन् र मानसिक तनाव पनि हुंदैन । साँच्चै नै प्रकृतिमय बनेको पाणिनी तपोभूमि प्रकृतिप्रेमिहरुका लागि त यो गन्तव्य बन्न सक्छ । भनिन्छ पाणिनीले तपस्या गर्नु पूर्व यस स्थानको नाम तुदि भन्ने थियो पाणिनीले तपस्या गरेकै कारण पछि पणेना रहन गयो । अहिले पनि पणेना पोखराथोकमा तुदि भन्ने स्थान छ जुन शब्द पाणिनीले आफ्नो व्याकरणमा पनि प्रयोग गरेको पाइन्छ र उनले तपस्या गरेको स्थान पणेना नै हो भन्ने पनि प्रमाणित हुन्छ । तपोभूमिको केहि तल पर्ने गोरखनाथ मन्दिर र गोपालसिद्घ बाबाको मन्दिर पनि यहाँका आकर्षणका केन्द्रबिन्दु हुन् ।

 

गर्नु पर्ने काम धेरै रहेछन् ।

पाणिनि तपोभूमि जाने बाटो पक्की बनाए पनि बाटोको दुबै तर्फ बनमाराको झाडी नस्ट गरी फूलहरु ढकमक्क फुलेको हुनुपर्छ । बनमारा झारबाट कोइला उत्पादन गरी तपोभूमिको कोष बढाउन जरुरी छ। तपोभूमि क्षेत्रमा पानीको मूल फुटाउने वृ़हरुको पहिचान गरी वृक्षारोपण गर्नु जरुरी छ। उक्त क्षेत्रमा भएको दहमा प्रशस्त पानी रहने व्यवस्था मिलाउंदै दहको उत्तरी कुनाबाट कालीगण्डकी तर्फ जाने पानीको सानो आन्तरिक नहर र दक्षिण कुनाबाट सानै भए पनि वाणगंगा तर्फ पानी जाने आन्तरिक नहर बनाई यस्को मौलिक धार्मिक पक्षको सम्वर्द्धन गर्नु पर्ने देखियो। यस्को साथै धार्मिक बनको एउटा छुट्टै क्षेत्र छुट्टाई सोहि अनुसार वृक्षारोपण गर्नु पर्ने देखियो। सरकारहरुले उक्त प्रशिद्ध क्षेत्रमा बढि बजेट विनियोजन गरी वृहत धार्मिक सम्मेलन स्थल निर्माण गर्नु पर्ने देखियो । राजनैतिक नेताहरुको ध्यान आकर्षित गर्न कहिले काहिं पार्टीहरुले सभा, सम्मेलन र बैठकको आयोजना उक्त स्थलमा गर्नु पर्ने देखियो तर त्यसकालागि एउटा अतिथिशाला बनाई खाना सुत्नको व्यवस्था गर्नु पर्ने देखियो । बंगैचालाई अझै आकर्षक बनाई पर्यटकहरुको मन लोभ्याउने बनाउनु पर्ने देखियो। यस्ता रचनात्मक कामहरु गर्न पाणिनि तपोभूमि विकास गुरु योजना नबनेको भए सर्वप्रथम सो बनाउनु पर्ने देखियो।

 

करिव १ घण्टाको अवलोकन र कोषाध्यक्ष पुष्कर राज पोखरेल जी संगको साक्षात्कारबाट केहि सुझावहरु राखे पनि मेरो अध्ययनमा यो क्षेत्रलाई अहिलेको अवस्थामा ल्याउन गौतम, भट्टराई, पोखरेल, मरासिनीहरुको ठूलो योगदान छ। म पनि भारद्वाज गोत्रीय पोखरेल वंशको भएकोले हाम्रा वंशजहरुको यो तपोभूमिको उन्नयनको लागि अझ ठूलो त्याग होस्। यो भनिरहंदा अन्य थर गोत्रहरुको अवमूल्यन गरेको होइन, अहिले त स्थानीय क्षेत्रका संपूर्ण जात जातीहरुको उत्तिकै सहयोगले सबैको साझा धार्मिक र पर्यटकिय स्थल बन्न गएको छ ।
२०८०/०५/१७

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal