शनिबार, साउन १२, २०८१

कम्युनिस्ट पार्टी भनेको मजदुर-किसानको मित्र हो, पुँजीपति र दलालको पार्टी होइन : मदन भण्डारी (दस्तावेज)

 

१. विषय प्रवेश

अहिले देशको क्रान्तिकारी वामपन्थी राजनीतिमा ‘बहुदलीय जनवाद’ विशेष चर्चा जिज्ञासा र छलफलको विषय बनेको छ। सामन्तवाद दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादको शासन, शोषणलाई समाप्त पारेर स्थापित गरिने जनताको जनवादी व्यवस्थामा पनि संविधानअनुरुपको शासन हुनुपर्छ। बहुदलीय राजनीतिक प्रतिस्पर्धाको राजनीतिक प्रणली हुनुपर्छ। आवधिक रुपमा आमनिर्वाचन हुनुपर्छ। बहुमत ल्याउनेले सरकार बनाउन पाउनुपर्छ र अल्पमतले विपक्षमा बस्नुपर्छ। जनताको मानव अधिकार, नागरिक अधिकारहरुको रक्षा गर्ने जनवादी कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्नुपर्छ। नेकपा (एमाले) ले यी कुराप्रति आफ्नो सैद्धान्तिक तथा राजनीतिक प्रतिवद्धता जाहेर गरेको छ। यस प्रकारको जनताको जनवादी व्यवस्थालाई ‘बहुदलीय जनवाद’को रुपमा प्रस्तुत गरेपछि यो विषय राजनीतिक क्षेत्रमा विवादको केन्द्रविन्दु बनेको छ। दक्षिणपन्थी र वामपन्थी दुवै खाले शक्तिले यस बहसमा भाग लिइरहेका छन्। उग्रदक्षिणपन्थी र उग्रवामपन्थी दुवै कोणबाट अतिवाद ढङ्गले बहुदलीय जनवादको विरोध भइरहेको छ।

बहुदलीय राजनीतिक पद्धतिमा कम्युनिष्टहरुको विश्वासै हुँदैन, तिनीहरु यसलाई अपनाउन नै सक्दैन। कम्युनिष्टहरु एकदलीय अधिनायकत्वको पक्षमा हुन्छन्। एमालेले जनतालाई धोका दिएर सत्ता हात पार्नका निम्ति मात्र यो दाउपेच खेलिरहेको छ भन्ने प्रचार उग्रदक्षिणपन्थी तत्वहरुले गरिरहेका छन् भने बहुदलीय प्रतिस्पर्धाको राजनीतिक पद्धति माक्र्सवादी लेनिनवादसम्मत हुनै सक्दैन, कम्युनिष्टहरुले त्यस्तो पद्धति अपनाउनु हुँदैन, यो त संशोधनवाद हो, पूँजीवादपन्थी विचार हो भनेर उग्रवामपन्थी तत्वहरुले विरोध गर्दैछन्। बहुदलीय जनवाद सामान्यतया परम्परागत विश्व कम्युनिष्ट आन्दोलनका परिप्रेक्ष्यमा कतिपय महत्वपूर्ण सन्दर्भबाट नयाँ र विकासित अवधारणा पनि सैद्धान्तिक तहबाट अहिले यसको पर्याप्त व्याख्या विश्लेषक नभइसकेको हुनाले कतिपय इमान्दार क्रान्तिकारी वामपन्थीहरुलाई पनि अहिले यस सवालमा केही भ्रम रहेको हुन सक्छ। औसरवादी तत्वहरुले त भ्रम फैलाउनका निम्ति यथासम्भव कोशिस गरिरहेकै पनि छन्।

सामन्ती निरङ्कुशतावादी निर्दलीय पद्धतिलाई समाप्त गरेर अहिले देशमा बहुदलीय राजनीतिक पद्धति स्थापित भएको छ । त्यसकारण वर्तमान राजनीतिक व्यवस्था र बहुदलीय जनवादमा कुनै भिन्नता छैन भन्ने चिन्तनबाट समेत भ्रमहरु उत्पन्न भएका हुन सक्छन्। बहुदलीय जनवाद आर्थिक सामाजिक पद्धति होइन, राजनीतिक पद्धति मात्र हो र नयाँ जनवाद चाहिँ आर्थिक सामाजिक पद्धति हो भन्ने सोंचाइका आधारमा पनि भ्रमहरु उत्पन्न भएका हुन सक्छन्। बहुदलीय जनवाद राजनीतिक पद्धति मात्र भएको हुनाले र अहिले पनि छ भन्ने निष्कर्ष कसैले बनाएको हुन सक्छ। त्यसकारण बहुदलीय जनवादका सम्बन्धमा उत्पन्न केही भ्रम र विरोधहरलाई खण्डन गर्नु जरुरी पनि भएको छ। यद्यपि बहुदलीय जनवादका प्रसङ्गमा अहिले क्रान्तिको बाटो र सङ्घर्षको रुप र तरीकाहरुको प्रश्न पनि उठाइएको छ। त्यसरी नै अधिनायकत्वको प्रश्न र समाजवादमा सङ्क्रमण गर्ने प्रश्न पनि उठाइएको छ। यी विषयहरु स्वाभाविक रुपमा सम्बन्धित भए पनि तिनीहरुको आवश्यक चर्चा अरु कुनै बेला गरौंला। यहाँ हामीले अघि सारेको बहुदलीय जनवाद आफैमा कस्तो व्यवस्था हो भन्ने सम्बन्धमा मात्र विचार प्रस्तुत गर्न सकिन्छ।

मार्क्सवाद लेनिनवादलाई जडसुत्रको रुपमा ग्रहण गर्ने र गतिशील रचनात्मक विचार विज्ञानको रुपमा ग्रहण गर्ने दुई वटा फरक फरक शैली र दृष्टिकोणहरु छन्। इमान्दार क्रान्तिकारी कम्युनिष्टहरुले अपनाउने दृष्टिकोण पहिले होइन, दोस्रो हो। प्रस्तुत विषयको विश्लेषण गर्न र बुझ्न पनि हामीलाले यही दृष्टिकोण अपनाउनु पर्छ।

२. जनवाद

जनवाद भनेको मूलतः आर्थिक सामाजिक पद्धतिको नाम हो कि राजनीतिक पद्धतिको नाम हो ? जनवादलाई प्रमुख रुपमा आर्थिक, सामाजिक कोणबाट व्याख्या गर्ने कि राजनीतिक कोणबाट ? यस विषयलाई सम्भवतः यसरी पहिला कहिल्यै पनि प्रस्तुत नगरिएको हुन सक्छ। तर, पनि यो आवश्यक छ कि जनवाद मूलतः कुन पद्धति हो ? ऐतिहासिक भौतिकवादले अर्थतन्त्र र राजनीतिको घनिष्टतम् अन्तर्सम्बन्धबारे पर्याप्त व्याख्या गरेको छ र त्यसको सत्यता प्रमाणित पनि भइसकेको छ। राजनीतिक अर्थतन्त्रकै केन्द्रित अभिव्यक्ति हो र त्यो आर्थिक पद्धतिमै आधारित पनि हुन्छ। तर, त्यसले अर्थतन्त्रको विकासमा ठोस प्रभावित पनि पार्छ।

यसरी राजनीति र अर्थतन्त्रको बीचमा पारस्परिक अन्तरक्रिया हुन्छ। कुनै पनि समाज व्यवस्थाका निम्ति आर्थिक पद्धति अर्थात् उत्पादन पद्धतिले आधारको काम गर्छ भने राजनीतिमा त्यो केन्द्रित भएर अभिव्यक्त हुन्छ। यसका आधारमा जनवादको राजनीति र अर्थतन्त्र दुवै पक्षसँग घनिष्ट अन्तर्सम्बन्ध रहेको हुन्छ भन्ने कुरा स्पष्ट छ। यो राजनीति र अर्थतन्त्रको एकताको पक्ष हो। तर, यसमा भिन्नताको पक्ष पनि छ। जब हामी सम्पूर्णतालाई ख्याल गर्दै भिन्नताको पक्षबाट पनि चर्चा चलाउन चाहन्छौं भने जनवाद मूल रुपमा आर्थिक पद्धतिको नाम होइन, राजनीतिक पद्धतिको नाम हो भन्ने कुरा छर्लङ्ग हुन्छ। जनवाद मूलतः राजनीतिको नाम हो, समाजको माथिल्लो ढाँचा हो। त्यसको आधार होइन, अधिरचना हो। समाजमा राजनीति गर्ने स्वतन्त्रता कसलाई उपलब्ध छ, राज्यको सञ्चालन कसको हातमा छ र राजकीय मामिलाहरुको अन्तिम फैसला कसले गर्छ भन्ने राजनीतिक पद्धतिसँग सम्बन्धित विषय हो।

आम रुपमा राजनीतिमा दुईवटा पद्धति ज्ञात छन्। एउटा निरङ्कुशतावादी र अर्को जनवादी यद्यपि विशेष स्थितिमा यी दुवै वटा अनेक रुप र अभिव्यक्तिहरु हुन सक्छन्। व्यक्ति, वंश वा गुटको तानाशाही भएको राजतन्त्र, सैनिक तानाशाही वा एकदलीय तानाशाही जस्ता निरङ्कुशतावादी पद्धतिका अनेक रुप सक्छन् भने जनवादी राजनीतिक पद्धतिको पनि ऐतिहासिक विकासक्रमसहित स्वरुपमा विविधता रहेको छ। एकदलीय द्विदलीय वा बहुदलीय जनवादी पद्धति हुन सक्छन्। राज्यसत्ता राजनीतिको केन्द्रविन्दु हो र आफै अरु वर्गलाई अधीनमा राख्ने र उत्पीडन गर्ने साधनको रुपमा रहँदै आएको छ। व्यक्ति वंश वा अल्पमतको गुट तथा वर्गको उत्पीडनकारी शासन, शोषणको विरुद्ध त्यस बेलादेखि नै जनताले जीवनको अधिकारका निम्ति दमनका विरुद्ध बहुमतको अधिकारका निम्ति इतिहासमा गरिएका पुराना सङ्घर्षहरु जनवादका पूर्वरुप हुन् र त्यसका अतीत पनि हुन्। दास स्वामित्वको युगदेखि सामन्ती युगसम्म व्यक्ति, वंश वा गुटको निरङ्कुशतावादी समाज वर्गमा विभाजन भएर शोषक र शोषित वर्गको उदय भएपछि र अझ शोषक वर्गभित्रै पनि अभिजात्य तत्वहरुको समाज अधिकारका निम्ति पनि सङ्घर्षहरु भएका छन्। जनवादको ऐतिहासिक विकासक्रमलाई सङ्केत गर्दै लेनिनले सामन्ती अभिजात्य जनवाद, पूँजीवादी जनवादबारे विश्लेषण गर्नुभएको छ। समाजवादी जनवादका बारेमा पनि राजनीतिक साहित्यमा आजसम्म पर्याप्त प्रकाश पुगिसकेको छ। जनवादसम्बन्धी अवधारण र प्रयोग लगातार विकास परिमार्जन र प्रगति भइरहेको छ। यो कुनै गति र परिवर्तन बिनाको जड विषय होइन। अन्तिम निष्कर्षमा जनवाद भनेको कुनै पनि किसिमको निरङ्कुशतावादी एकाधिकारवादको विरुद्ध आम जनताको पूर्ण अधिकार स्थापना गर्ने, राजनीति र सत्तामा जनतालाई अन्तिम रुपमा निर्णयक तत्व बनाउने र जनतालाई नै देशको सार्वभौमिकताको एक मात्र वास्तविक मामिला बनाउने व्यवस्थाको कुरा हो। उत्पादन पद्धतिको विकास र समाजको भौतिक उत्पादनका आर्थिक क्रियाकलापहरुका विकासका साथसाथै जनताको परिभाषा र भूमिका पनि विकसित हुन्छ। जनवादको स्वरुप र अन्तर्वस्तुमा पनि विकास हुन्छ। यसले के जाहेर गर्छ भने जनवाद मूल रुपमा राजनीतिक पद्धतिको विषय हो। तर, जनतालाई आर्थिक सामाजिक शोषणबाट पूर्ण मुक्तिको अधिकार बिना जनवाद निरर्थक विषय हुन्छ। वर्गीय सारत्व बिनाको जनवाद खोक्रो शब्दावली मात्र हो। खोक्रो शब्दावलीको निरर्थक प्रयोग जनतालाई छलछाम गर्ने र राजनीतिक ठगी गर्ने विषय बन्न सक्छ। जनतालाई अधिकार सम्पन र निर्णयक बनाउन हुन सक्दैन। यसबाट के स्पष्ट हुन्छ भने जनताको मुक्तिको आर्थिक अधिकार बिना जनवाद सार्थक, सही र वास्तविक हुन सक्दैन। तर, पनि जनवादलाई जुनसुकै युगमा पनि मूल रुपमा राजनीतिक पद्धतिको स्थापना गर्ने क्रममा नै जनवादले ठोस लक्षणहरु सहित ग्रहण गरेको हो, अहिले त्यसमा धेरै विकास भइसकेको छ।

३. पुरानो जनवाद

साम्राज्यवाद र सर्वहारा क्रान्तिको नयाँ युगमा आएर जनवादलाई विश्वव्यापी रुपमा नयाँ र पुरानो भन्ने विभाजन गर्नुपर्ने आवश्यकता र स्थिति उत्पन्न भयो, जसलाई पुरानो जनवाद भनिन्छ। त्यो पनि जनताका आर्थिक अधिकारसहितको जनवाद थियो र एक अर्थमा त्यो वास्तविक जनवाद नै थियो। त्यो पुरानो पूँजीवादी विश्वक्रान्तिको जमानाको जनवाद थियो। राजतन्त्र, एकतन्त्र र सामन्तवादलाई उन्मुलन गर्ने क्रममा स्थापित भएको जनवाद थियो। त्यसले सामन्ती उत्पादन पद्धतिलाई नष्ट गरेर पूँजीवादी उत्पादन पद्धतिको स्थापना गर्‍यो। सामन्ती निरङ्कुशतावादको स्थानमा पूँजीवादी जनवादको स्थापना गर्‍यो। त्यसले आधुनिक राष्ट्रहरुको निर्माण गर्‍यो। त्यो पुरानो जमाना थियो। जति बेला पूँजीपति वर्ग र अन्य सम्पूर्ण श्रमजीवी जनताहरु संश्रयकारी शक्तिको रुपमा अर्कोतिर पंक्तिवद्ध भएर वर्गीय तथा राजनीतिक शक्ति सन्तुलन तयार भएको थियो। पूँजीपति वर्गले परिर्वतनको नेताको रुपमा भूमिका खेलिरहेको थियो भने श्रमजीवी जनताहरु सहकर्मी सहयोगको रुपमा भूमिका खेलिरहेका थिए। सामन्ती शोषणबाट किसानहरुलाई मुक्त गर्न जमिन जोत्नेको नारा दिइएको थियो। सामन्ती भूस्वामित्वलाई अन्त्य गरी भूमिमा क्रान्तिकारी सुधार परिवर्तन गर्ने लक्ष्य लिइएको थियो। राजतन्त्र र सामन्तवादका विरुद्ध जनवादको निम्ति सङ्घर्ष गर्दा त्यस बेला एक हदसम्म वास्तविक जनवादलाई नै अघि सारिएको थियो र त्यो पूँजीवादी जनवाद थियो। त्यो जमाना प्रतियोगी पूँजीवादको जमाना थियो। किसानहरु र आमजनताको क्रयशक्ति बढाएर नै पूँजीपति वर्गको विकास हुन सक्थ्यो र उसले बढी मुनाफा पनि जम्मा गर्न सक्थ्यो। त्यसकारण पुरानो जनवाद पनि एक हदसम्म आर्थिक अधिकारसहितको जनवाद थियो। तर, त्यो जनवादी क्रान्तिका सकारात्मक शक्तिहरुमा पूँजीपति वर्ग नेता थियो र त्यसले आफ्नो नेतृत्वमा पूँजीवादी राज्य र पूँजीवादी अधिनायत्वको स्थापना गर्‍यो।

राज्यसत्ता एकलौटी रुपमा आफ्नो हातमा कब्जा गरेर पूँजीपति वर्गले आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा अझ बढी प्रभावशाली रुपमा सुसङ्गठित हुने र विकास गर्ने मौका पायो। स्वतन्त्र होडबाजीकै क्रमबाट एकाधिकार पूजीपतिहरुको गुटले स–साना पूँजीपतिहरुलाई नियन्त्रण गर्न र निल्न थाल्यो। राज्यसत्तामा पनि तिनीहरुकै एकाधिकावादी कब्जा बढ्दै गयो। मजदुर वर्गले पनि स्वतन्त्र रुपमा सङ्गठित भएर पूँजीवादी शासन र शोषणका विरुद्ध सङ्घर्ष गर्नु अपरिहार्य भयो। ठूलो पूँजीपतिवर्गको एकाधिकारवादी शासनमा आम जनवाद केवल औपचारिक पुरा गर्ने खोक्रो शब्दावलीमा परिणत हुँदै गयो। यसरी पुरानो जनवाद पूँजीपति वर्गको नेतृत्व र अधिनायकत्वमा आम जनताका निम्ति औपचारिक जनवाद बन्न पुग्यो। वास्तविक जनवादका निम्ति जनता स्वयं अघि सरेर सङ्घर्षद्वारा विजय प्राप्त गर्नु अनिवार्य भयो।

पुरानो जनवादी स्वयं नै एकाधिकार पूँजीवाद, साम्राज्यवाद र फासीवाद होइन, जनवाद नै फासीवादमा परिणत भएको पनि होइन। क्रान्तिका फलहरुमाथि पूँजीपति वर्गले एकलौटी कब्जा गरी यो क्रमशः पूँजीपति वर्ग एकाधिकारवादी साम्राज्यवादी र फासीवाद बन्यो । पुरानो जनवादमा सकारात्मक भूमिका खेल्ने वर्ग र राजनीतिक शक्तिहरुको चरित्र र भूमिकामा परिवर्तन आयो। पुरानो जनवादको राजनीतिक बनावट (composition) बदलियो। पूँजीपति वर्ग जनताको मित्रबाट बदलिएर शत्रु बन्यो। जनवादी क्रान्तिद्वारा स्थापित पूँजीवादी राज्यको आम जनतामाथि घोर दमन र उत्पीडन गर्न थाल्यो। त्यसकारण पुरानो जनवाद फासीवादमा बदलिएको होइन, पूँजीपति वर्गले जनवाद छोडेर औपचारिकतावादी हुँदै फासीवाद अवलम्बन गरेको हो। जनताको संश्रयकारी शक्तिको रुपमा रहेको पूँजीपति वर्ग पछि फर्किएर सामन्त वर्गसँग संश्रय कायम गर्न थाल्यो। जनताको जनवादको शत्रुका रुपमा परिणत भयो। यसरी पूँजीपति वर्गको प्रगतिशीलता समाप्त भयो, भूमिका फेरियो र वर्गीय तथा राजनीतिक शक्तिहरुको सन्तुलनमा हेरफेर भयो। यसरी पुरानो जनवाद पूँजीवादी विश्व क्रान्तिको कालको, पूँजीपति वर्ग जनताको मित्रशक्ति र नेता भएको बेलाको, त्यसले प्रगतिशील भूमिका खेलिरहेको बेलाको जनवाद हो। अहिले सर्वहारा समाजवादी विश्व क्रान्तिको बेला, पूँजीपतिवर्ग प्रतिगामी र जनताको शत्रु भएको बेलामा जनवादका शत्रुमित्रहरु र वर्ग तथा राजनीतिक शक्तिहरुको भूमिकामा हेरफेर भएको छ। जनवादी क्रान्तिको परिवेश र स्थिति नयाँ बनेको छ। अब विश्व पूँजीवाद जनताको वास्तविक जनवादको पक्षमा रहेको छैन।

मजदूर वर्गले आफ्नो मुक्ति र समृद्धि आफ्नै हातले निर्माण गर्नुपर्छ। आम जनताले आफ्नो निम्ति जनवाद आफ्नै हातले स्थापना गर्नुपर्छ। आम जनताको निम्ति वास्तविक जनवाद बिना मजदूर सर्वहारा श्रमजीवी जनताको निम्ति मुक्ति र समृद्धिको परिस्थति तयार गर्ने पनि अर्को कुनै बाटो छैन। त्यसकारण आम जनताको जनवादको निम्ति मजदुर वर्गले अग्रिम मोर्चामा उभिएर दृढतापूर्वक सङ्घर्ष गर्नु अनिवार्य भयो। मजदुर वर्गको नेतृत्वमा आम जनताको स्थिति तयार गर्नुबाहेक अर्कोे विकल्प रहेन। त्यसकारण जनवादलाई पनि नयाँ र पुरानोमा वर्गीकरण गर्नुपर्ने आवश्यकता उत्पन्न भएको हो।

नयाँ जनवाद

एकाधिकार पूँजीवादको उदय भएदेखि नै पूँजीपति वर्ग आम जनताको शत्रु बनिरहेको थियो। त्यसका विरुद्ध सर्वहारावादी स्वतन्त्र राजनीतिक शक्तिको निर्माण गरी वर्गसङ्घर्ष पनि तीब्र बनिरहेको थियो। सोभियत समाजवादी क्रान्तिको सफलतासँगै विश्वव्यापी रुपमा साम्राज्यवाद र सर्वहारा क्रान्तिको नयाँ युगको शुरुवात भयो। त्यसले विश्वव्यापी रुपमा वर्ग, राजनीतिक शक्ति र राष्ट्रहरुलाई ध्रुवीकरण गर्ने काम गर्‍यो। विश्वव्यापी रुपमा न्यायका शक्तिहरु समाजवादको पक्षमा र अन्यायका शक्तिहरु साम्राज्यवादको पक्षमा उभिए। सामन्तवाद र एकतन्त्रलाई उन्मुलन गर्ने र पूँजीवादी जनवादको स्थापना गर्ने सामाजिक क्रान्तिको कार्यभार पुरा गरिरहेको पछौटे मुलूकका न्याय र क्रान्तिका शक्तिहरुले पनि साम्राज्यवादका विरुद्ध समाजवादको पक्षमा उभिनु अनिवार्य भयो। त्यस्ता देशका सामन्ती निरङ्कुशवादी तत्वहरु र वैदेशिक पूँजीवादका दलालहरु समाजवादका विरुद्ध साम्राज्यवादको सेवा र तावेदारीमा हाजिर भए। यसरी आजको नयाँ युगको जनवाद पहिलाको जस्तो सामन्तवाद विरोधी मात्र होइन, साम्राज्यवादको समेत विरोधी जनवाद हो। सामन्ती निरङ्कुशतावादी र एकतन्त्रलाई समाप्त पार्ने एतिहासिक कार्यभार साम्राज्यवादको शोषण उत्पीडनलाई समाप्त पारी राष्ट्रको स्वाधिनता हासिल गर्ने कार्यभारसँग घनिष्ट रुपले गाँसिएको छ। त्यसकारण यस्तो क्रान्तिको नेतृत्व मजदुर सर्वहारा श्रमजीवी वर्गबाट हुनु अनिवार्य भएको छ र त्यसैको नेतृत्वमा आम जनताले जनवादको निम्ति सङ्घर्षमा अघि बढ्नु अनिवार्य भएको छ। विश्व पूँजीवाद सामन्तवादको संश्रयकारी भएको छ। अब त्यसले सामन्ती भू–स्वामित्वका विरुद्ध जोत्नेलाई जमिनको नारा दिएर क्रान्तिकारी भूमिसुधारको पक्षपोषण गर्न सक्दैन। अहिले पूँजीपति बढी उदार भएको खण्डमा त्यसले औपचारिक जनवादसम्मलाई समर्थन गर्दैन। सामन्तवाद र साम्राज्यवाद एकतावद्ध भएका छन्। जनता र राष्ट्रको शोषण उत्पीडन गर्ने र दासत्व र पराधिनको खाल्टोमा हाल्ने यिनीहरु नै हुन्। त्यसकारण सामान्तवाद साम्राज्यवादको अन्त्य नगरी न त सामाजिक मुक्ति सम्भव छ, न राष्ट्रको स्वाधीनताबिना जनताको वास्तविक जनवादको कल्पनासम्म पनि गर्न सकिन्न।

युग फेरिएको, वर्गीय राजनीतिक तथा सामाजिक शक्तिहरुको भूमिका फेरिएको, साम्राज्यवाद विश्वका जनता र साना कमजोर राष्ट्रको शत्रु र समाजवाद न्यायप्रेमी विश्व जनता र राष्ट्रको मात्र भएको यही पृष्ठभूमिमा जनवादलाई पनि पुरानो र नयाँ परिप्रेक्ष्यबाट व्याख्या गरिएको छ। यही सन्दर्भमा जनवादलाई नयाँ जनवादका रुपमा व्याख्या गरिएको छ। वास्तवमा पुरानो जनवाद र नयाँ जनवाद बीचका भिन्नताहरु के–के हुन्। यी दुईबीचको समानता र भिन्नताबारे ठोस रुपमा ध्यान नदिएर पनि कतिपय व्यक्तिहरुमा भ्रम परेको हुन सक्छ। नयाँ जनवाद भिन्नै उत्पादन पद्धति र सामाजिक आर्थिक ढाँचा भएको नयाँ विषय हो भन्ने परेको हुन सक्छ। यसलाई ख्याल गर्दै यहाँ केही समानता र भिन्नताबारे चर्चा गर्नु राम्रो हुनेछ। सामन्तवादलाई उन्मुलन गर्ने, राजतन्त्र, कुनै पनि प्रकारको एकतन्त्र र अनिर्वाचित सत्तालाई अन्त्य गर्ने सामन्ती भू–स्वामित्वको अन्त्य गरी जोत्ने किसानलाई जमिनको मालिक बनाउने लक्ष्य कार्यभारहरु पहिला र अहिले पनि समान छन्। भिन्नताको पक्षलाई हेर्ने हो भने पहिला पूँजीवादी विश्व क्रान्तिको युग थियो। अहिले सर्वहारा समाजवादी क्रान्तिको युग छ। पहिला पूँजीपति वर्ग जनताको पक्षमा थियो र क्रान्तिको नेता थियो, अहिले विपक्षमा छ र शत्रु बनेको छ। पहिला मजदूर सर्वहारावर्ग सहयोगीको रुपमा थियो अहिले नेताको स्थितिमा छ। पहिला साम्राज्यवादको उदय भएको थिएन, बरु पूँजीवादी क्रान्तिले आधुनिक राष्ट्रहरुको निर्माण गरिरहेको थियो, अहिले साम्राज्यवाद छ। र, पछौटे र कमजोर राष्ट्रहरुलाई प्रत्यक्ष वा परोक्ष रुपमा कब्जा गरिरहेको छ। पहिला पूँजीपति वर्ग र जनतामा एकता थियो सामन्त वर्गसँग शत्रुता थियो अहिले पूँजीपति र सामन्त वर्गबीच एकता छ। पहिला समाजवाद अस्तित्वमा थिएन, अहिले अस्तित्वमा छ र जनवादी आन्दोलनको अन्तर्राष्ट्रिय मित्रको रुपमा छ। पहिला दलाल पूँजीवाद थिएन, अहिले छ र त्यसले राष्ट्रिय पूँजीवादको विकासमा बाधा दिइरहेको छ। यसरी पहिला र अहिले युगमा, वर्गीय, राजनीति सामाजिक शक्तिको भूमिकामा, क्रान्तिका शत्रु र मित्रहरुमा भिन्नता छ । तर, कतिपय सवालमा समानता पनि छ। समानताको पक्षको क्रान्तिको आधारभूत चरित्र पूँजीवादी जनवाद नै हो भन्ने कुरालाई स्पष्ट पार्छ भने भिन्नताको पक्षले नयाँ युग र नयाँ परिवेशमा त्यो क्रान्ति सम्पन्न गर्नुपर्छ भन्ने कुरालाई जाहेर गर्छ। पुरानो जनवाद पूँजीपति वर्गको नेतृत्व भएको पूँजीवादी राज्यअन्तर्गत थियो भने नयाँ जनवाद मजदुर सर्वहारा श्रमजीवी जनताको नेतृत्व भएको आम जनताको संयुक्त राज्यअन्तर्गत रहने छ। पहिलाको जनवाद सामाजिक चरित्रको हिसाबले मात्र परिचित थियो भने अहिलेको जनवाद राष्ट्रिय चरित्रको हिसाबले पनि परिचित छ। पुरानो जनवाद साम्राज्यवाद विरोधी र समाजवाद समर्थ थिएन, अहिलेको जनवाद साम्राज्यवाद विरोधी र समाजवादको समर्थन मात्र होइन, समाजवादमा सङ्क्रमण गर्ने लक्ष्य लिएको छ। यस्ता अनेकौं समानता र भिन्नताका पक्षहरुको विश्लेषणबाट के निष्कर्ष देखिन्छ भने नयाँ र पुरानो जनवादबीचको भिन्नता राजनीतिक विषयसँग सम्बन्धित छ। आर्थिक सामाजिक पद्धति उत्पादन पद्धतिकै हिसाबले भने भिन्न होइन। यद्यपि साम्राज्यवाद, वैदेशिक एकाधिकार पूँजीवाद र दलाल पूँजीवादका शोषण उत्पीडन र एकाधिकारवादी कारोबारलाई समाप्त पारेर खासखास महत्वपूर्ण क्षेत्रमा राजकीय स्वामित्वको स्थापना गरिन्छ। तर, त्यसले क्रान्तिको आधारभूत उत्पादन पद्धतिलाई नै हेरफर गर्ने काम गर्दैन। नयाँ जनवादी समाज व्यवस्थाको आधारभूत उत्पादन पद्धतिमा पूरानो जनवाद खडा भएको थियो, नयाँ जनवादको आधारभूत पद्धति पनि त्यही नै हो। तर, त्यो समाजलाई सञ्चालन नियन्त्रण नेतृत्व गर्ने वर्ग, राजनीतिक शक्ति र राज्य भने निश्चित रुपमा फरक हुनेछन्। यो भिन्नता मुल रुपले राजनीतिक भिन्नता नै हो। जनताले देशको राजनीति, राज्यसत्ता र सार्वहारा तथा राजकीय मामिलाहरुमा अन्तिम एवं निर्णयक फैसला गर्न पाउनुपर्छ। देशको सार्वभौमिकताको वास्तविक मामिलाको रुपमा जनताले भूमिका खेल्न पाउनुपर्छ। जनतालाई यो भूमिकामा पूर्ण क्षमताका साथ उतार्नका निम्ति समान्तवाद, दलाल, नोकरशाही पूँजीवाद र साम्राज्यवादको शोषण उत्पीडनलाई समाप्त पार्नुपर्छ। युग समय र परिस्थितिका आधारमा बदलिएको राजनीतिक विषयहरुलाई ठीक ढङ्गले बुझेर मात्र जनताको जनवादी क्रान्तिलाई ठीक ढङ्गले निर्देशित गर्न र त्यसमा भाग लिन सकिन्छ।

५. बहुदलीय जनवाद

हामी जनताको जनवादलाई बहुदलीय जनवाद पनि भनिरहेका छौं। हामीले अघि सारेको जनवाद नयाँ युग र परिस्थितिका अनिवार्य विशेषताहरुका साथमा कायम गरिने नयाँ जनवाद नै हो। तर, यसमा केही नयाँ अनेकौं ठाउँमा प्रयोग गरिएको नयाँ जनवाद भन्दा कतिपय भिन्न रुप तरीका र नीतिहरु हामीले समावेश गरेका छौं। तर, त्यसको सैद्धान्तिक र वस्तुगत आधार भने उही नै छ। सामन्तवाद दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादको शासन, शोषणलाई समाप्त पारेर पनि जनवादी समाजमा वर्गहरु रहन्छन्। प्रतिगामी पुनरुत्थानवादी तत्वहरुलाई प्रतिबन्धित गरेर पनि समाजमा विद्यमान अरु विचार विविधताहरु कायम नै रहन्छन्। विभिन्न ठाउँमा प्रयोग भएको नयाँ जनवादमा विभिन्न राजनीतिक पार्टीहरु र विचारका विविधताहरुलाई कम्युनिष्ट पार्टी र सरकारको सहयोगीको रुपमा त स्वीकार गरियो। तर, वैधानिक रुपमा विपक्षको औसर दिइएन। एकता र सहयोग बल प्रयोग गरेर वा अन्य बाटाहरु थुनेर निषेध गरेर करकापले होइन, स्वेच्छा जगाएर मन जितेर गरिनुपर्छ। विरोध गर्ने अधिकार दिएर मात्र साँचो समर्थन प्राप्त गर्न सकिन्छ, फुट्ने छुट दिएर मात्र साँचो एकता प्राप्त गर्न सकिन्छ। हामी जनवादी व्यस्थामा विपक्षको वैधानिक अस्तित्व कायम गर्न चाहन्छौं। यसका निम्ति बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली, स्वतन्त्र निर्वाचन बहुमतको सरकार र अल्पतको विपक्षलाई संवैधानिक रुपमा संस्थागत गर्न चाहन्छौं। निश्चित रुपमा आजसम्मको नयाँ जनवादको प्रयोग यो नयाँ विषय हो।

हाम्रो यही कुरालाई लिएर विभिन्न शङ्का, विरोध र आरोपहरु उरालिएका छन्। उग्रदक्षिणपन्थीहरुले लगाएको आरोपको सारतत्व हाम्रो वर्गीय दृष्टिकोण, अडान र चिन्तनमाथि प्रहार हो। वर्गसङ्घर्ष वर्गीय राज्य र वर्गीय नेतृत्व सम्बन्धित हाम्रो अडान नरहोस् र बुर्जुवाहरुको जस्तो जनतालाई ढाट्नका निम्ति अवगीय राज्य वा शोषण र शोषित सबैको साझा र पवित्र राज्यको समर्थनमा आउन् भन्ने चाहन्छन्। यसकै आधारमा तिनीहरु कम्युनिष्टहरु बहुदलीय पद्धतिमा विश्वास गर्दैनन्, एकदलीय अधिनायकत्व कायम गर्छन् भनेर प्रचार गरिरहेका छन्। जब जनवादी समाजमा अनेक वर्गहरुको अस्तित्वप्रति कम्युनिष्टहरु स्पष्ट छन् र त्यसलाई समर्थन गर्छन् भने भिन्नभिन्नै वर्ग र समूहहरुका विचारहरु अलग अलग हुन सक्छन् भन्ने कुराप्रति अविश्वास गर्ने प्रश्नै उठ्दैन। त्यस्ता विचारहरुका बीचमा सङ्गठित ढङ्गले स्वस्थ प्रतिस्पर्धा हुन दिनुपर्छ भन्ने कुराप्रति बुर्जुवाहरुभन्दा कम्युनिष्टहरु नै बढी प्रतिवद्ध छन्। तर, यसको नाममा प्रतिगामी पुनरुत्थानवादी तत्वहरुलाई मनपरी गर्न छुट दिनुपर्छ भन्ने मान्यता हुन सक्दैन र त्यो जनवाद पनि होइन। उग्रवामपन्थीहरु बहुदलीय प्रतिस्पर्धाको पद्धति कम्युनिष्टको होइन, पूँजीवादपन्थीहरुको हो भन्ने प्रचार गर्दैछन्। यसो भनेर साँच्चै उनीहरु एकदलीय अधिनायकवादका पक्षमा उभिएका छन् र माक्र्सवादको झण्डा उठाएर त्यसको विरोेध गरिरहेका छन्। तिनीहरु अनुभवबाट कुनै शिक्षा लिन चाहँदैनन्। नयाँ समस्या र आवश्यकताहरु पुरा गर्न रचनात्मक ढङ्गले अघि बढ्न चाहँदैनन्। देश, काल परिस्थितिको सीमाभित्र प्रयोग भएका सापेक्ष कुराहरुलाई निरपेक्ष, शाश्वत र सार्वभौम बनाउन चाहन्छन्। मार्क्सवादले न त कहीं एकदलीयताको सिफारिस गरेको छ न समर्थन गरेको छ। उग्रवामपन्थी जडसुत्रवाद मार्क्सवादको नाममा त्यसलाई विकृत र कमाजोर बनाउने सबैभन्दा निन्दनीय तरीका हो। जनवादलाई यदि त्यसको वास्तविक अर्थमा लिन हो भने त्यो जनतालाई सर्वोपरि तत्व बनाउने राजनीतिको अन्तरर्वस्तु हो। त्यो जनवादमा बहुदल, दुईदल वा एकदल के छ भन्ने कुरा त्यसको स्वरुपको पक्ष हो। एकदल हुँदा त्यहाँ जनवाद हुँदैन र बहुदल हुनासाथ जनवाद भइहाल्छ भन्ने ठान्नु गलत सोंचाइ हो। जनताले वास्तविक रुपमा र निर्वाध ढङ्गले राजनीतिमा राज्यसत्तमा र राजकीय मामिलाहरुमा निर्णायक भूमिका खेल्न पाएका छन् कि छैनन्, देशको सार्वभौमिकता वास्तविक मालिक हुन पाएका छन् कि छैनन् भन्ने कुरा नै जनवादको निर्णयकत्व हो। आर्थिक सामाजिक शोषणबाट पूर्ण मुक्तिको अधिकार बिना जनताले त्यस्तो भूमिका खेल्न सक्दैनन्। राजनीतिक दलहरु जनतालाई निर्णायक राजनीतिक भूमिकामा उतार्ने माध्यम र महत्वपूर्ण तत्व हुन्। तर, जनवादको सबैथोक भने होइन। एकदलीयता भए पनि यदि जनताले त्यस्तो भूमिका खेल्न पाएका छन् भने त्यहाँ जनवाद छैन भन्नु गलत हुन्छ। के ७४ वर्षसम्म सोभियत सङ्घमा जनवाद थिएन ? के चीन, कोरिया, भियतनाम र क्युबामा अहिलेसम्म पनि जनवाद छैन। यथार्थलाई सम्मान गर्नेले यसको नकारात्मक जवाफ दिन सक्दैनन्। एक दलीयता हुँदा वा बहुदलीय प्रतिस्पर्धा नहुँदा पनि जनवाद हुनसक्छ भन्ने कुराको यो राम्रो उदारण हो। अर्कोतिर के भारतमा साँचो अर्थमा जनवाद छ ? भारतीय जनताले त्यहाँको राजनीतिमा वास्तविक रुपमा र निणर्यक ढङ्गले भाग लिन पाएका छन्। भारतको वास्तविक मालिकको रुपमा त्यहाँका आम जनताले भूमिका खेल्न पाएका छन् ? यथार्थलाई सम्मान गर्नेले यसको सकारात्मक जवाफ दिन सक्दैनन्। तर, भारतमा बहुदलीय प्रतिस्पर्धाको प्रणाली बनाउने र अल्पमतले विपक्षमा बस्ने संवैधानिक व्यवस्था छ। त्यसकारण बहुदलीय प्रतिस्पर्धा भए पनि वास्तविक जनवाद नहुन सक्छ भन्ने कुराको यो आँखा अगाडिको उदाहरण हो। त्यसकारण जनवादको निर्णायक तत्व बहुदलीय वा एकदलीयता होइन। जनताको राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको कुरा हो, त्यसलाई प्रयोग गर्ने क्षमता र परिस्थतिको कुरा हो। प्रतिगामी धरातलमा उभिएको औपचारिक कथित् जनवाद जनवादको नाममा जनता ठग्ने नाटक मात्र हुन्छ। पद, पैसा शक्ति प्रयोग गरेर जनतको नाममा शोषक वर्गले जनतामाथि शोषण र उत्पीडनको शासन गर्ने कुरा हो, त्यसकारण जनवादलाई सबैभन्दा पहिला स्वतन्त्र रुपमा त्यसका अन्तर्वस्तुका साथमा बुझेर पद्धतिको हिसाबले बहुदलीय वा एकदलीय पद्धति अपनाउने हो भन्ने कुराको फैसला गर्नुपर्छ। हामी आफ्नो देशको वस्तुगत स्थिति, मार्क्सवाद लेनिनवादका सैद्धान्तिक मान्यताहरु, विश्व कम्युनिष्ट आन्दोलनको अनुभव र मुलूकको आवश्यकताको आधारमा यो पक्षमा उभिएका छौं। हामीले जनताको जनवादी व्यवस्थामा किन त्यो पद्धति रोज्यौं ? यसबारेमा थोरै चर्चा गरौं।

क्रान्तिद्वारा स्थापित हुने हाम्रो देशको जनवादी समाज वर्गीय हुने छ र वर्गीय समाजमा प्रत्येक वर्गका आ–आफ्नै वर्गीय स्वार्थ, आस्था र दृष्टिकोणहरु हुन सक्छन् र तिनीहरुलाई चल्न, खेल्न दिनुपर्छ भन्ने मार्क्सवादको मान्यता छ, विरोध पक्षको संवैधानिक मान्यतालाई संस्थागत नगरेर पनि विश्व कम्युनिष्ट आन्दोलनमा केही क्षति उठाउनु परेको छ र योग्यता क्षमता र जनविश्वासको प्रतिस्पर्धात्मक राजनीतिबाट नै हामी क्रान्ति र निर्माणलाई बढी जनसहभागिताका साथ अघि बढाउन सक्छौं तथा हामी जनताको विश्वासको बहुमत लिएर नै अगाडि जान चाहन्छौं भन्ने कुरा जाहेर गर्न हामी बहुदलीयतामा आवश्यक जोड दिइरहेका छौं। जनताले स्वतन्त्र रुपमा राजनीतिमा कसरी भाग लिन्छन् ? जनताले राजनीतिक पार्टी, नेता, कार्यक्रम र सरकारको आलोचना गर्न पाउँछन् कि पाउँदैनन् ? उनीहरुले कुनै पनि पदाधिकारीको कामको गुण दोषको आधारमा टीका टिप्पणीहरु आलोचना र विरोध गर्न पाउँछन् कि पाउँदैनन् ? यदि नपाउने हो भने राजनीतिमा जनताको नियन्त्रणकारी भूमिका कसरी स्थापित गर्ने ? यदि आलोचना र विरोध गर्न दिने हो भने विकल्प प्रस्तुत गर्न दिने कि नदिने ? बिना विकल्पको आलोचना र विरोध रचनात्मक हुन सक्दैन। एकदलीय व्यवस्थामा भन्दा बहुदलीय व्यवस्थामा जनतालाई विकल्प रोज्ने र राजनीतिक पार्टी तथा सरकारलाई नियन्त्रर्ण गर्ने बढी औसर हुन्छ। जनताले हरेक पार्टी, नेता, सरकार र विचार तथा कार्यक्रमहरुको मूल्याङ्कन गर्न र जनमतको आधारमा स्वेच्छाले स्वतन्त्रतापूर्वक फैसला गर्न पाउनुपर्छ, तब मात्र नियन्त्रण र सन्तुलनको स्थिति कायम हुन सक्छ र जनता राजनीतिमा बढी निर्णयक बन्न सक्छन्।

जनताको जनवादी व्यवस्थामा जनतालाई लेख्न, छाप्न, बोल्न सभा सङ्गठन गर्ने राजनीतिक पार्टी खोल्न राजकीय निकायमा चुन्ने चुनिने जस्ता मौलिक अधिकारहरुको ग्यारेण्टी गर्ने कि नगर्ने ? नगर्ने हो भने आफ्नो नैसर्गिक अधिकार गुमाउनका निम्ति जनता जनवादको पक्षमा किन लाग्छन् ? क्रान्ति सम्पन्न भएपछि राजनीतिक गर्ने र राज्य चलाउने जिम्मा चाहिँ कम्युनिष्टहरुको मात्रै हो र अरुले चाहिँ व्यवसायहरुमा मात्रै लाग्ने भन्ने कुरा सम्भव छ ? त्यसकारण आम जनताले राजनीति गर्ने स्वतन्त्र अधिकार पाउनुपर्छ। राजनीतिक गर्नका निमित्त राजनीति पार्टीहरु गठन हुन्छन् र यदि अनेक राजनीतिक पार्टीहरु अस्तित्वमा छन् भने तिनीहरुका बीचमा स्वस्थ प्रतिस्पर्धा हुन दिनुपर्छ। विचार, कार्यक्रम र नीतिका आधारमा प्रतिस्पर्धा हुन दिनुपर्छ। कम्युनिष्ट पार्टी मजदुर र पूँजीपति सबैको, कृषि मजदुर र धनी किसान सबैको पार्टी हुन सक्दैन। कम्युनिष्ट पार्टी श्रमजीवी जनताको पार्टी हो र यसले श्रमजीवी जनताको हितलाई प्राथमिकता दिँदै अन्य वर्ग तहका जनताको हित रक्षा पनि गर्छ। तर, यसले अरु वर्ग वा विचारका पार्टीहरु बनाउने कुरामा बन्देज लगाउनु हुँदैन। कम्युनिष्ट पार्टी पनि आफ्नो इच्छाअनुसार होइन, बहुमत जनताको इच्छाअनुसार सरकार चलाउनुपर्छ। त्यसकारण कम्युनिष्ट पार्टीले चाहिँ जनताको इच्छा र विश्वासको बहुमत बुझिरहनु आवश्यक पर्दैन भन्ने विचार जनवादी होइन।

जनताको इच्छा र मतलाई स्वतन्त्र ढङ्गले कसरी बुझ्ने ? अहिलेसम्मको जनमत बुझ्ने सबैभन्दा लोकप्रिय विधि निर्वाचन हो। जनमत बुझ्न र जनादेश लिनका निम्ति आम निर्वाचन गर्ने प्रणाली अपनाउने कि न अपनाउने ? नअपनाउने हो भने त्यो जतिसुकै राम्रो शासन भए पनि त्यसमा जनताको समर्थन छ भन्ने कुरा जाहेर हुनुपर्छ। अपनाउने हो भने नीति, विचार र कार्यक्रम बिना केवल व्यक्तिको चुनाव गर्नु जनताप्रति अविश्वास हो। पञ्चायतले त्यस्तै चुनाव गर्ने गरेको थियो। त्यो प्रतिक्रियावादी व्यवस्था भएको कारणले मात्र खराब थिएन । बरु विकल्प प्रस्तुत गर्नै नदिने कारणले समेत त्यो खराब थियो। त्यसरी नै क्रान्तिकारी जनवादकै आधारमा भए पनि विकल्प र मतभेद बिनाको केवल व्यक्ति छान्ने चुनाव जनताप्रति र स्वयं आफ्नै बारेमा पनि अविश्वास हो। अनेकौं विचार र विकल्पहरुका साथमा चुनाव गर्ने हो भने जनताले स्वेच्छाले आफ्नो मत व्यक्त गर्न पाउँछन्। यस्तो गर्ने हो भने स्वाभाविक रुपमा जनादेशको आधारमा पक्ष र विपक्ष रहने परिपाटी संस्थागत गर्नैपर्छ। बहुदलीय प्रतिस्पर्धाको प्रणाली प्रमूख रुपमा विपक्षको अस्तित्वलाई वैधानिक रुपमा संस्थागत गर्ने र सम्मान गर्ने प्रणाली हो।

कम्युनिष्ट पार्टीको विचारदर्शन द्वन्द्वात्मक भौतिकवाद हो। अन्तर विरोधहरुको सार्वभौमिकता हुने तर द्वन्द्वलाई कम्युनिष्ट पार्टीले विकासको सार्वभौम नियम मान्दछ। तर, स्वयं त्यस पार्टीले निर्विरोध स्थितिमा काम गर्न चाहनु र अन्य विरोधलाई भिन्नतालाई प्रकट हुन नदिएर एकलौटी कायम गर्न खोज्नु किमार्थ मिल्ने कुरा होइन। वैचारिक विरोधलाई वैचारिक रुपमै परास्त नगरेर बल प्रयोगको सहारा लिनु सवल होइन, दुर्वलताको लक्षण हो। त्यसकारण विरोध र विपक्षलाई वैधानिक रुपमा स्थापित गरी संस्थागत गर्नुपर्छ। बारम्बार जनताको विश्वास र जनादेश लिएर नै कम्युनिष्ट पार्टीले पनि सरकार चलाउनु पर्छ। बहुदलीय जनवाद मजदुर र सर्वहारा श्रमजीवी जनताको नेतृत्वमा आम जनताको संयुक्तको जनवादी राज्यअन्तर्गत स्थापित हुने जनवाद हो। यसमा अनिर्वाचित सत्ता र अनिर्वाचित शासनको परम्परालाई सम्पूर्ण रुपमा अन्त्य गरिने छ। संविधानका आधारमा राज्य र कानूनका आधारमा शासन सञ्चालन गरिने छ। क्रान्तिका उपलब्धीहरुलाई उल्टाउन चाहने प्रतिगामी पुनरुत्थानवादी तत्वहरुलाई नियन्त्रण र दमन गर्ने कानूनी व्यवस्था गरिने छ। संविधानको परिधिभित्रका सबै राजनीतिक शक्ति र विचारहरुले स्वतन्त्रतापूर्वक राजनीतिक निकायहरुमा निर्वाचित हुन र समाजमा राजनीति गर्न प्रतिस्पर्धा गर्न पाउने व्यवस्था संस्थागत गरिने छ। आम निर्वाचन र जनादेशका आधारमा सरकारमा विपक्ष रहने कुरा संस्थागत गरिने छ। जनताका मौलिक अधिकारहरु, नागरिक तथा मानव अधिकारहरुको ग्यारेण्टी र रक्षा गरिने छ। जाति, भाषा, धर्म, संस्कृतिका सवालमा सबै प्रकारका एकाधिकार विशेषाधिकारहरुको अन्त्य गरी पूर्ण स्वतन्त्रता र समानता कायम गरिने छ। सामन्तवादलाई पूर्ण रुपमा उन्मुलन गर्ने, साम्राज्यवादको शोषण नियन्त्रण र उत्पीडनलाई सम्पूर्ण रुपले समाप्त पार्ने, दलाल नोकरशाही पूँजीवादी शोषण, उत्पीडन समाप्त पार्ने, संविधान र नियम कानून परिधिभित्र राष्ट्रिय निजी पूँजीलाई सुरक्षित नियन्त्रित र प्रोत्साहित गर्ने तथा प्राथमिकका आधारमा वैदेशिक पूँजी लगानी ठाउँ दिने तथा खास खास क्षेत्रमा राज्यको स्वामित्व र नियन्त्रण निर्देशन कायम राख्ने क्रान्तिकारी भूमिसुधार, ग्रामीण क्षेत्रको विकास क्षेत्रीय किाकासमा सन्तुलन तथा योजनावद्ध रुपमा राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने जस्ता जनवादी आर्थिक नीतिहरु अपनाउने छ। सामन्तवाद र साम्राज्यवादको प्रभावलाई समाप्त पार्ने र राष्ट्रिय जनवादी संस्कृतिको निर्माण गर्ने तथा जाति भाषा धर्म र संस्कृतिहरुबीच सांस्कृतिक समानता कायम गर्ने नीति अपनाइने छ। राष्ट्रिय स्वाधिनता कायम राख्न असमान सन्धि सम्झौताको खारेजी र पञ्चशीलका आधारमा सबै देशसँग सम्बन्धको पुनर्संरचना गरिने छ। सामान्यत हामीले भनेको बहुदलीय जनवाद यही हो। आर्थिक, सामाजिक, सांस्कृतिक नीतिहरु बहुप्रचारित छन्। बहुदलीय जनवाद भनेको प्रमूख रुपमा अल्पमत वा विपक्षलाई वैधानिक रुपमा मात्र एकता गर्ने होइन, विविधतालाई अनुमति दिएर एकता गर्ने जनवाद हो। पार्टी, विचार, दर्शन र व्यवस्था सबैभन्दा संस्थागत गर्ने र अनुमति दिने जनवाद हो। बलपूर्वक एकरुपता कायम गरेर होइन, जनतालाई सर्वोपरीतत्व मानेर स्थापित गर्ने जनवाद हो। राजनीति र व्यवस्थामा जनताको नियन्त्रण र सन्तुलन कायम राख्ने जनवाद हो। हामी एकदलीयताको र कुनै एउटा दल विशेषको राजनीतिक एकाधिकारवादीको विपक्षमा छौं। जनताको अधिकार र मतको सम्मान नगरी जनताका नाममा शासन चलाउनु निरङ्कुशतावादी तरीका हो र हामी त्यसको विपक्षमा छौं।

६. बहुदलीय जनवाद र अधिनायकत्व

कम्युनिष्टहरुले अधिनायकत्वको प्रश्नलाई सुस्पष्ट रुपमा अघि सारेको हुनाले पूँजीवादपन्थी तत्वहरु सुरुदेखि नै यसका विरुद्ध खनिएका छन्। तिनीहरु आफूलाई अधिनायकत्वको विपक्षमा प्रस्तुत गर्न चाहन्छन् र प्रजातन्त्रवादी देखाउन चाहन्छन्, तिनीहरुको यस्तो प्रचारले केही कम्युनिष्टहरुको मन पनि दोधार भएको हुन सक्छ। अधिनायकत्व भन्नु हुँदैन जनवाद भने पुगिहाल्छ भन्ने खालका विचारहरु पनि उत्पन्न भएका हुन सक्छन्। पूँजीवादपन्थी तत्वहरु सामन्त वर्ग विरोध सङ्घर्षमा लागेको बेला वर्गसङ्घर्षको पक्षमा थिए। तर अहिले तिनीहरु वर्गसम्झौताको पक्षपाती भएका छन् र कथित सर्वकल्याणवादी भएका छन्। तिनीहरु वर्गीय दृष्टकोण, वर्गीय नेतृत्व र राज्यको यथार्थतालाई ढाकछोप गरेर पूँजीवादी दृष्टिकोण नेतृत्व र राज्यको स्वरुपलाई लुकाउन चाहन्छन्। मार्क्सवादले आफ्नो वर्गीय प्रतिवद्धता सार्वजनिक रुपमा सुस्पष्ट पारेको छ। राज्य अवर्गीय र सबै वर्गहरुभन्दा माथि सबैको समान रुपमा साझा राज्य हुन सक्दैन। राज्यसत्ता वर्गीय हुन्छ र आफै नै त्यो अधिनायकत्व पनि हो। यसरी पूँजीवादी राज्यले पूँजीवादी अधिनायकत्व लागू गरिरहेको हुन्छ र सामन्त वर्ग र दलाल नोकरशाही पूँजीवादी वर्गको राज्यले तिनीहरुकै अधिनायकत्व लागू गरिरहेको हुन्छ। हामी जनताको जनवादी राज्यको पक्षमा छौं। यसको मतलव जनताको जनवादी अधिनायकत्वका पक्षमा छौं। राज्य वैधानिक रुपमा सङ्गठित सशस्त्र शक्ति र अधिकार भएको निकाय हो। त्यो कुनै शक्तिहीन तटस्थदर्शी निकाय होइन। संविधान, नियम कानून र सामाजिक व्यवस्था तथा मर्यादा उल्लङ्घन भएका खण्डमा बल प्र्रयोग गरी नियन्त्रण कायम गर्ने अङ्ग हो। जनताको राज्यले जनताको जनवादी संविधान, नियम, कानून व्यवस्थाको उल्लङ्घन नगर्ने, जनता र राष्ट्रिय हित विरुद्ध हुने र त्यसमाा हानी पुर्‍याउने तत्वहरुलाई नियन्त्रण र दमन गर्ने काम गर्न सक्छ। अर्थात् संविधान र नियम कानूनका आधारमा बल प्रयोग गर्न सक्छ। त्यसकारण अधिनायकत्व भन्ने वित्तिकै पूँजीवादपन्थीहरुले विरोध गर्नुको न त कुनै महत्व छ, न यो सुनेर कम्युनिष्टहरुले झस्किनु जरुरी छ। अधिनायकतत्व भनेको अन्तिम निष्कर्षमा वैधानिक सशस्त्र सत्ता हो। यदि जनताको राज्य स्थापना गर्ने लक्ष्य नलिने हो भने क्रान्तिकारी राजनीति र पार्टीको कुनै महत्व बाँकी रहँदैन। हामी जनताको जनवादी राज्यका पक्षमा छौं। जनताको जनवादी अधिनायकत्वका पक्षमा छौं। पूँजीवादीपन्थीहरुको तर्कमा ध्यान दिने हो भने तिनीहरु साझा राज्यको कुरा गर्छन् र त्यसरी नै अवर्गीय अधिनायकत्वलाई स्वीकार गर्न सक्छन्, जसले सबैमाथि समान ढङ्गले व्यवहार गर्छ। तर, राज्यको त्यस्तो चरित्र इतिहास वर्तमान र भविष्य कुनै बेला पनि छैन र हुन सक्दैन। स्वयं पूँजीपति वर्गको राज्यले जनतामाथि उत्पीडनकारी पूँजीवादी अधिनायकत्व लागू गरिरहेको हुन्छ।

अधिनायकत्व राज्यको प्रश्न हो र वर्गीय राज्यको प्रश्न हो। तर, विश्व कम्युनिष्ट आन्दोलनमा वर्गको अधिनायकत्वलाई पार्टी र अझ व्यक्तिको अधिनायकत्वको तहमा प्रयोग गर्ने केही अनुचित कुराहररु भएका छन्। एउटा वर्गको राज्य हुन सक्छ। तर, एउटा पार्टीको राज्य र अझ व्यक्तिको राज्य कुनै हालतमा स्वीकार्य विषय होइन। तर, राज्यको सञ्चालनमा भएका विगत कमजोरीहरुले जनताको हातमा राज्यसत्ता लिने क्रान्तिकारी लक्ष्यप्रति कुनै बैराग उत्पन्न गर्न सक्दैन। जनताको सत्ता संविधानसम्मत हुनुपर्छ र त्यसको रक्षाको निम्ति वैधानिक रुपमा राज्यको बल प्रयोग गर्नुपर्छ। जनताको क्रान्तिकारी राज्यको विरुद्ध घातक काम गर्ने तत्वहरुलाई दमन र नियन्त्रण गर्नुपर्छ।

‘बहुदलीय जनवाद’ भनेपछि त्यहाँ अधिनायकत्व नरहने भयो भन्ने भ्रम र चिन्ता कतिपय व्यक्तिहरुमा पैदा भएको वा बहुदलीय जनवादमा अधिनायकत्व नहुने भएको ठीक भयो भन्ने पनि लागेको हुन सक्छ। बहुदलीय जनवाद कुनै राज्यसत्ताविहीन कल्पना होइन। त्यो जनताको जनवादी सत्ता हो। एकदलीय भए अधिनायकत्व हुने र बहुदलीय भए अधिनायकत्व नहुने र बहुदलीय हुँदैमा नरहने होइन। हामी हिजो पनि एउटा राजनीतिक दलको अधिनायकत्वको पक्षमा थिएनौं र आज पनि छैंनौ। हामीले आफ्नो पार्टीको मात्र राज्यसत्ता बनाउने खोजेको होइन, हामी त जनताको जनवादी राज्य बनाउन खोजेको हो। राज्यको सम्पूर्ण शक्तिलाई एउटा पार्टीको हितमा उपयोग गर्ने र एकदलीय राजनीतिक एकाधिकारवाद एकदलीय अधिनायकत्व कायम गर्न खोज्नु हो। जनवादी राज्यको सशस्त्र शक्ति जनताको सत्ताको रक्षा गर्ने शक्ति हो। त्यसलाई दृढतापूर्वक खुला र वैधानिक ढङ्गले क्रान्ति, जनता र जनवादको रक्षामा प्रयोग गर्नुपर्छ।

वैधानिक सशस्त्र सत्ताबाहेक अधिनायकत्व अर्को सामयिक, आंशिक र तात्कालिन अर्थ पनि हुन सक्छ। क्रान्ति सम्पन्न गरेर नयाँ सत्ता वैधानिक रुपमा स्थापित, स्थिर र सुदृढ नहुञ्जेलको सङ्क्रमण कालमा जहाँ विधान, नियम र कानून बनेका स्थापित भइसकेका हुँदैनन्, त्यसबेला क्रान्तिबाट भरखर सत्ताच्युत गरिएका तत्वहरुले फेरि प्रतिक्रान्तिको शिर नउठाउन् भनी क्रान्तिकारी शक्तिको बल प्रयोग गरेर त्यस्ता तत्वहरुलाई नियन्त्रण, दमन गर्ने र परिर्वतनको रक्षा गर्नुपर्ने हुन्छ। तर, यो स्थिति लामो समयसम्म यसरी नै विधान र नियमविहीन ढङ्गले गरिनु हुन्न। सङ्क्रमणकालीन स्थितिमा स्वभाविक रुपमा आन्दोलन या क्रान्तिको अधिनायकत्व लागू हन्छ।

(नेकपा एमालेका महासचिव मदन भण्डारीले २०४८ फाल्गुण ९ गते नारायणढमा सम्पन नेपाल बुद्धिजीवी परिषद्को प्रथम राष्ट्रिय भेलामा प्रस्तुत गर्नुभएको बहुदलीय जनवादका सम्बन्धमा नामक कार्यपत्र ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal